कुरीकुरी यातायात मन्त्रीज्यू ! 'जामका कारण जनता कहिलेसम्म मारिरहने ? तपाईं भाषणमात्र कति गरिरहने ?

{"authorname":"default_author","author":"सचिन्द्र श्रेष्ठ", "thumbnailLabel":"Jyoti Bikas Bank"}

माननीय मन्त्रीज्यू,
खोइ, कहाँबाट सुरु गरौँ मन्त्रीज्यु, हजुर मन्त्री भएको दिनदेखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ । तर आरोप प्रत्यारोप भन्दा पनि जामका कारण जनता मर्नुपर्ने दिन आएपछि म केहि नलेखी बस्न सकिन । हुन त हजुरलाई यो घटना सामान्य लाग्ला तर हाम्रा लागि यो जनताको मृत्युसँगै राज्यको देहान्त पनि हो । आम मानिस दिनहुँ यो पीडा भोगिरहेछन् । थाहा छैन कहिलेसम्म जामका कारण जनता मर्नुपर्ने हो ! 

रौतहटका ३५ बर्षीय रूपलाल शाह जो जनकपुरदेखि काठमाण्डौ उपचारका लागि आएका थिए । जसको बाटोमा नै मृत्यु हुन पुग्यो । यो घटनाले राज्य कतिसम्म निर्मम छ यो देशमा भन्ने उदाहरण खोज्न अव कतै पनि जानु नपर्ने भएको छ । 

मन्त्री वा तीनका आसेपासेलाई थोरै बान्दा लाग्दा पनि हेलिकोप्टर चार्टड गरेर ठुलाठुला डाक्टर र अस्पताल लैजाने देशमा जनताहरु यसरी कहिलेसम्म मारिरहने ? यही यातायातका कारण मृत्युमात्र होइन मन्त्रीज्यु,चितवनका मेरा मित्र राजन वाग्लेको सम्बन्धमा समेत दरार आएको छ । गएको असार २८ गते बिहेको दिन तोकिएको थियो तर विदेशदेखि गएका मेरा मित्र काठमाण्डौदेखि घर पुग्दा २ दिन लाग्यो । जसो-तसो बिहेको अघिल्लो दिन घर पुगे । ससुराली तिर बिहे रोकियो भनेर हडताल नै गरे भनेर गुनासो पोखे । आखिर समस्याको जड लामो यातायात जाममा पर्नु !

२ दिन अघि अन्तरवार्ता दिने भनेर हिडेका पर्बत कूस्माका सत्येन्द्र श्रेष्ठ , भनेको समयमा अन्तरवार्ता स्थल पुग्न नसकेर त्यसै फर्किनु परेको दुखेसो पोखे । स्वयम् म नै घरदेखि बिहान ६ बजे हिडेको आधा राति पानी परेको अवस्थामा राजधानी पुगें । जबकी ६ घण्टामा आरामले पुग्नेलाई १८ घण्टा लाग्यो ! यो त्यही बढ्दो लामो लाइन नागढ़ूंगा को पृथ्वी राजमार्गमा पर्ने जाम हो मन्त्रीज्यु यसको जिम्मा कस्ले लिने ?

माननीय मन्त्रीज्यु, 
हजुरले भने जस्तो ६ बर्षमा पूर्ब-पश्चिम रेलमार्ग बनाउने, जि टू जि रेल किने भनेर भनीरहनु पर्दैन ।कोशी ब्यारेक भारतले पहिले बनायो अब आफ्नै लगानीमा बनाउछौ, सुरङ्ग मार्ग बनाउछौ, पानी जहाज ल्याउछौ भनेर दिनहुँ खोक्न छाड्नुस्कि, पहिला बाटो बनाउनुपर्यो । 

मन्त्रीज्यु ,म विदेश बस्छु तर सबै यहींको जस्तो होस्, तुरुन्त भन्दिन किन की भन्ने बितिकै संसारमा कहि पनि हुन्न । तर भाषणमात्र गर्न छोडेर काम गर्न थालियो भने असम्भव के छ र ? यहाँ न ट्राफिक समस्या,ट्राफीक बत्तीको सही सदुपयोग, ठाउँ ठाऊमा सीसी क्यामेरा, उचित प्रविधिको प्रयोग, सबै काम मोबाइल इ -बैंकिंङ (जरिवाना तिर्न कार्यालय धाउनु पर्दैन ) मानिस,साईकल हिड्ने अलग बाटो, बढी सार्बजनिक यातायातको सही प्रयोग, जस्तो ट्राफिक जाम हुदा पनि इमरजेन्सी यातायातका साधन (एम्बुलेन्स, दमकल, प्रहरीका साधन)लाई अलग बाटो तथा बाटो छोड़ी जान दिने परिपाटी छ । यसरी नै गर्न त धेरै समय लाग्ला तर गर्ने महत्वकांक्षा बोकेर सुरु गरे असम्भव केहि छैन ।

नेपालका बाटोमा बर्षा लागेपछि बाटो बन्छ, यसकै कारण अरु कति दुर्घटना पनि भएका छन् । तर यसले मन्त्रीज्यूलाई के असर गर्छ र ? आखिर हजुरलाई यसरी सार्बजनिक रुपमा हिड्नु जो पर्दैन।आखिर महा...(सेठ)जो पर्नुभयो। अनि यसरी त कसरी पो मानिएला पर्यटन बर्ष २०२० ! के पर्यटकलाई यहि जाम देखाउन नेपाल बोलाउने हो ?

रोड सेफ्टीको नारा ,लामो दुरिमा दोहोरो चालक राख्ने, रोड ट्याक्स नीति आवस्यक छ । हाम्रो देश त्यसै त बढी भौगौलिक कठिनाई छ, हाम्रा हवाई मार्ग, सुरङ्ग मार्ग, यातायात स्थल मार्ग, रेल मार्ग ,जल मार्गको सम्भावना पनि छ । तर अहिले आवश्यक भनेको भई रहेका बाटो घाटोको सुधार र बायु प्रदुषण जस्ता समस्यालाई इलेक्ट्रिक साधन मार्फत बायु प्रदुषणको रोकथाम गर्ने हो।यातायातले त हामीलाई दुर्घटना बनाउन मद्दत गर्ने र प्रकृतिले पनि हामीलाई मृत्यु बनाउन सहज भूमिका खेल्नुले अझ कति हामी समस्यामा रहेछौ भन्ने प्रष्ठ हुन्छ । अव साथ साथै उच्च बृद्धि भएको साधन खरीदमा कमी,सार्बजनिक यातायातको बढी प्रयोग गर्ने खालको नीति तथा साधन राज्यले प्रवाह गराउनु पर्दछ ।

हामीले धेरै भन्नै पर्दैन, देशका बाटोघाटोलाई के गर्नुपर्छ, तपाईंलाई राम्रोसँग थाहा छ, अव थाहा भएको कुरालाई मनन गरेर काम थाल्ने कि मन्त्रीज्यू ?

-सचिन्द्र श्रेष्ठ
प्रकाशित मिति : Saturday, September 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal