×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कार्यक्षेत्र मिच्ने प्रहरीको मनपरी : हाइड्रोमा माया, जनतालाई छायाँ… दुगडको पैसामा दुइ डिएसपीको यस्तो लिला !

काठमाडौं । सनम शाक्य हत्या तथा ३३ किलो सुन तस्करी प्रकरणमा कार्य क्षेत्र मिचिएको भन्दै एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसी जेल गइरहँदा रामेछापका डिएसपी र एक ईन्स्पेक्टरले कार्य क्षेत्र मिचेर मनपरी गरेको रहस्य खुलासा भएको छ ।
सभासद मोती दुगडले सञ्चालन गरेको तीन वटा हाइड्रोको सुरक्षाका लागि भन्दै रामेछापका प्रहरीले सोलुखुम्बुमा गएर स्थानीयवासिन्दा तर्साउने धम्क्याउने गरेपछि रामेछाप प्रहरीले कार्यक्षेत्र मिचेको रहस्य खुलासा भएको हो । दुगडले सञ्चालन गरेको तीन वटा हाइड्रोमा स्थानीयले कानुन बमोजिम शेयर र अधिकार मागेपछि दुगड र स्थानीयबीच लफडा सुरू भएको थियो । स्थानीयको माग पुरा गर्न छाडेर दुगडले प्रहरी प्रशासनलाई हात लिएपछि झन् लफडा बढेको हो । 
जनताको जीउ धनको सुरक्षा गर्नु प्रहरी प्रशासनको पहिलो कर्तव्य विर्सेर दुगड कम्पनीको दानपानी खाएर जनता तर्साउन थालेको आरोप लागेको छ । रामेछापको इञ्चार्ज भएर गएको ६ महिना नवित्दै डीएसपी अमरेन्द्रबहादुर सिंह ठकुरीका कारण स्थानीय जनता त्रसित बन्न पुगेका हुन् । रामेछाप र सोलुखुम्बुको सीमाना भएर बग्ने लिखु खोलामा सभासद् तथा व्यापारी मोती दुगडको लगानीमा लिखु जलविद्युत् आयोजनासहित तीनवटा जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । ती आयोजनामा स्थानीयको अवरोध आउन नदिन भन्दै उनले डीएसपी ठकुरीलाई खरिद गरेको आरोप स्थानीयको छ ।

दुगडले त्यहाँ स्थानीयका कुनै किसिमका जायज÷नाजायज माग नआउन भन्दै डीएससी ठकुरीलाई २० लाख नगद र ५ लाख बराबरको त्यहीँको हाइड्रो पावरको सेयर दिएको स्रोतको दाबी छ । त्यति मात्र होइन, यो कामका लागि रामेछामको उमाकुण्ड गाउँपालिकाअन्र्तगतको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर राजकुमार तामाङलई पनि खरिद गरिएको छ । इन्सपेक्टरको कार्यक्षेत्र रामेछापको उमाकुण्ड भए पनि उनी खोलापारि सोलुको लिखुपिके गाउँपालिकामा अड्डा जमाएर बस्ने गरेका छन् । स्थानीयको मुखमा बुजो लगाउन इन्सपेक्टर तामाङलाई १० लाख नगद र ३ लाख बराबरको सेयर दिइएको स्रोतको दाबी छ । 

आफू आइजी सर्वेन्द्र खनालको खास मान्छे हुँ भन्दै अहिले डीएसपी ठकुरी र इन्सपेक्टर तामाङले जिल्लामा मात्र होइन छिमेकी जिल्लामा पनि आतंक मच्चाएका छन् । यो विषयमा सोलुका डिएसपी रेशम पराजुली पनि मौन रहेका छन् । 
तुलनात्मक रूपमा कम विवादमा मुछिएका डिएसपी पराजुली समेतलाई खरिद गरिसकेको स्रोतले जनाएको छ । उनलाई समेत दुगडले सञ्चालन गरेको हाइड्रो कम्पनीले खरिद गरेका कारण केही दिन अघि स्थानीय एक जनालाई शारीरिक रूपमा अपंगाता भएका व्यक्तिलाई पक्राउ गरी जिल्ला पु¥याएका थिए । सामान्य नागरिक रहेका ती व्यक्तिलाई गृहमन्त्रालयको आदेशमा पक्राउ गरिएको भने धम्क्याइएको थियो । 
डिएसपीद्वय ठकुरी, पराजुली र इन्स्पेक्टर तामाङको मिलेमतोमा प्रभावित क्षेत्रका जनतालाई कोही कुनै माग राखेर आयोजना अवरोध गर्न आयो भने बन्दुकले उडाइदिन्छु भन्दै थर्काउन थालेका छन् । यतिबेला स्थानीय नागरिकहरू सो धम्क्याइबाट त्रसित समेत बनेका छन् । डिएसपी ठकुरीले रामेछापमा द्वन्द्वकालिन मुद्धालाई समेत उठाएर रकम असुली गर्न थालेको अवस्थामा दुगड कम्पनीले किनेको हो । डिएसपी ठकुरीले नै शुरूमा प्रहरी नीरिक्षक तामाङलाई कार्यक्षेत्र मिच्न लगाएर सोलु पठाएका हुन् । उनले आफू सोलुको किन्जा प्रहरी चौकीमा गएको जानकारी केन्द्र वा एक नं प्रदेशमा डिआइजी केदार रिजाललाई समेत जानकारी गराएका छैनन् भने ३ नं प्रदेश प्रहरीलाई भने यसको सुईँको समेत छैन । 
कहाँ छ यो हाइड्रो ? 
प्रदेश नं. ३ र १ को सीमाना रामेछाप र सोलुखुम्बुकोबीच भागबाट बग्ने लिखु खोलामा एमभी दुगड ग्रुप र भिजन इनर्जी एण्ड पावर प्रालिद्वारा करिब कुल २०७.५० मेगावाट फरक–फरक क्षमताको चारवटा जलविद्युत आयोजना निर्माण कार्य शुरू भएको छ । लिखु खोला हाइड्रोपावर आयोजनामा एमभी दुगड ग्रुपले २०७४ बैशाख ७ गते ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङ्गले संयुक्तरूपमा लिखु १, २ र ए को शिलालेख अनावर गरेको थियो भने भिजन इनर्जी एण्ड पावर प्रालिले अपर लिखु रन अफ रिभर नुप्छे लिखु जलविद्युत आयोजनाको सर्वे पूरा गरि वातावरणीय प्रभाव मुल्यांकन (ईआइए)को काम शुरूवात गरिसकेको छ । 
औद्योगिक व्यवसायी भए पनि कालोबजारी कार्यमा मुछिएका दुगड ग्रुपले जलविद्युत क्षेत्रमा पहिलो पटक लगानी रहेको हो । लिखु १, २ र ए आयोजनाको कुल १५७ मेगावाट जलविद्युत निर्माण गर्न अनुमानित २१ अर्ब रूपैयाँ खर्च लाग्नेछ । सो आयोजना पुरा गर्न एमभी दुगड ग्रुपले पान हिमालय इनर्जी प्रालि, ग्लोबल हाइड्रोपावर एसोसियट्स प्रालि र नुम्बुर हिमालय हाइड्रोपावर प्रालि गरि तीनवटा सहायक कम्पनीहरू स्थापना गरेको छ । दुगड ग्रुपको अध्यक्ष मोतिलाल दुगड हुन् । लिखु १, २ र ए उत्पादन भएको ३५ बर्षसम्म राष्ट्रिय प्रसारण लाइनमा जोडेर आफूले सञ्चालन गर्ने दुगड ग्रुपले सम्झौता गरेको छ ।
आयोजना निर्माणको काम सन २०२० मा सकिने छ । उर्जा मन्त्रालय, विद्युत् विकास विभागका अनुसार उत्पादन अनुमतिपत्र पाउनु भन्दा पहिले विद्युत् जडान सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका कागजात पेस गर्नुपर्ने भएकाले पनि केही प्रबद्र्धकले मात्रै त्यस्तो अनुमतिपत्र लिएका छन् । 
हिमगंगा नदी र लखु नदीको संगमस्थल उमतिर्थमा ड्याम साइट बनाउने, टाक्सम र फालाटे खोला जोड्ने स्थान बेर्पिटकमा एउटा इडिड्डा पोइन्ट र देले खोलाको दुलेगैरमा अर्को इडिड्ड पोइन्ट बनाउने र दोबन डाडमा रिजर्भ ट्याङ्की बनाएर ओडरे खोला र लिखु नदी जोड्ने दोबन खोलामा पावर हाउस स्थापन गरि पान हिमालय इनर्जी प्रालिले ७७ मेगावाटको लिखु १ जालविद्युत उत्पादन गर्ने छ । बाल्दिङ्गको पुछार लिखु १ को पावर हाउस भन्द केही तला ड्याम साइट बनाएर थल्चेमा रिजर्भ ट्याङ्की बनाउने र पकानासमा पावर हाउस निर्माण गरि ग्लोबल हाइड्रोपावर एसोसिट्स प्रालिले ५१ मेगावाटको लिखु २ जाल विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । 
लिखु २ को पावर हाउस भन्द केही ताल ठाडो खोला र लिखुको संगम स्थलमा ड्यम साइड बनाउने र कुम्बुको फेदमा रिजर्भ ट्याङ्की निर्माण गरि कोरोन्दोमा पावर हाउस निर्माण गरि नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले २९ मेगावाट लिखु ए बाट विद्युत उत्पादन गरिने भएको छ । दुगड ग्रुपले यसलाई प्रतिष्ठाको विषय बनाउँदै स्थानीयको मागलाई बेवास्था गरेको र प्रहरी लगाएर स्थानीयलाई तर्साइरहेको छ । जसको अगुवाई हाइड्रो माफियाको रूपमा रहेका राजन खत्रीले गरिरहेको पनि स्थानीय वासिन्दाले जनाएका छन् । डिएसपी पराजुली र ठकुरी तथा प्रहरी नीरिक्षक तामाङलाई उनै खत्रीले शेयर दिन लगाएर प्रहरी परिचालन गरेका हुन् । आजको जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: