एमबिएसको प्रश्नपत्रमा ग्लोबल आइएमइ बैंकको भद्रगोल केस, कर्मचारी भन्छन्, 'मुसुमुसु हाँस्दै परिक्षा दियौँ...'


एकपटक तलको प्रश्नपत्रको प्रश्न नम्बर १ राम्रोसँग पढ्नुहोस् त !
त्रिभुवन विश्वविद्यालय एमबिएस तर्फको दोस्रो सेमेस्टर अन्तर्गत ह्युमन रिसोर्स मेनेजमेन्ट विषयको प्रश्नपत्र हो यो । जुन प्रश्नपत्रको प्रश्न नम्बर १ मा एउटा प्रश्न राखिएको छ, जसभित्र ग्लोबल आइएमइ बैंकभित्रको भद्रगोल देखाइएको छ भने त्यस विषयमा विभिन्न प्रश्नहरु सोधिएको छ । बैंकको फितलो व्यवस्थापनदेखि बैंकभित्र कर्मचारीहरुमाथि हुने विभेदका बारेमा पनि प्रश्नपत्रको 'केस'मा उठाइएको छ । सिइओ परिवर्तनसँगै व्यवस्थापन पक्ष डामाडोल भइरहेको अवस्थालाई प्रश्नका रुपमा राखिएको छ । र प्रश्न दिइएको छ :

१. संस्थामा कार्यक्षमता व्यवस्थापन प्रणाली र जीवनवृत्ति व्यवस्थापन संस्कृतिको चित्रण गर्नुहोस्।

२. माथि उल्लेख गरिएको घटनाका आधारमा नेपालको बैंकिङ क्षेत्रमा कर्मचारी भर्ना र छनोटको अवस्था प्रस्तुत गर्नुहोस्। 

३. यो घटनाको मुद्दाको विषय के हो ? यस्तो अवस्थाका कारण संस्थामा पर्न सक्ने सम्भावित असरहरु के हुन सक्लान् ?

प्रश्न नियोजित प्रहार वा यथार्थताको चित्रण ?
यसो त प्रश्नमा ग्लोबल आइएमइ बैंककाबारे जे जे प्रस्तुत गरिएको छ, धेरै तथ्यहरु सत्यको नजिक छन् । बैंकका तत्कालीन सीइओ जनक पौडेललाइ राजीनामा दिन बाध्य बनाइएको प्रसङ्ग घुमाउरो पाराले प्रश्नमा राखिएको छ । ग्लोबल आइएमइ बैंकमा राजीनामा दिनेको संख्या ह्वात्तै बढेको, कर्मचारीहरु व्यवस्थापनसँग असन्तुष्ट रहेको लगायतका विषय पनि निकै सटिक ढंगबाट प्रस्तुत भएका छन् । 

यस्तो हुन्छ अग्रेजी अनुवाद 
तलको अवस्था ध्यानपूर्वक पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्। 

३८ वर्षीया सरला श्रेष्ठले ९ वर्ष पहिले आइएमई वित्तीय संस्थामा काम सुरु गरिन् । उक्त वित्तीय संस्था अर्को संस्थासँग मर्ज भएपछि उनी ग्लोबल आइएमई बैंककी कर्मचारी बनिन् । विभिन्न व्यावसायिक संस्था अन्तर्गत रही विभिन्न तहमा काम गरेकाले उनले आफूलाई योग्य, असल, नैतिक, लगनशील र आवश्यक क्षमता भएको कर्मचारीका रुपमा प्रमाणित गरिन् । कार्यक्षमता प्रदर्शन गर्न उनमा कुनै कमी थिएन । सुरुदेखि नै उनको प्रस्तुति राम्रो थियो। 

विस २०७४ मा उनी बढुवाका लागि योग्य भइन् । नयाँ जिम्मेवारीका लागि उत्साहित पनि थिइन् । सुपरभाइजर र विभाग प्रमुखले उनलाई प्रोत्साहन पनि गरेका थिए । कार्यालयका सबै कर्मचारी बढुवाका लागि उनी बलियो उम्मेदवार भएको कुरा प्रायजसो गरिरहन्थे । उनको कार्यक्षमता, कार्यालयका वरिष्ठ अधिकारी र सहकर्मीबाट पाएको प्रोत्साहनले उनलाई झनै आशावादी बनाएको थियो । यही समयमा नै उनले बैंकिङ तालिम र माथिल्लो तहको अध्ययन पनि राम्रो नम्बरका साथ पनि पूरा गरिन् । बढुवाका लागि भएको अन्तर्वार्ता दिएपछि आफ्नो बढुवा हुनेमा उनी ढुक्क थिइन्। किनभने उनले सबै प्रश्नको उत्तर विश्वासका साथ र सही उत्तर दिएकी थिइन् । 

दुर्भाग्यवश, बढुवाको नतिजाले आचार्यचकित बनायो । उनको नाम बढुवाको सूचीमा थिएन । उनीभन्दा कमजोर कार्यक्षमता भएकाहरु बढुवा भएकाले उनलाई निकै दुःखी बनायो । विभागीय प्रमुख तथा अन्तर्वार्ता लिनेमध्येका मिस्टर शर्मा उनको कार्यकक्षमा आए र आगामी वर्ष निश्चय पनि बढुवामा हुनेमा विश्वास दिलाए । आफ्नो पथ प्रदर्शकका साथै आदर्शसमेत भएकाले उनले शर्माका कुरामा विश्वास गरिन् ।

६ महिनापछि बजारका प्रतिभावान् व्यक्ति आकर्षित गर्न र अन्य बैंकबाट अफर पाएकाहरुलाई समेत भित्र्याउने गरी बैंकले सूचना प्रकाशित गर्‍यो । श्रेष्ठ जस्ता धेरै कर्मचारी बढुवाको नतिजाबाट तनावमा थिए । यसपटक पनि श्रेष्ठले बैंकमा बढुवाका लागि आवेदन दिइन् र अन्तर्वार्तासमेत दिइन् । सदाझैं यसपटक पनि उनको अन्तर्वार्ता राम्रो भएको थियो तर उनै शर्माले यसपटक पनि बढुवा गर्न नसकिएको तर ६ महिनापछि भने बढुवा गर्न लागिएको बताए । उनले फेरि शर्मालाई विश्वास गरिन् र उनका सुझाव स्वीकार गरिन् ।

नियमित तालिकाअनुसार बैंकले बढुवा हुन सफल उम्मेदवारको सूची प्रकाशित गर्‍यो । तर अपत्यारिलो कुरा के भयो भने उनको बढुवा हुने उम्मेदवारको सूचीमा उनको नाम समावेश थियो । अन्तर्वार्ताका लागि उनले राम्रो तयारी गरिन् र अन्तर्वार्ता परीक्षामा पनि राम्ररी प्रस्तुत भइन्। फेरि पनि नतिजा प्रकाशन हुँदा श्रेष्ठको नाम बढुवा हुने उम्मेदवारको सूचीमा थिएन। उनी विभागीय प्रमुख शर्मा र सिंगो व्यवस्थापनको व्यवहारबाट निकै दु:खी भइन्। स्वच्छ मूल्यांकन र वृत्तिविकासका अवसर संस्थाबाट प्राप्त हुनेमा उनको विश्वास गुम्यो । 

बैंकको सिइओ परिवर्तन भएकाले बढुवा हुने उम्मेदवारको समेत नाम परिवर्तन भएको उनको दाबी छ। नतिजा निस्केकै दिन प्रतिभावान् उम्मेदवार भित्र्याउन मागेको विज्ञापनमा आवेदन दिने अन्तिम दिन थियो। शर्माले उनलाई फेरि एकपल्ट आवेदन दिन आग्रह गरे। तर श्रेष्ठले मेगा बैंक, सेन्चुरी कमर्सियल बैंक र जनता बैंकमा पनि आवेदन दिएको बताइन्।'

लुकेको तथ्य पनि उस्तै, बैंककै कर्मचारी भन्छन्, 'मुसुमुसु हाँस्दै परिक्षा दियौँ'
त्रिभुवन विश्वविद्यालयले लिएको परिक्षामा यो प्रश्न बनाउने व्यक्ति ग्लोबल आइएमइ बैंकबारे जानकार नै रहेको देखिन्छ । किनकि उनले जसरी घुमाउरो पाराले यो केसलाई प्रस्तुत गरेका छन्, त्यसले यो केसभन्दा बढि ग्लोबल आइएमइ बैंकको यथार्थ भएको तर्क धेरैको छ । अझ रमाइलो कुरा त यो प्रश्नपत्रवाला परिक्षामा ग्लोबल आइएमइ बैंकमा कार्यरत दर्जन बढी कर्मचारीहरु सामेल थिए । आफ्नो बैंकका बारेमा आएको यस्तो केस स्टडीबारे आफुले निकै राम्रो उत्तर दिएको प्रतिक्रियासमेत ग्लोबल आइएमइ बैंकका ती कर्मचारीहरुको छ । उनीहरुका अनुसार ग्लोबल आइएमइ बैंकका बारेमा उक्त प्रश्नपत्रमा जे जे लेखिएको छ, सबैजसो कुरा सत्य नजिक छ । कर्मचारीको बढुवाको विषय पनि सत्य नजिक छ ।

के यसरी बैंकको नाम नै तोकेर प्रश्न सोध्नु उचित हो ? 
यसो त यसरी बैंकको नाम नै तोकेर प्रश्न सोधिएको बारे बिज्ञहरुको पनि आ-आफ्नै तर्क छ । कतिले यसरी नाम नै तोकेर कुनै बैंकका बारेमा विश्वविद्यालयको प्रश्नपत्रमा केस उल्लेख गरिनु गलत भएको बताएका छन् भने कतिले केस भनेको सत्य घटनामा आधारित भए परीक्षार्थीबाट पनि व्यावहारिक उत्तर आउने भएकाले यो निकै सहि काम भएको तर्क गर्ने गरेका छन् ।
प्रकाशित मिति : Thursday, May 16, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal