'पेपर आएको आधा घण्टामा क्लेम दिइरहेका छौँ, पीडीतको घरसम्म चेक पुर्याउँछौँ' युनियन लाइफका सिइओको अन्तर्वार्ता

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण । लामो समय बीमा कम्पनीहरुको कार्यानुभव भएका कर्णले छोटो समयमा नै युनियन लाइफ इन्स्योरेन्सलाई एउटा उचाईंमा पुर्याउन सफल भएका छन् । जीवन बीमा र निर्जीवन बीमा दुवैमा लामो अनुभव रहेका कर्ण बीमा बजारलाई 'भित्रैदेखि बुझेका' सिइओका रुपमा चिनिन्छन् । स्थापनाको छोटो समयमा नै बजारमा अकुपेन्सीका हिसावले निकै राम्रो व्यापार गर्न सफल भएको कम्पनी हाँकीरहेका उनलाई 'फाष्ट ग्रोअर सिइओ'का रुपमा पनि बजारमा चिन्नेहरू धेरै छन् । बजारमा आएका नयाँ कम्पनीहरुमध्ये धेरैलाई पछि पार्न सफल भएको युनियन लाइफ इन्स्योरेन्सका सिइओ उनै कर्णसँग हामीले समग्र नेपाली बीमा बजारका बारेमा कुरा गरेका छौँ । प्रस्तुत छ सोहि कुराकानीको सम्पादित अंश :

१. अहिलेको समग्र बीमा बजारलाई कसरी हेरिरहनुभएको छ ? 
पूरै मार्केट खाली छ । कुनै पनि इन्स्योरेन्स कम्पनीहरुलाई बीमा व्यवसाय गर्न गाह्रो छैन । त्यसमा पनि जीवन बीमा कम्पनीहरुलाई बिजनेश पाउन झनै गाह्रो छैन । कसले कसरी मार्केटिङ गर्छ वा कसले कस्तो प्रोडक्ट ल्याउँछ भन्ने कुरा महत्वपूर्ण कुरा हो । त्यसमा पनि  १९ वटा कम्पनी बजारमा आएपछि वीमा चेतना बढेको छ । पहिला पहिलाजस्तो बीमाका बारेमा सुन्यदेखि बुझाउनुपर्ने स्थिति छैन । कतिपयले कार्यालय खोजी खोजी बीमा गर्न आइरहनुभएको छ । अभिकर्ताहरुले पनि राम्रो गरिरहेका छन्, सबै बीमा कमपनीहरुले आ-आफ्नो ठाउँमा राम्रो बिजनेश गरिरहेका छन् । समग्रमा बीमा बजार अहिले निकै राम्रो स्थितिमा छ ।

२. पछिल्लो समय आएका बीमा कम्पनीहरुलाई युनियनलाइफले पछि पार्यो भन्ने चर्चा छ । यो कसरी सम्भव भयो ? यो सफलताको पछाडीका केहि सेक्रेट ?
अगाडी पछाडीको कुरा नगरौं, हामीले हाम्रो 'मोटो' अनुसार काम गरेका छौँ । हामीलाई सबैको साथ छ । प्रमोटरहरुले राम्रो साथ दिनुभएको छ । छोटो समयमा नै हामीले ठुलो संख्यामा अभिकर्ताहरुको साथ पाएका छौँ । युनियन  लाइफ इन्स्योरेन्सका अभिकर्ता भनेपछि सबैले विश्वास गरिदिनुभएको छ । सबैजनाको सहयोगले हामी यो स्थानमा आइपुगेका छौँ । युनियनलाइफले यति फड्को मार्नुको पछाडीको 'सेक्रेट' भनेकै सबैको साथ र विश्वास हो ।
३. ठुला घरानाका व्यापारी प्रमोटरहरु छन्, कहिलेकाहिँ बढी प्रेसर हुँदैन ?
त्यस्तो भएको छैन । सबै प्रमोटरहरु निकै कुरा बुझ्ने र इन्योरेन्स बुझ्नेहरु हुनुहुन्छ । मलाई आफ्नो हिसावले काम गर्न कुनै पनि रोकतोक छैन । बीमा बुझेका प्रमोटरहरु भएकाले के काम कसरी गर्नुपर्छ भन्ने उहाँहरुले बुझ्नुभएको छ । त्यसमाथि धेरै राम्रा राम्रा व्यापारीहरु हाम्रा प्रमोटरहरु भएकाले व्यापार राम्रो गर्न के गर्नुपर्छ र युनियनले गरिरहेको काम ठिक छ कि छैन भन्ने कुरा उहाँहरुलाई राम्रोसँग थाहा छ । त्यसैले मलाई कुनै पनि प्रेसर छैन । मैले आफ्नो गतिमा काम गरिरहेको छु र नतिजा पनि दिइरहेको छु । उहाँहरुलाई नतिजा चाहिने हो र नतिजामा उहाँहरु सन्तुष्ट हुनुहुन्छ ।

४. बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा बढेको जनगुनासो छ नि, यो कुरालाई कसरी हेर्नुहुन्छ ?
यस्तो अस्वस्थ प्रतिष्पर्धा निर्जीवन बीमा कम्पनीमा मात्र हुन्छ । जीवन बीमा कम्पनीहरुमा त्यस्तो हुँदैन । म लामो समय निर्जीवन बीमामा पनि लामो समय काम गरेको व्यक्ति हुँ । त्यहाँका समस्या मलाई राम्रो सँग थाहा छ । त्यहाँ ग्राहक तानातानको बढी समस्या छ, क्लेममा अपेक्षा र कम्पनीको भ्यालुएसनमा पनि फरक देखिन्छ । जीवन बीमामा त्यस्तो छैन । यहाँ क्षति भयो भने पूर्ण क्षति हुन्छ, त्यसैले क्लेममा समस्या छैन । बीमा गराउने कमपनीहरु धेरै छन्, तर ग्राहक पनि धेरै सचेत हुन थालेका छन् । 

५. कति कमाउनेले कतिको बीमा गर्ने ? तपाईंका केहि टिप्स ?
सालभरि तपाईंले जति कमाउनुहुन्छ, त्यसको ब्याजसमेत हिसाब गरेर त्यसको १० गुणा बढी रिस्क कभर गर्नेगरी बीमा गरिनुपर्छ । 'नन रिफन्डेबल' र 'रिबन्डेबल' पोलिसी गरेर १० गुणाको रिस्क कभर हुनु भनेको सबैभन्दा राम्रो तरिकाको बीमा हो । यस्तो गर्दा रिटर्न पनि राम्रो आउँछ, रिस्क पनि कभर हुन्छ ।

६. अभिकर्ताहरुले जवर्जस्ती बीमा गराइदिएको गुनासो पनि छ नि ? 
जवर्जस्ती भन्ने चीज बीमामा हुँदैन । मैले ५ लाख रुपैयाँको बीमा गर्न खोजेको, अभिकर्ताले १० लाखको गरिदियो भन्ने यदाकदा सुनिन्छ, त्यो भनेको खास गर्नुपर्ने बीमा नै १० लाख रुपैयाँको हो । यहि कुरालाई कतिपयले फकाएर बीमा गराईदियो भन्ने पनि कुरा गर्छन्, तर त्यस्तो होइन । बीमा अभिकर्ताको काम एउटा कमिसन पाउने काम मात्र होइन, यो धर्मको काम हो । धर्म गर्नेहरुले केहि अपवाद घटना बाहेक अरुलाई नराम्रो हुने गरी वा गाह्रो पर्नेगरी कुनै पनि काम गर्दैनन् । युनियन लाइफ इन्स्योरेन्सको हकमा त झन् त्यस्तो हुँदै हुँदैन । तर कुनै अभिकर्ताले ओभर इन्स्योरेन्स गराईरहेको छ भनेको चाहिं गलत नै हो । यस्तो काम बन्द गरिनुपर्छ । ओभर इन्स्योरेन्सले कम्पनी र बीमित दुबैलाई घाटा हुन्छ । अन्डर इन्स्योरेन्स पनि हुनु हुँदैन । अन्डर इन्स्योरेन्सले पछि रिस्क कभर हुने गरी पैसा आउँदैन । त्यसैले बीमा गर्दा बुझेर गर्नुपर्छ भनिएको हो ।
७. पछिल्लो समय बैंकहरुले गर्ने संस्थागत एजेन्टको काम बन्द भयो . यसलाई कसरी हेरिरहनु भएको छ ?
धानमा किरा लाग्यो भनेर किरा मार्ने कि धान नै नछर्नु भन्ने ? यहाँ त धानमा किरा लाग्यो भनेर धान नै नछर्नु भनेको जस्तो भयो । जुन गलत हो । यो संसारभरी चलिआएको चलन हो । हो, केहि विकृतिहरु छन्, त्यसलाई समाधान गर्ने ठाउँ थियो । संस्थागत एजेन्टलाई हुँदै नभएको बैंकास्योरेन्स भनिनु गलत थियो । बजारमा केहि खराब खालका प्रवृतिहरु पनि देखिएका थिए, त्यसलाई समाधान गर्नुपर्थ्यो । यसरी संस्थागत एजेन्ट दिन बन्द नै गर्नुचाहिं हुँदैनथियो ।

८. बीमा गर्दा ख्याल गर्नुपर्ने कुरा के के हुन् ?
पहिला 'फुल समअस्योर्ड'को बीमा गर्नुपर्छ । अभिकर्ता वा कर्मचारीको मात्र कुरा सुनेर होइन, लेखेको कुरा पढेरमात्र बीमा गर्नुपर्छ । कतिपयले कसैलाई नभनी बीमा गरेका हुन्छन्, त्यस्तो गर्नु हुँदैन, भोलि केहि भइहाल्यो भने उसले क्लेम नै नपाउने सम्भावना हुन्छ । त्यसैले परिवारलाई जानकारी गराएर मात्र बीमा गर्नुपर्छ । यस्तो गर्दा कहिलेकाहीं प्रिमियम तिर्न छुट्यो भनेपनि परिवारले सम्झाईदिन सक्छ ।

९. परिवार मा पहिला कसको बीमा गर्ने ?
जोमाथि परिवार निर्भर छ, उसको बीमा पहिला गर्ने हो । कतिपयले पहिला आफ्नी श्रीमती वा बच्चाको बीमा गरिरहेका हुन्छन् । खासमा त्यस्तो गर्नु ठिक होइन । पहिलो बीमा परिवार आश्रित व्यक्तिको गरिनुपर्छ । आज मैले खुसीले मेरी श्रीमतीको बीमा गरिदिन्छु, तर भोलि मलाई केहि भइहाल्यो भने न उसले प्रिमियम तिर्न सक्छ, न मलाई केहि भएको क्षतिपूर्ति आउँछ । उल्टै पोलिसी ल्याप्स हुने सम्भावना हुन्छ । उसलाई त्यो बीमा के काम भयो र ? 

१०. युनियन लाइफ इन्स्योरेन्समा नै बीमा गर्नुपर्ने कारण के हो ?
हामी मुख्य कुरा 'क्लेम'मा ख्याल गर्छौँ । पेपर आएको आधा घण्टामा क्लेम दिनुपर्छ भन्ने मेरो धारणा हो । अर्को कुरा क्लेमको चेक लिन कार्यालय नबोलाउनु भन्ने मेरो निर्देशन छ । घरमै गएर चेक दिनुपर्छ । ब्रान्चमा बोलाउँदा उसलाई भाडा लाग्छ, काठमाडौँ बोलाउँदा उ होटलमा बस्नुपर्छ । क्लेममा सहजता नै हाम्रो विशेषता हो । हाम्रा प्रोडक्टहरु पनि त्यस्तै राम्रा छन् । त्यसैले हामीले सबैको मन जित्न सफल भएका छौँ।

११. कमाएको पैसाले घर धान्न नै गाह्रो छ भन्ने गुनासो छ नि धेरैको, यस्ता आम मानिसले कसरी बीमा गर्ने ?
त्यो 'एटिट्युड'को समस्या हो । घर धान्न गाह्रो छ भने उ किन चुरोट खान्छ ? पकाएको खाना किन फाल्छ ? हामी खाना खेर नफालौं, र त्यो पैसाले बीमा गरौँ न । आज त बीमा गाँस, बास कपास जस्तै 'बेसिक निड' भइसक्यो । हामीले यो कुरामा एकदम ख्याल गर्नुपर्छ । कति पैसाको बीमा गर्ने भन्ने कुरा हो, बीमा नै गर्न नसक्ने भन्ने कोहि पनि हुँदैनन् जस्तो लाग्छ । ठेला चलाएकाहरुले पनि त बीमा गराईरहेका छन् नि ।
१२. बीमा कम्पनीमा कर्मचारीमाथि श्रम शोषण छ भन्ने गुनासो पनि छ नि ?
यो हल्ला मात्र हो । यहाँ एउटा अफिसरलाई अर्को कम्कपनीले मेनेजर दिन्छ, उ भागिहाल्छ, अनि कसरी श्रम शोषण भयो त्यो ? स्टाफलाई अलिकति कम तलव दियो भने अर्को कम्पनीले बढी पैसा दिएर लागिहाल्छ । श्रम गर्ने मान्छे नपाइ रहेको बेलामा श्रम शोषण गर्ने भन्ने कुरा नै हुँदैन । त्यसमाथि बीमा कम्पनीहरु भनेका पब्लिक कम्पनी हुन् । यहाँ कसैले चाहेर कम वा बढी तलव दिने भन्ने कुरा हुँदैन । त्यसका पनि आ-आफ्ना नियम छन् । हामीले नियम मिचेर कम तलव दिएका छैनौँ । यो कुरामा बीमा समिति पनि त चनाखो छ । त्यसैले बीमा कम्पनीहरुमा श्रम शोषण हुन्छ जस्तो मलाईचाहिं लाग्दैन । 

१३. अहिले बीमा कम्पनीहरु बढी भए, अब मर्जरमा जानुपर्छ कम्पनीहरु भन्ने पनि चर्चा छ नि ? युनियनको तयारी के छ ?
अहिले त्यस्तो आत्तिहाल्नुपर्ने अवस्था छैन । ५-६ बर्ष कुनै कम्पनी पनि मर्जरमा जानुपर्ने कारण छैन । सबैले राम्रोसँग व्यापार गरिरहेका छन् । कुनै पनि बीमा कम्पनी अहिले घाटामा छैनन् । तर केहि समयपछि त्यो अवस्था आउन सक्छ । बीमा समितिले मर्जरका लागि बाटो खोलिदिइसकेकाले खास समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।

(पूर्ण अन्तर्वार्ताको भिडियो संस्करण आउँदो मंगलबार प्रशारण हुनेछ । अर्थ सरोकार डटकम हेर्दैरहनुहोला - सम्पादक) 
प्रकाशित मिति : Friday, December 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal