दृष्टिविहीन अधिकृत नीराको हिम्मत जो पढेर तपाईंपनि हुनुहुनेछ चकित !
Powered by Blogger.
दृष्टिविहीन अधिकृत नीराको हिम्मत जो पढेर तपाईंपनि हुनुहुनेछ चकित !


लोकसेवा आयोगमा परीक्षा पास गरी जागिरमा प्रवेश गर्नु चानेचुने कार्य होइन । त्यसमा पनि एउटी दृष्टिविहीन नारीको लागि त यो कार्य झनै कठिन थियो । तर, सबैखाले कठिनाइलाई पार गर्दै दृष्टिविहीन नीरा अधिकारी नेपाल सरकारको अधिकृतमा उत्तीर्ण हुन सफल भइन् । सबैको प्रेरणाको स्रोत बनेकी नीता अहिले हिम्मतवाली अधिकृतका रूपमा चिनिन थालेकी छिन् ।

अधिकृतमा नाम निकाल्न ठूलो मिहिनेत र त्याग गरेकी उनी आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न पनि त्यस्तै मिहिनेत गर्दछिन् । दिएको काम फत्ते गरेरै छाड्ने भएकाले नै उनी हिम्मतवाली अधिकृतका रूपमा परिचित हुन पुगेकी छिन् ।

‘उद्देश्य के लिनू उडी छुनु चन्द्र एक’ भनेझैँ नीराले सानैदेखि ठूलो मान्छे बनेर देश र जनताको सेवा गर्ने प्रण लिएकी थिइन् । तर, यसका लागि उनको अगाडि चुनौतीका थुप्रै पहाड थिए । दृष्टिविहीन भएर पनि उनले कहिल्यै हिम्मत हारिनन् । स्कुल पढ्दा होस् या कलेज पढ्दा, आफ्नो अगाडि आउने हरेक चुनौतीका पहाड छिचोल्न उनी कम्मर कस्थिन् । र, सफलता हासिल गरेरै छाड्थिन् । बाहिरी चक्षु नभए पनि उनको भित्री चक्षुले कहिल्यै हिम्मत हारेन । त्यसैले निकै ‘टफ जब’ मानिने सरकारी सेवाको अधिकृतमा समेत उनले नाम निकाल्न सकिन् । अहिले उनी नेपाल सरकारको प्रशासन सेवामा रहेका दशौँ हजार अधिकृतमा अब्बल अधिकृतका रूपमा चिनिन थालेकी छिन् ।

नीरा त्याग र समर्पणकी पर्याय नै हुन् । उनी जन्मजात दृष्टिविहीन भने होइनन् । ललितपुरको गोटीखेल गाउँ विकास समितिमा ०३५ सालमा जन्मिएकी उनी सात वर्षको हुँदा उच्च टाइफाइडबाट ग्रसित भइन् । टाइफाइडका कारण झन्डै मृत्युको मुखमा पुगेकी उनी मुस्किलले बाँच्न सफल भइन् । त्यसको असर उनको आँखामा पर्यो‍ र दुवै आँखा नदेख्ने बनिन् । तर, उनले हिम्मत हारिनन् । बुवा–आमाको चिन्तामा उल्टै उनले सान्त्वना दिन थालिन् । बुवा–आमाले यसले कसरी गरेर खाली भनेर चिन्ता मान्थे, तर उनी भने दृष्टिविहीन नै भए पनि कक्षामा प्रथम मात्रै होइन, विद्यालय नै टप हुने गर्थिन् ।

‘मैले आफूलाई दृष्टिविहीन कहिल्यै महसुस नै गरिनँ । म सबै काम गर्न सक्छु भन्ने हिम्मत लिँदै अघि बढेँ,’ नीरा सम्झिन्छिन् । उनका अनुसार उनी कक्षा सातसम्म लगातार होलफस्र्ट भइरहिन् । आँखा नदेख्दा समस्या त धेरै भोग्नुपथ्र्यो । तर, नीरा सबै समस्यालाई सहज रूपमा लिँदै अघि बढिन् । कक्षा १० सम्ममा त उनी प्रथम नै भइरहिन् । उनले एसएलसीमा पनि टप १० मा आउने लक्ष्य राखेकी थिइन् । ०५२ सालमा एसएलसी दिएकी उनले फस्र्ट डिभिजन त ल्याइन्, तर उत्कृष्ट अंक ल्याउन नसकेकाले टप १० मा पर्न सकिनन् । ‘त्यतिखेर म टपटेनमा पर्न नसकेकाले धुरुधुरु रोएको थिएँ,’ उनी भन्छिन्, ‘तर, सरहरूले सम्झाउनुभयो । मन बुझाएँ ।’ मान्छेले जहिले पनि ठूलै उद्देश्य लिनुपर्ने र त्यसलाई पूरा गर्न अहोरात्र खटिनुपर्ने धारणा उनको छ ।

सानोतिनो मिहिनेतले उनी नेपाल सरकारको अफिसर बनेकी भने होइनन् । नीराले नेपाल सरकारको अधिकृतमा नाम निकाल्न रात–दिन मिहिनेत गरिन् । बिहानदेखि बेलुकीसम्मै उनी विभिन्न ट्युसन सेन्टरमा गएर ट्युसन लिने गर्थिन् । विद्यालय र क्याम्पसको जस्तो पढाइले लोकसेवामा नाम निकाल्न सकिँदैनथ्यो । त्यो कुरा नीरालाई राम्रैसँग थाहा थियो । त्यसैले भन्छिन्, ‘मैले सानोतिनो मिहिनेतले लोकसेवा आयोगमा नाम निकालेको होइन । त्यसको लागि मैले निकै ठूलो संघर्ष र मिहिनेत गरेकी छु ।’

उनी दैनिकजसो नै लोकसेवा परीक्षाका लागि आवश्यक पर्ने सामग्री र विषयको जोहो गर्न दौडिन्थिन् । कहाँकहाँ ट्युसन हुन्छ त्यहाँत्यहाँ पुग्थिन् र सुनेरै कतिपय विषयवस्तु कण्ठस्थ पार्थिन् । कन्फ्युज भएका कतिपय कुरा सरहरूलाई सोध्ने गर्थिन् र ट्युसन कक्षामा नै उनले धेरैभन्दा धेरै विषय कण्ठस्थ पार्थिन् । ‘धेरै मिहिनेत र दौडधुपपछि मात्रै म अधिकृतमा नाम निकाल्न सफल भएको हुँ ।’ उनी भन्छिन्, ‘मैले मजस्ता साथीहरूलाई मिहिनेत गरेपछि जस्तोसुकै कठिन कार्य पनि पूरा गर्न सकिन्छ भनेर सन्देश र हौसला दिन पनि लोकसेवाको परीक्षा पास भएरै देखाउनु थियो र अन्ततः सफल पनि भए“ ।’ लोकसेवामा अधिकृतको परीक्षा उत्तीर्ण गरेपछि उनीजस्तै अन्य केही साथी पनि लोकसेवाको परीक्षामा सहभागी हुन थालेका छन् र केहीले खरिदार, सुब्बामा नामसमेत निकालिसकेका छन् । यो नीराकै प्रेरणाको प्रतिफल थियो ।

अधिकृत भएपछि उनलाई जहाँ पोस्टिङ गरियो, त्यहाँ सुरुमा काम गर्ने वातावरण पाउन मुस्किल पर्यो‍ उनलाई । आफूभन्दा माथिका हाकिमले सुरुमा त दृष्टिविहीनले के काम गर्न सक्लिन् भनेर जिम्मेवारी नै दिन हच्किएको स्मरण उनको छ ।

एसएलसीपछि नीराले पिके क्याम्पसमा पढिन् । त्यहाँबाटै उनले अंग्रेजी साहित्यमा स्नातक गरिन् । उनलाई अंग्रेजी साहित्यमा नै मास्टर्स गर्ने ठूलो धोको थियो । तर, मास्टर्सका लागि धेरै पुस्तकको जोहो गर्नुपर्ने भएकाले उनले समाजशास्त्रमा एमए गर्ने निधो गरिन् । होस्टेलमा बसेर पढ्न थालिन् । उनको मिहिनेत देखेर होस्टेलमा उनीसँगै बस्ने साथी सुशीला महतले लोकसेवाको परीक्षा दिन सल्लाह मात्रै दिइनन्, उनी आफैँ गएर नीराको फर्मसमेत भरिदिइन् । ‘मेरी त्यही साथीको प्रेरणा र सहयोगले म आज अधिकृत बन्न सकेको छु,’ नीरा भन्छिन् ।

उनको सुरुको रुचि भने वकिल बनेर अन्यायमा परेका नारीको उत्थानमा काम गर्ने थियो । तर, आफूले सो रुचि पूरा गर्न नसके पनि सरकारी स्तरमै रहेर अन्यायमा परेकालाई न्याय दिलाउने कार्यमा आफू सरिक हुने उनी बताउँछिन् । नीरा अहिले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत महिला तथा बालबालिका विभागमा रहेर महिला, बालबालिका तथा अपांगहरूकै लागि योजना बनाउने शाखामा काम गरिरहेकी छिन् ।

अधिकृत भएपछि उनलाई जहाँ पोस्टिङ गरियो, त्यहाँ सुरुमा काम गर्ने वातावरण पाउन मुस्किल पर्यो‍ उनलाई । आफूभन्दा माथिका हाकिमले सुरुमा त दृष्टिविहीनले के काम गर्न सक्लिन् भनेर जिम्मेवारी नै दिन हच्किएको स्मरण उनको छ । त्यसले उनको चित्त त दुख्यो, तर आफूलाई जस्तोसुकै जिम्मेवारी दिए पनि पूरा गर्ने भन्दै उनले हाकीमसमक्ष हिम्मत प्रस्तुत गरिन् । उनको हिम्मतका सामु उनीभन्दा माथिका हाकिमसाबहरूसमेत चकित परे । अहिले भने उनलाई जिम्मेवारी दिन कोही पनि हिच्किचाउँदैनन् । जस्तोसुकै जिम्मेवारी दिए पनि उनले मिहिनेत र हिम्मतका साथ त्यसलाई पूरा गरेरै छाड्छिन् । त्यसैले पनि उनी ‘हिम्मतवाली अधिकृत’ भएकी हुन् ।

तर, अझै पनि सरकारी स्तरको उच्च तहमा परम्परागत सोच हावी नै रहेको उनको अनुभव छ । त्यस्ताखाले सोचको अन्त्य हुनुपर्ने उनको माग छ । नीरालाई अझै फ्रन्ट लाइनमा बसेर जनतालाई प्रत्यक्ष सेवा दिने ठूलो चाहना छ । अहिले सरकारी सेवा चुस्त दुरुस्त हुन नसकेको भन्ने गुनासाहरू सर्वसाधारणबाट आइरहेकाले त्यस्ता गुनासाको सम्बोधन गर्न आफू प्रत्यक्ष माध्यम बनेर सेवा दिन पाए हुन्थ्यो भन्ने उनलाई लाग्ने गरेको छ । गाउँ स्तरमा गएर गाउँपालिका प्रमुखका रूपमा काम गर्नसमेत तयार छिन्, उनी । ‘म जहाँ खटाए पनि जान तयार छु, किनकि संघर्ष मेरो जीवनको पर्याय नै बनिसकेको छ,’ नीरा भन्छिन् ।

सरकारी जागिरमा प्रवेश गर्नेको चाहना सके मुख्य सचिव हुने र त्यो नभए सचिवसम्म बनेर नीतिगत तहमा प्रभावकारी भूमिका खेल्ने नै हुन्छ । नीरा पनि भविष्यमा नेपाल सरकारको सचिव बनेर नीतिगत तहमा योगदान दिन चाहन्छिन् । ‘स्वाभाविक हो निजामती सेवामा प्रवेश भएपछि सर्वोच्च पद सचिवमा पुगेर सेवा दिने चाहना सबैको हुन्छ, म पनि त्यही उद्देश्यमा छु,’ उनी भन्छिन् । तर, लोकसेवा आयोगको परीक्षामा सहभागी हुँदा दृष्टिविहीन अपांगका लागि केही सुविधा थप हुनुपर्ने उनको माग छ । उनले परीक्षामा सहयोगीमार्फत लेख्नुपर्छ । उनले भनेर सहयोगीले लेख्नुपर्ने बाध्यता उनीसँग छ, त्यसैले यस्तो बाध्यता भएका परीक्षार्थीलाई लोकसेवाले समय केही थप गर्नुपर्ने उनको तर्क छ । उनी सरकारले आफूजस्ता कर्मचारीका लागि केही सुविधासमेत थपिदिए काम गर्न सहज हुने बताउँछिन् ।

सरकारले अपांगमैत्री वातावरण बनाउनुपर्ने र आमअपांगको मनोविज्ञान बुझेर सोहीअनुसारका कार्यक्रम ल्याउन सके आफूजस्ताहरूका लागि निकै राहत हुने उनको धारणा छ ।

प्रस्तुति : सागर पण्डित / नयाँ पत्रिका 


Published Date : Friday, March 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , , , ,

Loading...