×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाश विकास बैंकमा हाकिमहरुको ‘टसल’ : अनियमितताको आरोपदेखि सरुवाको लफडाले जागिर छोड्दै कर्मचारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – करारेहरुको हालीमुहाली रहेको, अयोग्य संचालक रहेको लगायतका प्रकरणले विवादमा आइरहेको कैलाश बिकास बैंकमा हाकिमहरुको टसलले ठूलो रुप लिएको खुलासा भएको छ । बैंकमा आइपरेको यस्तो लफडाले एकातर्फ बैंकभित्रका नितान्त गोप्य कुराहरु बाहिर आउने सम्भावाना देखिएको छ भने अर्कोतर्फ बैंकका केहि उपल्लो तहका कर्मचारीहरु राजीनामाको मुड बनाएर बसेका छन् । यसै बीचमा प्रोक्र्युमेन्ट विभागका प्रमुख बिमल तिमिल्सीनालाई बैंकले विभिन्न कारण देखाएर बीरगंज सरुवा गरिदिएपछि उनले बैंकको जागिर छोड्ने भएका छन् । यद्यपी उनलाई अनियमितता गरेको आरोप लगाएर बैंकले सरुवा गरिदिएको एकाथरी कर्मचारीको दावी छ भने अर्कोथरी कर्मचारी उनले बैंकमा विभिन्न काममा अनियमितता गरेको रिपोर्ट भएपछि उनलाई सरुवा गरिएको दावी गर्छ । खरिद प्रक्रियामा भएका केहि प्राविधिक त्रुटीहरुलाई समातेर उनीविरुद्ध बैंककै केहि कर्मचारीहरुले रिपोर्ट गरेपछि उनलाई सरुवा गरिएको स्रोत बताउँछ । महिना नै पिच्छे कुनै न कुनै लफडा बाहिरिने कैलाश बिकास बैंकमा अहिले यो प्रकरण पनि ‘बिग-इस्यू’ बनेको छ । 
खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी !
विभिन्न समानको खरिद प्रक्रियामा घोटाला भएको भन्दै कैलाश बिकास बैंकविरुद्ध केहि निकायमा उजुरी परेको खबर छ । विभिन्न सामान खरिद प्रक्रियामा घोटाला भएको भन्दै बैंकविरुद्ध उजुरी परेको हो । बैंकमा घोटाला भएको भएपनि नेपाल राष्ट्र बैंकले टुलुटुलु हेरेर मात्र बसेको भन्दै उक्त प्रकरणबारे बैंककै केहि कर्मचारीहरुले बिमल तिमिल्सीना, बैंकका कम्पनी सचिव लगायतको नाम जोडेर उजुरी गरिएको बुझिएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार उक्त उजुरीमा बैंकले खरिद प्रक्रियामा घोटाला गरेको, आफु निकटका भेन्डर हरुलाई कागज मिलाएर काम दिएको, लगायतका विवरण उल्लेख छ । बैंकको प्रोक्र्युमेन्ट विभागका प्रमुख बिमल तिमिल्सीना छन् ।     
अनियमितताको आरोप लगाउंदै सरुवा, सरुवापछि राजीनामा दिंदै बिमल तिमिल्सीना ?
असोज १ गतेदेखि लागु हुने गरी भाद्र २१ गते बैंकले बिमल तिमिल्सीनालाई बीरगंज सरुवा गरेर पठाएको छ । नारायणगडदेखि विर्तामोडसम्मका साखाहरु हेर्नेगरी उनलाई बीरगंज पठाइएको जानकारी बैंकले दिएको थियो। अचम्म लाग्दो कुरा त के छ भने नारायणगडदेखि विर्तामोडसम्मका साखाहरु हेर्न बिरगंज कार्यालय राखिएको छ । ती साखाहरु काठमाडौँबाटै हेर्न वा बीरगंजबाट हेर्नुको खास अन्तर देखिंदैन । तर बैंकले रिजनल कन्सेप्टमा जाने भन्दै उनलाई बीरगंज पठाएको छ । उनलाई बीरगंज सरुवा गर्नुका पछाडी बैंकको नियत फरक रहेको बैंककै उपल्लो तहका कर्मचारीहरु बताउँछन् । ‘बुटवलमा कृष्ण अर्याललाइ रिजनल हेड तोकिएको छ । उनलाई यो निकै पायक पर्ने ठाउँ हो । तर पोखरामा भ्याकेन्सी खुलाईएको छ । नेपालगंजमा पनि भ्याकेन्सी खुलाइएको छ । काठमाडौँमा रवी शाक्यलाइ नियुक्ति दिइएको छ । अव काठमाडौँमै बसाइ रहेका तिमिल्सीनालाई बीरगंज पठाउनुको नियत के होला ? जवकी काठमाडौँकै कर्मचारीलाइ काठमाडौँको रिजनल हेड बनाइएको छ । ‘ बैंकका उपल्लो तहका एक कर्मचारीले अर्थ सरोकारसंग भने ।
बिमल तिमिल्सीना भन्छन्, ‘बीरगंजमा रहेर काम गर्दिन, राजीनामा दिंदैछु’
यसो त यता बिमल तिमिल्सीनाले पनि आफु राजीनामा दिंदै गरेको कुरा पुष्टी गरेका छन् । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै उनले भने, ‘मलाइ बीरगंज पठाइयो । जवकी मलाइ तोकिएका साखाहरु काठमाडौँबाट नै हेर्न सजिलो हुन्छ ।  मैले यो कुरा सीइओलाई समेत अनुरोध गरेको हुँ । तर उहाँले मलाइ काठमाडौँ राख्न मान्नुभएन । यो बुढेसकालमा काठमाडौँमा परिवार छोडेर किन मोफसल जानु भनेर बैंकबाट राजीनामा दिन लागेको हुँ ।’ उनले भने । ‘तपाईं विरुद्ध त विभिन्न निकायमा उजुरीसमेत परेको छ भन्ने खबर आयो नि ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘मैले पनि यो कुरा सुनेको हो । म विरुद्ध केहि निकायमा उजुरी गरिएको छ भन्ने जानकारी मैले पनि केहि दिन अगाडी पाएको हुँ । तर म छाती फुलाएर भन्न सक्छु, यो आरोप सिवाय केहि होइन । म यो आरोप प्रमाणित गर्न चुनौती दिन्छु । यत्रो बर्ष कम गरियो । मैले कहीं कतै पनि गलत गरेको छैन । सम्बन्धित निकायमा परेको उजुरीबारे छानविन पक्कै होला । त्यसपछि केहि नतिजा आउला ।’    तर अव कैलाश बिकास बैंकमैचाहिं सायद रहन्न होला । 
तिमिल्सीनाका समर्थक भन्छन्, ‘उनलाई फसाएर निकाल्न खोजियो’
यसो त तिमिल्सीना निकट मानिएका बैंक स्रोतले उनलाई फसाउन खोजिएको दावी गर्छ । सोहि स्रोतले दिएको जानकारी अनुसार तिमिल्सीनाको व्यक्तिगत रुपमा खर्च गर्ने अधिकार १५ हजार रुपैयाँमात्र छ । ‘उनले आफुखुसी खर्च गर्न पाउने भनेको १५ हजार रुपैयाँमात्र हो । त्यसमा के अनियमितता हुन्छ र ? खरिद प्रक्रियामा उनले घोटाला गरे भन्ने कुरा बैंककै कर्मचारी प्रयोग गरेर विभिन्न निकायसम्म पुर्याईएको छ ।’ बैंक स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘बैंकमा प्रोक्रुमेन्ट समिति छ । तिमिल्सीनाले मात्र गरेर सक्ने केहि होइन । तर उनीविरुद्ध केहि बाह्य निकायमा उजुरी गरेको खबर छ । बैंकमा घोटाला भएको कुरा त बैंकमै मिलाउने कुरा हो । आन्तरिक कारवाहीको प्रक्रिया पनि हुन्छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक छ । तर मिडियालाई समेत जानकारी गराएर यस विषयमा बैंकका नितान्त भित्री कुराहरु ल्याउने प्रयास किन हुँदैछ ? यो विषयमा सबैजना सचेत हुनुपर्ने हो । बैंकमा उनलाई जसरी पनि निकाल्नेगरी चलखेल भएको छ ।’ ‘यसो त हावा नचली पात कसरी हल्लियो होला र ?’ हाम्रो प्रश्नमा बैंक स्रोत भन्छ, ‘खरिद प्रक्रियामा केहि प्राविधिक त्रुटीहरु पक्कै भएका छन् । यो बीचमा तिमिल्सिना र बैंकका एक सिनियर हाकिमबीच केहि व्यक्तिगत कुरामा विवाद पनि भएको थियो । यहि कारण उनलाइ बैंकबाट निकाल्ने षडयन्त्र भएको हुनसक्छ ।’    
सूचना अधिकारीको प्रष्टीकरण, ‘रिजनल कन्सेप्टमा जाने भएर तिमिल्सीनालाइ सरुवा गरिएको हो, अन्यथा होइन’
यता यस विषयमा हामीले बैंकका सूचना अधिकारी प्रकृति राज तिमिल्सीनालाई सोधेका थियौं ।  अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै उनले बाहिर कुरा आएजस्तो घोटाला वा अनियमितता भएर कसैलाई सरुवा नगरिएको बताए । ‘अव संस्था पनि ठुलो भयो । रिजनल कन्सेप्टमा जानुपर्ने भयो । सोहि अनुसार बिमलजीको सरुवा भएको हो ।’ उनले थप स्पष्ट पारे । ‘तर पोखरा, नेपालगंज लगायतका ठाउँमा भ्याकेन्सी निकाल्ने अनि एउटा कोहि व्यक्ति विशेषलाइ बीरगंज पठाउने कुरा कसरी भयो त ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘यो व्यवस्थापनको निर्णय हो । मैले सूचना अधिकारीका हैसियतले यहाँभन्दा बढी केहि भन्न मिल्दैन ।’ हामीले तिमिल्सीनाले राजीनामा दिन लागेको बारे सोध्दासमेत उनले यस विषयमा आफुलाई जानकारी नभएको बताए । ‘उहाँलाइ बीरगंज सरुवा गरिएको भन्ने कुरा हो तर उहाँले राजीनामा दिंदै हुनुहुन्छ भन्ने औपचारिक जानकारी छैन । उहाँ र बैंकका केहि कर्मचारीबीच टसल भएको कुरा जसरी बाहिर आएको छ, त्यो पनि सत्य होइन ।’
यो पनि पढ्नुहोस् :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: