×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार अनुगमन नहुँदा व्यापारीको मनपरी, स्थानीय सरकारको मौनता

दार्चुला । गत वर्ष दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले फाट्टफुट्ट रूपमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनगुमन गर्यो तर यो वर्षको दोस्रो चौमासिकसम्म बजार अनुगमनको काम ठप्प छ । यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई छ । जनप्रतिनिधिले कामको अझै मेसो पाएका छैनन्  ।
महाकाली नगरपालिका बाहेकका आठ वटा अरु स्थानीय तहले दुई वर्षदेखि बजार अनुगमन गरेका छैनन् । महाकाली नगरपालिकाले पनि यो वर्ष बजार अनुगमन गर्ने कुनै सुरसार छैन । विगतमा जिल्ला प्रशासन कार्यालयले दशैँ तिहारको समय पारेर सदरमुकाम र जिल्लाका मुख्य बजारमा अनुगमन गर्ने गरेको थियो । तर अनुगमनको अधिकार स्थानीय तहमा गएपछि नियमितरूपमा हुँदै आएको बजार अनुगमन रोकिएको छ ।
प्रशासनले अगुवाई गर्दै भइराख्ने बजार अनुगमनमा हरेक पटक म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा फेला पर्ने गरेको थियो । कुनै कुनै पसलमा बेच्न राखिएको सबै सामानमध्ये आधाभन्दा बढी म्याद नाघेको भेटिने गरेको थियो । सदरमुकाम खलङ्गाको अधिकांश सामान भारत पिथौरागढको धार्चुलाबाट आयात हुने गरेको छ ।
पारि धार्चुलाबाट आउने अधिकांश सामान गुणस्तरहीन र म्याद नाघेको अवस्थामा भेटिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए “विगतमा हामीले भारतीय बजारबाट आएका थुप्रै जङ्कफुड (पत्रु खाना) नष्ट गर्ने गरेका थियाैं, पसल दर्ता भए नभएको, गुणस्तर भए नभएको बारेमा अनुगमन गर्ने गरेका थियौँ”, उन भने, “तर अहिले आएर अनुगमन भएको छैन ।”
अहिले बजार अनुगमन नहुँदा व्यापारीलाई मनोमानी भएको छ । बजार अनुगमनमा नियमित सहभागी हुँदै आएका एक सदस्यले भने, “अहिले त स्थानीय तहले अनुगमनका लागि मतलब नै नगरेपछि ठगिखाने व्यापारीलाई मालामाल भएको छ । उपभोक्ताले आफ्नो सामान खरिद गर्दा मतलब राख्दैनन्, अनुगमन हुँदा मात्रै सामानको गुणस्तर म्याद हेरिने गर्छ ।” अनुगमन गर्ने निकाय चलायमान नहुँदा यतिबेला व्यापारीको मनपरी झन् बढेको छ ।
दशैँ तिहारको बेलासमेत बजार अनुगमन हुँदैन । धनगढी र महेन्द्रनगर आदि तराईका बजारमा उपभोक्ता सचेत हुने भएकाले म्याद नाघेको, कमसल गुणस्तर भएको र मिसावट भएको उपभोग्य सामान पहाडतिर पठाउने गरेको व्यापारी नै बताउँछन् । दार्चुलाको अधिकांश बजार भारतीय सीमासँग जोडिएको छ । भारतीय निर्भरतामा जिल्लाको व्यापार चल्दै आएको छ ।
जिल्लाको लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिकाको भारतसँग सीमा जोडिएको क्षेत्र हो । दार्चुलाको मुख्य बजार सदरमुकाम खलङ्गाको महाकाली नगरपालिकामै अनुगमन हुँदैन भने सहायक बजारहरुमा त मतलब नै हुँदैन । विगतमा स्थानीय प्रशासनले जिल्ला सदरमुकाम, मालिकार्जुन, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, मार्माको लटिनाथसम्मको बजार अनुगमन गर्ने गरेको थियो ।
शैल्यशिखर नगरपालिकाका लालबहादुर विक भन्छन्, “अहिलेसम्म बजारमा अनुगमन भएको थाहा छैन ।” सदरमुकाम खलङ्गापछि दोस्रो ठूलो बजार रहे पनि स्थानीय सरकारले बजार अनुगमनमा ध्यान नदिएको उनको भनाइ छ । अनुगमनको काम रोकिँदा कालोबजारी सक्रिय भएको उनले गुनासो गरे । उपभोक्ता सचेत नहुँदा व्यापारीले मनोमानी सामान विक्री गर्नपाएको उनको भनाइ छ । “गत वर्ष नगरपालिकासँग आग्रह गरेर बजार अनुगमन गर्न टोली पठायाैं”,
हायक प्रमुख जिल्ला अधिकारी कुँवरले भने, “यो पटक कुनै पनि स्थानीय तहबाट बजार अनुगमनको लागि टोली मागिएको छैन ।” स्थानीय तहको अधिकार क्षेत्र भएका कारण बजार अनुगमनका लागि उनीहरुले नै चासो दिनुपर्ने उनको भनाइ थियो । “कसैलाई पनि बजार अनुगमनबारे मतलब छैन । हामीलाई आग्रह गरी आयो भने कर्मचारीका साथै सुरक्षाका लागि सुरक्षाकर्मी पठाइदिने हो”, उनले भने । मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थी स्थानीय तह गठन भएदेखि बजार अनुगमन हुन नसकेको स्वीकार गर्छन् । उनले भने, “कहिल्यै बजार अनुगमन गरिएन, गाउँको बजार सानै हुन्छ अनुगमनतर्फ ध्यान पनि गएन ।” रासस
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: