×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एउटा रमाइलो उदाहरण : एनआइसी एशिया बैंकका पूर्व कर्मचारीले यसरी आफु निकालिएको पुष्टी गरे…!

अर्थ सरोकार डटकमले सोमबार एउटा समाचार छाप्यो । समाचारको शिर्षक थियो, ‘एनआइसी एशिया बैंकमा इन्सपेक्सनपछि चलेका हल्ला कति सत्य ? चुहिएकै हो त सूचना ? हेर्नुहोस् १० प्रश्नोत्तर !’ 

बजारमा चलेको अर्ध सत्य हल्लाको स्रोत के हो ? यहि खोज्ने क्रममा स्रोतले उपलब्ध गराएको जानकारीका आधारमा अर्थ सरोकारमा समाचार लेखियो, ‘मिडियामा कसरी पुग्यो त ? केहि समय अगाडी मिडियासँग राम्रो सम्बन्ध भएका एक कर्मचारीलाइ बैंकले निकाल्यो । कुनै बैंकबाट आएको हल्ला पत्रकारले तीनीसँग भेरिफाइ गरे । उनले कुरै नबुझी कुरा थपिदिए । त्यसपछि चर्चा चल्ने भइनै हाल्यो ।’


तर केहि समयपछि एउटा रमाइलो घटनाको साक्षी हुनुपर्यो ।
समाचार प्रकाशित भएपछि ९८०******* नम्बर बाट मलाई फोन आयो । 
‘के हो ? के लेखेको ? मलाई बैंकले निकालेको लेख्ने ? मुद्धा हालौं ?’ 
कतै सुनिएको जस्तो स्वर थियो त्यो । 
‘को बोल्नुभएको ?’ मैले प्रश्न गरें ।  
‘म छवि (नाम परिवर्तन) एनआइसी एशिया बैंकको । तपाईंले मलाइ बैंकले निकालिदिएको लेख्ने ? बैंकले कहाँ निकाल्यो मलाई ?’ 
समाचारमा त्यस्तो नलेखिएको कुरामा म कन्फीडेन्ट थिएँ । 
‘तपाईंको नाम कहाँ छ ? कहाँ तपाईं निकालिएको भनेर लेखिएको छ ?’ मैले प्रश्न गरें । 
उनले ‘पख्नुस् म स्क्रीनशट पठाउँछु’ भनेर फोन राखे ।
के को स्क्रीनशट पठाउनु ? भए पो पठाउनु ?
एकछिनपछि उनले केहि ‘कुल’ भएर फोन गरे, ‘तपाईंले मिडियासँग नजिकको मान्छेलाई बैंकले निकालीदिएपछि यो सूचना बाहिर गयो भनेर लेखिदिनुभएछ । यसले मेरो करियरमा नराम्रो छाप पार्ने भयो ।
मैले फेरि सोधें ‘तपाईंको नाम कहाँ छ ? कहाँ तपाईंलाइ निकालिएको भनिएको छ ?’
उनले उत्तर फर्काए, ‘म बैंक छोड्दैछु । बैंकमा मिडियासँग नजिक भनेकै मै हुँ ।’
मैले फेरि भनें, ‘बैंकमा मिडियासँग नजिक तपाईं मात्र हो र ? तपाईं निकालिनुभएको हो र ? होइन भने किन डराएको ?’
उनले जवाफ फर्काए, ‘होइन म एनआइसीमै छु । केहि दिनमा छोड्न लागेको छु । यहाँ ममाथि शंका हुने भयो ।’ 
पहिलो कलमा खाउँला जसरी फोन गरेका उनी अहिले निकै मलीन स्वरमा कुरा गर्ने भएका थिए ।   
एनआइसी एशिया बैंकको केहि आन्तरिक सूचना बाहिर चुहाउने व्यक्ति उनी थिए वा थिएनन् भन्ने कतै उल्लेख थिएन । त्यसो भए उनी किन आत्तिए ? त्यो समाचार आउने बित्तिकै उनी किन आक्रोशित भए ? यहि बुझ्न मैले एनआइसी एशिया बैंकका सूचना अधिकारी अर्जुन खनियाँलाइ फोन गरें । उनीसँग कुराकानी गरेपछि बल्ल कुरोको चुरो पत्ता लाग्यो । ती व्यक्तिले  झुट बोलेका रहेछन् । 
‘… अहिले एनआइसी एशिया बैंकमा छैन । उसले केहि दिन अगाडी नै बैंक छोडिसक्यो । ठुला कुरा गर्न थाल्यो अनि हामीले निकालिदिएका हौँ ।’ अर्जुन खनियाँले जानकारी दिए ।  
बुझ्दै जाँदा उनलाइ बैंकले निकालिदिएका कारण समाचारमा निकालेको भन्ने शब्द देखेपछि उनी आत्तिएका रहेछन् । आफुलाई थर्काउने व्यक्तिका बारेमा सम्बाददाताले थप बुझ्न खोजे । केहि समय अगाडी एनआइसी एशिया बैंकको समाचारको विषयलाई लिएर एक अर्को आर्थिक अनलाइनका सम्पादकलाई यस्तै ‘मिसबिहेब’ गरेको भन्दै ती अनलाइनका सम्पादकले बैंकमा गुनासो पोखेका रहेछन् । हुँदै नभएको काम ‘गरिसकें’ भनेर उनले अर्जुन खनियाँलाइसमेत झुटसमेत बोलेका रहेछन् ।  हदै भएपछि हाकिमले ‘जागिर खान मन छैन ?’ भनेर थर्काएपछि उनी राजीनामा बोकेर बैंक गएका रहेछन् । बैंकले एक शब्द पनि नसुनी उनको राजीनामा स्वीकृत गरिदिएको रहेछ । 
त्यसपछि मैले छवि (नाम परिवर्तन) लाई फोन गरें । फोन व्यस्त भएपछि एसएमएस गरें । ‘तपाईंलाइ भन्न खोजेको थिइएन । तर तपाईंले मिडियाकर्मीलाई थर्काउनु गलत भयो । म यस विषयमा भरे केहि लेख्छु । तपाईंलाई आफ्नो केहि भनाइ राख्नुछ भने भन्नुहोला ।
उनले जवाफ फर्काए, ‘म अर्को बैंकमा राम्रो जागिरको अफर आएकाले छोडेको हुँ । मेरो अर्जुन सरसँग वा एनआइसी एशिया बैंकप्रति केहि नराम्रो छैन ।’ केहिबेर अघिसम्म एनआइसीमै छु केहि दिनमा बैंक छोड्न लागेको छु भन्ने छविले झुट बोलेको पत्ता लागिहाल्यो । 
उनले अगाडी लेखेका थिए, ‘मैले धेरै समय मिडियामा काम गरें । मैले मिडियाको दुख पनि बुझेको छु । तर तपाईंको यति धेरैले पढ्ने समाचार पोर्टलमा यस्तो न्यूज आउँदा मलाइ नराम्रो नलाग्ला र ?’ उनले उत्तर फर्काए ।
फेरि पनि मेरो यहि उत्तर थियो, ‘त्यसमा उल्लेख गर्न खोजिएको व्यक्ति तपाईंले आफुलाई कसरी भन्ठान्नुभयो ? त्यसमाथि चित्त नबुझे वा तपाईंलाई त्यो शब्दले गाह्रो बनाएको भए मलाइ भनेको भए हुन्थ्यो । म मिलाईदिन्थें । तर तपाईंले थर्काउनुभयो । ठुलो स्वर गरेर खाउँला जस्तो गर्नुभयो । कसैले कसैलाई थर्काउने अधिकार छैन ।’
उनले पुन: जवाफ फर्काए, ‘यत्रो समय बैंकमा रहेर काम गरें । आशा छ तपाईंको सहयोग पाउनेछु ।’  
पाठ : हामीलाई उनका बारेमा खोज्ने कुनै मन थिएन । तर थर्काई नै खाइसकेपछि नखोजी पनि भएन ।अन्तत: थाहा भयो हामीलाई थाहा नै नभएको उनी बैंकबाट निकालिएको कुरा । अनावश्यक रुपमा कुनै कुरामा चासो लिँदा आफ्नै कमजोरी पनि फुस्किने रहेछ । बैंकरहरुले पाठ सिकून् ।
(लेखक अर्थ सरोकार डटकमका सम्बाददाता हुन् ।)            
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: