×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलीलाई असफल देख्नेहरु भ्रमित हुन्

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ आश्विन २०७२, बुधबार

PRIME CA
laxmi sunrise bank

ओलीलाई असफल देख्नेहरु भ्रमित हुन्

सुशील कोइरालालाई पराजित गर्दै केपी शर्मा ओली प्रधानमन्त्री पदमा विजयी बन्नुभएपछि एकथरी मानिस प्रजातन्त्र खतरामा परेको देख्दै छन् र देखेबमोजिमको प्रचारबाजी पनि सुरु भएको छ । आफूप्रतिको भ्रम प्रायः सबै मानिसमा हुने गर्छ, तर सुशील कोइराला आफ्नाबारेमा अलिक बढी नै भ्रमित थिए । कुनै बेला स्वच्छ, निस्वार्थी, इमानदार, पद आशक्ति नभएको र साधारण जीवनशैलीका नेताको छवि बनाउन सफल सुशील कोइराला एकपटक प्रधानमन्त्री बनून् भन्ने चाहना धेरै नेपालीको थियो ।  प्रधानमन्त्री पदको जिम्मेवारी धान्न सक्ने क्षमता नभए पनि माछाको पर्खाइमा रहेको बकुल्लाले माछा नजिक आएपछि टपक्क टिपेर सिकार बनाएझैँ सुशीलले मौका पाउनेबित्तिकै प्रधानमन्त्री पदको भारी बोके । प्रधानमन्त्री बनेको तीन महिना नबित्दै सुशीलको कार्यक्षमता र चरित्रबारे जनता जानकार भइसकेका थिए । जीर्ण शरीर र रुग्ण क्षमताका कोइरालालाई अब धेरै समय व्यहोर्नु नपरोस् भन्ने चाहना आममानिस, दलका नेता–कार्यकर्ता र अन्तर्राष्ट्रिय समुदायको समेत थियो । उनको ‘डिपे्रसिब् पर्सनालिटी’ले मानिसमा निराशा बढाउँदै थियो र उनी प्रधानमन्त्री पदबाट मुक्त हुने दिनको व्यग्रतापूर्ण प्रतीक्षा हुँदै थियो ।  तर, सुशील कोइराला आफ्नो ‘नयाँ छवि’बारे अनभिज्ञ थिए, उनी बीपी कोइरालाभन्दा आफू सफल रहेको भ्रममा थिए र जनताका बीचमा पहिलेभन्दा बढी लोकप्रिय भएको आत्मरति उनमा जागृत हुँदै थियो । त्यसैले प्रचण्ड र विजय गच्छदारलाई साक्षी राखेर गत जेठमा ‘संविधान बनेपछि पद त्याग गरी केपी ओलीलाई सत्ता हस्तान्तरण गर्ने’ भनी दिएको वचन पूरा गर्न सुशीलभित्रको कपटी मनले मानेन । प्रधानमन्त्री पद छोडेर काङ्गे्रसको आगामी महाधिवेशनमा जाँदा आफ्नो हैसियत र प्रभाव खस्कने उनले ठाने र काङ्गे्रसका तर्फबाट आफैँ प्रधानमन्त्री बन्ने ढिपी गरिरहे ।  शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पनि कोइरालाको ढिपीसमक्ष आत्मसमर्पण गर्नुप(यो र उनैलाई उम्मेदवार बनाउन बाध्य भए । कोइरालालाई विजयी बनाउन सकिने अवस्था छँदै थिएन, मधेसमा आन्दोलन गरिरहेका दलहरूको साथ प्राप्त हुँदा पनि उनले आफ्नो पक्षमा बहुमत जुटाउन सकेनन् । यस घटनाले सुशील कोइरालाको सक्कली अवतार छर्लङ्ग देखाइदिएको छ । सुशील जे–जस्ता थिए, प्रधानमन्त्री बन्नुअघिसम्म आममानिसमा त्यस कुराको जानकारी थिएन, अहिले आममानिस आफ्नाबारेमा कस्तो धारणा राख्छन् भन्ने जानकारी सुशीलले पाउन सकेका छैनन् । अब कहिल्यै उनीप्रतिको धारणामा परिवर्तन नआउने गरी सुशील ‘एक्स्पोज’ भएका छन्, तर यथार्थ यस्तो हुँदाहुँदै पनि केपी ओली प्रधानमन्त्री भएपछि प्रजातन्त्र खतरामा परेको भन्दै आफ्ना कर्तुत ढाकछोप गर्ने प्रयास सुशील कोइरालाबाट भइरहेको छ । सुशीलले आलोचना गर्दा आलोचितको कद बढ्ने र प्रशंसा गर्दा प्रशंसितको छवि धमिलो हुने अवस्था बनिसक्दा पनि यिनी ओलीलाई होच्याएर आफू अग्लिने भ्रम पाल्दै छन् । devprakash-300×225  देवप्रकाश त्रिपाठी  झापा विद्रोहमा सहभागी भएर राजनीतिक परिवर्तनको कठिन यात्रामा होमिएका केपी शर्मा ओलीलाई प्रजातन्त्र प्रतिकूल ठान्नु भनेको उनलाई नचिन्नु–नबुझ्नु या उनले पछिल्लो दशकभित्र निर्वाह गरेको भूमिकालाई चटक्कै भुल्नु हो । ०६३ को परिवर्तनपश्चात् माओवादीमय बनेको नेपाली राजनीतिमा प्रजातन्त्रवादीहरूको एक मात्र सहारा केपी ओली बनेका थिए भन्न कञ्जुस्याइँ गरिनुहुन्न । प्रचण्डले नेपाली राष्ट्रिय सेनालाई सार्वजनिक रूपमै अपमान गरेको घटनामा होस् वा रुक्माङ्गद कटवाललाई सेनापति नियुक्त गर्ने क्रममा होस् या कटवाललाई तात्कालिक प्रधानमन्त्री प्रचण्डले बर्खास्त गर्न प्रयास गरेको घटना सन्दर्भमा होस्, केपी ओलीले दर्बिलो अडान प्रस्तुत गरे र नेपाललाई अराजक पिण्डमा रूपान्तरण गर्न भएका हरेक दुस्प्रयासहरूलाई निस्तेज तुल्याउन ढाल बनेर उभिए ।  माओवादी लडाकुको ठूलो सङ्ख्या राष्ट्रिय सेनाभित्र हुल्न भएको षड्यन्त्रलाई असफल बनाउन मूख्य भूमिका निर्वाह गर्ने पनि केपी ओली नै हुन् । त्यसताक गृहमन्त्री बनाइएका कृष्ण सिटौला माओवादीका हितैषी प्रवक्ताजस्ता देखिन्थे । प्रधानमन्त्री बनेका गिरिजाप्रसाद ‘नोवल प्राइज’ र प्रथम राष्ट्रपति बन्ने प्रलोभनमा परेर माओवादीका हरेक इच्छा पूरा गर्न उत्पे्ररित थिए । कोइराला माओवादी दुःखी हुने कुनै काम गर्दैनथे, तिनलाई बिझाउने शब्द मुखारबिन्दबाट फुस्कन्छ कि भनेर उनी सधैँ होसियार रहन्थे । प्रतिकूलताको चरम कालखण्डमा केपी ओली प्रजातन्त्र र राष्ट्रिय एकताका पक्षधरहरूको आस्था र भरोसाका साथी बनेको यो मुलुकले कहिल्यै भुल्न सक्ने छैन र भुल्नु पनि हुँदैन । जातीय एवम् क्षेत्रीयतावादी सोच, राष्ट्रिय एकता र राष्ट्रियतालाई क्षतविक्षत तुल्याउने गरी गडगडाउँदा त्यसका विरुद्ध सतीसालझैं उभिने केपीलाई प्रजातन्त्र र राष्ट्रिय एकताको चुनौती ठान्नेहरूलाई आँखाको परीक्षण गराउनु उपयुक्त हुने सुझाव दिन सकिन्छ । नेपालको उच्च तहका नेताहरूमध्ये केपी ओली एक यस्ता व्यक्तित्व हुन् जसले प्रधानमन्त्री बन्नुभन्दा धेरै अघिदेखि मुलुक सञ्चालनको जिम्मेवारी प्राप्त गर्दा गर्नुपर्ने कार्यको अध्ययन र अभ्यास गरिरहेका थिए । मुलुकको विदेशनीति कस्तो हुनुपर्ने, अर्थतन्त्र कसरी सबल एवम् सुदृढ बनाउने, पूर्वाधार विकासका निम्ति के गर्नुपर्ने, औद्योगीकरणका निम्ति अवरोध के हुन् र कसरी लगानीको वातावरण बनाउने, पर्यटन क्षेत्रको विकास कसरी गर्ने, शिक्षा क्षेत्रको सुधार गर्न कस्तो नीति र कार्यनीति अवलम्बन गर्ने, रोजगारी प्रवद्र्धन कसरी गर्ने, रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा कसरी रूपान्तरण गर्ने, ऊर्जा विकासको निम्ति के गर्ने, राष्ट्रिय एकता तथा अखण्डता के–कसरी जोगाउने, सार्वभौमिकताको रक्षा कसरी गर्ने, राष्ट्रिय कला तथा साहित्यको विकास कसरी गर्ने र समग्रमा नेपाललाई कसरी समृद्ध तुल्याउन सकिन्छ भन्ने जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गर्ने, अध्ययन तथा चिन्तनमनन गर्ने काम केपी ओलीबाट हुँदै आएको जानकारी धेरैलाई नहुन सक्छ, उनको धेरै समय यस्तै कर्ममा बित्ने गर्दथ्यो । आफूले विगतमा आर्जन गरेको सैद्धान्तिक ज्ञान कर्ममा अनुवाद गर्ने अवसर ओलीलाई प्राप्त भएको छ ।  नकारात्मक प्रवृत्ति या चरित्र हाबी भएको हाम्रोजस्तो मुलुकमा राम्रो काम गर्नेले पनि प्रोत्साहन र पुरस्कार प्राप्त गर्ने विश्वास गर्नुहुँदैन । यो देशमा मानवीय समवेदना करिब अन्त्य भएको छ, अर्काको पीडामा आनन्द लिने असभ्य व्यवहारलाई निरुत्साहित गरी मानवीय संवेदनासहितको समाज निर्माण गर्नु केपी ओलीको प्रमुख चुनौती हो । देशको सबै भूभागका बासिन्दाको राज्यप्रति भरोसा र विश्वास जगाउनु, छिमेकी मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुधार गरी राष्ट्रियहित प्रवद्र्धन गर्नु र गैरवामपन्थी कित्ताको समेत सहयोग एवम् समर्थन प्राप्त गर्न सक्नु केपीका चुनौती हुन् ।  ०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनअघि आफ्नो निर्वाचन क्षेत्रतर्फ जानुअघि ललितपुरस्थित एक स्थानमा रात्रिभोज दिँदै केही सम्पादकसमक्ष व्यक्त केपीका विचार–भावना यहाँ उल्लेख गर्नु सान्दर्भिक ठानिएको छ । उनले भनेका थिए, ‘म एमालेको नेता हुँ र मलाई मानिसले एमालेकै नेताका रूपमा चिन्दछन् । मैले एमालेलाई के दिन सकेँ त्यो समीक्षाको विषय हुनसक्ला, तर मलाई एमालेले राष्ट्रिय पहिचान दिएको छ । यो एउटा प्राविधिक पक्ष हो ।  म जीवनको बेग्लै मोडमा आइपुगेकोे छु, मेरो स्वास्थ्यस्थितिले पनि मलाई राष्ट्रिय दायित्व निर्वाह गर्न थप पे्ररणा दिइरहेको छ । जो–जसले जे ठानेका भए पनि मेरो बाँकी जीवन देशको नाममा समर्पण भएको छ । देश, प्रजातन्त्र र जनताको हितरक्षाबाहेक अन्य कुनै स्वार्थ ममा रहनेछैन । अब जे–जति सकिन्छ देशकै लागि गर्नेछु । मैले यस्तो भूमिका निर्वाह गर्दागर्दै मरेँ भने मलाई पार्टीविशेषको झन्डा नओढाइयोस् । मरेपछि झन्डा ओढ्नका लागि मैले मेरो जीवन राष्ट्रलाई अर्पण गरेको होइन । मलाई झन्डा ओढाउँदै नओढाइयोस्, ओढाउनैपर्छ भने राष्ट्रकै झन्डा ओढाइयोस् । देश, प्रजातन्त्र र जनताका लागि केही गर्न खोज्दा मबाट जानीजानी कुनै भूल हुनेछैन, अन्जानमा कुनै भूल भएछ भने तपाईंहरूले सच्याउन सहयोग गर्नुहोला ।’  त्यस साँझ ओली निकै भावुक देखिएका थिए, तर भावनामा बगेर उनले ‘यसो’ भनिरहेका थिएनन् । साँच्चै देशप्रतिको साँचो दायित्वबोधले ओतप्रोत भएर उनी त्यसरी प्रस्तुत भएका थिए । मिर्गौला प्रत्यारोपणपछि ओलीको विचार, आदर्श, सिद्धान्त, दर्शन र गन्तव्य नै देश, जनता र प्रजातन्त्र बनेको अनुभूत ‘त्यस’ साँझ गर्न सकिन्थ्यो । यस्ता केपी ओली प्रधानमन्त्री बन्दा प्रजातन्त्र खतरामा पर्छ भन्ने त्यस्तो खतरनाक प्रजातन्त्र खतरामा पर्नु पनि पर्छ । होइन भने केपीका कारण प्रजातन्त्र खतरामा पर्ने दृश्य देख्नेहरूले आँखा पखाल्नु उपयुक्त हुनेछ ।  –घटना र विचारबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: