×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Exclusive : ग्लोबल आइएमइ बैंकका सिइओसहितको उच्च व्यवस्थापन मंगलबार साँझ प्रहरी परिसरमा, के थियो कारण ?

काठमाडौँ । ‘ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरसहितको उच्च व्यवस्थापन टोली महानगरीय अपराध महाशाखाको गेटभित्र छिर्यो’ मंगलबार बेलुका गोप्य स्रोतले दिएको यो जानकारीले हामीलाई झस्कायो । पछिल्लो समय एकपछि अर्को बैंकिङ कसुरका घटना बढीरहेका बेला कतै फेरि केहि त भएन ? स्वाभाविक प्रश्न र कौतुहलता लिएर हामी पनि महानगरीय अपराध महाशाखामा पुग्यौँ ।
अपराध महाशाखा परिसरमा पुगेर हामीले सोधीखोजी गर्यौं । त्यहाँकै कर्मचारीले ‘बैङ्किङ कसुर हेरिरहेको महानगरीय प्रहरी परिसरले हो’ भनेर हामीलाई बाटो देखाए । र हामी पनि लाग्यौं त्यतैतिर । नभन्दै परिसरमै बैंकका प्रमुख कार्यकारी अधिकृतको गाडी भेटियो । हामीले गाडीका चालकसँग भेरिफाइ गर्यौं ।
‘यो गाडी परशुराम सरको हो ?’
हाम्रो प्रश्नमा चालकले अलि सचेत भएजस्तो गरेर भने, ‘हो हजुर !’
‘अव हामी कन्फर्म भयौं, सीइओ साप यहीं आउनुभएको छ । हामीले सीइओलाई फोन गर्यौं । तर उनको फोन व्यस्त देखायो । त्यसपछि हामीले केहि समय कुर्ने निर्णय गर्यौं । केहि समयपछि गलामा ग्लोबल आइएमइ बैंकको कार्ड भिरेका व्यक्ति बाहिर आए । केहि बिग्रिएजस्तो उनको हाउभाउले हामीलाई थप कौतुहल बनायो ।हामी परिसर भित्र पस्यौं । नभन्दै बैंकका सीइओसहितको उच्च व्यवस्थापन त्यहाँका उच्च अधिकारीसँग छलफलमा थियो । परिसरको अनुशासनलाई ध्यानमा राख्दै हामी बाहिरियौं । १ घण्टा भयो । छलफल बल्ल सकियो । बाहिर आएर सीइओ र बैंकका उच्च व्यवस्थापनले केहि सल्लाह गरेजस्तो गरे । त्यसपछि हतार हतार सीइओ साप गाडीमा चढे । हामीले ‘परशुराम सर’ भनेर बोलायौं । तर उताबाट केहि प्रतिक्रिया आएन । कुरो के रहेछ त ? हामीले प्रवक्तालाई खोज्यौं । दुर्भाग्य, फोन चार्ज सकिएर अफ भयो र त्यहि बेला परिसरमा बत्ति गयो । बत्ति गएपछि हामी कार्यालय हानियौं । त्यसपछि हामीले हाम्रो स्रोत प्रयोग गर्यौं । बल्ल पत्ता लाग्यो बैंकका सीइओ, डेपुटी सीइओसहितको टोली परिसर पुग्नुको ।
यस्तो रहेछ कारण !
केहि समय अगाडी एक नक्कली ग्राहकलाई कुनै एक सक्कली ग्राहकको चेकबुक बैंकले उपलब्ध गराउँदा मोटो रकम झिकिएको ‘कसुर’मा प्रछलफल गर्न उनीहरु परिसर पुगेका रहेछन् । ‘प्रहरीभित्र बहस छ, पैसा निकाल्नेलाई थुन्ने, अनि सक्कली खातावालाको चेक नक्कलीलाई दिने विरुद्ध किन अनुसन्धान नगर्ने ? किन उनीहरुलाई पक्राउ नगर्ने ? किन सीइओलाई पक्राउ गरेर बयान नलिने ?’ प्रहरी स्रोत भन्छ, ‘सीइओलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ भन्नेसम्मको कुरा उठेको छ ।  घटना तत्कालीन जनता बैंकको हो । अहिले उक्त बैंक र ग्लोबल आइएमइ बैंक मर्ज भएको छ । घटना हुँदा जनता बैंकका सीइओ जो थिए, अहिले मर्ज भएर बनेको बैंकमा पनि उनै सीइओ छन् ।’  उनका अनुसार बहस यस्तो पनि उठेको छ कि तत्कालीन सिद्धार्थ डेभलोपमेन्ट बैंकको किर्ते काण्डमा बैंकले दिएको जाहेरीकै आधारमा प्रहरीले तत्कालीन बैंकका डेपुटी सीइओं अजय मिश्रलाई पक्राउ गर्ने निर्णय गरेको थियो । तर पछि उनी फरार भए । अजय मिश्रले नै प्रहरीलाई जाहेरी दिनुपर्छ भनेको केसमा मिश्रलाई पक्राउ गर्ने अनि अहिले यो केसमा कुँवरलाई समातेर किन अनुसन्धान नगर्ने ?’
के थियो घटना ?
जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राज बाहकको खाताको पैसा उनलाई थाहा नै नदिइ १९ लाख ९९ हजार रुपैयाँ निकालिएको थियो । ग्राहकको चेक हराएको नक्कली घटना बुनेर एक व्यक्तिले बैंकबाट चेक फ़ुत्काउन सफल भएका थिए । उक्त चेकमा सहि गरेर पैसा निकालियो र यो घटनामा बैंककै कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान अघि बढी रहेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउसमेत गरिसकेको छ । घटनामा संलग्न भएको आशंका प्रहरीले काभ्रे पाँचखाल घर भई हाल कालिमाटी बस्ने सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल बाग्लुङ गलकोटका बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोक साविक ज्यामिरे-९ घर भई हाल सुविधानगर बस्ने गोविन्द घिमिरेलाई पक्राउ गरेको छ। तर चेक दिने बैंक र बैंकको उच्च व्यवस्थानमाथि पनि अनुसन्धान हुनुपर्ने आवाज उठिरहेको छ । एउटा ऋणको केसमा हस्ताक्षर गरेकै आधारमा बैंक अफ काठमाण्डूका सीइओचाहिं थुनामा बस्नुपर्ने अनि यति ठुलो घटनामा जनता बैंकका तत्कालीन सीइओ किन पक्राउ नगर्ने भन्ने बहस प्रहरीभित्रै चलेको छ ।
सीइओ कुँवर भन्छन्, ‘हाम्रो प्रक्रियाका बारेमा कुरा गर्न गएका हौँ, अन्यथा केहि होइन’
यस विषयमा हामीले बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरसंग सोध्यौं । उहाँले आफुहरु बैंकको प्रक्रियागत कुरा गर्न त्यहाँ पुगेको बताए । ‘हाम्रो बैंकको तर्फबाट प्रमोदजी पहिला नै पुग्नुभएको थियो । डीएसपी सापले हामीसँग नै कुरा गर्न खोज्नुभएको थाहा पाएपछि हामी पनि गएका हौँ । बैंकमा कसरी पेमेन्ट हुन्छ ? लगायतका कुरा हामीले उहाँलाई बुझायौं ।’ उनले भने । मिलेमतोको आशंका पनि त उब्जिएको छ नि ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘३ वटा शाखाबाट फ्र्ड भएको प्रहरीको रिपोर्टले देखाएको छ । तर हामीले हेर्ने हस्ताक्षर हो । हस्ताक्षर त मैले नै दुइटा गरें भनेपनि दुइवटा उही हुँदैन । हामीले यहि कुरा प्रहरीलाई बुझायौं । मिलेमतो हुने भए त हामी किन प्रहरीलाई बोलाएर अनुसन्धान अघि बढाउनुपर्यो भन्थ्यौं र ? हामी प्रहरीको हरेक अनुसन्धानमा सहयोग गर्छौं र सहयोग गर्ने नै भनेर हामी मंगलबार परिसर पुगेका हौँ ।’  ‘पैसा निकाल्नेलाई थुन्ने, दिनेलाई किन नथुन्ने ? भन्ने कुरा पनि आएको छ नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘प्रहरीको त्यो कुरा पनि स्वाभाविक हो । तर घटनामा कसको नियत के थियो भन्ने सबैले बुझ्नुपर्छ । प्रहरीले गर्ने हरेक खालका अनुसन्धानमा हामी सहयोग गर्छौं। ‘           

यस अघिको शिर्षकमा ‘Exclusive : ग्लोबल आइएमइ बैंकका सिइओसहितको उच्च व्यवस्थापन मंगलबार साँझ प्रहरी परिसरमा, के थियो कारण ?’ हुने पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: