×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ललितपुर महानगरपालिकाले ल्यायो ५ अर्ब १७ करोड ९६ लाखको बजेट, ‘एक घर एक उद्यम’ प्राथमिकतामा (भिडियो रिपोर्ट)

काठमाडौँ – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्व १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ । ललितपुर महानगरपालिकाको मंगलबार ललितपुरमा आयोजित चौंथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सो बजेट पेश गर्नु भएको हो । नगरसभामा पेश गरिएको बजेटमा सबैभन्दा बढि पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । पूर्वाधार विकासका लागि २ अरव ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो । मेयर महर्जनले पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेट कूल बजेटको ३८ दशमलव ७५ प्रतिशत रहेको पनि जानकारी दिनुभयो । त्यसैगरी आगामी आर्थिक वर्षको चालू खर्चका लागि १ अरव १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको २१ दशमलव ७४ प्रतिशत हो । सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरिएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ । मेयर महर्जनले ललितपुर नगरलाई समुन्नत सांस्कृतिक सहर बनाउने मुख्य उद्देश्यका साथ बजेट, नीति तथा कार्यक्रम तय गरिएको स्पष्ट पार्नुभयो । उहाँले बजेटमा पर्यटन विकासको माध्यामबाट आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको पनि बताउनुभयो । त्यसैगरी दीगो सहरी पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता, सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण, वातावरणमैत्री स्थानीय शासन व्यवस्था, अपांगमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रका सर्वसाधारणको पहुँचमा वृद्धि, गरिवी न्यूनिकरण, विषादीरहित करेसाबारी तथा कृषिमा आधुनिकीकरण, वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियानलाई पनि प्राथमिकता दिने बजेटमा उल्लेख गरिएको छ । बजेट, नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माण र विपद् न्यूनिकरणलाई पनि प्राथमिकतामा राखिएको पनि मेयर महर्जनले बताउनुभयो ।
ललितपुर महानगरपालिकाले नगरलाई हरियाली बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा हरेक वडामा एक ‘हरियाली पार्क’ निर्माण गर्ने घोषणा पनि गरेको छ ।हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: