×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायबल लाइफ इन्स्योरेन्समा चरम बेथिति : कम्पनीलाई महँगो भाडा तिराएर उही भवनमा सस्तोमा अध्यक्षको सिए फर्म !

काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्स । सम्भवत: पछिल्लो समय खुलेका इन्स्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा ‘बदनाम’ कम्पनी । नाममै खोट । अरुको ट्रेडमार्क रहेको नाम, पहुँचका आधारमा दर्ता र सोहि अनुसार अरुको नाम बेचेर बदमासी । एचआरमा विवाद उस्तै । अध्यक्ष केहि समय अगाडीमात्र भ्याटको लफडामा परेका । सरसर्ती रिलायबलबारे तथ्य केलाउँदा भेटिएका यथार्थ हुन् माथि उल्लेखित परिदृश्य । त्यतिमात्र कहाँ हो र ? खोज्दै जाँदा रिलायबल लाइफ इन्स्योरेन्समा चरम बेथिति देखिएको छ । कम्पनीको कार्यालयलाई महँगो भाडा तिराएर कम्पनीका अध्यक्ष राजु शिवाकोटी उही भवनमा माथिल्लो तल्लामा सस्तोमा बसेको तथ्य खुलेको छ । अनि यो कुरा कसले केलाईदिने ? केलाईदिने अडिटर साप त्यहि भवनको तेश्रो तल्लामा फर्म चलाएर बसेका छन् ।  

 कम्पनीलाई तिराइयो महँगो भाडा !

पुतलीसडकस्थित यो भवन (तस्विरमा)को ग्राउण्ड फ्लोरमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी छ । जसको भाडा १ लाख रुपैयाँ मासिकभन्दा बढी छ । तर त्यसको ठिक माथि कम्पनीका अध्यक्ष राजु शिवाकोटी जेबिआरएच एण्ड कम्पनी नामको सिए फर्म छ । उक्त सिए फर्मको भाडा भने सस्तो छ । सुरुमा पूरै घर लिएर सिए फर्म चलाउने सुरसार गरेका उनले पार्टनरहरुबीच मनमुटाव आएपछि पार्टनरहरुसँग छुट्टिएर बसे । आफुले भनेअनुसार सिए फर्म अगाडी बढ्न नसकेपछि पूरै घरमा सिए फर्म चलाउने धोको पालेका शिवाकोटी एक फ्ल्याटमा सिमित भए । पार्टनरशिप गर्ने भनिएका हरि सिलवाल र बिजय घिमिरे (जो हाल रिलायबलकै अडिटर छन्) क्रमश: तेश्रो र चौथो तल्लामा छन् । बाँकी रह्यो सबैभन्दा तल्लो तल्ला । त्यहाँ अरु आएर बस्दा आफुलाई घाटा हुने भन्दै उनले आफ्नै कम्पनीलाई जवर्जस्ती ल्याएर महँगो भाडा तिराईरहेका छन् ।
अध्यक्ष शिवाकोटीको स्वीकारोक्ति : ‘हो मैले नै रिलायबललाई त्यहाँ ल्याएको हो’ 
यस विषयमा बुझ्न हामीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष राजु शिवाकोटीलाई फोन गरेका थियौं । उनले आफुले नै कम्पनीको कार्यालय त्यहाँ ल्याएको स्वीकारे । यतिसम्मकी उनले आफु बसेको घरमा म:म पसल खुल्ने भएपछि त्यसले आफुलाई ‘डिस्टर्ब’ गर्छ भनेर आफ्नै कम्पनीलाई त्यहाँ ल्याएकोसमेत स्वीकारेका छन् । ‘सुरुमा हरि सिलवाल, म र बिजय घिमिरे पार्टनरशीपमा काम गर्ने भनेर पूरै घर लिइयो । तर त्यो वातावरण बनेन । त्यसपछि हरिजी सबै भन्दा माथि बस्नु भयो । त्यसको तल बिजयजी बस्नु भयो । त्यसको तल म बसें । बाँकी रह्यो, ग्राउण्ड फ्लोर । त्यसमा मम पसल आउने भएपछि मैले नै कम्पनीका सीइओलाई भनेर त्यहाँ रिलायबलको कार्यालय ल्याएर आएको हुँ ।’ उनले भने ।
यसरी गरियो भाडाको राजनीति, सीइओले हाकाहाकी झुट बोले !
यता अध्यक्ष शिवाकोटीले बेसमेन्टको भाडा महँगो नै हुने तर्क गरेका छन् । ‘तल्लो तल्लाको भाडा महँगो नै हुन्छ । त्यहि भएर कम्पनीलाई पनि महँगो नै पर्यो ।’ उनले तर्क गरे । ‘अनि आफुलाईचाहिं सस्तो पारेको ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘माथिल्लो तल्ला त सस्तो हुने नै भयो ।’ ‘अनि रिलायबललाई किन माथि नराखेको त ? मुख्य कार्यालयमा त दोश्रो तल्लामा छ कम्पनी होइन र ? यो त बदनियत देखिएन र ?’ हाम्रो प्रश्नमा उनले भने, ‘भगवान कसम, पशुपतिनाथलाई साक्षी राखेर भन्छु, मेरो नियत गलत छैन । भाडाचाहिं रिलायबलले बढी तिरेकै हो ।’
यस विषयमा हामीले कम्पनीका सीइओ नारायण बाबु लोहनीलाईसमेत फोन गरेर सम्पर्क गर्यौं । उनले पनि तल्लो तल्लाको भाडा महँगो नै हुने तर्क गरे । ‘एउटै घरमा अध्यक्षले सस्तो तल्ला रोज्ने अनि कम्पनीले महँगो भाडा तिर्ने ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘हामी पछि गएका हौँ, उहाँहरुसँग हाम्रो सीधा सम्बन्ध छैन ।’ अध्यक्षले मैले नै रिलायबललाई त्यहाँ ल्याएको बताईरहँदा सीइओले भने आफुहरु आफ्नै हिसावले त्यहाँ गएको र अध्यक्षसँग यस विषयमा सीधा सम्बन्ध नभएको दावी गरेर झुट बोलेका छन् ।  
बीमा समितिका अध्यक्ष भन्छन्, ‘उजुरी परेको छैन, परे कारवाही गर्छु’
यस विषयमा हामीले बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंलाईसमेत सोधेका थियौं । उनले यस विषयमा आफुकहाँ उजुरी नपरेको भन्दै उजुरी परेको खण्डमा आफुले यस विषयमा जानकारी लिएर गलत भएको भए कारवाही प्रक्रिया अगाडी बढाउने बताएका छन् । ‘गलत भएको छ कि छैन भन्ने कुरा हेर्ने तीन विकल्प छन् । एउटा हाम्रो इन्सपेक्सन, वा सेल्फ रेगुलेसनमा देखिएका कैफियत, एउटा उजुरी, एउटा तपाईंहरुजस्तै मिडियामा आएका खबर । यस विषयमा मैले जानकारी पाएको छैन । पाउने बित्तिकै के गर्नुपर्ने हो, गर्छु ।’ उनले भने ।
यो विषय लगायत रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अन्य काण्डहरुबारे तयार गरिएको टेलिभिजन कार्यक्रम ‘अर्थ सरोकार’ आइतबार राती ८:३० बजे बिजनेश टेलिभिजनमा प्रशारण हुनेछ । समय मिलेसम्म हेर्नुहोला ।       
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: