एनआइसी एशिया बैंकको दादागिरी : श्रम ऐन विपरित निकालिए सयौँ कर्मचारी ! (प्रमाणसहित)

काठमाडौं । आफुलाई नम्बर १ दावी गर्ने एनआइसी एशिया बैंक लिमिटेडले श्रम ऐन मिच्दै कर्मचारीहरु निकालेको छ । पटक-पटक विज्ञापन गरी ५ महिने करारमा राखिएका कर्मचारीहरुलाई विना सूचना बैंकले श्रम ऐन मिच्दै निकालेको हो । यसरी निकालिएका कर्मचारीहरुमध्ये कतिपय अन्यत्र बैंक छोडेर एनआइसी एशिया बैंक आएका तर १५ दिन नपुग्दै निकालिएकाहरु पनि छन् । श्रम ऐन २०७४ को दफा १४० को १ (ख) मा उल्लेख भएअनुसार चार हप्तादेखि एक वर्षसम्मको रोजगारीको हकमा कम्तिमा सात दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । तर बैंकले विना कुनै सूचना यसरी सयौं कर्मचारीहरु निकालेको छ । 
कर्मचारी भन्छन्, 'अन्य ठाउँको जागिर छोडेर आयौं, हाम्रो भविष्यमाथि खेलबाड भयो'
यता बैंकबाट विना सूचना निकालिएका कर्मचारीहरुले आफ्नो भविष्यमाथि खेलबाड भएको दावी गरेका छन् । उनीहरुले एनआइसी एशिया बैंकमा काम राम्रो सिकिने भन्दै आएको तर जागिर खाएको १५ दिनमै निकालिँदा आफुहरुमाथि अन्याय भएको दावी गरेका छन् । 'उचित र पर्याप्त कारणविना रोजगारी अन्त्य गर्न नपाइने भन्ने श्रम ऐनको स्पष्ट व्यवस्था विपरित बैंकले मनपरी ढंगले हामीलाई निकालेको छ । बैंकको यो कदमले समग्र बैंक तथा वित्तीय संस्थाहरुको रोजगारीमाथि नै प्रश्न उठाएको छ भने अव के बैंकको जागिर सुरक्षित छ त भन्ने प्रश्न पनि उठाएको छ । एनआइसी एशिया बैंकको यो बदमासीविरुद्ध नियामक निकाय अव पनि नजाग्ने हो भने कर्मचारीहरु कहिले जागिर जाला भनेर डर नै डरमा बसेर काम गर्नुपर्ने स्थिति छ ।' बैंकबाट निकालिएका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भने । 

श्रम ऐनको व्यवस्थामा के छ ? 
श्रम ऐन २०७४ परिच्छेद २१ को रोजगार अन्त्य सम्बन्धी व्यवस्थाको दफा १३९ को दफा २ मा 'रोजगारी अन्त्य गर्दा उचित र पर्याप्त कारण खुलाउनपर्ने' व्यवस्था उल्लेख गरिएको छ । तर, एनआइसी बैंकले भने ऐनमा भनिए अन्सुआर उचित र पर्याप्त कारण खुलाएको छैन । बैंकले कर्मचारीहरुलाई मेल लेख्दै कर्मचारी हटाइएको र बैंकको परिचयपत्र बुझाएर जागिर छोड्न उर्दी जारी गरेको छ । बैंकको एचआर विभागका नाममा लेखिएको उक्त मेलमा कर्मचारी किन हटाइयो भन्ने कतै उल्लेख छैन । सुरुमा भकाभक कर्मचारी राख्ने अनि आफुहरुलाई मन लागेको दिन भकाभक कर्मचारी निकालेर बैंकले कर्मचारीहरुको इमान्दारिता, र कर्ममाथि नै प्रहार गरेर गम्भीर खेलबाड गरेको कर्मचारीहरुको दावी छ । 


'श्रम ऐनकै दफा १४० को १ (ख) मा उल्लेख भएअनुसार चार हप्तादेखि एक वर्षसम्मको रोजगारीको हकमा कम्तिमा सात दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । तर यस विपरित कर्मचारीहरुलाई निकालिएको छ । ४०० जना कर्मचारीहरुलाई एकै पटक निकालिएको छ । यदी ४०० कर्मचारी निकाल्दा पनि बैंक राम्रोसँग नै चल्छ भने किन राखिएको त ? किन विज्ञापन गरेर कर्मचारी भर्ना गरेको ? के बैंकका कर्मचारी कसैलाई मन पर्दा राख्ने र कसैलाई मन नपर्दा निकाल्न पाउने गोटी हुन् ? अर्का एक कर्मचारीले गुनासो पोखेका छन् । 
प्रतिक्रिया दिन नै मान्दैन बैंक 
यस विषयमा बुझ्न हामीले बैंकका जन सम्पर्क अधिकृत अर्जुन खनियाँलाई पटक पटक सम्पर्क गर्यौं । तर उनले हाम्रो फोन नै उठाएनन् । फोन नउठेपछि हामीले उनलाई मेसेन्जरमा समेत यो प्रश्न गरेका थियौं । तर उनले हाम्रो मेसेज हेरे तर प्रतिक्रिया दिएनन् । यता बैंकका मानव संसाधन विभागका प्रमुख नारायण नेपालले भने आफुहरुले नियम विपरित कर्मचारीहरु नानिकालो दावी गर्दै आएका छन् । यसले बैंक यस्तो गम्भीर विषयमा कति संवेदनहीन छ भन्ने प्रष्ट हुन्छ ।
प्रकाशित मिति : Thursday, September 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal