×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘गनगने’, ‘घुसघुसे’ र ‘दले’ लगानीकर्ता-संघहरु खारेज गरे कसो होला ? बरु यी युवालाई एकपटक सलाम गरौँ !

  • अर्थ सरोकार टिप्पणी 
काठमाडौँ – समूह भनेको शक्ति हो । संघ बनाएर अघि बढ्नुका फाइदा धेरै छन् । लगानीकर्ताका हकमा पनि त्यस्तै हो । लगानीकर्ताका विभिन्न संघहरुकै सक्रियतामा लगानीकर्ताहरुले बोल्ने प्लेटफर्म पाएका छन् । दवाव दिन पाएका छन् । तर पछिल्लो समय केहि संगठनहरु बजारमा यसरी चलखेल गरिरहेका छन् कि मानौं उनीहरुलाई लगानीकर्ताको भलो होइन आफ्नो पोर्टफोलियो बनाउनुपरेको छ । हुन त सबै संगठन त्यस्ता पनि छैनन् । तर नेतागिरी गर्ने प्रवृति हावी हुँदा अव त गुट नै पिच्छे संघ खुल्लान भन्ने आशंका छ । र जति जति संगठन खुले, केहीलाई छोडेर सबैले फोहोरी राजनीति मात्र गरे भन्दा फरक पर्दैन ।
विवाद नै विवादको इतिहास, वर्तमान पनि विवादित !
१. आफुलाई ठुला लगानीकर्ताहरुको संगठन भन्न रुचाउने नेपाल इन्भेष्टर्स फोरम अहिले चरम विवादमा छ । लगानीकर्ताको आन्दोलनमा अध्यक्ष अनेक बहाना गरेर आउन छोडेका छन् । उनलाई नेप्से प्रमुखसँग साँठगाँठ गरेको आरोप लागेको छ । हुन पनि उनी साउदसँग सुटुक्क भेटेको तथ्य बाहिर आइसकेको छ । लगानीकर्ताहरुको भीड जम्मा गरेर आफुचाहिं कुनै एक कम्पनीको बोर्ड बैठक भन्दै भाग्ने जुन खालको काम उनीबाट भएको छ, त्यसले लगानीकर्ताहरुमा निराशा पलाएको छ ।
सोहि संगठनका उपाध्यक्ष छोटेलाल रौनियारको गतिविधि पनि शंकास्पद छ यति बेला । लगानीकर्ताको भीड नियन्त्रण गर्ने नाममा उनले पटक पटक वाईको कम्पनीको बचाउ गरेको देखियो केहि दिनअघिको लगानीकर्ताको दवाव कार्यक्रममा । यसो त उनी उपाध्यक्ष हुनकै लागि इन्भेष्टर्स फोरममा आएको आरोप लगाउँछन् सेयर लगानीकर्ता संघ नेपालका पधाधिकारीहरु नै । पहिला रौनियार उक्त संगठनका सल्लाहकार थिए । त्यो संगठनमा बसेर खासै राजनीति नफापेपछी उनी इन्भेष्टर्स फोरममा आएका थिए । उनी सेयर लगानीकर्ता संघ नेपालमा हुँदा एक बैंकलाई आफु नेता भएको भन्दै थर्काएको घटना पनि बाहिर आएको थियो । सेयर लोन लिएका उनले मार्जिन कल आएपछि बैंकलाई थर्काएका थिए । त्यतिबेला नै बैंकले सेयर लगानीकर्ता संघ नेपालबारे चासो दिएपछी उनी झन् बलियो संगठन हुन्छ भनेर फोरम तिर हानिएका थिए ।
२. हुन त सेयर लगानीकर्ता संघ नेपालको पनि इतिहास खासै गतिलो छैन । संघका अध्यक्ष उत्तम अर्यालले पटक पटक झुट बोल्ने गरेको प्रमाण अर्थ सरोकारले यस अघि नै पनि प्रकाशन गरिसकेको छ । यतिमात्र होइन उनी रिलायबल डेभलोपमेन्ट बैंक प्रकरणमा पनि चुकेको आरोप धेरैले लगाएका छन् । संघका कतिपय पधाधिकारीहरुले नै उनले पैसो खाएको आरोप लगाएका थिए ।
३. सोहि संगठनबाट निस्किएर नवराज सुवेदीको नेतृत्वमा बनेको संघपनि विवादरहित छैन । उनले सेयर लगानीकर्ता संघ नेपालमा हुँदा केहि कम्पनीहरुलाई भित्री सूचनाका लागि बार्गेनिङ गरेको भन्दै बैठकमै उनीमाथि स्पष्टीकरण सोधिएको थियो । तर उनले स्पष्टीकरणको सट्टा राजीनामा दिए । उनले त्यसपछि नेपाल पूँजीबजार लगानीकर्ता संघ खोले । संघ पनि विवादमा आयो । उनले कतिपय ठाउँमा संघको भन्दै छापसमेत प्रयोग गरेका थिए तर उक्त संघ दर्ता नै भएको रहेनछ । पछी राधा पोखरेल नेतृत्वको समूह बनेर उनलाई संघबाटै बर्खास्त गर्यो । त्यसपछि फेरि उनले नेपाल पूँजीबजार संघ भनेर संघ खोले ।
४. राधा पोखरेल नेतृत्वको संघ जन्मदै विवादमा पर्यो । यद्यपी यो संघले अरु भन्दा केहि उल्लेखनीय काम गरेको पक्कै छ । तर लगानीकर्ताहरुलाई आह्वान सबै संघ मिलेर गर्ने र धन्यवाद बिज्ञप्तिचाहिं एक्लै निकाल्ने गरेको यो संघमाथि पनि सबैसंग मिलेर भन्दा आफ्नो उपस्थिति बढी देखाउने गरी काम गरेको आरोप लागेको छ । यद्यपी महिला नेतृत्वमा धेरै सकारात्मक कामहरु प्रसंसनीय नै छन् । 
५. कुनै बेला बजार १२०० सय आउँछ भनेर चर्चामा रहेका दुर्गा प्रसाद काफ्ले पनि संघ खोल्ने तयारीमा छन् । उनले भित्रभित्रै यो विषयलाई लिएर रार्मो तयारी गरिरहेका छन् भन्ने कुरा पनि बाहिर आएको छ । कुनै बेला उनलाई देखि नसहनेहरु पनि अहिले बजारको बिजोग देखेर उनलाई पत्याउन थालेका छन् । दुर्गाप्रसादले संघ खोले भने अरु आधा दर्जन संघ पनि खुल्दैनन् भन्न सकिन्न । 
संघ भन्दा स्मार्ट देखिए लगानीकर्ताहरु :
लगानीकर्ताको आन्दोलनमा एक पात्र देखिए । उनी को हुन् धेरैलाई थाहा छैन । लामो कपाल, मोटो ज्यान, चट्ट परेको जुँगा अनि सुकीलो लवाइ । प्रोफेसनल देखिने शारीरिक हाउभाउ र नेताजस्तै देखिने व्यवहार । लगानीकर्ताको आन्दोलनमा देखिएका उनलाइ नै संघको नेता हो भनेर झुक्किने आम दर्शक धेरै भए । हुन पनि उनले सटिक कुरा गरे धेरै ठाउँमा । लगानीकर्ताका नेताहरुले वाईकोको बचाउ गर्दा समेत उनी जनप्रतिनिधिझैं बोले । कसैले माहोल बिगार्न खोज्दा झपारे, माहोललाई त्यसैगरी तताए । उनी एक प्रतिनिधि पात्र हुन् । उनीजस्ता कहिले गर्दा नै दवाव सफल भयो । त्यहि बेला इन्भेष्टर्स फोरमका अध्यक्ष कुन दुलोभित्र पसेर बसेका थिए । दबाब कार्यक्रमको माहोल हेर्दा लाग्थ्यो उक्त कार्यक्रमको लिडर नै तीनै युवा थिए । अव हरेक युवाहरु यति सचेत हुने हो भने फोस्रा संघहरु के काम ? 
अवको विकल्प के ?
बजारमा ती माथि वर्णन गरिएजस्तै युवा केहि छन्, जसलाई आफ्नो काम, र लगानीकर्ताको भलोसँग चासो छ । लगानीकर्ताका कथित नेताहरुजस्तै उनलाई राजनीति गर्नु छैन । अब एउटै शशक्त संघ नबन्ने हो भने अब ब्रोकरै पिच्छे ५० वटा जति संघ नबन्ला भन्न सकिन्न । बेलैमा नेताहरुले आम लगानिकर्ताको भेला डाकेर लगानिकर्ताकै चाहनाअनुरुप नेतृत्व चयन गर्दै अगाडि बढ्दा सबैको भलो हुने देखिन्छ । नत्र फोटो खिचाउन, आफू अनुकुल गतिविधि गर्न र लगानिकर्ताको नाममा नेतागिरी गर्नेहरुलाई लगानीकर्ताले तह लगाउनेछन् । तत्काललाइ सानो टिम बनाएर सबै संघ मर्ज गरे राम्रै हुन्छ । किन कि को कति पानीमाथि छ भन्ने कुरा प्रष्ट भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: