×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन दुई वर्षमै ७ करोड भ्रष्टाचार गर्ने अधिकृत, यसरी भइन श्रीमतीकी साथी पनि मालामाल

काठमाडौं – सुन्नेलाई पनि विश्वास नलाग्ने गरी एक जना सरकारी कर्मचारीले विकास र सामाजिक सुरक्षाको लागि आएको बजेटमाथि रजाई गरेका छन् । त्यो पनि दुई वर्षमै । भ्रष्टाचार गरी दुई वर्षमै मालामाल हुने ति व्यक्ति हुन् इमाल माई नगरपालिकाका अधिकृत रविनचन्द्र ढकाल ।
ढकालले ७ करोड भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले मुद्दाको टुंगो नलागेसम्म पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ । आयोगले ढकालसँगै अन्य चार ५ जनालाई विपक्षी बनाएको छ ।
विपक्षीमध्ये माई नगरपालिकाका प्रशासकीय अधिकृत कालीदास ढकाल १५ लाख धरौटी बुझाएर बिहीबार साधारण तारेखमा छुटेका थिए । विपक्षी बनाइएका ढकालकी आमा प्रेमकुमारी, सासु तुलसी आचार्य, काकी सावित्री ढकाल भने अदालतमा उपस्थित भएका छैनन् ।
ढकालकी आमाको नाममा सिन्धुलीस्थित एनआईसी एसिया बैंकमा राखेको ६ लाख ५५ हजार रुपैयाँ, सासुका नाममा काठमाडौं पुलचोकस्थित सोही बैंकमा राखिएको ३० लाख, साथीकी श्रीमती प्रमिला भण्डारीको नाममा प्राइम बैंक बिर्तामोडमा २१ लाख ६५ हजार, उनकै नाममा राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा २७ लाख रुपैयाँ राखेको भेटिएको छ ।
यसैगरी, चिनजानका व्यक्ति हर्कबहादुर श्रेष्ठको नाममा टुरिजम बैंक सिन्धुलीमा १३ लाख रुपैयाँ, काकी सावित्री ढकाल प्याकुरेलको नाममा भक्तपुर नगरपालिका–९ स्थित दधिकोटमा किनेको ६० लाख रुपैयाँबराबरको चार आना जग्गा र बैंक खाता रोक्का गरिएको छ । कार्यकारी अधिकृतको नक्कली हस्ताक्षरमा रकम स्थानान्तरण भएको छ । अख्तियारले आफन्तका नाममा किनिएको जग्गा र उनीहरूको बैंक रकम पनि रोक्का गरेको छ ।
ढकालका साढुको नाममा ‘ट्रान्सफर’को आशंकामा एक करोड ५० लाख र अन्य आफन्तको नाममा रहेको ७५ लाख रुपैयाँ बैंक रकम पनि रोक्का छ । बैंकमा नवविवाहित पत्नीको नाममा रहेको १ करोड २७ लाख रुपैयाँ र साथीकी पत्नीको नाममा रहेको ३० लाख रुपैयाँ पनि शंकास्पद रहेको अख्तियारको दाबी छ ।
भक्तबहादुर विष्टको नामबाट काकीको नाममा जग्गा किनेको अनुसन्धानबाट देखिएको छ । झापा हल्दीबारी गाउँपालिका (पाराखोपी)–९ मा १० धुर, वडा नम्बर ८ मा ११ धुर र सोही वडामा अर्को कित्ता ६ धुर र ८ धुर जग्गासमेत भेटिएको छ । सबै कित्ताका जग्गा रोक्का गरिएका छन् ।
यस्तै, ललितपुर झरुवारासीमा आफू र पत्नीको नामको ६ आना जग्गा, पत्नीको नाममा ज्ञानेश्वरमा पाँच आना १ पैसा तीन दाम जग्गासमेत अख्तियारले रोकेको छ । ढकालविरुद्ध उदयपुर कटारी र माई नगरपालिकामा रहँदा भ्रष्टाचार गरेको अभियोगसहित दुई वटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।
अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको हो ।
अख्तियारले ढकाललाई वैशाख १२ मा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । ढकाल एक वर्ष ९ महिना माई नगरपालिकामा बसेर कटारीमा सरुवा भएका थिए । अख्तियारले कटारी र माई नगरपालिका दुवैको फाइल झिकाएर छानबिन गरेको थियो । सरकारी खाताबाट आफन्तका नाममा रकम हालेर पुनः आफ्नो नाममा ‘ट्रान्सफर’ गरिएको छ ।
ढकालले बैंकको नाममा विभिन्न किर्ते पत्र तथा कागजात बनाई कटारी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो नाममा रहेको व्यक्तिगत बैंक खातामा तीन करोड ९८ लाख ३६ हजार ९ सय ८७ लाख रुपैयाँ जम्मा गरेको अख्तियारको दाबी छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ८ वर्षदेखि १० वर्षसम्म जेल सजाय र बिगोको अनुपातमा जरिवाना माग गरिएको छ ।
सोलु सल्लेरीको जनस्वास्थ्य कार्यालयमा सुरु नियुक्ति पाएका ढकाल त्यहाँ ११ महिना काम गरेपछि माई नगरपालिकामा सरुवा भएका थिए । गत फागुनमा उनी कटारी आएका हुन् । ढकाल १४ महिना बीचमा झन्डै चार करोड रुपैयाँ खातामा सार्न सफल भएको अनुसन्धानले देखाएको छ । अख्तियारले सोलुस्थित जनस्वास्थ्य कार्यालयबाट समेत ढकालको जिम्माका सबै फाइल खिचेर छानबिन सुरु गरेको थियो ।
कटारी नगरपालिकाका नाममा विनियोजन भएको एक करोड ९८ लाख ७५ हजार रुपैयाँ गत फागुन २२ गते निजी खातामा स्थानान्तरण भएको छ । त्यसपछि चैत २६ गते त्यति नै रकम ढकालले पुनः आफ्नो निजी खातामा पठाएका छन् । अनुसन्धानबाट नगरपालिकाको मूल खाताबाटै धमाधम निजी खातामा रकम सारेको भेटिएको छ ।
यता कार्यकारी अधिकृतका नामको दस्तखत आफैंले किर्ते गर्ने र राजस्व तिरेको बैंक भौचरसमेत किर्ते खडा गरी माई नगरपालिकामा पनि ३ करोड २४ लाख ५६ हजार एक सय ४८ रुपैयाँ भ्रष्टाचार गरेको ढकाललाई अभियोग लागेको छ ।
मुद्दामा ढकाल, श्रीमती, आमाको नामको जग्गा तथा उनीहरूका नाममा रहेको बैंक मौज्दातसमेत जफत गर्न अख्तियारले अदालतसँग माग गरेको छ । कटारीमा सरुवा भएको डेढ महिनामै ढकालले ४ करोड रुपैयाँ निजी खातामा राखेको खुलेको छ । सिन्धुलीका ढकाल २०७२ मंसिर १५ मा सेवा प्रवेश गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: