×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकको नियम विपरित नियुक्तिपत्र थमाएर यसरी कर्मचारीलाई लुट्छ जनता बैंक ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बजारमा अहिले सबैभन्दा बढी चर्चा केहि विषयको छ भने, पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाईदैन नेपालमै हो छुट ।’ संसददेखि सडकसम्म यो गीतको चर्चा छ । हुन पनि गायकले नेपालमा भइरहेको भ्रष्टाचारलाई गीतमा उतारेका छन् । त्यस्तै नेपाली बैंकिङ क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी चर्चा केहिको छ भने त्यो हो, बैंकहरुले कर्मचारी लुटेको तथ्य । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका विपरित कर्मचारीलाई लुट्ने गरेको रहस्यबारे अर्थ सरोकार डटकमले खोजी गर्दैजाँदा त्यस्तै केहि लुटका प्रमाणहरु हामीले फेला पारेका छौं । जहाँ बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले जारी गरेको नियम विपरित कर्मचारीहरुलाई नियुक्तिपत्र थमाएर बैंक छोड्ने बेलामा बैंकले अवैध रुपमा रकम असुली गरेको पाइएको छ ।
कर्मचारी लुट्ने धन्दामा जनता बैंक नम्बर १,  हेर्नुहोस् लुटको प्रमाण !
हेरौं एउटा उदाहरण – २०७५ साल साउन १ गते शाहस (नाम परिवर्तन) ले जनता बैंकमा जागिर सुरु गरे । जागिर सुरु गरेको केहि समयपछि उनले अन्त त्यहाँभन्दा राम्रो जागिर पाए । त्यसपछि उनले नियम अनुसार नै १ महिना अघि बैंकलाई आफुले बैंक छाड्न लागेको जानकारी गराए । किनकि १ महिना अगाडी जानकारी नगराए उनको एक महिनाको तलव कट्टा हुने व्यवस्था राष्ट्र बैंकले जारी गरेको कर्मचारी सम्बन्धि विनियमावलीमा छ । त्यसपछि उनले २०७५-१०-१४ गते बैंक छोडे । बैंक छोड्नु अघि उनलाई ३ महिनाको रकम बैंकले कट्टा गर्ने बतायो । त्यति नगरी उनको ‘रिलिज’ नै नगरिदिने धम्की बैंकले दियो । अर्को बैंकमा जागिर खान काम गरिरहेको बैंकको रिलिज पत्र चाहिने हुनाले उनी बाध्य भए । 
तर करिव ६ महिना काम गर्दा ३ महिनाको तलव बैंकलाई नै बुझाउनुपरेपछि उनी तनावमा परे । त्यसपछि उनले व्यवस्था के रहेछ भनेर हेरे । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि बनाएको निर्देशिकामा १ महिना अगाडी सूचना नदिएको खण्डमा १ महिनाको तलव काट्न सक्ने व्यवस्था थियो । त्यसपछि उनले बैंकको एचआरमा यस विषयमा सोधे । एचआर प्रमुखले नियुक्तिपत्रमै त्यस्तो लेखिएको छ भनेपछि पो उनी झसङ्ग भए । नभन्दै नियुक्तिपत्रमा नेपाल राष्ट्र बैंकको निर्देशिका विपरित १ बर्ष भन्दा पहिला बैंकको जागिर छोडेमा ३ महिनाको तलव बुझाउनुपर्ने लेखिएको रहेछ । त्यसपछि उनले सोचे, ‘यो त सरासर लुट भयो ।’ त्यसपछि उनले आफुलाई अन्याय परेको भन्दै अर्थ सरोकारको आफु नजिकको ब्यूरो कार्यालयमा सम्पर्क गरे । उनको बैंक स्टेटमेन्ट निकै दुखलाग्दो छ । दुख गरेर बैंकमा जम्मा गरेको पैसा जागिर छोड्ने बेलामा लगभग सबै तिर्नु परेपछि उनको खाता रित्तिएको छ ।  
के छ राष्ट्र बैंकको नियम ?
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई जारी गरेको नियममा १ महिनाको पूर्व सूचना विना कर्मचारीले राजिनामा दिएमा एक महिनाको तलव कट्टा हुने व्यवस्था छ । अझ उक्त नियममा सीइओले चाहेमा यो बाध्यकारी नियम होइन भन्ने पनि उल्लेख गरिएको छ । तर यो नियम विपरित जनता बैंकले आफ्ना कर्मचारीहरुलाई १ बर्षभित्र जागिर छोडेमा ३ महिनाको तलव काटिने शर्त राखेर नियुक्तिपत्र थमाएको देखिन्छ । अव कुरा उठ्छ, कुनै कर्मचारीले ३ महिनापछि अरु बैंकमा त्यहाँभन्दा जागिर पायो, वा बैंकमा काम गर्ने वातावरण नै मिलेन भने के हुन्छ ? यसरी त बैंकले दिएको तलव सबै बैंकलाई नै फिर्ता दिनुपर्ने अवस्था देखियो । यसरी बैंकले सरासर नेपाल राष्ट्र बैंकको नियम विपरित नियुक्ति पत्र दिएको देखिन्छ भने अर्कोतर्फ ३ महिना काम गराएर ३ महिनाकै तलव कट्टा गर्ने कामले बैंकमा चरम श्रमशोषण भइरहेको बुझ्न गाह्रो छैन ।
कर्मचारी भन्छन्, ‘लुट्न सके लुट जनता लुट्न सके लुट, अरु बैंकमा थाहा छैन, जनतामा जस्तो छुट’
यता माथि उल्लेखित पीडीत मात्र होइन जनता बैंकका अधिकांस कर्मचारीहरु बैंकले गरेको यो बैधानिक लुट हो भन्छन् । बैंकको बानेश्वर शाखामा काम गर्ने एक कर्मचारी भन्छन्, ‘यो त सरासर लुट हो । राष्ट्र बैंकले जारी गरेको निर्देशन नटेर्ने अनि आफूखुसी बैंकले कर्मचारीलाई पेल्ने, यो त हद भयो ।’ उनका अनुसार बैंकको यस्तै कामका कारण कर्मचारीहरुले मन लगाएर काम नै गर्न छोडेका छन् बैंकमा । ‘एचआरमा ठुलो समस्या छ । खासमा भन्ने हो भने जनता बैंकको सबैभन्दा कमजोर पक्ष नै एचआर मेनेजमेन्ट हो । कर्मचारी कोहि खुसी छैनन् । केहि साथीहरु श्रम अदालतसमेत गएका छन् । एउटा मजदुरलाई गर्नुपर्ने काम पनि बैंकबाट भएको छैन ।’ बैंककै यस्तै पेलानका कारण अहिले पशुपति शर्माको गीत चर्चामा चुलिँदा जनता बैंकका कर्मचारीहरुले पनि बैंकभित्र उक्त गीतको प्यारोडी बनाएका छन्, ‘ ‘लुट्न सके लुट जनता लुट्न सके लुट, अरु बैंकमा थाहा छैन, जनतामा जस्तो छुट’
न्यूनतम तलवको समस्या उस्तै !
यसो त जनता बैंकमा न्यूनतम तलव पनि निकै कम भएको र आफुलाई लगाइएको काम अनुसार तलव नपाएको भन्दै श्रश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलमा समेत उजुरी परेको छ । उजुरी परेपछि त्यसमा के कसो भएको हो भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय र रोजगार मन्त्रालयमा पठाउन श्रम तथा व्यसायजन्य सुरक्षा विभागलाई पत्राचार गरेको छ । विभागले गत माघ ७ गते जनतालाई पत्राचार गरी सेवा सुविधाको विषयमा ७ दिनभित्र जानकारी पठाउन भनेको थियो । सरकारले न्युनतम पारिश्रमिक निर्धारण गरी लागु भइसकेको सोको कार्यन्वयन गर्ने जिम्मा व्यवसायीक प्रतिष्ठानको भएको जानकारी विभागले गराएको छ ।
नजिरले देखाउँछ, ‘यसरी पैसा काट्न मिल्दैन’ के भन्छ जनता बैंक ?
यसो त केहि समय अगाडी कैलाश बिकास बैंकमा पनि यस्तै प्रकरण घटेको थियो । तर आफ्नो तलव नियम विपरित काटिएको भन्दै जागिर छोडेका एक कर्मचारी नेपाल राष्ट्र बैंक गुहार्न पुगेका थिए । नियम अनुसार नै आफुले १ महिना अघि बैंक छाड्ने जानकारी दिए पनि बैंकले आफ्नो क्रम कट्टा गरिदिएको भन्ने गुनासो नेपाल राष्ट्र बैंक पुगेपछि तत्कालीन समयमा नेपाल राष्ट्र बैंकले यसरी पैसा नकाट्न र काटेको पैसा फिर्ता गर्न निर्देशन दिएको थियो । अव यो प्रकरण पनि नेपाल राष्ट्र बैंक जाने निश्चित प्राय छ । तर के भन्छ त जनता बैंक ? यस विषयमा बुझ्न हामीले जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरलाई सम्पर्क गरेका थियौं । तर आफ्नो फोन रिसिभ गर्ने बित्तिकै उनले भने, ‘पछि कुरा गरौँ न है ।’ अर्थ सरोकारमा यस विषयमा समाचार आउने थाहा पाएपछि उनले रेस्पोन्स नदिएको आरोप पीडीतहरुको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: