उद्योगी व्यवसायीहरुको गुनासो : 'नीतिगत रुपमा लगानीको वातावरण बन्यो तर व्यवहारमा बन्न सकेन ' (भिडियो रिपोर्ट)

काठमाडौँ  । उद्योगी व्यवसायीहरुले मुलुकमा अझैपनि लगानीको वातावरण बन्न नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगीहरुले नीतिगत रुपमा लगानीको वातावरण बनेको भएपनि व्यवहारमा बन्न नसकेको गुनासो गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु सकारात्मक भएपनि व्यापार घाटा उच्च हुनु र लगानीको वातावरण बन्न नसक्नुले निजी क्षेत्र प्रोत्साहित हुन नसकेको बताउनुभयो । उहाँले सम्पत्ती अभिलेखिकरण नभई सुद्धिकरण हुनुले लगानी बढ्न नसकेको बताउनुभयो । बैंकको ब्याजदर उच्च भएका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिएको समेत उहाँले बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले औद्योगिक क्षेत्रमा आउने वैदेशिक लगानीमा पनि डलरको भाउ घटबढ हुँदा हुने जोखिम कम गर्न हेजिङ सुविधा दिनुपर्ने बताउनुभयो । उहाँले हेजिङ ऐन लागू भएपनि त्यसले सबै क्षेत्र समेटन नसकेको र वैदेशिक लगानी प्रभावित भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले तत्काल औद्योगिक उत्पादन बढ्न नसक्ने भएकाले साना उद्योगीहरुले उत्पादन गरेका वस्तुहरुलाई निर्यात गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गाउँगाउँमा उत्पादन हुने वस्तुहरुको बजारीकरणका लागि सरकारले चासो नदिएको गुनासो समेत गर्नुभयो ।

उद्योगीहरुले मुलुकमा वैदेशिक लगानी भित्र्याउन विभिन्न पहलहरु भएपनि लगानी बढ्न नसकेको बताएका छन् । त्यस्तै उद्योगीहरुले खुला बजार अर्थतन्त्रमा नियामक निकाय राष्ट्र बैंकले ब्याजदरमा नियमन गर्न नसक्दा औद्योगिक क्षेत्र प्रभावित भएको बताएका छन् । हेर्नुहोस् भिडियो :
प्रकाशित मिति : Monday, December 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal