×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुठीको जग्गामा १५ तले भवन ठडियो ! नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्षले जानी-जानी यस्तो गरे कि फसाइयो ?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादर पाण्डेले गुठिको जग्गामा १५ तले भब्य भवन बनाएर छाया सेन्टर सञ्चालन गरेको खुलासा भएको छ । सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपैयाँ पर्ने जग्गामा भव्य भवन ठडिएको हो । गुठीको करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो । पाण्डेकी आमा छायादेवीको नाममा निर्माण गरिएको सो भवनले करिब १२ रोपनी क्षेत्रफल ओगटेको छ । तीन जनाको स्वामित्वमा रहेको उक्त भवनमा करिव करिब ३० व्यक्तिहरुको लगानी रहेको छ । अझ खास कुरा त विवाद चलिरहेकै अवस्थामा काठमाडौं महानगरपालिकाले सो भवनको नक्सा पास र निर्माण सम्पन्नसमेत दिइसकेको छ । शक्ति र पहुँचकै आधारमा यसरी गुठिको जग्गा व्यक्तिका नाममा पुगेको स्थानीयको आरोप छ।
स्थानीय भन्छन्, ‘हाम्रो आन्दोलन जारी छ’
‘अहिले होइन, हामीले जग हाल्दादेखि आन्दोलन गरेका थियौं र अहिले पनि हाम्रो आन्दोलन रोकिएको छैन । तर हामी बोलिरहने, बोल्नुपर्ने मान्छे नबोल्ने हुँदा हामीलाई समस्या परिरहेको छ । भगवान वहालका स्थानीय एवं राष्ट्रिय पहिचाल संयुक्त संघर्ष समितिका सहसंयोजक यादवलाल कायस्थले भने । उनका अनुसार काँग्रेस सांसद प्रकाशमान सिंहको घरमै पुगेरसमेत यस विषयमा पटक पटक अनुरोध गरिएको थियो । तर समस्या समाधान गर्नुको सट्टा उल्टै आन्दोलन रोक्न दबाब दिइएको उनको आरोप छ । उनका अनुसार यस विषयमा अदालतमा मुद्धासमेत परिसकेको छ । स्थानीय भागवत नर्सिंङ प्रधानले गुठीको जग्गा गुठीकै नाममा गराई पाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । 
यस्तो छ जग्गाको नालीबेली !
यससम्बन्धमा पूराना दस्तावेजहरु हेर्ने हो भने अहिले भव्य भवन बनेको उक्त भवनको जग्गा पहिला सिंह सार्थ गरुड भगवान बहाल गुठीको नाममा थियो । पछि केहि व्यक्तिको नाममा नामसारी हुँदै उक्त जग्गा अम्बिका राणाको नाममा नामसारी रैतानी दर्ता भएको छ । गुठीको नाममा रहेको सो जग्गा केशर शमशेरको नाममा मोही जनाइएको छ । यस विषयलाई लिएर काठमाडौं जिल्ला अदालतमा मुद्धा पनि परेको थियो । तर २०३० वैशाख २५ गते काठमाडौं जिल्ला अदालतले उक्त मुद्धा खारेज गरेको इतिहास छ । गुठी संस्थानमा रहेको २०४२ सालको फिल्डबुकमा उक्त जग्गा भएको स्थान पोखरी रहेको उल्लेख छ । २०४४ मंसिर २३ गते तत्कालीन श्री ५ को सरकारले निर्णय गरेर उक्त पोखरी सरकारको नाममा दर्ता गरेको इतिहास भेटिन्छ । त्यसयता बनेको जग्गाधनी स्रेस्तामा पनि पोखरी नै उल्लेख छ भने जग्गाधनीको नाम ‘श्री ५ को सरकार’ लेखिएको छ ।
चलिरह्यो मुद्धाको सृंखला !
यो बीचमा धेरै पटक मुद्धाको सृंखला चलेको पाइएको छ । २०४७ फागुन १४ गते गुठी तहसिल कार्यालयले रैतानीको निर्णय भुलबस भएको र रैतानी गर्न नमिल्ने हुनाले सो वापत तिरेको रकम फिर्ता लिन आउनु भनी पत्र लेखेको थियो । उक्त पत्र बदर गरि पाउँ भनी परेको मुद्धामा काठमाडौँ जिल्ला अदालतले सदरको फैसला सुनाएको थियो । त्यसपछि पुनरावेदन पुगेको यो केसमा पुनरावेदन अदालत पाटनले पनि २०५३ साल जेठ २५ गते फैसला गर्दै उक्त पत्र सदर गर्ने फैसला सुनाएको थियो। त्यसपछि पनि मुद्धा मामिलाको क्रम रोकिएन । यसरी रैतानीको निर्णय कायम रहँदै गर्दा परेका मुद्दाको सवालमा २०६२ असार १६ गते काठमाडौं जिल्ला अदालतमा भगवान बहाल गुठीले अम्बिका राणासँग एक करोड ५० लाख रुपैयाँ नगद र ४ आना जग्गा लिएर मिलापत्र भएको थियो । त्यसपछि २०७० वैशाख २० मा काठमाडौं जिल्ला अदालतबाट रोक्का राख्न नमिल्ने भनी विपक्षको नाममा आदेश भयो । तर यो मुद्धा यतिमा रोकिएन । फेरि केस सर्वोच्च पुग्यो र सर्वोच्चले २०७३ असार २० मा रोक्का राख्न नमिल्ने आदेश दियो ।
पृथ्वी बहादुर पाण्डे फसे कि फसाइयो ?
सरकारी निकायबाट पूरा गर्नुपर्ने सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टर सञ्चालकको दाबी छ । यसो त उनले नै गुठिको जग्गा आफ्नो नाममा पारेका पनि होइनन् । तर उनले यो जग्गा लिंदा यस विषयमा बुझे कि बुझेनन् भन्ने कुरा महत्वपूर्ण छ । अहिले यो प्रकरण छताछुल्ल भएको छ । तर भवन निर्माण अघि नै यो कुरा किन उठेन भन्ने महत्वपूर्ण प्रश्न अगाडी आएको छ । यस सम्पत्तिका अहिलेका मालिक पृथ्वी बहादुर पाण्डेले नै गुठीलाई रैतान बनाएका होइनन् भन्ने कुराले उनको गल्ती छैन भन्ने तर्क गर्ने ठाउँ छ । तर चोरीको समान किन्नेले पनि छुट पाउँछ र ? भन्ने अर्को तर्क पनि उस्तै टड्कारो रुपमा अगाडी आएको छ । 
सम्बन्धित निकाय के भन्छन् ?
यता काठमाडौँ महानगरपालिकाकि उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सो भवनको विषयमा अध्ययन भैरहेको बताउँछिन् । स्थानीय जनप्रतिनिधिसँग पनि मिलेर यो केसमा अध्ययन भइरहेको उनको तर्क छ । तर उनले पनि भवन निर्माण भइसकेपछी यो प्रकरण बाहिर आएकोमा आश्चर्य मान्दै त्यस अगावै कुरा उठ्नुपर्ने तर्क गरेकी छिन् । यता पूरातात्व विभागले पनि निर्माण स्वीकृत दिनुअघि छाया सेन्टरको कुनैपनि कागजात भेटेको थिएन । विभागका प्रवक्ता प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरलेले पनि दर्जनौँ पटक कागजात खोज्दा पनि पत्ता लगाउन नसकेको स्पष्ट पारेका छन् । अव यो प्रकरण के हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: