×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : कैलाश बिकास बैंकमा यसरी भयो करोडौँ हिनामिना, ब्रान्च मेनेजर निलम्बित ! (भिडियो रिपोर्ट)

  • प्रदेश ४ ब्यूरोको संयोजनमा अर्थ सरोकारकर्मी सुरज प्याकुरेलको रिपोर्ट  
काठमाडौँ- व्यवसायी रेशम राज पन्थी । पोखरामा डेरीको उद्योग छ उनको । निशा पन्थी, व्यवसायी रेशम पन्थीकि छोरी, केहि समय अगाडीसम्म मिडियामा काम गरेकी उनी हाल बाबाको बिजनेशमा पनि सहयोगी भूमिकामा छिन् । र पोखरा औधोगिक क्षेत्रभित्र उनीहरुको डेरी फर्म छ । व्यवसाय विस्तार गर्ने क्रममा उनीहरुले पानी ट्यांकी बनाउने उद्योगको समेत सुरुवात गर्ने निर्णय गरे । औधोगिक क्षेत्र भित्रको जग्गा लिजमा लिएर र पन्थी इन्डष्ट्रिज  नामको कम्पनी सुरु गर्ने निधो गरे । र त्यसका लागि आवश्यक थियो पूँजी । 
तत्काल काम सुरु नगरे औधोगिक क्षेत्रभित्र लिजमा लिइएको जग्गाको सम्झौता खारेज हुनेवाला थियो । त्यसैले जसरी पनि उक्त उद्योग खोल्नुपर्ने थियो । वा खोल्ने प्रक्रिया सुरु गर्नु पर्ने थियो । तर नयाँ उद्योगका लागि कुनै पनि बैंकले सहज रुपमा पैसा दिने स्थिति थिएन । त्यहि उद्योगका लागि कर्जाको जोहो गर्नुपर्ने बाध्यताका बीच कैलाश बिकास बैंकमा कर्जा प्रक्रिया अगाडी बढ्यो ।
बाबु रेशम पन्थी डेरीको काममा व्यस्त, छोरीलाई औधोगिक क्षेत्रभित्रको जग्गाको सम्झौता रद्ध हुने पीर । उक्त सम्झौता रद्ध भएको खण्डमा करोडौं घाटा हुने पक्का थियो । यहि बीचमा निशा पन्थीको भेट एक व्यक्तिसंग भयो जसले उनलाई ऋण मिलाइदिने प्रलोभन मात्र देखाएनन्, त्यसका लागि केहि सर्त पनि राखे । उनी थिए कमल पहारी । एकातिर कर्जा लिनै पर्ने प्रेसर, अर्कोतर्फ जग्गा जाने पीर उनलाई कर्जा लिनका लागि जस्तो सुकै बाटो अबलम्बन गर्नुपर्ने बाध्यता पर्यो । र उनको बाध्यतामा टेकेर उनीमाथि ठुलो षडयन्त्र भएको निशा पन्थीको आरोप छ । 
यो बीचमा घटनाले अर्को मोड पनि लिएको छ । कर्जा व्यवसायी रेशम राज पन्थी र उनको छोरीको संयुक्त नाममा रहेकाले रेशम पन्थीको हस्ताक्षर विना कर्जा वापतको रकम कतै जाने वाला थिएन । यहि बीचमा कैलाश बिकास बैंकका तकालीन ब्रान्च मेनेजर नरेन्द्र थापाले उनलाई चेकमा बैंकको आन्तरिक कामका लागि भन्दै ‘ब्ल्यांक चेक’मा हस्ताक्षर गराएको बताउँछन् व्यवसायी पन्थी ।
चेकमा दुवै पक्षको हस्ताक्षर गरेपछि चेक विभिन्न क्लाइन्टको नाममा गयो । उक्त चेक बैंककै एक ऋणीसमेत रहेका र निशा पन्थीलाई ऋण मिलाइदिनेकहाँ पनि पुग्यो । निशा पन्थीका अनुसार बाबालाई नभन्नु भनी उनलाई सुरुमा फकाईयो, त्यसपछि पटक पटक तर्साईयो, धम्काईयो । बैंकिङ कारोबारमा कहिले पनि यसरी नफसेकी निशा एक पछी अर्को ठाउँमा फस्दै गइन् । उनको आरोप छ, बैंकका तत्कालीन ब्रान्च मेनेजर थापाले उनलाई पटक पटक धम्की दिएर अरुको खातामा पैसा हाल्न लगाएका छन् । र उनको पैसा पनि फसेको छ ।
यता निशा निकै जालझेलपूर्वक आफु फसेको बताउछिन् । यहि बेला उनका बाबुले पैसा किन आएन भनी चासो देखाईरहेका थिए । त्यसपछि निशा लाइ ‘के गर्नु र कसो गर्नु’ भयो । किनकि उनीसँग कारोबारका कुनै रेकर्ड थिएनन् । विस्तारै उनले आफु ठगिएको महसुस गरिन् । करोडौं रुपैयाँ जालझेल गरेर आफुबाट अरुले लागेको महसुस भएपछी उनले आफ्नो पैसा लग्ने कमल पहाडीसँग लेनदेनको कागज गरिन् । तर कागज गर्ने बेलामा पनि उनी ट्रयापमा पारिन् । अगाडीदेखिको लेनदेन देखिन्छ र स्थिति सहज हुन्छ भनेर उनले अगाडीको मिति राखेर कागज त गरिन्, तर अहिले त्यहि कागजलाई देखाएर बैंकले उनीहरुको लेनदेन हो बैंकले केहि गर्न सक्दैन भनिरहेको छ । 
केस यहाँसम्म आइपुग्दा थुप्रै ठाउँमा निशा पन्थीको गल्ती पनि देखिएको छ । आफ्नो करोडौंको व्यवसाय डुब्ने डरले उनले, डर, धम्की, करकापका कारण थुप्रै ठाउँमा गल्ती गरेकी छिन्, तर बैंकले यत्रो पैसा रिलिज हुँदा पनि यस विषयमा संयुक्त खाताका व्यक्ति रेशम राज पन्थीलाई किन जानकारी गराएन त ? यो प्रश्नभित्र बैंकको बदनियत रहेको शंका गर्ने ठाउँ छ । एकातर्फ ब्ल्यांक चेकमा हस्ताक्षर गरेर चेक बैंकको कस्टडीमा राखिएको छ । अर्कोतर्फ बैंकमै लामो समयदेखि कर्जा नतिरेका पहाडीको नाममा पैसा गएको छ । यसमा पनि बैंकको बदनियतको आशंका गर्न सकिन्छ । 
जव आफुलाई थाहा नै नभई करोडौं रुपैयाँ बैंकबाट बाहिर गइसकेको थाहा पाए, रेशम राज पन्थी छाँगाबाट खसे जस्तै भए । त्यसपछि उनले तत्काल यस विषयमा बैंकमा जानकारी गराए । प्रहरीमा केस गरे, र राष्ट्र बैंकमा पनि उजुरी हाले । यतिमात्र होइन, उनले सीआइबीको समेत सहारा मागेका छन् । व्यवसायी पन्थीको आरोप छ, सबै काम बैंककै मिलेमतोमा भएको छ । आफुलाई ब्ल्यांक चेकमा हस्ताक्षर गराउनु, पैसा अन्त पठाइएको आफुलाई जानकारी नदिनु, र आफु ठगिएको तथ्यबारे जानकारी गराउँदा बैंकले उल्टै धम्क्याउनुले बैंकको मिलेमतो रहेको प्रमाणित गरेको उनको तर्क छ । 
यसो त यता बैंकका सीइओ अमृत चरण श्रेष्ठ पनि आफ्नो बैंकका कर्मचारीले गल्ती गरेको स्वीकारछन् छन् । आफ्नो बैंकका कर्मचारीले गल्ती गरेको पाइएपछी उनलाई हाल निलम्बन गरिसकिएको उनको भनाइ छ । बैंकको आन्तरिक अनुसन्धानमा बैंकका ब्रान्च मेनेजर नरेन्द्र थापाको गल्ती देखिएपछी उनलाई हाल निलम्बन गरी थप अनुसन्धान थालिएको र यो केस छिट्टै सल्ट्याउने प्रयास भइरहेको दावीसमेत उनको छ ।
यता हाल निलम्बनमा परेका कैलाश बिकास बैंकको लामाचौर शाखाका तत्कालीन ब्रान्च मेनेजर नरेन्द्र थापा भने आफ्नो यस प्रकरणमा कुनै पनि संलग्नता नरहेको दावी गर्छन् । यता यस घटनामा जोडिएका कमल पहारी यो कारोबारलाई निशा पन्थी र आफु बीचको कारोबार भनिरहेका छन् । तर निशा पन्थी पहाडीलाइ आफुले यस अघि नचिनेको दावी गरिरहेकी छिन् ।
घटनाको प्रकृति जस्तो सुकै भएपनि थुप्रै ठाउँमा बैंकको कमजोरी देखिएको छ ।
१. एक लाखभन्दा बढीको चेक जाँदा सामान्यतया क्लाइन्टलाइ सोध्ने बैंकले करोडौं रुपैयाँ खाताबाट अर्को पक्षकहाँ जाँदा किन ऋणीलाई खबर गरेन ? बैंकको यस्तो कार्यले बदनियतको शंका गर्ने ठाउँ दिएको छ ।
२. निशा पन्थीले आरोप लगाएझैं बैंकका अर्का ऋणी पहाडीको नाममा पैसा जम्मा भएको देखिन्छ । के ब्रान्च मेनेजरले अरुको खातामा पैसा हाल्न कुनै पक्षलाई भन्न मिल्छ ? यो अर्को गम्भीर प्रश्न हो ।
३. पन्थीको खाताबाट बाहिरिएको पैसाको एक चेकमा बैंककै कर्मचारीको ह्याण्डराइटिङ छ । यसले पनि बैंकको कमजोरी छ भन्ने आशय देखाउँछ ।
४. अर्को खास तथ्य के छ भने यस विषयमा अर्थ सरोकारको प्रम्रो प्रशारण भएपछि निशा पन्थीको व्यक्तिगत खातामा पहाडीले पैसा हालिदिएका छन्, र त्यसको जानकारी बैंकले पन्थीलाई गराएको छ । यदी पन्थीको कम्पनीको खाताबाट पैसा गएको हो भने निशा पन्थीको व्यक्तिगत खातामा पैसा किन हालियो ? बैंकले दावी गरेजस्तै उनीहरुको पहिलाकै कारोबार थियो भने यस विषयमा बैंकले नै पन्थीलाई जानकारी गराउने आवश्यकता किन भयो ?
५. सबैभन्दा महत्वपूर्ण कुरा पटक पटक करोडौं रकम अन्य खातामा ट्रान्सफर भएको छ । जवकी बैंकले उनलाई यसरी अरुलाई पैसा तिर्न होइन व्यवसाय विस्तारका लागि कर्जा दिइएको थियो । पटक पटक पैसा रिलिज हुँदा पैसा सहि ठाउँमा गएको छ कि छैन भन्ने किन हेरिएन ? यसले पनि बैंककै मिलेमतोमा यस्तो काम भएको आशंका गर्ने ठाउँ छ ।
स्मरण रहोस्, यो कैलाश बिकास बैंकको त्यहि शाखा हो जहाँ केहि बर्ष अघि बैंकका ब्रान्च मेनेजर करोडौं रुपैयाँ हिनामिना गरेर फरार भएका थिए । उनीपछि आएका ब्रान्च मेनेजरलाई पनि करोडौं रुपैयाँ घोटाला गरेको आरोप लागेको छ । अहिले यो प्रकरण सीआइबी, र नेपाल राष्ट्र बैंक पुगेको छ । निशा पन्थीको खातामा एक पटक १० लाख र एक पटक ४० लाख गरेर पैसा आएको जानकारी बैंकले पन्थीलाई गराएको छ । घटना सरसर्ती हेर्दा बैंकले पनि आफ्नो कमजोरी स्वीकारेको छ र कसै गरी यो प्रकरणलाई सकेसम्म सेफल्याण्ड गर्ने प्रक्रियामा छ । अव के हुन्छ ? हामी निरन्तर यो प्रकरणको फलोअपमा छौं ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: