×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौतम बुद्धको जन्मस्थल उत्तरी भारत भनेर पढाउने शुभारम्भ पब्लिकेसनलाई कार्वाही होला त ? (फलोअप नम्बर २)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ मंसिर २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

गौतम बुद्धको जन्मस्थल उत्तरी भारत भनेर पढाउने शुभारम्भ पब्लिकेसनलाई कार्वाही होला त ? (फलोअप नम्बर २)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गौतम बुद्धको जन्मस्थल उत्तरी भारत थियो भन्ने भ्रम छर्ने शुभारम्भ पब्लिकेसनको कर्तुतबारे अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि यो बिषयको नेपाली शैक्षिक क्षेत्रमा चर्चा- परिचर्चा हुन थालेको छ । एउटा जिम्मेवार पब्लिकेसनबाट यस्तो भ्रामक कुरा लेखिनु नेपाली स्वाभिमानमाथिकोनै प्रहार भएको भन्दै विशेषगरी उपत्यकाका शिक्षकहरुले आगामी शैक्षिक सत्रदेखि उक्त पब्लिकेसनका पुस्तकहरु विद्यार्थीहरुलाई नपढाउन सम्बन्धित विद्यालयलाई आग्रह गर्न थालेका छन् । शुभारम्भ पब्लिकेसनको सामाजिक शिक्षा विषयको कक्षा ९ को कितावमा ‘गौतम बुद्ध जन्मिएको स्थान तत्कालीन समयमा ‘उत्तरी भारत’ रहेको बताइएको छ ।  

के भनिएको छ पुस्तकमा ?
पुस्तकमा स्पष्टसँग उत्तरी भारतको ‘शाक्य राज्य’ मा गौतम बुद्धको जन्म भएको बताइएको छ । ईतिहासमा गौतम बुद्ध जन्मिएको ठाउँ उत्तरी भारतको ‘शाक्य राज्य’ भन्ने उल्लेख गरिएको पुस्तकमा गौतम बुद्ध जन्मिएको स्थान नेपाल हो भन्ने स्पष्ट उल्लेख छैन । गौतम बुद्ध उत्तरी भारतमा जन्मिएका थिए र उक्त स्थान अहिले भने नेपालको क्षेत्रमा पर्छ भन्ने आसय पुस्तकमा प्रस्तुत भएको छ । विभिन्न भारतीय सञ्चार माध्यमले पनि यहि भ्रम विभिन्न समयमा छर्ने गरेका छन् । यसरी गौतम बुद्धको जन्मस्थल उत्तरी भारत भएको भ्रम नेपाली पब्लिकेसनका पुस्तकहरुमा पनि पाइन थालेको छ । गौतम बुद्ध भारतमा जन्मिएको भन्दै भारतीय मिडियाहरुले अफवा फैलाईरहेका बेला नेपाली स्कुलहरुमा नै पढाइने यस्ता कितावहरुले नेपाली विद्यार्थी माझ पनि गौतम बुद्धको जन्मबारे छरिरहेको पाइएको छ ।

के भन्छन् पुस्तकका सम्पादक ?
यसबारे हामीले पुस्तककि लेखिका सङ्गीता थेबेका श्रीमान समेत रहेका पुस्तकका सम्पादकमध्येका एक मेजर जनरल अनन्त बहादुर थेबेलाई सम्पर्क गरेका थियौं । उनले ईतिहासलाई पल्टाउने हो भने गौतम बुद्ध जन्मिएको स्थान नेपालनै थियो भन्ने अहिले पनि एकिन नभएको दावी गरेका छन् ।
‘हुन त म ईतिहासकार होइन, तर हामीले पढेको सामाग्रीहरु हेर्ने हो भने गौतम बुद्ध जन्मिएका बेला उक्त भूमि नेपालको थियो वा भारतको थियो भन्ने कतैपनि स्पष्ट छैन । भारतकै राजकुमारहरु आएर शाक्यमुनि राज्यको स्थापना भएको ईतिहास हामीसँग छ । नेपालको एकीकरण पृथ्वी नारायण शाहले गरेको ईतिहास छ । त्यसैले गौतम बुद्ध जन्मिएका बेला त्यो ठाउँ नेपाल वा भारत जे भनेपनि त्यो उत्तरी भारत भने पक्कै थियो । अहिले नेपालपनि उत्तरी भारतमै त पर्छ । भारतको उत्तरी दिशातर्फ भनेपछि उत्तरी भारत भएन र ? हामीले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर कतै पनि उल्लेख गरेका छैनौं । तर अहिले पनि नेपालको कपिलबस्तु उत्तरी भारतमै त पर्छ नि ! होइन र ?’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
९ कक्षाका विद्यार्थीहरुले यसरी बुझछन् र ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘विद्यार्थीलेनै बुझ्ने भए त शिक्षक किन चाहियो र ? शिक्षकले सबैकुरा बुझाउनुपर्यो ।’ यहि विषयलाई लिएर अख्तियार र शिक्षा मन्त्रालयमा उजुरी पर्न लागेको कुरा तपाईंलाइ जानकारी छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मलाई त त्यस्तो जानकारी छैन।  तर उजुरी नै परेपनि केहि हुँदैन।  यो विवाद गर्ने विषयनै होइन । ‘

यस्तो भन्छन् पब्लिकेसनका एकेडेमिक डाइरेक्टर :
शुभारम्भ पब्लिकेसनले गौतम बुद्धको जन्म बारे भ्रम छरेको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि पब्लिकेसनका एकेडेमीक डाइरेक्टर दिनेश अधिकारीले अर्थ सरोकार डटकममा सम्पर्क गरी गौतम बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम छर्ने आफ्नो कुनै बदनियत नभएको बताउंदै त्यसलाई यथा सक्य चाँडो सच्याउने बताएका थिए। ‘गोदाममा अझै 3-४ हजार स्टक किताव होलान् । तर सबै ‘डिस्पोज’ हुन्छ ।’ उनले सुनाए । यस अघिपनि केहि शिक्षक तथा विद्यालयले यस्तो ‘कम्प्लेन’ गरेको बताउँदै उनले पब्लिकेसनले छापेको किताबमा लेखिएको तथ्यले विद्यार्थी तथा अन्य सरोकारवालाहरुलाई पर्न गएको असहजताका लागि पब्लिकेसन कुनै पनि समय माफी माग्न तयार भएको बताएका थिए ।
शिक्षा मन्त्रालयदेखि अख्तियारसम्म पुग्ने भयो केस 
यस बिषयलाई लिएर विभिन्न विद्यालय, तथा शिक्षकहरु अख्तियारसम्म पुग्ने भएका छन् । गौतम बुद्धको जन्मस्थल भारत भएको लेखेर केहि भारतीय दलालबाट कमिसन लिएको हुन सक्ने भन्दै त्यसको छानविन गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्ने केहि शिक्षकहरुले बताएका छन् । ‘शुभारम्भ पब्लिकेसनको मात्र कुरा होइन, यहाँ स्वाभिमान र राष्ट्रियताको कुरा छ । कितावमा स्पष्टसँग गौतम बुद्धको जन्मस्थान उत्तरी भारत भनिएको छ । कतै पनि गौतम बुद्ध नेपालमा  जन्मिएका हुन् भन्ने उल्लेख गरिएको छैन । यस्ता कर्तुत विरुद्ध शिक्षा मन्त्रालय, अख्तियार लगायतका निकायमा उजुरी गर्दैछौं । ‘ काठमाडौँको एक विद्यालयका सामाजिक शिक्षा पढाउने शिक्षकले अर्थ सरोकार डटकमलाई जानकारी दिए ।  

शुभारम्भ पब्लिकेसनका किताब बहिस्कार गर्ने विभिन्न विद्यालयको आन्तरिक तयारी 
यता विभिन्न विद्यालयहरुले यसरी विवादित ‘कन्टेन्ट’ हरु छापिएका पुस्तकहरु अवको शैक्षिक सत्र देखि प्रयोगमा नल्याउने आन्तरिक तयारी भइरहेको एक विद्यालयका प्रधानध्यापकले बताए । आफ्नो र आफ्नो विद्यालयको नाम तत्कालला लागि उल्लेख नगर्न अनुरोध गर्दै उनले भने, ‘बाहिर भन्दा फेरी किन, के कसरी भन्ने विवाद आउन सक्छ । हामी लगायतका केहि विद्यालयहरुले गोप्य रुपमा नै अव आइन्दा शुभारम्भका किताबहरु नपढाउने निर्णय गरिसकेका छौं । हामीले पनि गौतम बुद्धका बारेमा लेखिएको कुरा पढ्यौं । उहाँहरुको नियत जे सुकै होस् । तर सबैलाई यस्तो हो भनेर उहाँहरुका पक्षमा वकालत गर्न हामीलाई फुर्सद पनि छैन । आगामी शैशिक सत्रदेखि शुभारम्भका यो मात्र होइन कुनै पनि पुस्तक हाम्रो र केहि हाम्रा सर्कलका विद्यालयहरुमा पढाइ हुँदैन ।’        

सामाजिक सञ्जालमा तीब्र बिरोध कायमै 

यस बिषयलाई लिएर सामाजिक सञ्जालमा तीब्र बिरोध भैरहेको छ । यस्ता भ्रामक कुराहरु पढाएर नेपाली विद्यार्थीहरुको आँखामा छारो हाल्न खोजेको भन्दै यस्ता पब्लिकेसनहरु तुरुन्त बन्द गरिनुपर्ने र लेखकलाई कारवाही गरिनुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राखेका छन् । उनीहरुले यस्ता पब्लिकेसनहरुलाई हदैसम्मको कारवाही गर्नु पर्ने माग समेत राखेका छन् । विशेषगरी युवाहरुका विभिन्न फेसबुक समूहमा यस्तो तीब्र बिरोध भइरहेको छ । कतिपयले त यस बिषयमा शिक्षा मन्त्रालय, लगायत विभिन्न ठाउँमा उजुरी गरी पब्लिकेसनलाइ कार्वाही नभएसम्म कार्वाहीका लागि निरन्तर दवाव दिनुपर्ने बताएका छन् । यता कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताले भने भारतीय दलालको कमिसन खाएर पब्लिकेसनले यस्तो झुटको खेती गरेको समेत आरोप लगाएका छन् ।     

हेर्नुहोस् पुस्तकका तस्विरहरु :


शुभारम्भ पब्लिकेसनको कक्षा ९ को किताब 
गौतम बुद्धको जन्म उत्तरी भारतमा भएको भन्ने उल्लेख गरिएको पृष्ठ 
१ लाखको हाराहारीमा सदस्य भएको युवाहरुको समुहमा भएको विरोधको थालनी  

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: