×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकले गतिलो सीईओ पाउने छाँट देखिएन, दौडका सबै ४ पात्र प्रेसर धान्न नसकेर बैंक छोडेका बैंकर !

काठमाडौँ । रत्नराज बज्रचार्यले सनराइज बैंक छोडेपछि अव बैंकको सीइओ को बन्छ भन्ने चर्चा यतिबेला नेपाली बैंकिङमा मज्जैसँग चलेको छ । तर बज्रचार्यको उत्तराधिकारीका रुपमा बैंकमा आउन सल्लाह भएका, वा कुराकानी गरिएका व्यक्तिहरुको पृष्ठभूमि हेर्ने हो भने बैंकले बज्रचार्यकै उत्तराधिकारी हुनेगरी सीइओ पाउने कुरामा भने शंका उब्जिएको छ ।
सल्लाह भएका पात्र १ : जनक शर्मा पौडेल 
केहि समय अगाडी ग्लोबल आइएमइ बैंकबाट घुमाउरो पाराले निकालिएका बैंकर हुन् जनक शर्मा पौडेल । बोर्ड बैठकमै बैंकका अध्यक्षले थर्काएपछि उनले प्रेसर धान्न नसकेर बैंक छोडेका थिए । बैंकमा उनको बिदाइ पनि सार्है नमिठो पाराले भएको थियो । कसैले वास्ता नगरेपछि उनले सामुहिक मेलबाट सबै कर्मचारीलाई धन्यवाद दिएका थिए । अहिले उनी कुनै न कुनै बैंकमा जाने तयारीमा छन् । जनवरी २१, २०१९ मा बैंकबाट राजीनामा दिएका उनलाई कुलिङ पिरियडले केहि अफ्ट्यारो भने पार्नेछ । यद्यपी बैंकले नयाँ सीइओ नियुक्तिका लागि ३ महिना समय पाउने हुनाले उनलाई नियुक्ति गर्न सकिने अवस्था छ । यद्यपी रत्नराज बज्रचार्यजस्तो निकै एग्रेसिभ सीइओसँग बानी परेका कर्मचारीहरुलाई उनीजस्तो आधात्मिक सीइओ फाप्ने कुरामा भने शंका छ ।     
सल्लाह भएका पात्र २ : अनुजमणि तिमिल्सीना 
सेन्चुरी बैंकको सीइओबाट राजीनामा दिएर पनि दशैं खर्चका लागि केहि समय बैंकमा बसेको आरोप लागेका सीइओ हुन् अनुजमणि तिमिल्सीना । राजीनामा दिइसकेर पनि साधारणसभामा सीइओकै हैसियतमा बस्नसमेत पछि नपर्ने बैंकरका रुपमा बदनामी कमाएका उनले कतिपय फाइल नै उक्त बैंकमा बेहाल बनाएर छोडेको चर्चासमेत नेपाली बैंकिङ क्षेत्रमा चलेको थियो । सेन्चुरी छोडेर कुमारी बैंक गएका उनी त्यहाँपनि खास समय रहन खोजिरहेका छैनन् । त्यसैले पनि उनी सनराइज बैंक छोडेका रत्नराज बज्रचार्यको उत्तराधिकारी हुन सक्ने सीइओ होलान् भन्ने कुरामा शंका गर्ने ठाउँ छ ।
 सल्लाह भएका पात्र ३ : निरज श्रेष्ठ 
जुन बैंकमा सीइओ खाली भएपनि कुरा भइहाल्ने पात्रका रुपमा परिचित छन् निरज श्रेष्ठ । यसअघि बैंक अफ काठमाडौँमा शोभनदेव पन्तले राजीनामा दिएको चर्चा चलेका बेला पनि बैंकले निरज श्रेष्ठलाई नै ‘अप्रोच’ गरेको चर्चा चलेको थियो । जनता बैंकको डेपुटी सीइओका लागि पनि उनको नाम अगाडी आएको थियो । अन्य केहि बैंकमा पनि उनी सीइओ हुँदैछन् भन्ने चर्चा थियो । सबै कुरालाई विश्लेषण गर्ने हो भने जहाँ पाए पनि जाने मनस्थितिमा निरज श्रेष्ठ छन् भन्ने चर्चा पनि छ । यसो त उनी माछापुच्छ्रे बैंकबाट घुमाउरो पाराले निकालिएका सीइओ हुन् । एकातर्फ बोर्डको प्रेसर धान्न नसकेका उनलाई अर्कोतर्फ बैंकको डेपुटी सीइओ हुन खोजेका एक पात्रले बोर्डलाई उनी विरुद्ध अनेक कुरा लगाएर बोर्डलाई उचालिदिएपछि उनी त्यहाँ रहेनन् भन्ने चर्चा अहिले पनि चल्छ । त्यसैले पनि उनी बैंकको सीइओ भएपनि उनी उचित पात्रचाहीं होइनन् भन्ने धेरैको निष्कर्ष छ ।
सल्लाह भएर पनि कुरा बिग्रिएका पात्र ४: लक्ष्मण रिसाल 
लक्ष्मण रिसाल त झन् प्रेसर धान्न नसकेर बैंक छोड्ने सीइओ हुन् भन्ने कुरा बैंकिङ क्षेत्रका धेरैलाई थाहा छ । बैंकर संघ र एनआइसी एशिया बीच ब्याजदरको विषयमा भएको विवादको सामना गर्न नसकेर उनले बैंक छोडेका थिए । त्यसैले पनि उनी रत्नराज बज्रचार्यको उत्तराधिकारी हुन सक्ने बैंकर होइनन् भन्ने बुझाइ धेरैको छ । यसै पनि आफुले बैंक छोडीसकेपछी पनि आफ्ना केहि उपल्लो तहका कर्मचारीका बारेमा कुरा काट्दै हिड्ने सीइओका रुपमा बदनामी कमाएका उनी पनि सनराइज बैंकको सीइओ हुन एकदम लायक मान्छे हुन् भन्ने कुरामा भने धेरैले शंका गरिरहेका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: