×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न मन्त्रालय र मातहका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजश्व कार्यालयका प्रमुखलगायत सहभागितामा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चुनौतीको सामना गर्दै राजश्व सङ्कलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगरिने बताउनुभयो । 
उहाँले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट विचलित हुने कर्मचारीलगायत जो कोहीलाई पनि नछोड्ने बताउनुभयो । डर, त्रास सिर्जना गरेर कर्मचारीलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदरसहित काम गर्ने अनुकूल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताउनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 
“कठिनाइ र समस्यालाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईहरु दण्डित हुनुपर्छ” उहाँले भन्नुभयो । अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजश्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आव सकिदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गर्नुभयो । उहाँले इमान्दार र सक्रिय भएर लाग्न पनि निर्देशन दिनु भएको थियो । 
अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारीहरु जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नो तहमा समाधान गर्न सक्नु भएन भने नेतृत्वलाई भन्नुहोस् । हामी सहयोग गर्न तयार छौं ।”
अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिस्पर्धा गरेर काम गर्न पनि अनुरोध गर्नुभयो । उहाँले स्वस्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी कोभिड–१९ ले सिर्जना गरेका चुनौतीसँग जुध्दै अर्थतन्त्रलाई गतिशील बनाउन दृढताका साथ काम गर्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । 
भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताउनुभयो । उहाँले राजश्वको लक्ष्य पूरा गर्न र त्यो भन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकताअनुसार कार्यक्रम संशोधन र रणनीति बनाएर अघि बढ्न निर्देशन दिनुभयो । 
राजश्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्ने बताउनुभयो । कार्यक्रममा १०० भन्दा बढी कर्मचारीको सहभागिता थियो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: