×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दुई बीमा कम्पनीका नामले निम्त्याए ‘कन्फ्युजन’ : नेपाल लाइफ ‘रेपुटेसन रिस्क’को मारमा, सोझा जनता दोधारमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एउटा प्रतिनिधि घटना  । घटना काभ्रेको हो । एक बीमा अभिकर्ता नयाँ ग्राहक बनाउन ‘बीमा’बारे जानकारी दिंदै थिए । त्यतिकैमा एक जनाले सोधे, ‘हाम्रो काकाको छोराले त नेपाल लाइफ इन्स्योरेन्स भन्ने कम्पनीमा बीमा गरेका रहेछन् । कुनचाहिं राम्रो हो ? उनले जवाफ फर्काए, ‘यो पनि नेपाल लाइफ नै हो । नयाँ ‘नेपाल लाइफ’ हो । सन नेपाल लाइफ । दुवै उस्तै हो । यो नयाँ कम्पनी भएकाले अझ राम्रो हो ।’ उनको जवाफ सुनेर उनले फेरि सोधे ‘कम्पनीको नाम पनि नयाँ पूरानो भन्ने हुन्छ है ?’ जवाफमा ती अभिकर्ताले भने, ‘हो अहिले रिलायबल नेपाल लाइफ भन्ने अर्को पनि आएको छ । तपाईं जुन ‘नेपाल लाइफ’मा बीमा गराउनु भन्नुहुन्छ हामी त्यहि गर्छौं ।’
हामी यो सव सुनीरहेका थियौं । अव उनको गफले सीमा नाघिसकेको देखेर हामीले त्यसको प्रतिवाद गर्यौं । ‘झुट बोल्ने ? सोझा जनतालाई झुक्याउने ? पुलिस बोलाउँ ?’ भनेपछि उनी ‘तपाईं को हो बीचमा बोल्ने ?’भनेर झनै तम्सिए । हामीले आफु अर्थ सरोकार डटकम नामक आर्थिक पोर्टलको भएको, र उनले गरेको गलत कामको खबर प्रहरीमा तुरुन्त गर्ने बताएपछि उनले स्पष्टीकरण दिए, ‘सबै कम्पनी उस्तै हो । जनताले बीमा गर्नु नै ठुलो कुरा हो नि !’ तर हामी उनको कुरामा कन्भिन्स भएनौं । हामीले उनको नाम सोधी-खोजी गर्यौं । तर उनको कुरा सुनीरहेका केहिले भने, ‘यसले फटाहा कुरा गरेको थाहा पाईसक्यौं । चिनेकै मान्छे हो । केहि नगरौँ । भर्खर काम थालेको छ क्यार, यसको नराम्रो खबर कतै नभनौं । हामी घरमा सम्झाउन लगाईदिउँला ।’ गाइगाइ गुइगुइ हुन थालेपछी केहि मानिसहरु भेला भए । त्यहि भीडमा नेपाल लाइफ इन्स्योरेन्सकै एक अभिकर्ता पनि आए । यो सबै कुरा सुनेपछि उनी पनि छक्क परे । सबैलाई खास कुरा के हो भनेर सम्झाए । यस्तो नाम दर्ता गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयले ख्याल नगरेको कुरालाई ‘सेटिङ’को उपमा दिए ।       
यो त एउटा प्रतिनिधि उदाहरणमात्र हो । यस्तो घटना अन्त पनि भएको हुन सक्छ । यसै पनि बीमा व्यवसायलाई बढी गफ दिने व्यवसाय भन्ने ट्याग लागेको छ । त्यसमाथि पनि यस्ता बदमास अभिकर्ताहरुले अरुको ब्राण्डको दुरुपयोग गरिरहेका छन् ।          
नामले नै निम्त्याओ कन्फ्यूजन ! उदेश्य अरुको ब्राण्डको ‘बिजनेश इन्क्यास’ हो ?
यसो त नामनै कन्फ्यूजन हुने खालको छ ।  ‘सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ नामको कम्पनी दर्ता गरिएको छ । जवकी नेपालमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नामक कम्पनी पहिला नै थियो । अझ कम्पनीले आफ्नो लोगोमा सनलाइफ इन्स्योरेन्स मात्र भनेर उल्लेख गरेको छ । र कम्पनीको नाम सन नेपाल लाइफ इन्स्योरेन्स छ । यतिसम्म कन्फ्यूजन छ कि कम्पनीको वेव साइट हेर्ने हो भने वेव साइटमा प्रयोग भएका दुइ स्लाइडमा एउटा स्लाइडमा कम्पनीको नाम सनलाइफ मात्र लेखिएको छ भने अर्कोमा सन नेपाल लाइफ । यसको अर्थ कम्पनीसँग सम्बन्धित व्यक्तिहरु नै कम्पनीको नाममा कन्फ्युज्ड छन् । तर यसले अभिकर्ताहरुलाई गफ लडाउन भने सजिलो भएको छ । नेपाल लाइफको नाम सुनिरहेकाहरुलाई र बीमा कम्पनीबारे नबुझेकाहरुलाई अभिकर्ताहरुले गलत सन्देश दिने रिस्क उतिकै छ ।
       
कम्पनी ऐनमा के छ ?
कम्पनी ऐन २०६३ मा स्पष्टसँग ‘प्रस्तावित कम्पनीको नाम अघि दर्ता भइ कायम रहेको कुनै कम्पनीको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुने गरी त्यसको कम्पनीको नामसँग मिल्दो जुल्दो भएमा कम्पनी दर्ता गर्न इन्कार गर्न सकिने भन्ने उल्लेख छ । तर कम्पनी दर्ता भएर, सम्बन्धित ठाउँमा लाइसेन्स लिएर चलाइएका कम्पनीहरुको हकमा भने ऐनले स्पष्ट रुपमा बोलेको छैन । यसले दर्ता मै कतै न कतै यो विषयलाई ख्याल गरिएन भन्ने देखाउंछ । त्यहि कमजोरीको फाइदा अहिले बदमास बीमा अभिकर्ताहरुले उठाईरहेका छन् । तर कम्पनी ऐनको यो बुँदा नै हेर्ने हो भने पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हुँदाहुँदै सननेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नाम राख्न नदिएको भए राम्रो हुने तर्क जानकारहरुको छ । यतिमात्र होइन नेपालमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नामको पनि कम्पनी छ । यसो त नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाम सन-नेपाल लाइफ इन्स्योरेन्ससँगमात्र होइन रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग पनि मिल्छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाम पनि भ्रम सिर्जना गर्ने खालको छ । तर पनि यो कम्पनी दर्ता गर्दा कम्पनी ऐनमा उल्लेख भएअनुसार कुनै पनि इन्कार गरिएन ।      
लोगो एउटा नाम अर्कै, नियतमै खोट हो ?
रिलायबल लाइफ इन्स्योरेन्स आउने हल्ला थियो कुनै बेला । लोगो पनि रिलायबल लाइफ इन्स्योरेन्स नै भनेर सार्वजनिक भयो । तर नाम रहेछ रिलायबल नेपाल लाइफ । त्यस्तै भयो सन नेपाल लाइफको हकमा पनि । लोगो बनाइयो सनलाइफ, नाम आयो सन नेपाल लाइफ । अझ सनलाइफ नै राखेको भए हुन्थ्यो भन्ने हो भने पनि नेपालमा सूर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नामको बीमा कम्पनी पनि छ । ‘सन’ अर्थात सूर्य । सूर्या अर्थात सुर्य । जताततै कन्फ्यूजन नै कन्फ्यूजन ।
बीमा समितिको तर्क, ‘यो कम्पनी रजिस्ट्रारको कार्यालयको कुरा हो’
यता बुझ्दै जाँदा बीमा समितिमासमेत यो विषय नउठेको भने होइन रहेछ । तर बीमा समितिले नामको कुरामा कम्पनी रजिष्ट्रारको कार्यालयको क्षेत्राधिकार भएकाले आफुले लाइसेन्स दिएको तर्क गर्छ । यस विषयमा नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट पनि कुरा उठेको रहेछ । तर बीमा समितिले यो विषयलाई खास ठूलो विषय नलिएको पाइएको छ । यता कम्पनी रजिस्ट्रारको कार्यालयले भने यस विषयमा कुनै पनि दावी-उजुरी नपरेको बताउँछ । आफ्नो नामसँग मिल्दोजुल्दो भएमा र त्यसले भ्रम सिर्जना गरेको पाइएमा कम्पनी रजिस्ट्रारको कार्यालयमा नाम खारेजीको लागि निवेदन दिने व्यवस्था पनि छ । तर दुवै कम्पनीका प्रमोटरहरुको चिनजान राम्रिया हुने हुनाले पनि यो विषयमा त्यस्तो कदम नै भने चाल्न नेपाललाइफलाइ पनि गाह्रो हुन्छ भन्ने अनुमान धेरैको छ ।  
रेपुटेसन रिस्कमा नेपाल लाइफ !
अहिले नेपालमा बीमा अभिकर्ताको संख्या लाख बढी छ । यसरी नाममा कन्फ्यूजन हुँदा धेरैले गलत ‘काउन्सिलिङ’ गर्ने रिस्क बढेको छ । नेपाल लाइफको नाम बेचेर राम्रै काम गर्दा त नेपाल लाइफले बिजनेश बाहेक केहि पनि गुमाउंदैन । तर सन नेपाल लाइफ वा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका नाममा कसैले गलत काम गर्यो र बीमीतले नेपाल लाइफ सम्झ्यो भने नेपाल लाइफलाइ ठुलो रेपुटेसन लस हुने सम्भावना छ । यस विषयमा नेपाल लाइफले पनि ख्याल गर्न जरुरी छ ।
उद्योग विभाग भन्छ, ‘कुनै पनि नाम ट्रेडमार्क दर्ता छैन’
यता यस्तो विषयलाई लिएर ट्रेडमार्क कानुन अन्तर्गत मुद्धा हाल्न पनि मिल्छ । यहि कुरालाई मध्यनजर गर्दै हामीले उद्योग विभागमा यस विषयमा बुझेका थियौं । तर उद्योग विभागको तथ्यांकले नेपाल लाइफ इन्स्योरेन्स ट्रेडमार्कमा दर्ता नभएको देखाउँछ । अर्कोतर्फ ट्रेडमार्कमै पनि यो विषय विवादित बन्ने देखिन्छ । ‘नेपाल’ भन्ने नाम ‘कमन’ भएकाले यो विषयलाई लिएर कसैले ट्रेडमार्क दर्ता गर्दैमा अरुले त्यसको प्रयोग गर्न नपाउने भन्ने हुँदैन भन्ने तर्क पनि अर्कोथरीको छ । तर जे होस् यसले ब्रान्डेड कम्पनी मारमा परेको पक्कै देखिन्छ भने सोझा जनता दोधारमा पनि परेको देखिन्छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: