कस्तो छ नेपालमा इन्जिनियरको भविष्य ?
Powered by Blogger.
कस्तो छ नेपालमा इन्जिनियरको भविष्य ?


  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 

विभिन्न प्रतिष्ठित पेसामध्येको एक हो इन्जिनियरिङ । त्यसैले पनि पछिल्लो पुस्ता इन्जिनियरिङतर्फ निकै आकर्षित छ । बर्षेनी उल्लेखनीय संख्यामा प्लस टू सकेका विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि भर्ना हुने गर्दछन् । एकातर्फ इन्जिनियरिङको पढाइ निकै नै गाह्रो मानिन्छ भने अर्कातर्फ प्राइभेट कलेजमा पढेको खण्डमा इन्जिनियरिङ अध्ययनका लागि महँगो शुल्कसमेत तिर्नुपर्छ । विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर देशका विभिन्न स्थानमा इन्जिनियरिङ अध्यापन गराउने १९ कलेज सञ्चालित छन् ।

बढ्दो आकर्षण
पछिल्ला केही बर्षको आँकडा हेर्ने हो भने इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीको संख्या निकै नै बढेको छ । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई) का एक कर्मचारी भन्छन्, ’आइओईको प्रवेश परीक्षामा सामेल हुने विद्यार्थीको संख्या केही वर्षयता वर्षैपिच्छे बढेको छ । एकपटकमा प्रवेश परीक्षा उत्तिर्ण नगरेका र प्रवेश परीक्षा उतिर्ण गरे पनि छात्रवृत्तिमा नाम ननिकालेका कतिपयले पुनः परीक्षा दिने गरेका छन् । नयाँ विद्यार्थीको संख्या पनि उस्तै छ ।’ उनी अगाडि भन्छन् ‘विज्ञान संकाय पढ्ने विद्यार्थीमध्ये अधिकांशले छान्ने विषय एमबिबिएस वा इन्जिनियरिङ हो । त्यसमा पनि एमबिबिएस पढ्न निकै महँगो पर्ने हुनाले पनि विद्यार्थीको रोजाइमा इन्जिनियरिङ पर्छ । सानैदेखि इन्जिनियर बन्छु भन्ने रहर पालेकाहरू पनि उत्तिकै हुन्छन् । समाजमा निकै प्रतिष्ठित पेसाको रूपमा चिनिने हुनाले पनि यसतर्फ विद्यार्थीको आकर्षण बढेको हो।’

हाल नेपालमा इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), एक्मे इन्जिनियरिङ कलेज, एसियन कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्ट, हिमालय कलेज अफ इन्जिनियरिङ, लुम्बिनी इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, पोखरा इन्जिनियरिङ कलेज, नेशनल इन्जिनियरिङ कलेज, एभरेष्ट इन्जिनियरिङ कलेज, स्टार इन्जिनियरिङ कलेज, धनगढी इन्जिनियरिङ कलेज, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, कलेज अफ सफ्टवेयर इन्जिनियरिङ, जनकपुर इन्जिनियरिङ कलेज, ख्वपः इन्जिनियरिङ कलेज, कान्तिपुर इन्जिनियरिङ कलेज, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजी र इस्ट्रन इन्जिनियरिङ कलेजलगायतले इन्जिनियरिङको अध्यापन गराइरहेका छन् । 

हजारौंको संख्यामा विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । हाल इन्जिनियरिङ तेस्रो सेमेस्टर पढिरहेका प्रतिक पौडेल भन्छन्, ‘एसएलसीपछि राम्रो अंक ल्याउने विद्यार्थीमध्ये अधिकांशले विज्ञान संकाय नै रोज्छन् । विज्ञान संकाय पढ्ने जो कोही कि त मेडिकल अध्ययनतर्फ लाग्छन् कि त इन्जिनियरिङतर्फ । मेडिकलतर्फको पढाइ निकै नै महँगो भएकाले पनि इन्जिनियरिङतर्फ विद्यार्थीको आकर्षण बढेको हो ।’ प्रतिष्ठाको विषय पनि हुने र कमाइ पनि राम्रो हुने आशामा विद्यार्थीहरू इन्जिनियरिङ अध्ययनतर्फ बढी आकर्षित भएको उनको भनाइ छ ।

गाह्रो पनि, महँगो पनि
इन्जिनियरिङको पढाइलाई विश्वमै गाह्रो बिषयमध्ये एक मानिन्छ । नेपालको सन्दर्भमा कूल ८ सेमेस्टर अध्ययन गर्नुपर्ने इन्जिनियरिङको पढाइ निकै कठिन हुने विद्यार्थीहरू बताउँछन् । हाल इन्जिनियरिङको अन्तिम सेमेष्टर अध्ययन गरिरहेका शुलभ श्रेष्ठ भन्छन्, ‘अन्तिम सेमेस्टर आइपुग्दासम्म हरेक सेमेस्टरमा विभिन्न बिषय ब्याक लागेकाहरू छन् । परीक्षा दिएका कूल ५३ विषयमध्ये तीनवटादेखि ४२ वटासम्म बिषयमा अनुत्तिर्ण हुने साथीहरू पनि छन् ।’ उनका अनुसार इन्जिनियरिङको अध्ययन निकै गाह्रो छ भने उत्तिर्ण हुने विद्यार्थीको संख्या पनि निकै कम हुने गर्छ । उनी अगाडि भन्छन्, ‘रेगुलरतर्फ सबै बिषयमा उत्तिर्ण हुने विद्यार्थीको संख्या त निकै नै कम हुन्छ ।’

थोरै समयमा धेरै कुराहरु पढ्नुपर्ने भएकाले पनि इन्जिनियरिङको पढाइ गाह्रो भएको विद्यार्थीहरू बताउँछन् । ‘इन्जिनियरिङको पढाइ महँगो पनि छ । सरकारले तोकेको सीमित सिटमाबाहेक इन्जिनियरिङ अध्ययन गर्न ८ लाख देखि १० लाखसम्म पर्ने गर्दछ । सरकारले सीमित सिटमा दिएको छात्रवृतिको लागि लगभग सबैजसो विद्यार्थी भिड्ने गर्छन् । केहीबाहेक सबैले महँगो शुल्क तिरेर नै इन्जिनियरिङ अध्ययन गर्नुपर्छ’, इन्जिनियरिङ सातौं सेमेस्टर अध्ययन गरिरहेकी महिमा सिग्देलले बताइन् । यसरी नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीले गरेको आर्थिक लगानीलाई हेर्ने हो भने अरबौं रुपैयाँ लगानी भइरहेको छ ।

व्यावहारिक ज्ञान नहुँदा अवसर कम
यता गाह्रो र प्रतिष्ठित विषय हुँदाहुँदै पनि इन्जिनियरिङको अध्ययन सकेका धेरैजसो जनशक्तिलाई रोजगारीका लागि हम्मेहम्मे पर्ने गरेको छ । गत वर्षमात्रै इन्जिनियरिङ सकेका राकेश शाह भन्छन्, ‘पढ्नु र पढेको कुरा काममा उतार्नु फरक कुरा हो । सैद्धान्तिक रूपले अब्बल भएपनि व्यवहारमुखी पढाइ नहुँदा निकै नै अफ्ठ्यारो पर्ने गरेको छ । जताततै अनुभवी जनशक्तिको माग बढी हुने हुनाले पनि अध्ययन पूरा गरेको केही बर्ष राम्रो ठाउँमा स्थापित हुन गाह्रो छ ।’ 

इन्जिनियरिङ अध्ययन गरेका अधिकांश विद्यार्थीको आफ्नो पेसाप्रतिको महत्वाकांक्षा ठूलो हुने हुनाले पनि अवसर कम भएको भान हुने उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘इन्जिनियर हुनेबित्तिकै निकै राम्रो तलबको जागिर पाइन्छ भन्ने भ्रम बजारमा छ । यथार्थ भने फरक छ । यही कुरा उत्तिर्णहरूले नबुझ्दा समस्या आएको हो ।’

जनशक्ति शैक्षिक भए, दक्ष भएनन् 
कौशलटार, भक्तपुरमा कार्यालय भएको भोल्कससफ्ट प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका कम्प्युटर इन्जिनियर तुलसी दाहाल भन्छन्, ‘अहिले पनि इन्जिनियरिङको बजारमा चाहिएजति दक्ष जनशक्ति छैन । परीक्षा उत्तिर्ण भएका अधिकांश इन्जिनियरहरूसँग हातमा सर्टिफिकेट त छ तर गर्नुपर्ने काममा दक्षता छैन । कम्पनीले उत्पादन राम्रो गर्न नसक्ने जनशक्तिलाई राख्दैन । समस्या यहीँ छ ।’ हाल नेपालमा काम जानेको इन्जिनियरको कमाइ निकै राम्रो भएको बताउँदै दाहाल भन्छन्, ‘हाम्रो शैक्षिक पद्धतिमै समस्या छ । आवश्यक व्यवहारिक ज्ञान सिकाइँदैन । पढाइ निकै गाह्रो हुने हुनाले आफैं त्यो प्रयास गर्न पनि समय हुँदैन । त्यसैले कतिपय इन्जिनियरहरू बेरोजगार बस्नुपरेको कुरा भने साँचो हो ।’

उनीमात्र होइनन्, उनीजस्तै काठमाडौंका अधिकांश व्यापारीको भनाइ यस्तै छ । आफूहरूले इन्जिनियरको जागिरका लागि आवेदन माग्दा आवेदन दिनेको संख्या निकै हुने तर दक्ष जनशक्ति वा साँचो अर्थमा काम नै गर्न सक्ने जनशक्ति भने कमैले मात्र आवेदन दिने उनीहरू बताउँछन् ।

अधिकांश इन्जिनियरको विदेशमोह
नेपालमा इन्जिनियरिङ सक्ने अधिकांश इन्जिनियरहरू विदेशिने गरेका छन् । नेपालमा भन्दा विदेशमा अवसर राम्रो हुने हुनाले पनि अधिकांश इन्जिनियर विदेशिन्छन् । ‘विदेशमा इन्जिनियरको माग निकै राम्रो हुने गरेको छ । पैसा खर्च गर्न सक्नेहरू अमेरिका, क्यानाडा, अष्ट्रेलिया, अमेरिकाजस्ता देशमा जान्छन् भने कम लागतमा विदेशिन खोज्नेहरू कतार, दुवई, मलेशियाजस्ता खाडी मुलुकमा जाने गर्छन् । विदेशमा इन्जिनियरहरूको कमाइ निकै नै राम्रो हुने हुनाले पनि नेपालमा बस्ने सोच कमैको मात्र हुन्छ’, दाहालले भने । उनका अनुसार अधिकांश विदेशिएका कारण हाल बजारमा काम गर्न सक्ने इन्जिनियरहरूको खडेरी नै छ ।

कोहीलाई भ्याइनभ्याइ, कोही बेरोजगार
व्यवहारिक ज्ञान नहुँदा बेरोजगार बस्नुपर्ने समस्या एकातर्फ छ भने थरिथरिका इन्जिनियरहरुको आ–आफ्नै खाले अवसर भएकाले नेपालमा दक्ष भएर पनि कतिपय इन्जिनियरहरू बेरोजगार बस्नु परेको छ । विशेषगरी सिभिल इन्जिनियरका लागि नेपालमा जागिर खान त्यति धेरै गाह्रो छैन । कम्प्युटर, आर्किटेक्ट, स्ट्रक्चरल र मेकानिकल इन्जिनियरलाई पनि नेपालमा काम पाउन खासै गाह्रो छैन । अरू इन्जिनियरको तुलनामा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन पढेका इन्जिनियरहरूलाई नेपालमा रोजगारीमा समस्या देखिएको सरोकारवालाहरू बताउँछन् । हाल सो विषयमै इन्जिनियरिङ सकेका बनेपाबासी एक इन्जिनियर भन्छन्, ‘हामीले काम गर्ने भनेको टेलिकम, टेलिभिजन वा अन्य सञ्चार क्षेत्रमा हो । 

तर नेपालमा यो क्षेत्रमा कम जनशक्तिको आवश्यक पर्ने र अर्कोतर्फ यो बिषय पढेकाहरूको संख्या बढेकाले काम पाउन गाह्रो भएको हो ।’ यता सिभिल इन्जिनियर र इलेक्ट्रिकल इन्जिनियर ले भने राम्रै जागिर पाउने गरेको पाइएको छ । सिभिल इन्जिनियरिङ अध्ययन गर्ने धेरै सरकारी सेवामा समेत छन् भने नेपालमा विभिन्न निर्माण कम्पनीहरूमा राम्रो तलवसुविधासहित काम गरिरहेका छन् । यता हाइड्रो क्षेत्रमा जाने इन्जिनियरलाई पनि राम्रो तलव सुविधा छ । कम्प्युटर इन्जिनियरिङ सक्ने धेरै जनशक्तिले आफ्नै व्यवसाय गरेका छन् जागिर खानेले पनि राम्रै तलब पाउने गरेको सरोकारवालाहरू बताउँछन् ।

इन्जिनियरका कमाइ
नेपालमा इन्जिनियरको तलव कुन संस्थामा काम गरेको वा के इन्जिनियर हो भन्ने बिषयले निर्धारण गर्ने गरेको छ । नेपाल टेलिकम, एनसेलजस्ता ठूला मानिएका कम्पनीहरूमा काम गर्ने इन्जिनियरको तलब निकै राम्रो हुने गरेको छ । त्यस्तै आफ्नै व्यवसाय गर्नेको कमाइ पनि राम्रो हुने गरेको छ । सरकारी सेवामा काम गर्ने इन्जिनियरले मासिक ५० हजार बढी कमाउँछन् भने हाइड्रो क्षेत्रमा काम गर्ने इन्जिनियरको तलब पनि मासिक ५० हजार देखि ७० हजारसम्म हुने गरेको उक्त क्षेत्रमा काम गरिरहेका इन्जिनियर बताउँछन् । यता औसत कम्पनीमा काम गर्ने कम्प्युटर इन्जिनियरको औसत तलब मासिक २५ हजारदेखि ५० हजारसम्म हुने गर्दछ ।
नेपाल टेलिकममा काम गर्ने इन्जिनियरको मासिक कमाइ पनि निकै राम्रो छ । वर्षभरी हुने कमाइको सम्पूर्ण हिसाब गर्ने हो भने नेपाल टेलिकममा काम गर्ने इन्जिनियरको तहअनुसारको ४० देखि ९० हजारसम्म मासिक तलब हुने गरेको छ । यता एनसेलमा काम गर्ने इन्जिनियरको तलब पनि राम्रो छ । यहाँ पनि तहअनुसार इन्जिनियरको मासिक तलव ३० हजार देखि एक लाख रुपैयाँसम्म छ ।


Published Date : Saturday, March 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...