देशको बिडम्बना : नेपाल विद्युत् प्राधिकरणलाई सरकारी कार्यालयले नै तिरेनन् ४७ लाख...!

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको सडकबत्ती र सरकारी कार्यालय गरी ३१ ग्राहकबाट रु ४७ लाख छ हजार ७२२ बक्यौता रकम असुल्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म उक्त रकम बक्यौता देखिएको छ भने ७९ जना ग्राहकको नामावली कालोसूचीमा छ ।

कार्यालयले आव २०७३/७४ मा १८६ विद्युत् लाइन काट्दा रु २० लाख ६९ हजार ९८५, आव २०७४/७५ मा २९६ लाइन काट्दा रु ५१ लाख १८ हजार ९५१ र आव २०७५/७६ मा ९३१ लाइन काट्दा रु एक करोड १८ लाख ४३ हजार ७१८ राजश्व सङ्कलन भएको कार्यालयका सहायक प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले बताउनुभयो ।

त्यसैगरी लामो समयसम्म विद्युत् महसुल नबुझाकाको लाइन काटिएपछि ग्राहकले निवेदन दिएर लाइन जोड्दा आव २०७३/७४ मा १७४ लाइन जोड्दा रु २३ लाख तीन हजार ३७३, आव २०७४/७५ मा ३३५ लाइन जोड्दा रु ४२ लाख ५५ हजार ६२७ र आव २०७५/७६ मा ८३२ लाइन जोड्दा रु एक करोड ४२ लाख ७४ हजार २८६ सङ्कलन भएको थियो । 

त्यसैगरी आव २०७३/७४ कार्यालयको कालोसूचीमा ४६ रहँदा रु पाँच लाख तीन हजार ४०९, आव २०७४/७५ मा ८३ को रु नौ लाख ४४ हजार २१८ र आव २०७५/७६ मा ७९ ग्राहकको रु नौ लाख तीन हजार ९६२ रकम बक्यौता रहेको कार्यालयका कम्प्युटर अप्रेटर राधा पोखरेलले जानकारी दिनुभयो ।

कालोसूचीमा पर्ने ग्राहक सुविधाबाट बञ्चित 
विद्युत्को महसुल नबुझाएर कालोसूचीमा रहेका ग्राहकले कार्यालयबाट प्रदान गरिने कुनै पनि किसिमको सुविधा लिनबाट बञ्चित हुने कार्यालयका सहायक प्रशासकीय अधिकृत एवं सूचना अधिकारी कुँवरले बताउनुभयो । ग्राहकले प्रयोग गरेको पुरानो विद्युत् नम्बर फिर्ता गरी पुनः प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ । उहाँले भन्नुभयो, “तीन पुस्तेसम्म उक्त बक्यौता रकमको जवाफदेहीता बनाइएको छ ।” रासस 
प्रकाशित मिति : Wednesday, January 15, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal