×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल चार्टड एकाउन्टेन्ट्स संघभित्र ‘अष्ट्रेलिया भ्रमण’ विषयमा विवाद : डस ट्राभल पनि ‘आर्थिक विवाद’मा मुछियो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – रजिष्टर्ड अडिटरहरुलाई १ अर्वको लेखापरिक्षणको ‘लिमिट’ बनाएर आइक्यान प्रस्तुत हुँदा पनि उक्त निर्णयको विरोध नगरेको भन्दै नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को कार्यशैलीमाथि सिएहरुले नै प्रश्न उठाईरहेका बेला एक्यानका सदस्यहरुको अष्ट्रेलिया भ्रमण पनि विवादमा तानिएको छ । आइक्यानको निर्णयले समग्र लेखापरिक्षण पेशामा नै समस्या आएको निष्कर्ष निकाली उक्त निर्णयको विरुद्धमा बोल्नुपर्ने बेलामा एक्यानले सिमित व्यक्तिको स्वार्थ्य केन्द्रित कार्यक्रमहरु गरेको आरोप केहि सिएहरुले लगाएपछि एक्यानको अष्ट्रेलिया भ्रमण विवादमा तानिएको हो । अझ सस्तो ट्राभल एजेन्सी छोडेर आफ्ना नजिकका मान्छेलाई भ्रमणको जिम्मा दिने कुरा उठेपछी यो विषयलाई लिएर एक्यानमा स्पष्ट गुट-उपगुट देखिएको छ ।
अध्यक्षकै स्वीकारोक्ति, ‘अन्त सस्तो पाएका हौँ तर आफ्नैलाई दियौं’
यसो त एक्यानका सदस्यहरु मिलेर हुन लागेको अष्ट्रेलिया भ्रमणको जिम्मा डस ट्राभल नामक ट्राभल कम्पनीले पाएको जानकारी एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्लेले अर्थ सरोकारलाई दिएका छन् । उक्त ट्राभल कम्पनीका मालिक एक्यानका सदस्य समेत रहेकाले केहि पैसाको मुख नहेरी उनलाई काम दिइएको अध्यक्ष शर्माले स्वीकारेका छन् ।  ‘अन्त भन्दा डs ट्राभल केहि महँगो परेकै हो । तर हामीले डसको जिम्मामा यो काम दिने निर्णय गरेपछि अरुबाट सस्तो रेट आएको हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक्यानका अध्यक्षले वाग्लेले भने, ‘हामीले सिएहरु लिएर जान लागेका हौँ । त्यसैले केहि पैसाको मुख हेर्ने भन्दा पनि आफ्नो साथीको कम्पनीलाई दिइयो भने सजिलो हुन्छ भनेर आफ्नैलाई काम दिएको हो । हुन त यो काम सब हरि सिलवालको जिम्मा हो । उहाँले नै उक्त कम्पनीलाई काम दिने निर्णय गर्नुभएको हो । र डस ट्राभलको कृष्ण दाइले पनि आफुलाई यो काम दिन अनुरोध गर्नुभएको हो । त्यहि भएर सबै कुरा हेरेर यो काम उहाँकै जिम्मा लगाइएको हो।’
‘अरु एजेन्सीको तुलनामा यो रेट महँगो नै देखियो नि !’ भन्ने हाम्रो प्रश्नमा एक्यान अध्यक्ष शर्माले भने, ‘अरु भन्दा महँगो भएको हो । मलाइ पनि थुप्रै अरुले त्यहाँभन्दा सस्तो गर्छौं भनेर मेसेज गर्नुभएको छ । १० वटा भन्दा बढी एजेन्सीले त्यहाँ भन्दा सस्तोमा काम गर्छौं भन्नु भएको छ । तर पैसा मात्र हेरेर भएन । जुन सहजता हामीलाई हाम्रै सदस्यको कम्पनीमा हुन्छ, त्यो अन्त पाउन गाह्रो छ । त्यहि भएर हामीले हाम्रै सदस्यको कम्पनी रोजेका हौँ । बाँकी कुरा हरि सिलवाल दाइलाई सोध्दा अझ राम्रो हुन्छ ।’
अध्यक्ष, सदस्य र महासचिवकै कुरा बाझियो, महासचिव राउत भन्छन्, ‘डस ट्राभललाई जिम्मा दिने भन्ने कुरा फाइनल नै भएको छैन’
यता एक्यानका अध्यक्षले डस ट्राभललाई काम दिने भन्ने कुरा फाइनल भएको र उक्त कुरा फाइनल भएपछी अन्तबाट सस्तो रेट आएकोले काम डस ट्राभललाइ नै दिएको कुरा अर्थ सरोकारलाइ बताउँदा महासचिव अरुण राउतले भने डस ट्राभललाई यो काम दिने भन्नेबारे फाइनल भइनसकेको बताएका छन् । ‘डस ट्राभललाइ भ्रमणको जिम्मा दिने भन्ने काम फाइनल भएको छैन । कतिजना आउँदा रहेछन् भनेर हामीले बुझ्न मात्र खोजेको हो । अहिले नै कुन ट्राभललाई कामको जिम्मा दिने भन्ने फाइनल भएको छैन ।’ अर्थ सरोकारसंग कुराकानी गर्दै उनले भने । यता एक्यानका कार्यकारी समितिका सदस्य सुवाश पौडेलले भने भारतबाट समेत कोटेसन मगाएर सबै कुरा हेरेर डस ट्राभललाई काम दिने निर्णय भइसकेको दावी गरे । यसरी एक्यानभित्र कुन ट्राभल एजेन्सीलाइ भ्रमणको जिम्मा दिइएको हो ? भन्ने कुरामा नै अध्यक्ष र केहि सदस्यबाट एउटा कुरा आउनु र महासचिवको अर्कै कुरा आउनुले पनि यो विषयलाई लिएर एक्यानको कार्यसमितिभित्रै विवाद रहेको संकेत देखिएको छ । 
यसो त कतिपय कार्यसमिति भित्रका सदस्यहरुले पनि आफु भ्रमणमा नजाने स्पष्ट पारेका छन् । एक्यानको कार्यकारी समितिका सदस्य सन्दीप बाबु पौडेलले आफुलाई यस भ्रमणमा ‘इन्ट्रेष्ट’ पनि नभएको र आफु नजाने पनि स्पष्ट पारेका छन् । ‘अस्ती बैठकमा कुरा आएको हो । सबै जिम्मा हरि सिलवाललाई दिइएको हो । मैले स्पष्टसंग आफु जान्न भनेको छु । अरु त केहि जानकारी छैन ।’ पौडेलले अर्थ सरोकारसँग भने । यसै विषयमा हामीले अर्का कार्यकारी समितिका सदस्य अमृत गिरीलाईसमेत सोधेका थियौं । उनले पनि यस विषयमा सबै कुरा हरि सिलवाललाई नै थाहा भएको र विस्तृत जानकारी उनैसँग माग्न आग्रह गरे । 
हरि सिलवालको यस्तो व्यवहारलाई कसरी बुझ्ने ? किन कुरै नसुनी पन्छिन खोजे सिलवाल ?
यसो त खुलेर कसैले नभने पनि विभिन्न अनौपचारिक कार्यक्रममा विभिन्न सिएहरुले यस्तो भ्रमणमा आफुहरु नजाने र एक्यानभित्रकै केहि सिएहरुले आफु सित्तैमा गएर अरुलाई महँगो पार्ने खेल खेलीरहेको आरोप लगाउन थालेको सुनेपछि हामीले किन डस ट्राभललाइ नै यो कामको जिम्मा दिइयो त ? भन्ने प्रश्न यस भ्रमणका संयोजक समेत रहेका एक्यानका पूर्व अध्यक्ष हरि सिलवाललाई राख्न उनलाई फोन गर्यौं । तर हामीले ‘एक्यानका साथीहरु मिलेर अष्ट्रेलिया जाँदै हुनुहुँदोरहेछ नि मात्र के भनेका थियौं, उनले भने, ‘यसो गर्नुहोस् न यो कुरा अध्यक्षलाई नै सोध्नुहोस् न है भाइ !’ हामीले तपाईं संयोजक हुनुहुन्छ नि भनेपछि फेरी उनले आफ्नो अडान दोहोर्याए । ‘ त्यो छ तर अध्यक्ष हुँदा हुँदै मैले बोल्ने कुरा भएन । मलाइ त अध्यक्षज्यूले काम दिनुभएको हो । मैले गरेको हो । बाँकी उहाँलाई नै सोध्नुहोस् ।’ यता अध्यक्षले हरि सिलवालले कुन ट्राभललाइ काम दिने भन्ने जिम्मा लिएको बताउने र उता हरि सिलवालले यो विषयमा कुरै गर्न नचाहनुले भित्रभित्रै केहि खिचडी पक्कै पाकीरहेको छ भन्ने आशंका गर्न सकिने ठाउँ देखिएको छ । सिलवालले अध्यक्षलाई सोध्नुस् भन्ने र अध्यक्षले सिलवाललाइ सोध्नुस् भन्ने गरेपछि हामीले डस ट्राभलका हिस्सेदारसमेत रहेका र एक्यानका सदस्य समेत रहेका सिए कृष्ण घर्तीलाई फोन गर्यौं । तर उनले हाम्रो फोन उठाएनन् । 
कोषाध्यक्ष ढकाल भान्छन्, ‘भ्रमणबारे औपचारिक जानकारी छैन, यसको हिसाव एक्यानले राख्दैन’ 
यता यस कार्यक्रमलाई लिएर एक्यानको कार्यसमितिभित्र विवाद देखिएको छ । एक्यानले उक्त कार्यक्रम एक्यानकै भएको अर्थ सरोकारलाई बताउँदा एक्यानका कोषाध्यक्षले भने उक्त कार्यक्रमबारे औपचारिक जानकारी आफुलाई नभएको र उक्त कार्यक्रम पनि एक्यानको हुन नसक्ने दावी गरेका छन् । ‘अस्ती म बैठकमा थिइन । त्यसैले यो कार्यक्रमको बारेमा मलाई धेरै त थाहा छैन । अनौपचारिक भेटमा अध्यक्षले सेयर गर्नु भनेपछी फेसबुकमा सेयर गरेको हुँ । तर यसको हिसावकिताव एक्यानले राख्दैन । र यस्ता भ्रमणका लागि एक्यानको कोषबाट एक रुपैयाँ पनि दिन मिल्दैन । म यो भ्रमणमा पनि जान्न ।’ आइक्यानले आरएहरुलाइ पोस्ने गरी गरेको निर्णयको प्रसङ्ग उठाउँदा उनले भने, ‘त्यो बेला आन्दोलनमा जानुपर्छ भनेर भन्नेमध्ये म पनि एक हुँ । गर्नुपर्ने काम गर्न नसकेको बेला भ्रमणको कुरा आयो । यो कार्यक्रम पनि विवादमा नआइदिए राम्रो हुन्थ्यो ।’ 
कार्यसमितिका सदस्यकै यस्तो असन्तुष्टी !
यता हामीले यस विषयमा अरु कार्यसमितिका सदस्यहरुलाई पनि फोन गरेका थियौं । यहि क्रममा कतिपय कार्यसमितिका सदस्यले आफ्नो नाम उल्लेख नगर्न भन्दै आफुहरुले यो भ्रमण मौन रुपमा बहिष्कार गरेको दावी गरे । ‘बाहिर भने आफैं छुच्चो भइन्छ । आइक्यानले आरएहरुलाई पोस्ने निणर्य गर्दा वास्ता नगर्ने, बजारमा केहि भर्खरका सिएहरुले ‘विक्यान’को नाममा काम गर्दा मनपरी लेख्ने अनि कसैलाई कतै घुम्न मन लाग्यो भनेर उसैले भनेको एजेन्सी मार्फत हामी नेपालको इन्कम ट्याक्स बुझ्न अष्ट्रेलिया जानु पर्ने ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक्यानका कार्यकारी समितिका एक सदस्यले भने । यसो त एक्यानको यो भ्रमणबारे चित्त नबुझेका व्यक्ति एक मात्र होइनन् । ‘कसैलाई आइक्यानको इलेक्सनका लागि वातावरण बनाउनु होला, कतिलाई अर्को एक्यानको चुनावमा आफ्नो मान्छे उठाउन वातावरण बनाउनुपर्ने होला । तर एक्यानको लोगो प्रयोग गरेर, कुनै एक कम्पनीको बिज्ञापन गरेर जुन काम गरिएको छ, त्यो ठिक भएन ।’ अर्का एक सदस्यले अर्थ सरोकारसँग भने, ‘म भ्रमणमा जान्न । र अरुलाई पनि जाउँ भन्दिन । हामी नेपालको इन्कम ट्याक्स पढ्न अष्ट्रेलिया जान्छौं भनेर चुनाव जितेको पनि होइन ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: