×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मार्दी हिमालको ‘एक्लो’ यात्रा : एक अनुभव (फोटो ब्लग)

  • सविता सापकोटा 
कुनै एक विद्वानले भनेका छन्, ‘भत्काईदेउ ती पर्खालहरु, जलाईदेउ ती पुस्तकहरु अनि एउटा बालकलाई लगेर प्रकृतिको काखमा छोडीदेउ । त्यहाँबाट उसले जे सिक्छ, त्यो नै ज्ञान हो, शिक्षा हो ।’ 
जीवनको आदर्श गुरु अर्थात यहि प्रकृतिको काखमा लडीबुडी गर्ने रहर धेरैलाई हुन्छ । अझ जसले प्रकृतिको न्यानोपनको आभास लिएको हुन्छ, वा त्यसको स्वर्णिम मज्जामा डुबेको हुन्छ, उसका लागि प्रकृतिसँगको यात्रा झन् उत्साहपूर्ण हुन्छ । आखिर आँटबाट न उत्साह आउने हो । अनि उत्साहबाट सुरु हुने न हो यात्रा । र यात्राबाट कयौं पाठ सिकाइ र बुझाइ । आखिर यहि त हो जिन्दगीले सिकाउने र जिन्दगीमा सिक्नुपर्ने यथार्थ । 
एकल पदयात्रा अर्थात ‘सोलो ट्रेकीङ’, भोग्नेहरुका लागि मज्जाको यात्रा भएपनि नभोगी सुन्नेहरुका लागि केहि अनौठो यात्रा पक्कै हो । एउटी चेली, घना जंगलको यात्रा, एउटा निश्चित गन्तब्य तर एक्लै । कुनैबेला कसैबाट सुनिएको र आफुलाई खुब रहर लागेको यो यात्राका लागि म तयार भएँ । सायद मभित्रको उत्साहले त्यसलाई रति पनि रोक्न सकेन । सन् २०१५ मा हामी दिदिबहिनीले अन्नपुर्ण सर्किट लगाएदेखि नै एकल पदयात्रा गर्ने रहर जागेको थियो । मनमा आँट थियो, र एक्लो यात्राका कयौं परिकल्पनाहरु संगाल्दै थिएँ म । जव एक हितैषी मित्रले खप्तडदेखि रारासम्मको ७ दिन यात्राका संस्मरण सुनाउनुभयो, त्यसले थप प्रेरणा मिल्यो यात्राका लागि । उहाँले सुनाउनुभएको संस्मरणभित्र आफ्नो यात्राका परिकल्पनाहरुलाई जोड्दै आँट बटुलें, रहर थुपारें र उत्साहहरुलाई एकिकृत गरें । र अन्तत: मैले पनि यो बेसिजनमा मार्दी हिमालतिर लाग्ने निर्णय गरेँ । जीवनका अनेक रंगहरुलाई झन् थप रंग दिने उत्साहमा म लागें हिमालको काखतिर । 
पहिलो दिन जुन ०९, २०१८
पोखराको हरिचोकबाट बस चढेर म फेदी पुग्दा ७ बजिसकेको थियो । धम्पुस जाने जिप ९ बजे मात्र पाइने रहेछ । त्यसैले मैले हिंडेर जाने निधो गरेँ । यसै पनि अघि बढेका पाइलाहरुले बसको समय कुर्न किन पो मान्थे र ? पोथाना पुग्दा १० बजिसकेको थियो । खाना खाएर पितम देउरालीतिर लागेँ । पितम देउरालीदेखि ‘फरेस्ट क्याम्प’सम्मको बाटो ४ घण्टाको हो । त्यसबीचमा पानी, चिया पसल, केही पनि पाईने रहेनछ । तर गन्तब्यमा पुग्ने भोक भएपछि पेटको भोक वा घांटीको प्यासले खास अर्थ राख्दोरहेनछ । म अघि बढीरहें मेरो यात्रामा ।
एक्लो यात्रामा पातलो ज्यान भएकी एउटी चेली, त्यो पनि नेपाली । अनि सोलो ट्रेकिङ । स्थानीयहरुले के सोचे कुन्नि, मलाई पितम देउरालीका बासिन्दाहरूले एक्लै देखेर माथि नजान सल्लाह दिए । सायद दोबाटोमा भेटिनुभएकी ती बुढी आमाका अगाडी म प्यारी नातिनी भएर उभिएको थिएँ होला, उनको मानसपटलमा । र त मायाले भन्नभयो, ‘एक्लै रहेछौं, माथि नजानु नानी ।’ 
न यात्रा रोक्नु थियो, न ती बुढी आमालाई निराश बनाउनु थियो । मैले बुढीआमालाई साथीहरु पछाडी आँउदैछन्, म जाँदै गर्छु भनेर झुट बोलें । र लागें मेरो गन्तव्यतिर । झुटपनि कहिलेकाहीं सहयात्री बन्दोरहेछ जिन्दगीमा ।
पोथानामा भेटिएका एक मित्रले निलो र सेतो चिन्हलाई पछ्याउन सुझाव दिएका थिए । म त्यहि अनुसार अघि बढ्दै गएँ । हुस्सु लागेको वन, अल्का र लेउ लागेका रुख अनि रुखैपिच्छे जस्तो सुनाखरी । साँच्चै नै रमाइलो मौसम । धुवां-धुलोको सकसपूर्ण काठमाडौँ छोडेर हिंडेको म सोच्दै थिएँ, सायद स्वर्गको बयान गर्नेहरुले यस्तै ठाउँदेखेर स्वर्गको कथा लेखे होलान् । सुरुमा त मलाई असाध्यै रमाइलो लाग्यो । करिब दुई घण्टा हिँडेपछि हुस्सुले अध्यारो बनाएको जङ्गलले म आत्तिएं । अफ्ट्यारो परेका बेला जीवनका आफ्ना मान्छेहरुको खुब माया लागेर आउँदो रहेछ । घर-परिवारको खुब सम्झना आउँदो रहेछ । मनले एउटामात्र कामना गरिरह्यो, ‘फरेस्ट क्याम्प छिटो आइदिए हुन्थ्यो ।’
ओरालो र तेर्सो बाटोमा त म कुदेँ नै । मनमा अनेक संका-उपसंकाहरु पैदा भए । हेरेका केही ‘हरर-थ्रिलर ‘सिनेमाहरूको सम्झना भयो । मन झनै अताल्लियो । बाटोमा एक्कासी डच महिला हराएको सुचना फेला पर्‍यो । मैले घरमा आमा र बालाई एक्लै जाँदैछु भनेकी थिइन । दिदिलाई मात्र भनेकी थिएँ । मलाई बा-आमाको असाध्यै न्यास्रो लाग्यो । हराएँ भने… ? ठ्याक्कै ३ घण्टा ४५ मिनेट हिँडेपछी म ‘फरेस्ट क्याम्प’ पुगेँ । त्यहाँ मान्छेहरूलाई देखेर आनन्द आयो । कता कता मनले राहत पायो । हरर सिनेमाको अन्त्यजस्तो । ठुलो समस्याको समाधानपछिको सुस्केराजस्तो । मैले त्यो दिन त्यहीँ बस्ने निर्णय गरेँ ।
दोस्रो दिन जुन १०, २०१८
‘फरेस्ट क्याम्प’को होटेल मालिकले मलाई एक्लै निस्किनै दिएनन् । म ३ जना अरु साथीहरूसँगै बाटो लागेँ । ‘लो क्याम्प’बाट रुखहरू होचा हुँदै गए । बादल डाँडा पुगेपछी पहाडमा भुँई घाँस मात्र सुरु भयो । पहेँला, बैजनी र सेता भुँइफूलले पहाडको सुन्दरतामा चमक थपेको थियो । बादल ओल्लो पहाड र पल्लो पहाडसँग लुकामारी खेल्दै थियो । पानी पर्ने । आँखै अगाडी हुस्सु हिँड्ने । सबै खाले मौषमको अनुभुति भयो । यो रुटमा जुका सामान्य हो । जताततै जुकै जुकाको सामना गरियो । तर मलाई टोक्नचाहिं टोकेनन् । सायद घना जंगलको बाटो, कुद्दै, उफ्रिंदै आएको यथार्थ बुझे होलान् तीनीहरुले पनि । 
करिब २ बजे हाई क्याम्प पुगेपछि मेरो त्यो दिनको यात्रामा पुर्णविराम लाग्यो । अर्को दिनको ब्यग्र प्रतीक्षासहित । बादलले हिमाल कतापट्टी छन् मैले अनुमान लगाउन सकिन । बेलुका करिब ६ बजे माछापुछ्रेको टुप्पो र हिमचुलीको जिउ देखियो । मैले अनुमान लगाएँ ।
तेस्रो दिन जुन ११, २०१८
४ बजे म ब्यूँझेर झ्याल बाहिर हेर्दा बादलले हिमाललाई छोपिरहेको थियो । म अल्छि गर्दै उकालो लागेँ । गन्तब्य अव नजिक छ भनेर होला सायद अल्छीपनाले बेलाबेला जिस्काउँदै थियो । उकालो सकिने बेलामा मौषम खुल्दै गयो । घुम्टो उघारेर बेहुलीको सुन्दर मुहार खुलेजस्तै, मेरो गन्तब्य आइपुग्यो, म नजिकै । मीठा उमङ्गहरु बोकेर । त्यो पलको बयान सायद शब्दमा गर्न सकिन्न होला । 
त्यो खुसीको कुनै मूल्य छैन होला । त्यो सन्तुष्टिको कुनै परिधि छैन होला । त्यो खुसीको कुनै किनार छैन होला । एउटा पदयात्रीको लागी यो भन्दा खुसीको खबर अरु हुनै सक्दैन । सायद जीवनमा पाएको आनन्दको चरमउत्कर्ष यहि हो । सायद खुसी भनेको यहि हो । सुखको बर्णन यहि हो । गन्तब्यमा पुगेपछिको आकारहिन उत्साहको स्वरूप यहि हो । मैले लिइरहें प्रकृतिको मज्जा । अनि प्रकृतिले सायद स्पर्श गरिरह्यो मेरो मनलाई । जीन्दगी होस् त यहि पलजस्तो । मीठो, राम्रो । करिब २ घण्टा हिँडेपछी टुप्पोमा पुगियो । करिब १ घण्टा खुलेपछी हिमाललाई फेरी विस्तारै बादलले लुकायो । सँगै संगालियो खुसी । 
जीवनभरका लागि एउटा यादगार क्षण । काठमाडौँका साथीहरुलाई सुनाउन पुग्ने गरी यादका पोकाहरु, र जीवनभरलाई पुग्ने एक्लो यात्राको मीठो अनुभव । म ‘हाई क्याम्प’ झरेँ र आफ्नो गन्तव्यतिर लागेँ । म पोखरा आइपुग्दा ६ बजेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: