×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानी सम्मेलनकै दिन अर्थात चैत्र १६ गते विप्लव नेतृत्वको नेकपाद्वारा नेपाल बन्द आह्वान…! (बिज्ञप्तिसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-यहि चैत्र १५ र १६ गते लगानी सम्मेलन हुन लागेका बेला नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेकपाले १६ गते नेपाल बन्दको घोषणा गरेको छ । सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरु गिरफ्तार गर्न थालेको भन्दै त्यसका विरुद्ध विप्लवले कडा प्रतिक्रिया दिंदै १६ गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्ति जारी गरेका छन् । प्रतिबन्धपछी पार्टीले आयोजना गरेको बन्द बढी प्रभावित भएको देखिएको थियो । अझ बन्दको अघिल्लो दिनसमेत पार्टीले ठाउँ ठाउँमा बम राख्ने गरेकाले यसको ठाडो असर सम्मेलनमा पर्ने देखिएको छ । 
विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको छ । यता हाम्रो पार्टी राष्ट्रघाती, जनघाती, भ्रष्ट, ठग, मानवतस्कर, मजदुरमाराहरूलाई जनताको माग र चाहनाबमोजिम जनकारबाही गर्दै जाँदा आमजनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र सङ्कटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ । यस फासिवादको सारा राजनीतिक पार्टी, मानवअधिकारवादी सङ्घसंस्था, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, प्रतिष्ठित कलाकारलगायत व्यक्तित्वहरूले विरोध गरिरहेका छन् । तर केपी सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ । हाम्रा पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको छ । केपी वली सरकारको यो फासिवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनका विरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार यही चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गर्दछौँ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ । यसैगरी केपी वलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ । यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ । तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ ।’
यस्ताे छ विज्ञप्ति
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: