×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : रोकिएन इन्द्रेणीको ग्रुपको ‘ठगी धन्दा’, ‘गैरकानुनी मेनु’ राखेर ग्राहक ठग्दै, कमाउँदै… ! (प्रमाणसहित)

काठमाडौँ । यसअघि पनि गैरकानुनी मेनु राखेर बदनाम भएको इन्द्रेणी ग्रुप अन्तर्गतका रेष्टुरेन्टहरुमा पुन: गैरकानुनी मेनुहरु देखिन थालेका छन् । कानुनको धज्जी उडाएर इन्द्रेणी ग्रुप अन्तर्गतका रेष्टुरेन्टहरुले गैरकानुनी मेनुहरु राखेर जनता ठगिरहेको प्रमाण अर्थ सरोकारले पुन: फेला परेको छ । यसअघि इन्द्रेणी फुडल्याण्डले कानुन मिचेर ठगी धन्दा चलाएको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि इन्द्रेणी फुडल्याण्डका जिम्मेवार अधिकारीहरुले आफ्नो गल्ती भएको भन्दै यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर पछिल्लो समय पुन: इन्द्रेणी ग्रुप अन्तर्गतका होटलहरुमा यस्तो बदमासी देखिन थालेको छ । 
यसकारण गैरकानुनी छ इन्द्रेणीको मेनु ! 
नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत भ्याट नियमावली २०५३ को नियम १४ (ख) मा स्पष्ट रुपमा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ तर यो नियमको बर्खीलाप गर्दै यी रेष्टुरेन्टहरुले आफ्नो मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेका छन् । अर्थात प्रचलित नियम अनुसार कुनै पनि रेष्टुरेन्टको मेनुमा १३% अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न पाईदैन । तर यी लगायतका रेष्टुरेन्टले खुलेआम रुपमा कानुनको धज्जी उडाएर यसरी ‘गैरकानुनी’ नियम बनाइरहेका छन् ।
धेरैले सच्याए, इन्द्रेणीले किन सच्याएन ?
यसो त यसअघि अर्थ सरोकारले विभिन्न रेष्टुरेन्टहरुमा भएका मेनुहरु गैरकानुनी भएको समाचार प्रकाशन गरेपछि धेरै रेष्टुरेन्टहरुले आफ्नो मेनु सच्याएका थिए । तीनकुनेको सिद्धार्थ कटेज, नयाँ बानेश्वरको रेडमड क्याफे लगायतले मेनु सच्याएका थिए । तर झन्डै ६-७ महिना अघि मेनु सच्याउने प्रतिबद्धता गरेको इन्द्रेणीले आफ्नो गैरकानुनी धन्दालाई यथावत राखेको छ । यसले इन्द्रेणी कतै सेटिङमा त चलिरहेको छैन भन्ने आशंका गर्ने ठाउँ पनि दिएको छ । आफु वरपरका रेष्टुरेन्टहरुले मेनु सच्याउँदा यो रेष्टुरेन्टले किन कानुनमाथि धावा बोलिरहेको छ भन्ने प्रश्नभित्र रेष्टुरेन्टको पक्कै पनि कतै मिलेमतो छ भन्ने देखिन्छ । 

के भन्छ आन्तरिक राजश्व विभाग र रेस्टुरेन्ट ?
यता भ्याट सम्बन्धि नियम कार्वनयन भएको छ वा छैन भनेर हेर्ने निकाय आन्तरिक राजश्व विभागका सुचना अधिकारी यज्ञ राज ढुंगेलले भ्याट नियमावलीमा लेखिएको कुरा अक्षरस पालना गर्नुपर्ने बताएका छन् । ‘नियममा जे लेखिएको छ, त्यो अक्षरस पालना गरिनुपर्छ ।’ उनले भने, ‘नियम अक्षरस पालना नगर्ने जो कोहि पनि कारवाहीको भागीदार हुनुपर्छ ।’ 
यता यस विषयमा रेष्टुरेन्टमा सोध्दा त्यहाँका कर्मचारीले आफुहरु कर्मचारी भएको र आफुलाई यस विषयमा केहि पनि थाहा नभएको बताएका छन् । ‘हाम्रो नियम त भ्याट र सर्भिस चार्ज एक्स्ट्रा नै हो’ क्याफे दी इन्द्रेणीका एक कर्मचारीले भने । यस विषयमा बुझ्न हामीले इन्द्रेणी ग्रुपका मालिक बीर बहादुर श्रेष्ठ (शम्भु)लाई लाइ फोन गरेका थियौं । तर उनको ९८५११६**** नम्बर अफ थियो ।  यता नेपालका करविज्ञहरुले पनि रेष्टुरेन्टहरुमा गलत प्रवृति हावी भएको र नियम विपरितका मेनुहरु राखिएको बताएका छन् । ‘आन्तरिक राजश्व विभागले यस्ता कुरामा कडाइ गर्नुपर्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक करविज्ञले भने, ‘कानुन भनेको मान्नका लागि हो । र कानुन नमान्नेहरु कारवाहीको भागीदार बन्नैपर्छ ।’

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: