×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एशिया बैंकमा इन्सपेक्सनपछि चलेका हल्ला कति सत्य ? चुहिएकै हो त सूचना ? हेर्नुहोस् १० प्रश्नोत्तर !

काठमाडौँ । एनआईसी एशिया बैंकमा केहि समय अगाडी नेपाल राष्ट्र बैंकको इन्सपेक्सन चलेको थियो । नियमित प्रक्रियागत रुपमा चल्ने इन्सपेक्सनपछि बजारमा एउटा हल्ला चल्यो, ‘केहि फाइलहरुमाथि प्रश्न उठाउँदै करिव २ अर्व प्रोभिजन गर्न राष्ट्र बैंकले निर्देशन दियो ।’ त्यही हल्लाका कारण आइतबार शेयर बजारमा त्यस कम्पनीको शेयर बिक्रीमा चाप पर्दा मूल्य घट्यो । सेयर बेच्न नभ्याएकाहरु झन् शशंकित बने । राष्ट्र बैंकले गरेको इन्सपेक्सनको फुल रिपोर्ट बैंकमै आइपुगी नसकी कसरी चल्यो त हल्ला ? हामीले यसको चुरो कुरो पत्ता लगाउने प्रयास गरेका छौं । 
१. नेपाल राष्ट्र बैंकले इन्सपेक्सन गरेको हो ?
हो । नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकमा ‘रेगुलर इन्सपेक्सन’ गरेको हो । राष्ट्र बैंकले बैंकमा इन्सपेक्सन सकेको छ भने फुल रिपोर्ट भने आउन बाँकि छ ।
२. राष्ट्र बैंकले केहि फाइलहरुमा प्रश्न उठाएको हो ?
हो । इन्सपेक्सनका क्रममा केहि फाइलहरुमाथि प्रश्न उठाइएको हो । यो इन्सपेक्सनका क्रममा हुने सामान्य प्रक्रिया पनि हो । एनआइसी एशिया बैंकमामात्र होइन, सबैजसो बैंकमा नेपाल राष्ट्र बैंकले यसरी केहि फाइलहरुमाथि प्रश्न उठाउने गरेको छ । यस्तै कैफियतका लागि हो इन्सपेक्सन गर्नुपर्ने पनि । नेपाल राष्ट्र बैंकका पाँच अधिकारीले ३३ दिन लगाएर एनआईसी एशिया बैंकको स्थलगत अनुगमन गरेका थिए । उनीहरुले काठमाडौका शाखादेखि उपत्यका बाहिरका कयौं शाखा भ्रमण गरेका थिए ।

३. कति वटा फाइल हेरिएका हुन् ? के कैफियत भेटिएका हुन् ?
नेपाल राष्ट्र बैंकको टोलीले इन्सपेक्सनका क्रममा झन्डै १५०० फाइल हेरेको थियो । जसमध्ये केहि फाइलमा राष्ट्र बैंकले प्रश्न उठाएकै हो । केहि खराब फाइलहरुलाई सेटल गर्न राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख नै गरेर निर्देशन दिएको पनि हो । 
४. के अरवौं रुपैयाँ प्रोभिजन गर्नुपर्ने भएको हो त ?
कति रुपैयाँ प्रोभिजन गर्ने हो भन्ने स्पष्ट खाका आइसकेको छैन । यद्यपी केहि फाइलहरु बिग्रिएको भेटिएकाले ती फाइल सेटल गर्न / प्रोभिजन गर्न निर्देशन राष्ट्र बैंकको इन्सपेक्सन टोलीले दिएको हो । र अहिले बैंकका कर्मचारी ती लोन सेटल गर्न लागि परेको पनि सत्य हो । यहि प्रेसरको कुरा बैंकका कर्मचारीले अरुलाई सुनाएको पनि सत्य हो । तर भुँइचालो नै गएजसरी गरिएको चर्चा भने सत्य होइन । तर ठुलो बैंकका केहि फाइलहरुमाथि प्रश्न उठाउँदा वा प्रोभिजन राख्न निर्देशन दिंदा टोटल फिगर केहि मोटो भएको पक्कै हो ।  बजारमा आएको जस्तो २ अर्व नभएपनि ठुलै रकम प्रोभिजन गर्न निर्देशन आएको भने हो । तर एनआइसी एशिया बैंक ती ऋणहरुलाई सेटल गर्ने अभियानमा जुटेको छ ।  
५. कहाँबाट आयो त अरवौं रुपैयाँ प्रोभिजन गर्नुपर्ने हल्ला ?
यो हल्ला पत्रकारले अनुमान गरेको हल्ला भने होइन । बैंककै जिम्मेवार अधिकारीले अन्य कुनै बैंकका जिम्मेवार अधिकारीलाई यो हल्ला सुरुमा सुनाएका हुन् । त्यसपछी त के चाहियो ? एक कान, दुइ कान मैदान हुँदै यो गाइगुंइ बाहिर गयो । मिडियामा कसरी पुग्यो त ? केहि समय अगाडी मिडियासँग राम्रो सम्बन्ध भएका एक कर्मचारीलाइ बैंकले निकाल्यो । कुनै बैंकबाट आएको हल्ला पत्रकारले तीनीसँग भेरिफाइ गरे । उनले कुरै नबुझी कुरा थपिदिए । त्यसपछि चर्चा चल्ने भइनै हाल्यो । एनआइसी एशिया बैंकभित्र कर्मचारीले के बोल्नु हुन्छ, के हुन्न भन्ने नियम नै छैन, भएपनि पालना छैन । दिनभरी काम गर्यो, राती साथीभाइसँग जाँड खाँदा जाँड खाने, कुरा ओकल्ने बानी कर्मचारीमा छ । 
६. हल्लालाई के ले बल दियो ?
सस्तोमा एनआइसी एशिया बैंकको सेयर उठाउन नपाएका र एनआइसी एशिया बैंकको सेयर बेचेर बसेकाहरुले हल्लालाई थप उर्जा दिए । एनआइसी एशिया बैंक छोडेकाहरुले सुनेकै भरमा अरुलाई पनि यहि हल्ला सुनाए । अर्को कुरा एनआइसी एशिया बैंकमा राष्ट्र बैंकले गरेको इन्सपेक्सनलाई लिएर केहि अतिरन्जित कुरा बाहिर आउन लागेको खबर बैंकका उच्च तहका अधिकारीलाई कसैले पहिला नै सुनाएको थियो । तर बैंकका ती अधिकारीले न सूचना दिनेलाई पत्याए, न उनीसँग सम्पर्कमा रहे । 

७. के भन्छ राष्ट्र बैंक ?
राष्ट्र बैंकले यस्ता हल्लाका पछाडी नलाग्न आग्रह गरेको छ । राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भनेका छन् ‘इन्सपेक्सन भएको हो । यो रेगुलर इन्सपेक्सन हो । इन्सपेक्सन हुने र केहि कैफियत भेटिने, त्यसलाई सुधार्ने यी सब सामान्य कुरा हुन् । त्यस्तो समाचार कसरी आयो हामी आफैं छक्क परेका छौं । त्यस्तो हल्लाको पछाडी नलाग्न सबैलाई अनुरोध गर्छौं ।’ 

८. के भन्छ एनआइसी एशिया बैंक ?
एनआईसी एशिया बैंकका मुख्य जनसम्पर्क अधिकृत अर्जुनराज खनियाले राष्ट्र बैंकको इन्सपेक्सन चलेको तर त्यसको प्रतिवेदन आइनसकेको बताए । उनका अनुसार एक खर्ब ७८ अर्ब निक्षेप र एक खर्ब ५० करोड कर्जा रहेको एनआईसी एशियाका १६ लाख भन्दा बढी बचतकर्ता र ४५ हजार ऋणी छन् । अति सानो आकारमा धेरै ऋणीलाई कर्जा प्रबाह गरिएको र असुलीमा कडाई गरिएको हुनाले कर्जा जोखिममा पर्ने संभावना न्युन छ । 

९. बैंकको ऋण असुली सिष्टम कति बलियो ? कति कमजोर ?
पछिल्लो समय ऋण असुलीमा बैंक निकै तिख्खर भएर लागेको छ । कर्जा असुलीमा निकै कडाइ गर्न बैंकले ऋणीले कर्जाको सावाँ ब्याज नतिरेको ३० दिन भित्र पत्रिकामा सूचना निकाल्ने र ९० दिन भित्रमा त्यस्तो कर्जा असुल गरिसक्ने नीति लिएको छ । यसरी आफ्नो नाम पत्रिकामा आएकाहरुले पनि यो सूचनालाई थप बढावा दिएको पाइन्छ ।

१०. किन पटक पटक विवादित बन्छ एनआइसी एशिया ?
यसो त ठुलो आकारमा प्रगति गरेपछि केहि विवाद आउनु स्वाभाविक हो । तर मिडियामा आउने कन्टेन्टका विषयमा कतिपय बेलामा बैंकनै जानकार हुँदैन । गलत वा अतिरन्जित न्यूज आउंदैछ भन्ने थाहा पाउँदा पाउँदै पनि त्यसलाई खण्डन गर्न नसक्नु, मिडियासँग सम्बन्धित व्यक्ति सम्पर्कमा नआउनुले अनुमानकारितासमेत बढाएको छ । न्यूज गलत नै आएपनि के सत्य हो भन्ने कुराले त्यसलाई खण्डन गर्न नसक्नु बैंकको अर्को कमजोरी हो । न्यूज आइसकेपछी त्यसलाई मिलाईहाल्छौं नि भन्ने अर्को घमण्डीपनाले पनि बैंकलाई र केहि गलत हल्लाको पछी लाग्ने दुबैलाई ग्रस्त बनाएको छ । यस कारण बैंक विवादमा आइरहेको छ । 
अरु थुप्रै कुराहरुमा बैंक विवादमा आउनेवाला पनि छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: