एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान


काठमाडौं - एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुर स्थित होटल हिमालयमा आयोजित एक विषेश कार्यक्रममा विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु र अन्य पाहुनाहरुको माझ प्रदान गरिएको हो । 

यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले २०७६ साल देखि २०८० साल सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई रु १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ । यस अघि एनसेलले उत्कृष्ट विद्यार्थीहरुलाई २०७१ देखि २०७५ सम्म रु ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ । 

एक जिम्मेवार व्यावसायिक नागरिकका रुपमा, प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा २०७१ मा यो छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरिएको थियो । २०७१ देखि २०७५ सम्मको पाँच वर्ष अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् ।
प्रकाशित मिति : Wednesday, July 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal