'जीवनको अर्थ'देखि 'अर्थशास्त्र'सम्म : पाशुपत क्षेत्रमा 'भ्यूफाइन्डर'ले देखेको 'जीवनशास्त्र' अर्थात 'पशुपतिशास्त्र' (फोटो ब्लग)

  • सविता सापकोटा / अर्थ सरोकार डटकम 
देशका विभिन्न स्थानहरुबाट काठमाडौँको खाल्डोमा 'भविष्य' खोज्दै आएका, वाध्यताले भौंतारिएका, नियतिले लखेटिएका, रहरले डोहोर्याएका अनि आवेगले ओर्लिएका थुप्रै जिन्दगीका मुर्त-अमुर्त स्वरूपहरु छन् । पढाइले पिरोलेका, व्यापारले विरक्तिएका, ऋणले रुवाउने बनाएका, विछोडले विछिप्त बनाएका, हैरानीले हार खाएकाहरुमात्र होइन, मिलनले मनलाई हर्षको बहाना बनाएका, खुसीले जिन्दगी जीएकाहरुका लागि पनि मनका बह पोख्नदेखि भगवानलाई धन्यवाद दिनसम्मका लागि उचित गन्तब्य बनेको छ पवित्र पाशुपत क्षेत्र । 

बुझेर- नबुझेर, अलिअलि बुझेर होस् वा बुझ्दै नबुझेर, राजनीति गर्नेहरुले पनि भन्ने गर्छन्, 'यो देश पशुपतिनाथ'को कृपाले बाँचेको छ।' कसैलाई सुन्दर आशिर्वाद दिनुपर्दा सबैभन्दा चलेको बचन हो, 'पशुपतिनाथले रक्षा गरुन् ।' अनि अफ्ट्यारोमा 'हे पशुपतिनाथ'को शब्दभित्र समाधान खोज्ने नेपालीहरुका लागि पशुपति एउटा मन्दिरभन्दा बढी जीवनको अंग बनीसकेको छ । 


हरेक दिन पशुपतिको आरती हेर्न आउनेहरुको संख्या न कहिले घटेको छ, न पशुपतिलाई आदर्शको मुर्त रुप मान्नेहरुको संख्या नै । र पनि साउन, शिवरात्री, तीज, वा सोमबारलाई बहाना बनाएर पशुपति आउने-जानेहरु पशुपतिलाई हरेक खुसीको कारण बनाउने प्रयासमा रुम्मलीरहेका छन् । पतिको आयुलाई जोडेर होस् वा बैदेशिक रोजगारको सफलताका लागि, पढाइको सफलताका लागि होस्, वा सन्तानको खुसीको लागि, हरेक कोणमा पशुपतिको महात्मा सानो छँदै छैन । र त देश चिनिएको छ पशुपतिबाट, अनि मन उतै भौंतारिएको छ । आनन्दका निम्ति, खुसीका निम्ति, पललाई सुन्दर बनाउनका निम्ति वा कारणबेगरको यात्राका निम्ति ।


पशुपतिभित्रको 'खुसीशास्त्र' :
काठमाडौँमा धेरै मानिस खुसी हुनका लागि पशुपति जान्छन् । र धेरैले बुझेको सत्य हो । राती आरती हेर्नेहरुमध्ये अधिकांसको खोजी नै आनन्द हो । खुसी हो । प्रेमिकासँग हात समाएर पशुपतितिरको यात्रा गर्नुको उदेश्यपनि सायद खुसी नै हुनुपर्छ । पशुपतितिर त्यसै त्यसै बराल्लिएका कलेज पढ्ने नानी-बाबुहरुको उद्गम उदेश्य पनि त्यहि आनन्द हुनुपर्छ । पतिको आयुका लागि पशुपति पुग्ने चेलीहरु हुन् वा सन्तानको खुसीको लागि पशुपतिको यात्रा गर्नेहरु । विदेश जानुअघि पशुपतिकै यात्रा नटुटाउनेहरु हुन् वा कुनै कामको सुरुवात गर्दा पशुपतिलाई आँखामा राख्नेहरु हुन्, सबैको उदेश्य आनन्द हो । र त हरेक मनहरुलाई खुसी बनाउन र जीवन सिकाउन सकेको छ, पशुपतिले । परदेशबाट नेपाल नियाल्न आएकाहरु हुन् वा पितृको शान्तिका लागि पशुपतिनेर बगेको बाग्मतीको पानीमा आस्थाको सुवास छर्कनेहरु हुन्, सबैको यात्रा आनन्दका लागि हो । धन्य छ पशुपतिभित्रको  खुसीशास्त्र,  आनन्दशास्त्र ।

पशुपतिभित्रको 'अर्थशास्त्र'
जीवन सिकाउने पशुपतिको अर्थशास्त्र पनि कम्ती रोचक छैन । फूलको माला बेचेर जीवन जिउनेहरुदेखि, कर्मकाण्ड गरेर गुजारा चलाउने पुरोहितसम्म । टिका लगाईदिएर टिकेको जीन्दगीदेखि मागेरै मौलाएका खुसीहरुसम्म 'अर्थशास्त्र' मिसिएको छ । पैसा कमाउने थुप्रै व्यापारहरु छन् पाशुपत क्षेत्रमा । आफन्तको लास जल्दैगर्दा प्यासी बनेकाहरुलाई पानी बेचेर होस् वा भगवानको दर्शन गर्न आउनेहरुलाई फूल माला र पूजाका सामाग्रीहरु बेचेर होस्, जीवन धान्नका लागि व्यापार चलेको नै छ । धनी हुन बर माग्नेहरुदेखि सुका मोहोरमा पनि खुसी खोज्ने साधुहरुको अर्थशास्त्र पनि कम्ती रोचक छैन पशुपतिभित्र । यसो त रुद्राक्षको करोडौंको व्यापार गर्ने व्यापारीदेखि मुर्तिकलाबाट लाखौँ कमाउनेहरु पनि यहि पशुपतिमा व्यापार गरिरहेका छन् ।
  

पशुपतिभित्रको 'जीवनशास्त्र'
अधिकांस मानिस सोखको दास बनेका छन् । धन कमाउनु र प्रतिष्ठा आर्जन गर्नुसँग जीवनको सफलता देख्नेहरुदेखि गल्लीमा एक छाक भोक मेटाउन भौतारिएकाहरुसम्मका लागि अन्तिम केन्द्रबिन्दु यहि नै छ । हरेक दिन पशुपति क्षेत्रमा जल्ने दर्जनौं लासहरु नांगै जल्छन् र दाउरामाथि जलीरहंदा उनीहरुले केहि लागेको आजसम्म कसैले देखेको छैन । शहरका खर्वपतिहरुदेखि खरको छानो छाउन खोरमा जिन्दगी खोज्नेहरुसम्म पशुपति क्षेत्रमा दाउरा माथि बल्न थालेपछी समान बन्छन् । आखिर बढी कमाएर के नै हुने रहेछ र ? बाचुन्जेल दु:ख र तनावमात्र लिएर के नै हुने रहेछ र ? आखिर यो संसारबाट एक न एक पटक सबै विदा हुनुपर्दो नै रहेछ । पशुपतिभित्रको यो 'जीवनशास्त्र'को सार बुझ्ने हो भने खुसीका रुखहरुमा हालिएको पिङ खेल्न रति गाह्रो छैन ।  जीवनको सार्थकता सायद यहि हो । गीताको शार र खुसी हुने आधार पनि यहि हो ।
प्रकाशित : Sunday, August 12, 2018

recent

Popular Posts