'भूपू पत्रकार' मन्त्री बास्कोटालाई क्रान्तिकारी पत्रकारले भेटे, ज्ञापन पत्र सुनेपछि मन्त्रीको जवाफ, 'सरकार गम्भीर छ'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भूपू पत्रकारसमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई क्रान्तिकारी पत्रकार संगठन नेपालले भेट गरी ९ बुंदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । नयाँ मुलुकी ऐन संसोधन हुनुपर्ने, श्रमजीवी पत्रकारहरुले उचित तलव सुविधा पाउनुपर्ने लगायतका माग राखेको क्रान्तिकारी पत्रकार संगठनका माग सुनेपछि मन्त्री बास्कोटाले आफुले पत्रकारका बारेमा बुझेको भन्दै पेशागत मर्यादालाई पनि पत्रकारले बुझ्नुपर्ने बताएका थिए । क्रान्तिकारी पत्रकारले बुझाएका मागका सम्बन्धमा बोल्दै उनले पत्रकारहरुलाई दशै भत्ता हुनुपर्ने माग सहि भएको भन्दै लागु गर्न प्रयत्न गर्ने बताए ।

जेष्ठ पत्रकारलाई सम्मान गर्ने उदेश्यले खडा गरिएको १ करोडको कोषमामा २ करोड थपेर ३ करोड पुर्याएको भन्दै मन्त्री बास्कोटाले क्रान्तिकारी पत्रकार सङ्गठनको मागलाई समेत ध्यानमा राखेर आगामी दिनमा उक्त कोष ५ करोड पुर्याउन पहल गर्ने उनले बताए ।

सङ्गठनका केन्द्रिय अध्यक्ष डिल्लीराज रावतको नेतृत्वमा उपाध्यक्ष जन्मदेव जैशी, महासचिव बाबुराम भुषाल र केन्द्रीय सचिवालय सदस्य कमलबुढासहित मन्त्रालय पुगेर बुझाइएको ज्ञापनपत्रमा ९ बुदाँमा विभिन्न मागहरु समावेश गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सवालहरुको उठान गरेर संचारमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै संघर्षका कार्यक्रमहरु थालनी गरिएको सङ्गठनका धन्यवाद रावतले बताएका छन् ।

यस्तो छ ज्ञापन पत्र

क्रान्तिकारी पत्रकार संगठन, नेपाल
केन्द्रीय समिति

श्री माननीय मन्त्री ज्यू
सञ्चार तथा सूचना प्रवृधि मन्त्रालय
सिंहदरबार, काठमाडौं ।

विषयः ज्ञापनपत्र ।
क्रान्तिकारी पत्रकार संगठन, नेपालले विगत लामो समयदेखि मिडियाको प्रेस स्वतन्त्रता, आम नागरिकको बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रताको अधिकारका साथै आस्था र विचारको स्वतन्त्रताका लागि आवाज उठाउँदै आएको छ । यी अधिकार वास्तविक प्रजातन्त्रका आधारभूत अधिकार हुन । आजको विकसित विश्वमा कुनै पनि नागरिकलाई बाँकी विश्व समाजबाट अलग गर्न सकिदैन । तर, आज सबैभन्दा बढी यी अधिकारमाथि आक्रमण भइरहेको छ । बेलाबेलामा बन्ने कानुन र ती कानुनमा कतै न कतैबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने प्रावधान घुसाइने गरेकाले हामीले लामो र कठोर संघर्ष गरी प्राप्त गरेको उपलब्धि गुम्ने खतरा महशुस भइरहेको छ ।

त्यसैगरी श्रमजीवी पत्रकार ऐन जारी भएको आज २४ वर्ष बितिसकेको छ । २४ वर्ष बित्दा पनि यो ऐन पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । नेपाली मिडिया क्षेत्रको श्रमअभ्यास निकै अव्यवस्थित र कमजोर रहेको छ । अहिले पनि ठूलो संख्यामा पत्रकारहरु अत्यन्तै न्यून तलबमा त्यही पनि विना नियुक्तपत्र काम गर्न बाध्य छन् । त्यही तलब पनि महिनौसम्म नदिने गरिएको छ । मिडिया जस्तो संवेदनशील र बौद्धिक अभ्यास गर्ने क्षेत्रको यस्तो अव्यवस्थित र कमजोर श्रम अभ्यास हुनु लाजमर्दो कुरा हो । व्यवस्थित र आफ्नो अधिकार सहज रुपमा प्रयोग गर्नसक्ने मिडियाले मात्र देश र जनताको जीवनलाई बदल्नका लागि योगदान गर्न सक्छ ।

मिडियाको अधिकार कुन्ठित गरेर गरिने विकास वा हुने परिवर्तन कदापी पारदर्शी हुन सक्दैन । त्यसैगरी हरेक मानिस आफू जन्मेसँगै सोच्ने, बुझ्ने र बोल्ने विशेषता लिएर आएको हुन्छ । व्यक्तिले आफ्नो सामाजिक मुल्य मान्यतामा नै रहेर आफ्ना अभिव्यक्ति दिनुपर्छ तर त्यो प्राकृतिक विशेषतालाई राज्यले बलप्रयोग गरेर कदापी दबाउन सक्दैन । मिडियाको अधिकारको रक्षा नगरीकन नागरिकको अभिव्यक्ति र विचार जस्ता आधारभूत स्वतन्त्रताको रक्षा हुन सक्दैन । यी व्यक्तिको स्वाभिमान, विकास र देशको भविष्यसँग जोडिएका अधिकार हुन् । त्यसैले यी विषयहरुमाथि माननीय मन्त्री ज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन यो ज्ञापनपत्र पेश गरेका छौ ।

हाम्रा मागहरु
१. श्रमजीवी पत्रकार ऐन जारी भएको २४ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु विडम्वना हो । निजी सञ्चार माध्याममा त परै छ सरकारी सञ्चारमाध्यममा नै यो ऐन पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । सरकार आफैले सञ्चालन गरेका संरचनामा आफैले जारी गरेको ऐन कार्यान्वयन गराउन नसक्नु वा लागु हुन नसक्नु विडम्वना हो । साथै देशको कानुन वमोजिम दर्ता भई सञ्चालन भएका सञ्चारमाध्यममा समेत यो अनिवार्य रुपमा लागु गराइनुपर्दछ । यो ऐन कार्यान्वयन गर्नुको सट्टा यस ऐनलाई विस्थापित गर्ने वा यस ऐनका प्रावधानहरु मिडिया सञ्चालकहरुको स्वार्थमा संशोधन गर्ने प्रयत्न पनि हुँदै आएका छन् । यसप्रति हामी खबरदारी गर्दै सरकारले यो ऐनको पूर्ण रुपमा कार्यान्वयन गर्न कदम चालोस ।

२. अहिले पनि ठूलो संख्यामा श्रमजीवी पत्रकारहरुलाई मिडिया हाउसहरुले विना नियुक्तिपत्र काम लगाइरहेका छन् । उनीहरुले पाउने न्यूनतम सुविधा पनि पाउन सकेका छैनन । साथै महिनौ बित्दा पनि समयमा तलब नपाइरहेको स्थिति छ । त्यसैले श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भए वमोजिम अनिवार्य नियुक्ति पत्र प्रदान गर्ने, निश्चित अवधिभित्र स्थायी गरिनुपर्ने, ऐनले परिकल्पना गरेअनुरुपका कल्याणकारी सुविधा र अन्य सेवा सुविधा प्रदान गरिनुपर्ने, समयमा नै तलब दिइनुपर्ने र महंगीले आकाश छोएको यो परिवेशमा श्रमजीवीले आफ्नो परिवार धान्नसक्ने तलब सुविधान प्रदान गर्नुपर्ने बारे हामीले उठाउँदै आएका माग पूरा गराउन सरकारले पहल गरोस ।

३. मिडिया क्षेत्रको बौद्धिक श्रम अभ्यासलाई उच्च बनाउन र बौद्धिक क्षमताको कदर गर्दै यसको अझ विकास गर्न पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्दै ३० हजार भन्दा माथि बनाइयोस् । यस सन्दर्भमा यसअघि सञ्चार तथा सूचना प्रवृधि मन्त्रालय अन्तर्गत रहेको पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको पछिल्लो सिफारिश मननीय छ । उक्त सिफारिसलाई सरकारले पारित गरी लागु गरियोस् ।



४. हिन्दु नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्व नजिकिएको अवसरमा श्रमजीवीलाई पर्व भत्ताको व्यवस्था कार्यान्वयन गरियोस ।
५. दिनरात नागरिकलाई सुसूचित गर्न तथा सञ्चारको गहन भूमिका निर्वाह गर्न २४ सै घन्टा पहरेदारका रुपमा काम गरिरहेका श्रमजीवी पत्रकारहरु अहिले पनि विभिन्न जोखिमबाट प्रताडित छन् । मिडिया सञ्चालकहरुले अरु सञ्चारसाधनहरुको विमा गरेका छन् तर ती साधन चलाउने मान्छेको भने विमा गरेका छैनन । यसतर्फ प्रभावकारी कदम पनि चालिएको छैन । त्यसैले हरेक श्रमजीवीको नियुक्तिपत्रसँगै उनीहरुको जीवन विमा गरियोस । यो कुरा कार्यान्वयनमा ल्याउन सरकारले विशेष प्रस्ताव ल्याओस ।

६. अहिले पनि प्रेसबाट सरकारी र गैरसरकारी क्षेत्रबाट धम्की दिने, आक्रमण गर्ने र प्रेसको स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने क्रम छुटेको छैन । सेल्फ सेन्सरसिप बढेको छ । बढ्दो भ्रष्टाचार, महंगी, कालोबजारी तथा समाज र राज्यमा हुने गलत कार्य देख्दा देख्दै पनि लेख्न नसकिने अवस्था छ । यो परिदृष्य देश र नागरिकको भविष्यका लागि ठूलो खतरा हो । त्यसैगरी ग्रामीण क्षेत्रमा काम गर्ने पत्रकारहरु प्राकृतिक जोखिम पनि त्यतिकै झेलिरहेका छन् । प्राकृतिक प्रकोप तथा भौगोलिक जटीलताको शिकार थुप्रै पत्रकारहरु पर्ने गरेका छन् । सरकारले प्रेसलाई पूर्ण रुपमा सुरक्षा प्रदान गर्न र प्राकृतिक तथा अन्य जोखिममा रहेका पत्रकारहरुलाई आकस्मिक रुपमा उद्धार गर्न विशेष व्यवस्था गरोस । साथै सम्पादकीय स्वतन्त्रतासमेत कमजोर बनेको चर्चा बेलाबेलामा उठ्ने गर्दछ । यसको जगेर्ना तथा सम्मान गनै मिडिया सञ्चालक र सरकारले ध्यान दिन हामी आग्रह गर्दछौ ।

७. गत भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनको नयाँ संस्करणका रुपमा आएका ऐन खासगरी मुलुकी देवानी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी अपराध संहिता ऐन, २०७४ले नेपाली प्रेसको घाँटी निमोठेको छ । भदौ १ गतेदेखिजारी भए यता थुप्रै पत्रकारहरु गिरफ्तार समेत परिसकेका छन् । साथै नागरिकको अभिव्यक्ति स्वतन्त्रतासहित थुप्रै अधिकारको हत्या गरेको छ । यसले खोज पत्रकारीताको कलम भाँचेको छ । सातै प्रमाण जुटाउने पत्रकारिताको प्रयासमाथि तगारो तेस्र्याएको छ । पत्रकार र सञ्चारमाध्यमका लागि मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का केही प्रावधानहरु जटिल र प्रेस स्वतन्त्रता विरोधी छन् जस्तो मुलुकी संहिताको अनुसूची १ मा छापाखाना तथा प्रकाशन ऐन २०४८ को दफा १५, यसै ऐनको अनुसूची ४ मा गाली वेइज्यति र गोपनीयताको कसुरलाईसमेत फौजदारी कसुर मान्ने र सरकारवादी मुद्दा हुने प्रावधान र दफा ४९ को उपदफा २ र ४, दफा ५८, दफा ६५ को उपदफा १, दफा ७० (१), दफा ११९, दफा १५१ र धारा १५२, दफा १५६ उपदफा(१) लगायतका बुँदा संशोधनका लागि माग गर्दछौं । संहिताको भाग ३ अन्तर्गत वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुरका दफा २९१ देखि दफा ३०२ सम्म स्वतन्त्र पत्रकारितामै लगाम लगाउन सक्ने खतरा देखिएको र दफा ३०५ मा कसैलाई गाली गर्न नहुने र दफा ३०६ मा बेइज्जती गर्न नहुने प्रावधानहरु पनि सञ्चारमाध्यम र सञ्चारकर्मी विरुद्ध प्रयोग हुने देखिन्छ । त्यसैले यस्तो निरंकुश र नियन्त्रणकारी ऐनलाई तत्काल खारेज गरियोस् ।



८. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, आस्था र विचारको स्वतन्त्रताका हकमा नेपालको पछिल्लो संविधान समेत कठोर रहेको हामीले यसअघि नै भन्दै आएका थियौ । यो संविधान जारी हुनेबेलादेखि नै संविधानका थुप्रै प्रावधानहरुमा आपत्ती जनाउँदै त्यसलाई संशोधन गर्न माग गरेका थियौ । नेपाल पत्रकार महासंघको अगुवाईमा हामीले विगतमा यससन्दर्भमा सबै राजनीतिक दलका प्रमुख, तत्कालीन सभामुखलाई समेत यसबारे ध्यानाकर्षण गराएका थियौ । तर, त्यसको अलिकति पनि सुनुवाई भएन । हामी यसअघि राखेका ती विषय अनुरुप संविधानका कतिपय प्रेस, अभिव्यक्ति, आस्था र विचारको स्वतन्त्रतालाई कुन्ठित गर्ने प्रावधानहरु संशोधन गरी हटाउन पनि माग गर्दछौ ।

९. नेपाली प्रेस अहिले पनि विकासकै चरणमा छ । मिडिया र मिडियाकर्मीले पनि सुधार गर्नुपर्ने, विकास गर्नुपर्ने केही कुराहरु अवश्य छन् । त्यसका लागि मिडियाको स्तरोन्नति र मिडियाकर्मीको क्षमता विकासका लागि सरकारले समेत ध्यान दिन जरुरी छ । अहिले पनि मिडिया क्षेत्र पूर्ण रुपमा श्रममैत्री, लैंगिक मैत्री र पूर्ण रुपमा समावेशी हुन सकेको छैन । यसका लागि पनि सबैको सहभागितामा गृहकार्य गरी विशेष नीति ल्याउन आग्रह गर्दछौ ।

अन्तमा, नजिकिदै गरेको हिन्दु नेपालीहरुको चाड दशै, तिहार र तराईवासीहरुको छठ पर्वका अवसरमा माननीय मन्त्री ज्यूसहित सबैमा हार्दिक शुभकामना दिँदै यी मागहरु यथाशक्य कार्यान्वयनमा ल्याउन माग गर्दछौ । धन्यवाद ।

प्रकाशित : Tuesday, October 02, 2018

recent

Popular Posts