किन उठाइयो यत्रो रिस्क ? सरकारी काममा 'ब्ल्याक लिष्टेड' कम्पनीलाई विवादित धितो राखेर करोडौं ऋण !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ - कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिंदा अन्य कुनै बैंकमा ऋण छ वा छैन, वा अन्य बैंकको ऋण नतिरी कालोसूचीमा पो परेको छ कि भनी कर्जा सूचना केन्द्रबाट क्लियरेन्स लिने चलन छ । तर सरेकारी काममा नै कालोसूचीमा परेका कम्पनीहरुलाई हेर्ने चलन नहुँदा बैंकको ठूलो रकम जोखिमपूर्ण हुन थालेको छ । यस्तै भएको छ प्राइम कमर्सियल बैंकको हकमा पनि। बैंकले  सरकारी काममा ब्ल्याकलिष्टमा भएको कम्पनीलाई ५ करोड ऋण प्रवाह गरेको तथ्य खुलेको छ । केही वर्ष अघि नेपाली सेनामा चुस्ताको काम गर्दा नक्कली सामान हालेको भन्दै सेनाले कालोसूचीमा राखेको घिसिङ एण्ड डेभलपर्स कम्पनी प्रालिलाई बैंकले ऋण दिएको तथ्यको प्रमाण अर्थ सरोकार डटकमले फेला परेको छ ।

कम्पनी ब्ल्याकलिष्टमा छ भन्ने जान्दाजान्दै कर्जा ?
यता नेपाली सेनाको स्रोतले दिएको जानकारी अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणदास मानन्धरलाई उक्त कम्पनी सेनाको कालोसूचीमा छ भन्ने थाहा थियो । तर  उक्त कम्पनीकी सञ्चालक विना तामाङको श्रेस्ता दर्ता कामय रहेको टेकुस्थित ०–१३–०–० क्षेत्रफलमा रहेको घर जग्गाको मूल्यांकन गरी ५ करोड ऋण प्रवाह गरिएको छ । अर्थ सरोकार डटकमलाई  बैंकको गोप्य स्रोतबाट प्राप्त पत्र हेर्ने हो भने शुरुमा कर्जा तरलता अभावका कारण देखाउँदै बैकले ऋण दिन नसकेको जानकारी गराए पनि अन्ततः ऋण दिएको छ । यता अन्त्यमा कमिसनमा कुरा मिलेपछि मानन्धारले एकाएक दुई दिन लगाएर बैंकको तरलता न्यून हुँदै गएको उल्लेख गरी ५ करोड उपलब्ध गराएको पत्र मार्फत जानकारी गराइएको बैंक स्रोतको दावी छ । घिसिङ एण्ड डेभलपर्स कम्पनीी सञ्चालिका तामाङ विभिन्न काममा विवादित ठेकेदार चन्द्र घिसिङकी श्रीमती हुन् । 

विवादित घर-जग्गा राखेर ऋण ? बाउन्स चेक प्रकरणमा समेत मुछियो कम्पनी !
सबैभन्दा अचम्मको कुरा त के छ भने जुन घर र जग्गालाई बैंकले सुरक्षण मानेर धितो प्रवाह गरेको छ उक्त घर र जग्गा नै मुद्दामा परेको छ । गिता डंगोलको नाममा रहेको काठमाडौं महानगरपालिका, टेकुस्थित १३ आना जग्गामा बनेको उक्त घर घिसिङले चलाखीपूर्ण तरिकाले आफ्नी श्रीमतीको नाममा नामसारी गरेको भन्दै उक्त घरजग्गा नै विवादमा छ । यसरी 'रिस्क एसेसमेन्ट' नगर्दा बैंकको करोडौं रकम जोखिममा परेको छ । उक्त घरको विषयमा घिसिङबाट पीडित चार जना व्यक्तिले अदालतमा मुद्दा हालिसकेका छन् । त्यसैगरी घिसिङले हरिसिद्धि इटा टायल कारखानामा काम गर्ने योल हाउजिङ प्रालिलाई रकम नभएको ६ करोडको चेक  दिएको प्रकरण पनि बाहिर आएको छ ।  यस विषयमा कम्पनीका आधिकारिक व्यक्तिसँग कुराकानी गर्दा कोहि पनि यस विषयमा बोल्न चाहेनन् भने बैंकको कर्जा शाखामा यस विषयमा बुझ्दा आफुहरुले यस विषयमा बोल्न नमिल्ने बताएका छन् । 

यो पनि पढ्नुहोस् 


(रिपोर्टर मनोज आत्मीय अर्थ सरोकार डटकममा क्राइम बिट हेर्छन्)
प्रकाशित मिति : Friday, March 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal