×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘महरा काण्ड’ सेलाउन नपाउँदै, नेकपाकै नेता पौडेलको सहयोगीको यौनकाण्डको अर्को खुलासा…!

काठमाडौँ । तत्कालिन सभामुख कृष्णबहादुर महराको यौन काण्ड सेलाउन नपाउँदै नेकपाका अर्का नेताका सहयोगीको यौन काण्डको खुलासा भएको छ । बिहे गरेको २१ दिनमै जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी एक संघर्षशील नारी खिमा रिजालले आफ्ना अनुभवहरु बाहिर ल्याउने क्रममा नेकपाका नेताले  महिलाहरुमाथि गरेको दुव्र्यहारको खुलासा गरेकी हुन् । उनले हालै आफ्नो संघर्षका पाइला ‘उज्यालोको खोजीमा’ नामक आफ्नो अनुभवहरुको डायरी प्रकाशित गर्दै यस्तो खुलासा गरेकी हुन्। 

उक्त पुस्तकमा उनले लेखेकी छिन्
‘काठमाडौंको पशुपति वृद्धाश्रममा बस्ने ७९ वर्षीय एक आमाले मेरो पाखुरी समातेर वेदना पोख्दै गर्दा मलाई लाग्यो मानौँ म निर्जीव थिएँ र मसँग मानविय गुण केही थिएन । उहाँले उहाँको कुरा सुनाइरहँदा मैले हजुरको कुरा सुनिरहेकी छु है भनेर सङ्केत गर्नुभन्दा मसँग अरू केही विकल्प थिएन । उहाँ संसारमा आफ्नो भन्ने कोही नभएकी अविवाहित एकल महिला हुनुहुन्थ्यो । बुबाआमा १९९० सालको भूकम्पमा परी मृत्यु हुँदा उहाँ दुई वर्षकी मात्र हुनुहुन्थ्यो रे । सन्तानको नाममा उहाँमात्र जन्मनुभएकी उहाँ अहिले वृद्धाश्रममा बस्नुभएको थियो । झट्ट हेर्दा उहाँको शारीरिक बनोट, लवाईखवाई आकर्षक नै देखिन्छ । सायद त्यसैले होला भुइँचालोपछि उहाँलाई चार जना पुरुष मित्रहरूले विवाहको प्रस्ताव राख्नुभयो रे । उहाँ आँसु खसाल्दै सोहवर्षे जवानीमा त मलाई कुनै पुरुषप्रति आकर्षण आएन, यो उमेरमा मलाई पुरुष नामधारी जन्तुहरूबाट किन यस्तो गति भोग्नु परेको होला भनेर चिन्ता व्यक्त गर्नुभयो । त्यति मात्र कहाँ हो र ! पुरुषहरू छोरी विधवाहरू त खोजीखोजी हिँड्छन् रे, किनकि ‘विधवासँगको यौन सम्पर्क त निकै आनन्द हुन्छ रे’ भन्दै हुनुहन्थ्यो । उहाँले यति भन्दा मेरा आँखा रसाइसकेका थिए । यो भन्दा बढी ममा सुन्ने आँट नै नभएकाले मैले आमालाई केही नभनी बाटो तताएँ । आमा एक्लै गनगनाउँदै हुनुहुन्थ्यो ।
विधवाका निम्ति संरक्षण गर्ने कोही हुँदैनन् । उनीहरू आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सबै तह र तप्काबाट तिरस्कृत हुन्छन् । छोरी विधवा खोजीखोजी हिँड्छन् रे। मलाई यो वाक्यले निकै सतायो । हामी एक्काइसौं शताब्दीका सभ्य मान्छेहरू, कति वास्तविकताको नजिक छौं । यो सन्दर्भले म हप्तौँ निदाउन सकिनँ । महिलाहरूलाई कति धेरै हेपेर कुरा गरिन्छ । उफ् ! आफूलाई निकै भलादमी र सभ्य ठान्ने पुरुषमित्रबाट म पनि धेरैपटक सताइएकी र यातना पाएकी थिएँ । मैले २०६४ मा मेरो दसवर्षे राजनीतिक जीवनलाई बिट मार्ने सोच बनाएँ। त्यतिबेला ममा एक खाले राजनीतिक वितृष्णता जागेको थियो । केही सीमित राजनीतिज्ञसँग मात्र मेरो सम्पर्क थियो ।
चितवनका जगन्नाथ आचार्य (क.विज्ञान) विज्ञान विषयका शिक्षक पनि थिए । द्वन्द्वकालमा उनी आफ्नो पेसा परिवर्तन गरी यति जटिल माओवादी आन्दोलनमा होमिँदा मैले मात्र होइन प्रायः सबैले उनलाई निकै सम्मान गथ्यौँ । त्यतिबेला उनी क्षेत्रीय ब्युरो सदस्य तथा नवलपरासी जिल्लाको सहइन्चार्ज थिए । उनले मुखले केही भन्दैनथे तर व्यवहारमा मप्रति लालायित भएको मैले प्रस्ट थाहा पाउँथें । मैले सोही जिल्लाका अर्का सहइन्चार्ज मोती रिजाललाई यो कुरा सुनाएँ । उहाँले मुखले खुलेर नबोल्दासम्म के गर्ने, मान्छेमा नैतिकताको पतन भएपछि कसैको केही लाग्दैन । यो विषयमा म केही बोल्न चाहिनँ भन्नुभयो । मैले ममाथि अन्याय भएको छ भन्ने थाहा पाएर पनि मन्द विष पिइरहेकी थिएँ । म काठमाडौँ आएर आफ्ना दिनचर्या दुःखसुख गुजारिरहेकी थिएँ । उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा देवेन्द्र पौडेलका राजनीतिक सल्लाहकार भएका थिए । उनी त्यहाँ आएपछि पटकपटक मलाई सम्पर्क गर्थे । मैले कहिले फोन नउठाउने, कहिले स्वीच अफ गरिदिने गर्थे । त्यतिबेला असिना बर्सेजसरी एसएमएस बर्सिन्थे । उनको जोड जहिले पनि मेरो कोठासम्म पुग्ने बन्थ्यो भने मैले म एकल महिला कोठामा कसैलाई लाने गरेकी छैन भनेर ठाडै अस्वीकार गर्दै आएँ । सञ्चारको यो प्रक्रिया २०७१ सालसम्म चलिरह्यो । उनले मेरो श्रीमानकाे परिवारसँग अनावश्यक किन मुद्दा गरेकी भन्ने, कहिले विदेश जाऊ यस्तो देशमा के बस्छौ जस्ता अनौठा अनौठा कुराहरू भनिरहन्थे । मैले उनका हरेक कुरा अस्वीकार गरिदिन्थें । कहिल्यै उनलाई भेट्न सहमत नभएपछि अन्ततः उनले २०७१ सालमा मुख खोलेर निरन्तर सम्पर्कमा रहेको कारण बताए । उनी मसँग यौन तृष्णा मेटाउन चाहन्थे रे । सेक्स पार्टनर बन्न चाहन्थे रे । जुन कुरा उनकै मुखले सात वर्षको लामो समयपछि बताए । अनि मैले तपाईं एकनिष्ठ मार्क्सवादी विवाहपद्धतिमा विश्वास गर्ने मान्छे यत्रो आँट कसरी आयो ? भनेर प्रश्न गर्दा छोरामान्छेले पहल त गरिहाल्छ नि । महिला पो तर्कनुपर्छ भनेर उल्टो उपदेश दिए । लाज मान्नु कताकता अझ ठूलाठूला कुरा पो गर्न थाले । त्यसपछि मैले उनलाई हजुर त मेरो मामासँगै पढेको साथी पनि हो । हजुरको र मेरो न त उमेर मिल्छ न त भावना मिल्छ, बरु हजुरको छोरासँग बिहे गर्छु बुहारी बनाउने) आँट गर्नुस् । म भन्दा दुईचार वर्ष मात्र सानो त छ नि तपाईंको छोरा भन्ने जवाफ फर्काएर आजसम्म सम्पर्कविहीन बनें।
सहिद परिवारको कार्यक्रममा म २०६७ सालमा चितवन पुगेकी थिएँ । त्यहाँ एक जना खाइलाग्दा देखिने अधवैसे युवा भेटिए । चितवन कृष्णपुर घर बताउने उनको नाम श्याम सुवेदी थियो । उनी नेकपा एमाओवादीका जिल्ला सदस्य रहेछन् । मसँग मेरो जीवनसाथी शिवहरिको मिल्ने साथी हुँ भन्दै सम्पर्क गर्न आए । संसारकै प्यारो आफ्नो जीवनसाथी (जो दुश्मनद्वारा टुक्राटुक्रा पारी मारिसकेको छ)को मिल्ने साथी भनेर परिचय गरेको मान्छेले मागिसकेपछि फोन नम्बर नदिने कुरा पनि भएन । फोन दिएँ । कार्यक्रमको समाप्तिपछि म काठमाडौँ हानिएँ । दुइचार दिनपछि फोनको घण्टी बज्न थाल्यो । सुरुसुरुमा त मैले पत्तै पाइनँ । मेरो शिवको साथी भनेर फोनमा बोलिदिन्थें । बिस्तारै उनको फोन बाक्लिन थालेपछि मैले हजुरको श्रीमतीसँग परिचय गराउनु न भनें । उनकै भनाइअनुसार मेरो शिव उनीभन्दा उनकी श्रीमतीसँग बढी नजिक थिए रे । त्यसैले भाउजलाई फोन दिनु भन्नथालें । त्यसपछि मैले सजिलै पत्तो पाएँ कि उनले श्रीमतीसँग लुकेर, झगडा गरेर मलाई फोन गर्ने गर्दारहेछन् । त्यसपछि मैले उनको फोन निकै कम उठाउँथे । यस्तैमा २०६८ तिर म चितवन गएको समयमा अचानक उनीसँग भेट भयो । उनले गत तल गिरेर (मानौँ म एकदमै बिचरी हुँ दुनियाँमा मेरो को छ र उनी बाहेक ?) मेरा निजी कुराहरू सोध्न थाले । यतिसम्म कि शिवहरिसँग त के यौन सम्बन्ध भयो होला र ? तिम्रो इच्छा मैले त हाे नि पूरा गर्ने जस्तो प्रश्न गर्न थालेपछि म बाध्य भएर शिवहरि र म हातमा दही जमाएर दिन गुजाथ्यौँ र अब तिमी चाहियो ? भन्ने तितो वचन बोल्नैपर्यो । बौद्धिकताका नामधारी पतितहरूलाई तितो वचन लगाउँदाको नमज्जा पनि कम पीडादायक थिएन ।
चितवन भरतपुरमा पुस्तक पसल गर्ने व्यवसायी गोविन्द आचार्य एमाओवादीका पुराना जिल्ला सदस्य हुन् । उनकोमा म लगायत अरू पनि साथीहरू बास लिन्थ्यौँ । औंलाले गन्ने हो भने उनको घरमा खाएको खाना त मैले हिसाब राख्न सक्दिन होला । विवाह गर्न जानु अघिल्लो रात म उनकोमा नै बास बसेकी थिएँ । विवाहपछि पनि शिवहरि र म केही दिन उनको घरमा बास बसेका छौं । कार्यक्षेत्रमा खटिँदा होस् वा बास बस्दा होस् उनले मप्रति निकै अभिभावकत्व पूरा गर्थे जस्तो लाग्थ्यो । शिवहरिको हत्यापछि उनी सङ्कटकालको त्यस्तो जटिलतामा पनि मलाई भेट्न र समवेदना दिन रूपन्देहीको कोटिहवामा पुगेर संवेदना प्रकट गरेर फर्किएका थिए । मेरो मामासँग पनि उनको राम्रो सम्बन्ध थियो । उनकी छोरी सुभेच्छा म भनेपछि भुतुक्कै हुन्थी । त्यस्तो एउटा पारिवारिक सम्बन्ध गाँसिएका मान्छे शिवहरिको हत्यापछि एकाएक बदलिए । कहिले कहाँ घुम्न जाऊँ भन्ने कहिले कहाँ जाउँ भन्न थाले ।
मलाई उनको व्यवहारले निकै पीडाको अनुभूति हुन्थ्यो । बनिराखेको सम्बन्ध बिगार्नु भन्दा उनीसँग नजिक पनि नहुने र पूरै पनि नकट्ने गरी तालमेल मिलाउँथें । उनी काठमाडौँ आएको बेला मेरो कोठामा आउन निकै प्रयत्न गर्थे । मैले म एक्लै बस्ने हुनाले मेरो कोठामा लैजान नमिल्ने बताउँथें । आफू निकै व्यस्त भएकाले और पनि नसक्ने बताउँथें । कहिल्यै उनले भनेको कुरा स्वीकार नभए पनि यस्तै २०७२ सालतिर उनले लामोलामो एसएमएस गर्न थाले । मैले कहिल्यै उत्तर फर्काउन्नथें । एक दिन उनले खुलेर नै लेखे कि, उनी मसँग यौन सम्पर्क गरी आनन्द मनाउँन चाहन्थे रे । मसँग अङ्कमाल गरी कैयौँ दिन गुजार्न चाहन्थे रे । पढेपछि म नाजवाफ भएँ । सुरुमा त के भन्ने भन्ने भएँ । आफ्नो मुटुभन्दा प्यारो साथी दुष्टहरूले मारे पश्चात् मैले आफ्नै पार्टी पङ्क्तिबाट यस्तो अपमान सहनुपर्छ भन्ने कहिल्यै सोचेकी थिइनँ । अति भएपछि मैले पनि सहज रूपमा उनलाई भन्नु नै पर्यो- हजुरले देख्नु नै भएको छ । हाम्रो धार्मिक परम्पराअनुसार विवाहपछि महिलाहरू बिटुलो पर्छ भनिएको छ किनकि उसको यौनसम्बन्ध भइसकेको हुन्छ। तर यौनसम्बन्ध भएको पुरुष कहिल्यै बिटुलो पर्दैन । त्यसैले मैले शिवहरिसँग विवाह गरेको महिनाले दस पुगे पनि देशको परिस्थितिले गर्दा एक्काइस दिन बिताएकी छु । सायद म त बिटुलो परिसकेकी छु । तनावले पनि म धेरै गलिसकेकी छु र पतेराले चुसेजस्ती भएकी छु, बरु हजुरकी छोरी आजसम्म कसैसँग रात बिताएकी छैन उसैसँग सम्पर्क गरे हुन्छ नि । ऊ भर्खकी युवती कसैसँग बिटुलो पनि नपरेकी हुनाले साहै नै आनन्द हुन्छ होला । एकपटक पहल गर्नुस् न भनेपछि उनले तपाईंको चित्त दुखाएँ सरी भन्दै अहिलेसम्म मेरो सम्पर्कमा आएका छैनन् । उनलाई आफ्नी छोरीको विषयमा कुरा उठाउनासाथ चित्त दुख्दै गर्दा म पनि कसैको छोरी हुँ भन्ने कुराको सामान्य पनि चेत आएन वा आएर पनि बुझ पचाए ?
माओवादी समर्थित पुनरावेदनका एक जना मुख्य न्यायाधीश छन । उनी उमेरले यस्तै साठीको हाराहारीमा पुगेका, नातिनातिनाका बाजे समेत भइसकेका व्यक्ति हुन् । उनको परिवारका सदस्यसँगको निकटताको कारण उनी पनि मसँग जोडिन पुगे । उनका छोराछोरी र श्रीमतीले मलाई परिवारको सदस्यभन्दा फरक गर्दैनन् । निकै माया र सम्मान गर्छन् । श्रीमतीको आँखा छलेर मसँग जिस्कन खोज्ने, खाजा खान बाहिर जाऊँ भन्ने, मलाई कतै जानु परे गाडी लैजाऊ भन्नेजस्ता उनले अस्वाभाविक क्रियाकलाप गर्थे । मैले कहिल्यै स्वीकार गरिनँ । कोठामा लैजाऊ भन्थे । यस्तोमा मेरो प्रायः सबैलाई भन्ने एउटै वाक्य थियो- ‘म एक्लै छु लैजान मिल्दैन ।’ कहिल्यै कोठामा लगिनँ । उनले मलाई तीन वर्षसम्म निरन्तर फोन गरिरहे । कहिलेकाहीँ कामले भेट्नै पर्ने हुँदा उही यौनका कुरा निकाल्ने गर्थे । कतिपटक त मैले बाध्य भएर मेरो केटा साथी छ, अब छिट्टै बिहे गर्छु पनि भन्ने गरेकी थिएँ ।
कहिलेकाहीँ राति अबेर पनि उनले फोन गर्थे तर मैले उठाउँदिनथें । २०७२ सालको एक दिन साँझ यस्तै सात बजेतिर फोन गरेर मसँग यौनको रमाइला कुरा गर्न चाहेको बताए । कीराफट्याङ्ग्राले त यौनसम्बन्ध कायम गरी आफ्नो आवश्यकता पूरा गर्छ भने तिमीले आफ्ना रहरहरूलाई किन कुण्ठित गर्छ्याै । हामी कतै जाऊँ अनि रमाइलो गरौंला भन्दै थिए । मलाई यी सब सुन्ने आँट थिएन । मैले एक छिनपछि फोन गर्छ, अहिले व्यस्त छु भनेर फोन स्विच अफ गरें । आँखाबाट आँसुका धारा बगेका थिए । के गर्ने कसो गर्ने मैले मेसो नै पाइनँ । शिवहरिको मृत्यु एकपटक भयो त्यतिबेला निकै आँसु बगाएँ । आज त्योभन्दा सयौँ गुणा धेरै आँसु मैले बगाइरहेकी छु ।
उनको अभावमा मान्छेहरूको व्यवहारले म हजार पटक मरिरहेकी छु । म निकै गलिसकेकी छु । एकजना पुरुषमा अड्केको रहेछ नारीको जिन्दगी भन्ने लाग्यो । आफँ देखेर दिक्दार लाग्यो । बाँकी पनि पलपल मरिरहेको तितो अनुभूति गर्न थालें । यस्तो अल्पायुमा मरेर कुनै पुरुषले आफ्नी श्रीमतीलाई एक्लो छोड्नु नपरोस् भनी आँखा चिम्लिएँ ।
दराजमा थन्किएको मेरो प्यारो मान्छेको फोटो निकालेर अङ्कमाल गरें । पत्तै नपाई उनको फोटोमा आँसुका थोपाहरू तपतप चुहिए । मेरो मान्छेप्रतिको सम्मान मभित्र झन् धेरै बढ्न थाल्यो । जब विस्तारै सम्हालिएँ अनि अर्का न्यायाधीश उनका निकटतम मित्र अनन्तराज डुम्रेलाई फोन गरें । उनलाई हजुरका साथीलाई सम्झाउने भए सम्झनाउनु नत्र अति भयो मैले सहन सकिनँ । अब म कुनै तरिकाबाट प्रतिवादको बाटो रोज्छु भनेर जानकारी गराएँ । अनन्त दाइसँग एकाध पटक भेट भएको थियो । उनले महिलाहरूलाई सम्मान नै गरेको अनुभव मसँग थियो । त्यसैले मैले उनलाई यो कुरा सुनाउन सहज लागेर सुनाएँ । उनले मसँग यो कुरा बाहिर नलैजान निकै अनुरोध गरे । भोलिपल्ट मसँग यौनसन्तुष्टि लिन चाहने ती वृद्ध भलाद्मी न्यायाधीशले फोन गरे । तिमी सञ्चै छौ ? राम्रोसँग पढ भन्न फोन गरेको भनेर फोन राखे । म हजुर हस् भन्दा केही बोलिनँ । एकछिनपछि अनन्त दाइले पनि फोन गर्नुभयो । उहाँले अबका दिनमा तिमी यो कुराबाट तड्पिनु पर्दैन भन्नुभयो । साँच्चै नै त्यो दिनबाट ती न्यायमूर्तिले आजसम्म मलाई सम्पर्क गरेका छैनन् ।
म एउटा कानुनको विद्यार्थी उनी मजस्ता हजारौंलाई न्याय दिने न्यायमूर्ति । एउटा कानुनको व्याख्याताले सर्वसाधारणको समस्या बेञ्चसम्म पुऱ्याउने पुलको काम गर्छ, तर यहाँ त ऊ आफै अन्यायमा परेको उही न्यायमूर्तिबाट भने उसले सर्वसाधारणको समस्या बोकेर कसरी हिँड्छ ? त्यस्ता न्यायमूर्तिबाट सर्वसाधारणले के आशा गर्ने, के न्याय पाउने ?
माओवादी आन्दोलनमा महिला अधिकारका कुरा उठाउँदा हामीजस्ता हजारौं महिलाहरूको सिन्दुर पुछियो, हजारौंको काख रित्तियो । धेरै पटक हामीलाई एकनिष्ठ विवाह पद्धतिको प्रशिक्षणद्वारा नेताहरूले प्रशिक्षित गर्ने गर्दथे । तर सिद्धान्तलाई पाखा लगाएर छलाङ मार्लान् भन्ने पनि के थाहा र ? जबकि, पार्टी युद्धको अवस्थामा रहँदा सामान्य कमजोरी भए पनि कार्बाही गरेको देखेकी थिएँ । गलत नियतले टुलुक्क हेरे पनि श्रम कैद गरेको देखेकी म पार्टी शान्ति प्रक्रियामा आएपछि नेतादेखि जनतासम्ममा आएको विचलनले मलाई उदेक लाग्न थाल्यो ।
मैले शिवहरिको हत्यापछि न त पुनर्विवाह गर्ने सोच बनाएँ न त कहिल्यै कुनै पुरुष साथीसँग नजिक बनें । यी माथिका चारै जना समाजमा इज्जतिला कहलिएका, स्नातकोत्तर पढेका बौद्धिकहरू हुन् । उनीहरू चारै जनाको प्रेमविवाह भएको हो । उनीहरू सबैका श्रीमतीहरू सकुशल छन् तर म ? मलाई त झन् यतिखेर भावनात्मक, भौतिक, सामाजिक, सांस्कृतिक रूपमा देखिने समस्याका विरुद्ध लड्न प्रेरित गर्ने र सहयोग गर्नुपर्ने ठाउँमा यसरी एकपछि अर्को गरी यो रूपमा आँसु पिउनुपर्ला भन्ने त मैले कहिल्यै सोचिनँ । सायद मैले उनीहरूले जस्तै कुनै पुरुष विद्वान्लाई उनीहरूको भाषामा यौन रमाइलो गर्न प्रस्ताव राखेको भए मेरो जीवनमा कहिल्यै नमेटिने कलङ्कको दाग लाग्ने थियो होला । त्यो बौद्धिक जमातले फेरि एकपटक मलाई भन्ने थियो होला- ‘केटी नै त्यस्तै हो, केटामान्छेले जे गरे नि भइहाल्छ नि, केटी पो तर्कनुपर्ने’ भनेर ।
मलाई भने ती ७९ वर्षकी आमाले खेपेको जस्तो आक्रमणको मन्द विषबाट चाहिँ म कहिले मुक्त हुन्छु होला भन्ने निरुत्तरित प्रश्नले सताइरह्यो ।’

(यसअघि समाचार शिर्षक ‘महरा काण्ड’ सेलाउन नपाउँदै, नेकपाकै नेता पौडेलको  सहयोगीको यौनकाण्डको अर्को खुलासा…!’ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ ।- सम्पादक) 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: