प्रधानमन्त्री ओलीले भने, ‘म कसैको मुख हैन कामको परिणाम हेर्छु’

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । अरु ठाउँ भन्दा निकै सुन्दर र रमणीय क्षेत्र प्रचुर सम्भावनाको खानीको रुपमा रहेको रहेको सुदूरपश्चिमलाई सबै मिलेर विकसित गर्नुपर्ने बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ विश्वविद्यालयसभाको आइतबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासमा पछि पर्यो भनेर सधैँ गीत मात्र गाएर अघि नबढ्ने बताए । “प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै छन् । यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ्ग, प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले शिक्षामा एक वर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताए । प्रधानमन्त्री ओलीले सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताए । “म कसैको मुख हैन कामको परिणाम हेर्छु” प्रधानमन्त्री ओलीले भने ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानबिन गर्नका लागि दुईवटा समिति गठन गरेका छन् ।

विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाका विषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा एक समिति गठन गरिएको हो ।

दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ ।
प्रकाशित : Sunday, September 16, 2018
,

recent

Popular Posts