×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘हो ! विविध कमजोरीले विगतमा पछि पर्यौं, अव ‘लिड’ गर्नेगरी योजना बनाएका छौं’ कवि प्रसाद पाठकको अन्तर्वार्ता

काठमाडौँ । बीमाको सेवा दिने एउटा संस्था मात्र होइन नेपाली बीमा इतिहासमा इतिहासले नै गर्व गर्ने एउटा गर्विलो कोसेढुंगा हो राष्ट्रिय बीमा संस्थान । इतिहासका पाना पल्टाउँदै गर्दा फाल्गुण ११, २०२४ बाट निर्जीवन बीमा तथा फाल्गुण ७, २०२९ बाट जीवन बीमा व्यवसायको कारोबार शुरु गरेको यो संस्थानले अहिले पनि बीमाको सेवा प्रदान गरिरहेको छ । 
तर पूरानो भएर पनि खास प्रगति गर्न नसकेको कम्पनीका रुपमा चिनिएको राष्ट्रिय बीमा संस्थानले नयाँ नेतृत्व पाएसँगै थुप्रै राम्रा कामहरु गरिरहेको छ । कवि प्रसाद पाठकको नेतृत्वमा अहिले धेरै सुधारका कामहरु भएका छन् । साच्चै अव कसरी अगाडी बढ्छ राष्ट्रिय बीमा संस्थान भन्ने जनचासोका विषयलाई र बीमा सम्बन्धि केहि सामान्य कुराहरुलाई पनि आज हामीले बीमा बहसको विषय बनाएका छौँ । प्रस्तुत छ राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकसँग गरिएको कुराकानीको सम्पादित अंश :
१. राष्ट्रिय बीमा संस्थान कसरी अगाडी बढिरहेको छ ?
खास योजनाहरु लिएर अगाडी बढिरहेका छौं । गर्नुपर्ने धेरै छ । गर्न बाँकी कामहरु पनि धेरै छन् । हामी नयाँ योजना बनाएर अघि बढ्ने सोच बनाईरहेका छौँ । म यहाँ आएको डेढ बर्ष भयो । म यहाँ आउँदा संस्थानसँग  आफ्सनो फ्टवेर पनि थिएन । म आइसकेपछि सफ्टवेर बनाइयो । सफ्टवेर नहुँदा जिल्लाबाहिरबाट पोलिसी विक्री गर्ने अवस्था थिएन । अहिले त्यो काम सहज भएको छ । गत साउनबाट हामीले सफ्टवेरको प्रयोगबाट काम गरिरहेका छौँ । शाखा विस्तारको काम पनि गरिरहेका छौँ ।
२. तपाईं केहि समयदेखि बीमा क्षेत्रमा हुनुहुन्छ । बीमा क्षेत्रका खास समस्या के के देख्नुहुन्छ ?
बीमामा देखिएको खास समस्या भनेको बीमा भनेको के हो र किन यसको आवश्यक छ भन्ने कुरा नै हामीले जनमानसमा बुझाउन सकेका छैनौँ । भलै पहिलाको तुलनामा यो काममा पनि निकै सुधार भएको छ । यो क्षेत्रमा केहि अस्वस्थ प्रतिपर्धा छ भन्ने पनि सुनिएको थियो । हामीले सबै बीमा कम्पनीका सिइओहरुसँग कुरा गरेर त्यसलाई पनि समाधान गर्ने प्रयास गरिरहेका छौँ । यदाकता सुनिएका, देखिएका घटनालाई हामी समाधान तर्फ लैजाने प्रयासमा छौं । अरु खास समस्या छैनन् । 
३. राष्ट्रिय बीमा संस्थानको यति गर्व गर्न लायक इतिहास हुँदा हुँदै पनि संस्थानले खास काम गर्न सकेन भन्ने आरोप छ नि ?
हो, यो आरोप धेरै हदसम्म सत्य हो । हामी पूरानो भइकन पनि खास काम गर्न नसकेकै हो । सुरुमा यो संस्थानले निर्जीवन बीमा मात्र गर्थ्यो, पछि जीवन बीमाको काम पनि गर्यो । अहिले बीमा कम्पनी र बीमा संस्थान छुट्टिएका छन् । तर यस विषयामा हामीले आम नागरिकलाइ बुझाउन नै सकेका छैनौँ । हामीलाई त कतिपयले नियामक निकाय भन्ने सोच्नुभएको छ । कतिपयले अन्य बीमा कम्पनीका उजुरीहरु लिएर हामीकहाँ आउनुहुन्छ । हामीले हामीलाई जनमानसमा चिनाउन अझै बाँकी छ । राष्ट्रिय बीमा संस्थानले पनि जीवनबीमाको सुबिधा दिन्छ भन्दा ‘हो र ?’ भन्नेहरुको संख्या पनि राम्रै छ । जुन हिसावले हामी जनमानसमा पुग्नुपर्थ्यो, त्यसरी पुग्न सकेनौं । त्यसको खास कारण भनेको हामीसँग कर्मचारीहरुको संख्या सानो भयो । नयाँ कर्मचारीहरु विभिन्न कारणले थप्न सकिएन । जसका कारण हामी समस्यामा पर्यौं र अपेक्षित रुपमा काम गर्न सकेनौं । साखा सञ्जाल कमजोर हुनु हाम्रो अर्को समस्या हो । तर यसलाई सुधारेर अगाडी बढ्ने योजनामा छौं ।
४. अहिले बीमा कम्पनीहरु बढी भए भन्ने चर्चा छ, मर्जरको पनि कुरा उठेको छ ? यसलाई कसरी लिनुहुन्छ ?
हामीचाहिं अहिले तत्काल मर्जरमा जाने सोचमा छैनौँ । नयाँ कम्पनीहरु पनि भर्खर थपिएका हुनाले केहि समय काम नगरी मर्जर जानु पनि व्यावहारिक नहोला । काम गर्दै जाँदा अव कुन कम्पनीलाई कुन कम्पनीसँग मर्जर गर्दा ठिक होला भन्ने कुरा पनि आउला । अहिले जम्मा २० प्रतिशत मात्र बीमाको कभरेज भएको हुँदा मर्जरको कुरा खास आवश्यक छैन । भलै केहि समयपछि मर्जर आवश्यक भयो भने त्यसका लागि थुप्रै ढोकाहरु पक्कै खुल्नेछन् ।
५. बीमा कम्पनीहरु बढे, तर बीमाको पहुँच बढेको छैन भन्ने चर्चा छ नि ! यसलाई कसरी लिनुहुन्छ ?
पूराना कम्पनीहरुले जसरी बीमा सचेतानालाई व्यापक रुपमा तलसम्म लैजानुपर्ने थियो, त्यो हुन सकेन । नयाँ कम्पनीहरुले पनि निकै धेरै काम गरिरहेका छन्, जसका कारण प्रतिष्पर्धा बढेको छ । यसरी नै जाने हो भने केहि समयभित्र हामी ठुलो बीमाको कभरेजमा पुग्छौं । बीमा कम्पनी बढेसँगै पहुँच त बढेको हो, तर सोचे अनुसार पहुँच नबढेको भने धेरै हदसम्म सत्य हो ।
६. पछिल्लो समय बजार मा आएका नयाँ कम्पनीहरुले राष्ट्रिय बीमा संस्थानजस्तो पूरानो कम्पनीलाई उछिनिसकेजस्तो लाग्दैन ?
लाग्छ । बिगतमा हाम्रो कमी कमजोरीका कारण अरु कम्पनीहरुले अलि बढी प्रगति गरेका छन् । र पनि हामी तेश्रो चौथो पोजिसनमा छौँ । हामी जसरी अहिले कामलाई अगाडी बढिरहेका छौँ, अव यहि रफ्तारमा काम गर्दै गयौँ भने हामी फेरि पनि अग्रणी रुपमा आउनेछौँ । हामीले कर्मचारीहरु नियुक्ति गर्न सकेनौं, शाखा विस्तार गर्न सकेनौं जसका कारण हामी पछाडी पर्यौं । तर बिगतबाट पाठ सिकेर हामी अझ अगाडी बढ्नेछौँ ।
७. बीमा अभिकर्ता हुन चाहानेहरुलाई र बीमा गर्न खोज्नेहरुलाई के भन्न चाहानुहुन्छ ?
बीमा समितिले भने अनुसार योग्यता पुगेकाहरुलाई राष्ट्रिय बीमा संस्थान अभिकर्ता हुन स्वागत गर्दछ । अहिले हामीले तालिमको संख्या पनि बढाएका छौँ । अभिकर्ताले पाउने सेवा सुविधा पनि बढाएका छौँ । अहिले काठमाडौँबाट मात्र होइन देशका अन्य स्थानबाट पनि तालिम लिने व्यवस्था गरेका छौँ । बीमा गर्न चाहानेहरुलाई पनि म राष्ट्रिय बीमा संस्थानमा स्वागत गर्दछु । हाम्रा प्रोडक्टहरु हेरेर बीमा गर्न आग्रह गर्दछु ।
८. आम सर्वसाधारणले बुझ्ने भाषामा बीमालाई कसरी परिभाषा गर्नुहुन्छ ?
बीमा बचत पनि हो, जोखिमको हस्तान्तरण पनि हो । सुरक्षा पनि हो । बीमा आवश्यकता हो भन्ने कुरा हामीले बुझाउन अझै सकेका छैनौँ । अहिले पनि धेरैले यसलाई नेटवर्क बिजनेशका रुपमा लिने गरेका छन् । यो भ्रम चिर्न आवश्यक छ । हामी तल-तलसम्म पुगेर बीमाको सचेतनामा काम गर्न तल्लीन हुनुपर्छ । बीमालाई ‘आवश्यकता’कै रुपमा चिनाए बल्ल बीमाको यथार्थता सबैले बुझ्छन् । यहाँ त कसैले भन्यो, लौ त गरिदिउं भनेर बीमा गर्नेहरु पनि छन् । तर बीमाको खास महत्व धेरै छ भन्ने कुरा सबैलाई बुझाउन जरुरी छ ।
९. पछिल्लो समय बीमा बिधेयकलाई कसरी लिनुभएको छ ?
नयाँ बीमा बिधेयक आउने बित्तिकै नियामक अझै शसक्त रुपमा आउनेछ भन्ने विश्वास हामीले लिएका छौँ । यो विधेयक पास भएपछि हामी अर्थात बीमा संस्थान पनि कम्पनीको रुपमा स्थापना हुनुपर्ने छ । र सोहि अनुसारको ऐन आएपछि हामी त्यसको तयारीमा हुनेछौं । अरु कुरा त बीमा विधेयक समग्र बीमा क्षेत्रकै हितका लागि आएको हो, र विधेयकले धेरै कुराहरुको सम्बोधन अवश्य  पनि गर्नेछ ।
१०. बीमा सचेतनाका लागि राष्ट्रिय बीमा संस्थानले के- के गरिरहेको छ ?
सचेतनाका कार्यक्रममा हामी अझै गइसकेका त छैनौँ तर जाने तयारीमा छौँ । स्थानीय तहमा जाने प्रयास गरिरहेका छौँ । सहकारी र स्कुल-कलेजसँग पनि सहकार्य गर्दैछौँ ।
११. संस्थागत एजेन्टको काम बैंकहरुले गर्ने काम बन्द भएको छ । यसलाई कसरी लिनुभएको छ ?
यो काम अन्तराष्ट्रिय रुपमा पनि भएको काम हो । यो बन्द गर्नुमा इन्स्योरेन्स र बैंककै कमी कमजोरी पनि भए । जुन पक्षबाट कमी कमजोरी भएपनि कमजोरीहरुलाई समाधान गरेर अगाडी बढ्नुपर्छ । यसलाई रोक्नु भन्दा पनि व्यवस्थित गर्नु राम्रो हुन्छ । नेपाल राष्ट्र बैंक र बीमा समिति सँगै बसेर यसको निर्क्योल निकाल्नुपर्छ ।
(यो अन्तर्वार्ताको भिडियो संस्करण आउँदो अंकमा प्रस्तुत गर्नेछौँ ।)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: