×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : प्राइम लाइफ इन्स्योरेन्समा कम्पनी ऐन मिचेर ‘गैरकानुनी’ लेखापरिक्षण भएको खुलासा (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ माघ २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

EXCLUSIVE : प्राइम लाइफ इन्स्योरेन्समा कम्पनी ऐन मिचेर ‘गैरकानुनी’ लेखापरिक्षण भएको खुलासा (प्रमाणसहित)

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रचलित ऐन-कानुन विपरित लेखापरिक्षक नियुक्त गरेको खुलासा भएको छ । कम्पनी ऐन २०६३ विपरित लेखापरीक्षक नियुक्त भइ कम्पनीको लेखापरिक्षण भएको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेसँगै यस्तो रहस्य बाहिर आएको हो । नेपालको कम्पनी ऐन २०६३ ले कम्पनीको उच्च तहका कार्यकारी भूमिकामा रहेका कर्मचारीहरुका आफन्तलाई लेखापरीक्षक नियुक्त गर्न नपाउने स्पष्ट व्यवस्था गरेको भएपनि कम्पनीमा प्रमुख वित्त अधिकृत रहेका लक्ष्मण ज्ञवालीका दाजु दुर्गाप्रसाद ज्ञवाली साझेदार रहेको लेखापरिक्षण फर्म एनबिएसएम एण्ड एसोसिएट्सले कम्पनीको लेखापरिक्षण गरी कम्पनी ऐन मिचेको फेला परेको हो । 
भएको के हो ?
प्राइम लाइफ इन्स्योरेन्समा प्रमुख बित्त अधिकृत लक्ष्मण ज्ञवाली छन् । उनका सहोदर दाजु हुन् दुर्गा प्रसाद ज्ञवाली । दुर्गा प्रसाद ज्ञवाली एनबीएसएम एण्ड एसोसिएट्सका पार्टनर हुन् । र उनी पार्टनर भएको लेखापरीक्षण फर्म एनबीएसएम एण्ड एसोसिएट्सका तर्फबाट चार्टड एकाउन्टेन्ट निलबहादुर सारु मगरले कम्पनीको लेखापरिक्षण प्रतिवेदनमा हस्ताक्षर गरेका छन् । आर्थिक बर्ष २०७४-७५ को लेखापरिक्षण सकिएको छ भने यसअघि आर्थिक बर्ष २०७३-७४ को लेखापरिक्षण पनि एनबिएसएमले नै गरेको छ । 
कम्पनी ऐन २०६३ को दफा ११२ को उल्लङ्घन गर्दै कम्पनीले लेखापरिक्षक नियुक्त गरी लेखापरिक्षण कार्य सम्पन्न गरिसकेको छ । यस अर्थमा अघिल्लो आर्थिक वर्ष र यसपाली गरिएको लेखापरिक्षण ‘गैरकानुनी’ छ । आफ्नै दाजुको फर्मले लेखापरीक्षणको जिम्मा पाउँदा नियम त मिचिएको छ नै, कम्पनीमा भएका गलत काम पनि प्रतिवेदनमा नआउने गरी ‘इन्फ्लुएन्स’ भएको बुझ्न गाह्रो छैन । अझ खास कुरा त के हो भने हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख बित्त अधिकृत रहेका लक्ष्मण ज्ञवाली बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका पूर्वकर्मचारीसमेत हुन् । अर्को खास कुरा भनेको उनी एनबिएसएम एण्ड एसोसीएट्सकै समेत पूर्व कर्मचारी हुन् । उनी केहि समय अगाडी उक्त सिए फर्ममा अडिट मेनेजरका रुपमा कार्यरत थिए । उनी पनि चार्टड एकाउन्टेन्ट हुन् ।   
कम्पनी ऐनले के भन्छ ?
कम्पनी ऐनको दफा ११२मा कम्पनीको सञ्चालक, नियमित पारिश्रमिक वा नगद सुविधा पाउने गरी नियुक्त सल्लाहकार, कम्पनीमा व्यवस्थापन समूहमा रहेका व्यक्ति वा कर्मचारी वा कामदार वा निजहरु कसैको साझेदार वा त्यस्तो साझेदार मध्ये कुनैको कर्मचारी वा निजहरुमध्ये सञ्चालक वा साझेदारको नजिकको नातेदार वा नीजको कर्मचारी लेखापरीक्षक नियुक्त हुन नसक्ने स्पष्ट प्रावधान छ । यो प्रावधान अनुसार तथ्य केलाउने हो भने प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा लक्ष्मण ज्ञवाली व्यवस्थापन समूहमा छन् । 

उनी कम्पनीमा नियमित पारिश्रमिक पाउने कर्मचारी हुन् । र उनका नातेदार दुर्गा प्रसाद ज्ञवाली साझेदार रहेको लेखापरीक्षण फर्म एनबिएसएमले कम्पनीको लेखापरिक्षण गरेको छ । यसलाई कम्पनी ऐनको पृष्ठ नम्बर ५ ले थप स्पष्ट पारेको छ । ऐनमा नजिकको नातेदार भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासु, ससुरा, दाजुभाइ दिदि, बहिनी, भाउजु, बुहारी, साला, साली, भिनाजु, काका, काकी, मामा, माइजु, छोरा, छोरी, छोरी बुहारी, नाति नातिनी, बुहारी वा ज्वाईं सम्झनु पर्छ भन्ने स्पष्ट उल्लेख छ । प्राइम लाइफ इन्स्योरेन्सको हकमा लक्ष्मण ज्ञवाली र दुर्गा ज्ञवाली दाजु भाइ पर्छन् । त्यसैले पनि उनी पार्टनर रहेको एनबिएसएम एण्ड एसोसिएट्सलाई लेखापरीक्षक नियुक्ति गर्नु सरासर कानुनको उल्लङ्घन भएको देखिएको छ ।
कम्पनी ऐनले कुनै लेखापरीक्षक आफ्नो कार्यकाल समाप्त नहुँदै कुनै कम्पनीको लेखापरिक्षण गर्न अयोग्य भएमा वा कम्पनीको लेखापरीक्षक नियुक्त हुन वा कायम रहन नसक्ने स्थिति उत्पन्न भएका निजले लेखापरिक्षण गर्नु पर्ने वा गरिरहेको काम तत्काल रोकी सो कुराको जानकारी लिखित रुपमा कम्पनीलाई दिनुपर्नेसमेत उल्लेख गरेको छ । यो प्रकरणमा हेर्ने हो भने सीएफओ र अडिट फर्मका साझेदार दाजुभाइ हुन् भन्ने थाहा पाउँदा पाउँदै पनि लेखापरीक्षकले काम रोकेको देखिंदैन । ऐनले दफाको प्रतिकुल हुने गरी नियुक्त भएको लेखापरीक्षकले गरेको लेखापरिक्षण मान्य हुने छैन भन्ने स्पष्ट उल्लेख गरेको छ । यो नियमकै आधारमा पनि एनबिएसएम एण्ड एसोसिएट्सले गरेको लेखापरिक्षण सरासर गैरकानुनी रहेको देखिन्छ ।    
कम्पनीका सीइओ भन्छन्, ‘गलत काम भएछ, मलाइ थाहा भएन, अव यस्तो हुन दिन्न’
यस विषयमा कम्पनीका सीइओ मनोज कुमार भट्टराइले भने आफुलाई थाहा नभई कम्पनीमा गलत काम भएको स्वीकारेका छन् । अर्थ सरोकार डटकमले प्राइम लाइफको ‘चिटिङ’बारे प्रमो प्रशारण गरेपछि अर्थ सरोकारको सम्पर्कमा आएका उनले आफुलाई थाहा नै नदिइ कम्पनीमा यस्तो गलत काम भएको स्वीकारेका हुन् । 
‘सबै कुरा बुझ्दा त गल्तीमात्र होइन ‘ब्लन्डर’ नै भएको रहेछ । तर यसमा मेरो मिलेमतो हो कि भन्ने तपाईंको शंका गलत छ । लक्ष्मणजीले पनि मलाइ यस विषयमा भन्नु भएन । लक्ष्मणजी र दुर्गा ज्ञवाली दाजु भाइ हुन् भन्ने मलाइ थाहा थिएन । मैले चिनेको मेरो अडिटर भनेको नील बहादुर सारुमगर हो । तर उहाँको पार्टनर र हाम्रो सीएफओ दाजुभाइ हुन् भने यो अडिट त गलत भयो ।’ अर्थ सरोकार डटकमसँग उनले भने । 
साथै उनले कम्पनीले अव आइन्दा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतासमेत जनाएका छन् । ‘एनबिएसएमको लगातार ३ बर्ष पुगिसकेको जस्तो लागेको छ । नपुगेको भएपनि अव उहाँलाई अडिट दिने कुरा भएन । हामीबाट गल्ती भएकै रहेछ । तर मैले सबै कुरा बुझिसकें । अव यस्तो गल्ती हुँदैन । म एकदम इथिक्समा चल्ने मान्छे हो । त्यहि कारण आज यहाँसम्म आइपुगेको छु । लक्ष्मण र मेरो दिनमा ३-४ पटक भेट हुन्छ । तर उनले मलाइ यो कुरा किन भनेनन् भन्ने कुराले म अचम्मित भएको छु ।’ उनले भने ।
के भन्छ लेखापरिक्षकहरुलाई नियमन गर्ने आइक्यान ?
यस विषयमा बुझ्न हामीले सिएहरुलाई नियमन गर्ने संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का कार्यकारी निर्देशक संजय कुमार सिन्हालाई सम्पर्क गरेका थियौं । उनले ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’ भएको खण्डमा लेखापरिक्षणमा स्पष्ट ‘डिस्क्लोजर’ हुनुपर्ने भन्दै नेपालको कम्पनी ऐनले भने स्पष्टसँग व्यवस्थापन समूहमा रहका व्यक्तिका नजिकका नातेदारलाई लेखापरीक्षक नियुक्त गर्न रोकेको बताएका छन् । ‘कन्फ्लिट’ हुने देखियो भने ‘स्पष्ट डिस्क्लोजर’ हुनुपर्छ । कम्पनी ऐनले रोकेको केसमा लेखापरीक्षकलाई नियुक्ति दिनु नै गलत हो ।’ उनले भने । आइक्यान आफैंमा यस्तो गलत अभ्यास गर्ने सिएहरुलाई कारवाही गर्ने अर्ध न्यायिक निकाय हो ।  आइक्यानद्वारा जारी कोड अफ इथिक्समा यस्तो लेखिएको छ :
यस विषयमा थप स्पष्ट हुन हामीले आइक्यानको अनुशासन समितिका सदस्य सुरेन्द्र श्रेष्ठसंग सम्पर्क गरेका थियौं । उनले दाजु सीएफओ भएको कम्पनीको लेखापरिक्षण भाइ पार्टनर भएको सिए फर्मले गर्न कम्पनी ऐनको दफा ११२ ले रोक्ने स्पष्ट पारे । ‘अनि आइक्यानको कोड अफ इथिक्स ले के भन्छ ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘ऐनभन्दा माथि कोड अफ इथिक्स हुँदैन । ऐनले मिल्दैन भनेपछी मिल्दैन ।’ हामीले थप जानकारी लिन सोहि समितिका अर्का एक सदस्यसँग पनि कुराकानी गरेका थियौं । उनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा यस्तो काम गर्नेलाई आइक्यानकै कतिपय ठुला भनौदा सदस्यहरुले कारवाही गर्नबाट रोक्ने गरेको रहस्यसमेत खुलासा गरे । 
‘तपाईंले भनेको केस हेर्ने हो भने यो गल्ती होइन, अपराध हो । तर आफुलाई ठुलो सम्झने कतिपय सिएहरुले ‘उसले संस्थालाइ के हानी गरेको छ र ?’ भनेजस्तो गलत तर्क दिएर गलत गर्नेहरुलाई बढावा दिएका छन् । अर्कोतर्फ हाम्रो कानुन पनि कमजोर रहेछ । गलत गर्नेलाई नसियत दिने भनिएको छ । तर साथीहरु यस्तो गलत काम गर्नेलाई स्पष्टीकरण सोध्ने काम गरिरहेका छन् । जवकी स्पष्टीकरण सोध्ने व्यवस्था नै छैन कानुनमा । वास्तवमा भन्ने हो भने अनुशासन समितिलाई नै आफ्नो फाइदाका लागि प्रयोग गरेर गलत काम भइरहेको छ आइक्यानमा । तर अव हामी कसरी कारवाही गर्ने भन्ने कार्यविधि भने बनाउँदैछौं ।’
के भन्छ बीमा समिति ?
यस विषयमा बुझ्न हामीले बीमा समितिकि डेपुटी डाइरेक्टर एवम् प्रवक्ता पुजन ढुंगेल अधिकारीलाई सम्पर्क गरेका थियौं । उनले आफुलाई यस विषयमा थाहा नभएको बताउँदै माथिका सरहरुसँग बुझेर खबर गर्ने बताईन् । साथै उनले गलत काम गर्ने बीमा कम्पनीलाई बीमा समितिले कारवाही गर्ने समेत स्पष्ट पारिन् । ‘तपाईंले भन्नुभएको प्राइम लाइफ इन्स्योरेन्सको केस ठ्याक्कै मलाइ थाहा भएन । म माथि सरहरुसँग बुझेर तपाईंलाई खबर गर्छु । तर गलत गर्ने जोकोहीलाई कारवाही हुन्छ । बीमा समितिले गलत काम गर्ने इन्स्योरेन्स कम्पनीलाई कारवाही नगर्ने कुरै हुन्न ।’ अर्थ सरोकार डटकमसँग उनले भनिन् ।
आर्थिक बर्ष २०७३-७४ को लेखापरिक्षण एनबिएसएमले गरेको थियो । यो बर्षको लेखापरिक्षण पनि एनबिएसएमले नै गरेको छ । तीन बर्षसम्म उही सिए फर्मले योग्य भएको खण्डमा लगातार कुनै पब्लिक कम्पनीको लेखापरिक्षण गर्न पाउने व्यवस्था छ ।   
के भन्छन् दुर्गा प्रसाद ज्ञवाली र निल सारु र लक्ष्मण ज्ञवाली ?
यस विषयमा हामीले प्राइम लाइफ इन्स्योरेन्सका सीएफओ रहेका लक्ष्मण ज्ञवालीका दाजु र एनबिएसएम एण्ड एसोसीएट्सका पार्टनर दुर्गा प्रसाद ज्ञवालीलाई सम्पर्क गरेका थियौं । उनले लक्ष्मण ज्ञवाली आफ्नो भाइ भएको स्वीकार्दै उक्त लेखापरिक्षणमा आफु कतै पनि संलग्न नरहेको र आफ्ना पार्टनर निल बहादुर सारु मगरले सबै काम गरेको जवाफ दिएका छन् । जवकी कम्पनी ऐनको दफा ११२ ले यस्तो नाता भएका व्यक्तिको संलग्नतामा लेखापरिक्षण गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।
 हामीले यस विषयमा निल बहादुर सारु मगरलाइ पनि सोधेका थियौं । उनले दुर्गा प्रसाद ज्ञवाली र लक्ष्मण ज्ञवाली दाजु भाइ भएकाले दुर्गाप्रसाद ज्ञवालीलाई उक्त लेखापरीक्षणमा कतै पनि संलग्न नगराएको दावी गरेका छन् । ‘दुर्गाले कतै पनि काम गरेको छैन यो केसमा । सबै मैले नै हेरेको हो । कन्फ्लिट अफ इन्ट्रेष्ट नहोस भनेर सबै काम मैले नै गरेको हो ।’ उनले भने । यता यस विषयमा कम्पनीका सीएफओ रहेका लक्ष्मण ज्ञवालीले भने कुनै पनि प्रतिक्रिया दिएनन् । पटक पटक फोन गर्दा पनि उनी सम्पर्कमा नआएपछी हामीले एसएमएसबाटै प्रतिक्रिया मागेका थियौं । तर उनले एसएमएसमा समेत प्रतिक्रिया दिएनन् ।
पटक पटक मिचियो कानुन, को-को मिलेर गरे ‘सेटिङ’ ? 
यसो त कम्पनी ऐनले अघिल्लो पटक लेखापरिक्षण गरिसकिएको भएपनि आफु योग्य नभएको कारण देखाई उक्त काम छोड्नु पर्ने स्पष्ट व्यवस्था गरेको छ । तर यसअघिको बर्षमा नै यसरी आफुले गलत काम गर्दैछु भन्ने थाहा पाउँदा पाउँदै पनि एनबिएसएम एण्ड एसोसिएट्सले पुन: नियुक्ति लिएर लेखापरिक्षण गरेको देखिएको छ । आखिर को को मिलेर गरे त सेटिङ ? यो प्रकरणमा सबैभन्दा दोषी लेखापरीक्षक फर्म, तीनका पार्टनर र कम्पनीका सीएफओ लक्ष्मण ज्ञवाली देखिएका छन् । अझ खास कुरा त के छ भने लक्ष्मण ज्ञवाली यसअघि बीमा समितिकै कर्मचारी हुन् । यसकारण पनि बीमा समितिका कसैले आफु विरुद्ध कारवाही गर्ने आँट गरिनहाल्ने भन्दै उनले यस्तो काम गरेको आरोप कम्पनीकै केहि कर्मचारीहरुले लगाउने गरेका छन् । यसमा बीमा समितिका केहि उच्च अधिकारीहरु पनि यो प्रकरण थाहा पाएर पनि मौन बसेको चर्चा पनि नेपाली बीमा क्षेत्रमा छ। यता लेखापरिक्षणका हकमा भने कारवाही गर्ने अधिकार आइक्यानको अनुशासन समितिलाई छ । जसले गलत गर्नेलाई कारवाही भन्दापनि गलत गर्नेलाई बचावट गरिरहेको भन्दै केहि समय अगाडि लेखापरिक्षण विधेयकमै महालेखाले समय समयमा आइक्यानलाई निर्देशन दिन सक्ने व्यवस्था थपिएको थियो ।  
आइक्यानकै जिम्मेवार अधिकारीको लाचार जवाफ, ‘यस्तै छ यहाँको चलन’
यता यस विषयमा हामीले लेखापरीक्षकहरुको नियमनकारी संस्था आइक्यानका केहि काउन्सिल सदस्यहरुसँग प्रतिक्रिया मागेका थियौं । ‘निल सारुले गरेको काम गलत हो भन्यो भने आफ्नै क्लाइन्टलाई धितोपत्र बोर्डले पेल्ला भन्ने डर छ । के गर्नु यस्तै छ यहाँको चलन ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आइक्यानका एक काउन्सिल सदस्य भन्छन्, ‘यहाँ इथिक्सको कुरा त गर्ने मात्र हो । इथिक्स नै हेर्ने हो भने त निलजी सेबोनको डाइरेक्टर छन् । धितोपत्र बोर्डको डाइरेक्टर भएर पब्लिक कम्पनीको अडिट गर्दाचाहीं कन्फ्लिट अफ इन्ट्रेष्ट हुँदैन ?’ उनले यो प्रकरणमा एनबिएनएम एण्ड एसोसीएट्सलाई कारवाही गर्न आइक्यानका कोहि ‘माइकललाल’को पनि आँट नभएको ठोकुवा गरे । ‘सबैलाई दाल भातको चिन्ता छ हजुर, नियमको कुरा गरेर, निहुँ खोजेर के गर्ने ? कतिदिन चल्ने ?’
र… यो पनि ! थुप्रै लेखापरिक्षणमा एनबिएसमको त्रुटी !
यसो त एनबिएसएम एण्ड एसोसीएट्सको बदमासी यो पहिलो भने होइन । यो फर्मले गरेका थुप्रै लेखापरिक्षणमा त्रुटी फेला परेको छ । यहि फर्मले गरेको एक बैंकको लेखापरिक्षणमा बीमा कम्पनीको लेखापरिक्षण ‘कपि-पेष्ट’ गर्दा केहि गम्भीर त्रुटी भएको, कतिपय वासलात नै पूर्ण रुपमा नमिलेको विवरणसमेतमा हस्ताक्षर गरेको, र सार्वजनिक रुपमै गलत परामर्श दिएको लगायतका कैफियत पनि यसअघि भेटिएका थिए । हामी निरन्तर यो विषयमा अनुसन्धानमा छौँ । 
यसो त प्राइम लाइफको कर्तुत पनि यो पहिलो होइन । यसअघि नक्कली बीमा पोलिसी जारी गरेको आरोपमा यो इन्स्योरेन्स कम्पनीका केहि प्रतिनिधिहरु जेल चलान भएका थिए । कम्पनीमा भएका यी र यस्तै विषयको समेत हामी निरन्तर अनुसन्धान गरिरहेका छौं ।        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: