'बार-अकेस्ट्रा सिङ्गर' र जिन्दगिको 'कलाईडोस्कोप'
Powered by Blogger.
'बार-अकेस्ट्रा सिङ्गर' र जिन्दगिको 'कलाईडोस्कोप'

  • धिरज प्याकुरेल
कृष्ण गल्लीबाट पुल्चोक क्याम्पसको बाटो हुदै म कुपनडोल पुगेको थिएँ । दिउँसोको घाममा हिड्दा खुबै सकस हुने भएछ । हुनपनि तीन महिनापछि बाहिर निस्केको थिएँ । तीन महिना अघिको ललितपुर आज नौलो लागिरहेको थियो । सबथोक बदलिएझैँ । रुखका पातहरु मन नलागी-नलागी हल्लिएझैँ देखिन्थे । पुल्चोक क्यम्पस उजाड थियो । पान पसलको रामुको अनुहारमा खुसी थिएन । लगनखेल ,जावलाखेल जाने गाडीमा कुनै स्वर थिएन । रोशनी बार बन्द भएको आभास हुन्थ्यो ।

म ललितपुरलाई छिचोल्दै काठमाडौँ छिर्दै थिएँ , बागमती पूल नजिकैबाट कसैले बोलायो, ’सुमन!’ मैले फर्किएर हेरें । पछाडी कालो चस्मा लगाएकि गोरी केटि मात्र थिई । अनुहारमा मुस्कान थियो । मैले यताउता हेरें तर चिनेको कोहिपनि देखिन । मैले आफ्नो पाइला आगाडी बढाएँ । फेरि आवाज सुनियो , ’सुमन!’ फेरि पाहिला रोके, फर्किएँ । यसपाली केटीले हात हल्लाएकी थिई । चस्मा आँखाबाट टाउकोमा सारिएको थियो । मलाई अनुमान लगाउन गाह्रो भएन । ति हात मलाईनै देखेर हल्लिएका थिए । मनमा एउटा उर्जा भरिएर आयो । हातखुट्टा जोशमा आएझैँ लाग्यो । मन फुरुङ्ग भयो । हुनपनि महिनौंपछि कोहि केटीले मेरो नाम गरेर मलाई बोलाएकी थिई ।

सुमन हैन ?
हो! खुसी नदेखाईकन भनें ।
मालाई चिनेनौ ? फेरि प्रश्न आयो ।
आकृति हैन ?, प्रतिप्रश्न गरें।
’थ्यांक्स् गड !’ मैले त मलाइ बिर्सेछौ सोचेको थिएँ ।

आजभन्दा सोह्र वर्ष अगाडि गाउँबाट भागेर आएको केटो म । राम्ररी याद छैन तर गाउँबाट एक दिन हिडेपछि फेदी भन्ने ठाउँ आएको थियो । त्यहाँबाट लगभग आधा घण्टापछि भकुन्डेबेसी । त्यो दिन त्यतै बसेर अर्को दुई दिनमा धुलीखेल आईपुगेको थिएँ म । त्यसपछि गाडीमा लुसुक्क लुकेर गन्तव्य बढेको थियो । 

लगभग दुई घन्टाको यात्रा । सबै मान्छे ओर्लिएपछि म पनि ओर्लिएको थिएँ । ठाउँको नाम याद छ मलाई 'रत्नपार्क' । पहिलो पटक शहर देखेको, नौलो लाग्यो । दिन बित्दै गएपछि बल्ल यो शहर त बेईमानी हुन्छ भन्ने थाहा पाएको थिएँ । काम खोजे पाईन । सानो केटो भनेर कसैले राखेनन् । काम नपाएपछि माग्न थालें । माग्दा नदिएछि चोर्न थालें । चोर्न दाउ नमिल्दा खोस्न थाले, लुट्न थाले । पेट पालिरहेकै थिएँ ।

बैशाख महिना हुनुपर्छ , घामले आलस्य भएको थिएँ । तिर्खा लागेको थियो । पानी खान सुन्धारासम्म पुग्ने आँटनै थिएन । एकछिनमा एउटा बुढा मान्छे काँक्रो टोक्दै आएँ, मेरो मनले सहेन । खोसेर भागे र पर पुगेर खाएँ । घांटीमा सितल पुग्यो । एकछिन त्यहि आड लागेर बसेको थिएँ, कसैले पछाडिबाट हात समायो । फर्केर हेरें । त्यहि बुढा मान्छे रहेछन् जसको मैले काक्रो चोरेको थिएँ । हंसले ठाउँ छोड्यो । मैले सिधै 'म तपाइको काँक्रो दिन्छु मलाई नापिट्नुस' भने । उनी बोलेनन् मुसुक्क मुस्काएं ।

किन मेरो काक्रो चोरेको ? केहीबेर पछि प्रस्न गरे उनले ।
भोक लागेर ! डराएर जवाफ फर्काए ।
अझै खान्छौ ? फेरी सोधें उनले ।
खान्छु ।

तारेको समोसा र पानि ल्याएर दिए मलाई । मैले पनि खाएँ । सानै भएकोले राम्रो, नराम्रो, असल, खराब छुट्याउन सक्दैनथिएँ म ! केहीबेरमा बुढाले मेरो बारेमा सोधें, मैले जानेको सबै भनें । सम्झनछु म मेरो कुराले तीनको आखामा आँसु आएको थियो ।

मेरो घरमा काम गर्छौ ?
म केहि बोलिन।
तिनी फेरी बोले , खाना दिन्छु , लाउन दिन्छु अनि महिनाको अन्तिममा केहि पैसापनि दिन्छु । मैले हुन्छ भनें। काठमाडौँको टेकुमा तिनको घर थियो । दुइ छोरा थिए । श्रीमती रोगी थिईन् । दिन बित्दै गयो । म दिउँसो स्कुल जान्थ्यें । बिहान बेलुका घरको काम गर्थें । सबैले माया गर्थे । बुढाले त अझै धेरै माया गर्थे । महिना नबित्दै पैसा पनि दिन्थे । म त्यो पैसा बचाएर राख्थ्यें ।

दिन हप्तामा , हप्ता महिनामा, महिना वर्षमा परिणत हुँदै गए । म नौ कक्षामा पढ्दा बुढा बिते । मेरो सहारा भाँचियो । म धेरै रोएँ । जस्तै भएपनि मैले घर छाडिन । मेरो जाने ठाउँपनि थिएन । म पढ्दै गएँ । रातदिन तिनैको यादले सताउँथ्यो मलाई । सधैं आँखाबाट आँसु झर्थ्यो । बुढा बितेपछि मलाई त्यस घरमा बस्न मन लागेन । जिनतिन एसएलसी दिएँ र त्यो घर सदाका लागि छाडिदिएँ ।

म अब बुझ्ने भएको थिएँ । काम खोज्न थालें । हल्का अंग्रेजीपनि आउँथ्यो । मैले न्युरोडमा काम पाएँ । लुगा पसलमा । त्यसपछि डेरा खोजे । डेरा पनि पाएँ । पाटनको कृष्णमन्दिर नजिकै। मेरो काम नौ बजेदेखि पाँच बजे सम्म थियो । म काम सकेर सिधै घर आउँथें, खाना पकाउँथें र केहीबेर घुमेर आउछु अनि खाउँला सोचेर बाहिर निस्कन्थें । कृष्ण मन्दिर नजिकैको पेटीमा पुग्थें । त्यो ठाउँ साह्रै मन पर्थ्यो मलाई । सीतल हावा , नेवारी माहोलसँगै गितारको धुनमा मिठा गीत । त्यहाँका लोकल केटाहरु, कपाल पालेका , मुन्द्रा लगाएका , हात हातमा चुरोट समाएका । तर उनीहरुले जे गरुन् मलाई फरक पर्दैनथ्यो । मलाई त बस् उनीहरुको गीत सुन्नु थियो।

म एक दिन दुइ दिन गर्दै उनीहरुको गीतमा नजिकिएको थिएँ । अझ भनौं उनीहरुसँग नजिकिएको थिएँ । बिस्तारै मैलेपनि उनीहरुसँग गितार सिक्न थालें । सिक्न गाह्रो थियो । तर एउटा सोख बनेको थियो त्यो गितार मेरा लागि । तलबबाट पैसा बचाएर मैले पनि गितार किने र डेरामा पनि बजौन थालें । ए, ए माईनर गर्दागर्दै राम्ररी बजाउन जान्ने भएँ । गीत त पहिलेदेखिनै राम्रो गाउँथें । नेपाली पप हुदै हिन्दी गानापनि जान्ने भएको थिएँ । स्लो रक धेरै बजाइन्थ्यो । केटाहरुको संगतले गितार बजाउन मात्र हैन चुरोट पिउनपनि जान्ने भएको थिएँ ।

त्यहाँकै केहि केटाहरु मिलेर हामीले ब्याण्ड खोल्यौं । म ब्यान्डमा भोकलिस्ट थिए र रिदमपनि बजाउँथें । बिस्तारै हामीहरु मिलेर शहरका विभिन्न बारमा बजाउन थाल्यौं । मैले पसले जागिर छाडिसकेको थिएँ । मैले गायनबाटै धेरै पैसा कमौन थालिसकेको थिएँ । पाटनको एक कोठे डेरा छोडेर पुल्चोकको कृष्णगल्लीमा फ्ल्याट अनि मोटरसाइकल किनेको थिएँ । म शहरको एउटा चर्चित 'बार अकेस्ट्रा सिङ्गर' भएको थिएँ । यसरिनै मेरो गिन्दगिको 'कलाईडोस्कोप' चलिरहेको थियो । र मेरो जिन्दगीको कलाईडोस्कोपले चम्किला रङ्गहरू देखाईरहेको थियो । मलाइ के थाहा यो कलाईडोस्कोपले ब्ल्याक अन्ड ह्वाईट देखाउन बाँकि नै छ छ भनेर ?

यस्ती राम्री मान्छेलाई कसरि बिर्सन सकिन्छ र ? मैले हाँसेर भने।
उसलेपनि हाँस्दै भनी, 'तारिफ गर्दैछौ कि फ्लर्ट' ?

तिमीलाई के लाग्छ ?
हा हा हा। 

आउ कफी खान जाउँ । उसले प्रस्ताव राखी ।
खुवाउने भए मात्र जान्छु। मैले हाँसी मजाकमा बाङ्गो पाराले पैसा नभएको कुरा भने उसलाई । मलाई थाहा छैन उसले बुझी कि बुझिन । उसको स्कूटीमा बसेर हामी नर्भिक अस्पातल नजिकैको क्याफेमा पुग्यौं ।

के खान्छौ भन । उसले सोधेझैं गरी ।
गर्मी छ , चिसो खाउंन ।
कफी नखाने ?
हा हा हा। तिमी जे खान्छौ मपनि त्यहि खाने।
उ लजाएझैँ गरी । दाई वटा डिउ अनि एउटा सिगरेट ल्याउनु ल ।
मलाई थाहा थिएन उसले त्यो सिगरेट मेरो लागि मगाएकी थिई या उसैको लागि । मैले केहि बुझिंन ।

एक वर्ष अगाडी जाउलाखेल जाने बाटोको रोशनी बारमा म गीत गाउदै थिएँ । साँझको लगभग सात बजेको हुँदो हो । औंलाले जी कड थिचेका थिएँ । हात आफै तारमा हल्लिएर मिठो धुन निस्केको थियो । अनि मुखबाट “केहि मिठो बात गर रात त्यसै ढल्किदै छ ।” मेरा आँखा अनायासै एउटा टेबलमा गयो । एक जोडी थिए । म त्यो टेबलको केटिप्रति आकर्षित भएको थिएँ । 

हँसिलो अनुहार, पातलो शरिर , काला आँखा , मिलेको दाँत , मिठो हसाई । म लट्ठ परें । सेतो टाईट कुर्ता लगाएकी त्यो केटि परेवी जस्तै सुन्दर देखिन्थी । लाग्थ्यो भगवानले पनि खुब फुर्सदमा बनाए होलान् । रातको बारमा कुर्ता लगाएर आउने केटि कमै देखिन्थें र उ लाखौमा एक थिई । लगभग आठ बजे तिर उ निस्किई । म उसैको यादमा गीत गाउन थालें । उ फेरि भोलिपल्ट आई । हाम्रो आँखा जुध्यो । जब जब हाम्रो आँखा जुध्थ्यो हामी अन्तै हेर्थ्यों । सधैझैँ आठ बजे उ निस्किई । मलाई उसका यादले सताउन थाले । 

म भोलिको प्रतिक्षामा बस्न थालें । अर्को दिन आयो । उ आई । आज मलाई देखेर उ मुस्काई । म पनि मुस्काएं । त्यो दिन उसले आफ्नो फर्माईसको गीत गाउन लगाएकी थिई । ”के भूल भयो पिया मसंग बोल्दिनौ ” दिन बित्दै जाँदा उ मलाई मात्र हेर्ने भएकी थिई ।

म आज उसँग बोल्छु, यस्तै सोच्दै थिएँ म । म पर्खीरहेँ । सात बज्यो । मनको ढुकढुकी बढ्यो तर अफसोच उ आज आईन । कुरी रहे तर उ आज आईन । मन खिन्न भयो । अर्को दिन गएँ । अर्को दिन पनि उ आईन । त्यसपछि उ कहिलेपनि आईन् । रोशनी बारसँगको कन्ट्रयाक्ट सकिएको थियो । तैपनि उ आउंछेकी भनी रोशनी बारको चक्कर लगाउँथे । तर उ आईन । आउँदै आईन ।

एक दिन बिहानै मेरो मोबाईलको घन्टी बज्यो ।
हेल्लो ?
हेल्लो, सुमन हो ?
हो। मैले त चिनिन नि !
म आकृति!
को आकृति ? ठाडै स्वरमा बोलें । 

मैले तिमीलाई रोशनी बारमा देखेको । मेरा लागि “के भूल भयो पिया मसँग बोल्दिनौ” भन्ने गीत गाएको थियौं । मेरो खुट्टा भुइँमा रहेन । हामी लामो समय कुरा गर्यौं त्यो दिन ।

हामी भेटौंन । हुन्न ? 
उ पनि खुसी भएको अनुभव गरें मैले ।
हुन्छ । तर कहाँ ?
संगम बार, ठमेल ।
ओके।

मैले केहिबेर गीत गाएर उसँग आएर बसें । हामीले कुरा गर्यौं । उसँग कुरा गर्दा, म संसारकै भाग्यमानीझैँ लाग्यो । बेलुकी कोठामा गएर रातभर फोनमा कुरा गरें । म मनमनै उसैलाई मन पराउन थालीसकेको थिएँ । एक दिन हिम्मत जुटाएर प्रेम प्रस्ताब राखें , उसले केहि नसोची 'हुन्छ' भनी । त्यसपछी त मेरो खुट्टा भुईमा रहेन । हामी दुवै खुसी थियौं । शहरका विभिन्न ठाउँ घुम्थ्यौं । म उसलाई मेरो कोठामा पनि लान्थें । मन तयार भएपछि शरीर तयार रहनु ठुलो कुरा होइन रहेछ । हामीले जवानी पनि साट्यौं । म उसँग बिहे गर्न चाहन्थें, उपनि चाहन्थी ।

मेरो गिन्दगिको कलाईडोस्कोप बिग्रेको जस्तो थियो । यसले रंगहरु मधुर देखाउन थालेको थियो । उसको फोन अफ थियो । धेरै प्रयास गरें । उसको फोन आएन । हाम्रो भेट भएन। एक दिन उसको साथीबाट थाहा पाएँ । उसको अन्तै बिहे भएछ । उसले लाख कोसिस गर्दापनि उसका बुबाआमा मान्नु भएन रे ! म बाहुनको छोरो थिएँ, उ नेवारकी छोरी । म छाँगाबाट खसे जस्तो भएँ ।

चुरोट र डिउ आईपुग्यो। मैले चुरोट सल्काएं । आकृतिलाई देख्दा आँखामा खुसी थिएन । मन भारि थियो आज ।
गितार बजाउँदैछौ ? उसले प्रश्न गरी ।
बजाउँछु । मैले ढाँटे ।

पाँच महिना अगाडि हाम्रो ब्याण्ड फुट्यो । ड्रम बजाउने मनिस र कीबोड़ बजाउने आसिसको झगडा भयो । सौरबपनि बिदेश जाने रे ! म एक्लिएं । म रातदिन रक्सी खाने भएको थिएं । जिन्दगीका सबै सपनाहरु चकनाचुर भएका थिएं । एक दिन म रक्सी खाएर मोटरसाइकलमा आईरहेको थिएं । म होसमा थिईन ।

एकैचोटी बिहान होसमा आउँदा म केएमसी हस्पिटलमा थिएँ । मैले अर्को मोटरसाइकललाई ठक्कर दिएको रहेछु । गल्ती मेरो ठहरियो । म गलत साईडबाट हिडेको थिए रे । मैले एउटा मोटरसाइकललाइ मात्र हैन , एउटा परिवारलाईनै ठक्कर दिएको थिएँ । एक छोरी र श्रीमान श्रीमती कतै घुमेर आएका रहेछन् । छोरि मात्र बचेकी थिई । नाम आस्था थियो । म रोएं, भक्कानिएं र मनमनै काँक्रो चोरेको बुढालाई सम्झिएं । म पुलिकको निगरानीमा थिएँ । ममाथि मान्छे मारेको अभियोग चलेको थियो । तीन महिना जेलपछि म धरौटीमा छुटें । आस्था हिड्न सक्ने भईछ । उसका कोहि आफन्त लिन आएका थिएनन् । उसका बाआमालाई के गरियो मलाई थाहा छैन ।

मेरो चुरोट सक्किसकेको थियो । मैले चिसो पिएको थीईन । आँखाबाट आँसु रोकिरहेको थिएँ । खल्तीबाट एउटा पाना निकाले र आकृतिलाई थमाएँ ।

यो के हो ?
एग्ग्रिमेन्ट !
के को ? उसले प्रश्न गरी ।
तिमी घर लगेर पढ । म आज कहाँ, भोलि कहाँ , मेरो भर छैन । यो कागज सम्हालेर राख्नु ।


म धरौटिमा छुटेर सिधै कोठामा गएँ । सबैतिर नियालें । स्वर बस्ने गरेर रोएँ । मुख धोएँ । घरबेटीलाइ बोलाएं र मेरो गितार बाहेक सबै सामान बेच्न लगाएँ । घरबेटी दाइले केहि भनेनन् । १८ लाख आयो । ३० हजार घरबेटीको भाडा बुझाएँ अनि घरबाट निस्किएं । 
म घरबाट निस्किएर अस्पताल गएँ र आस्थाको सबै उपचार खर्च तिरिदिएं । मलाइ आस्थालाई लान मन थियो तर प्रक्रियाले दिएन । मैले पुलिसको सहाराले अस्पतालमै सहरको एउटा चर्चित स्कूलको प्रिन्सिपललाई बोलाएर आस्थालाइ पढाईदिनु भनेर सबै पैसा दिएँ । अनि त्यसै अनुरुपको एग्रीमेन्ट बनाएँ । र जाँदाजाँदै आस्थालाई बुझ्ने भएछि मेरो यो गितार दिनु भनेर गितार पनि थमाईदिएँ । 

अब जाउँ, अलि हतार छ मलाई ! मैले आकृतिलाई भने।
हुन्छ । हामी क्याफेबाट निस्कियौं ।

अनि सुनत तिम्रो हुनेवाला बच्चालाई गितार सिकाउनु है।
हा हा हा हुन्छ ।

म मेरो जिन्दगीको कलाईडोस्कोपले फेरि चम्किला रङ्ग देखाओस भन्ने चाहन्नथें । बस् आस्थाले खुसी पाओस् ।

मलाई थाहा छैन आकृतिले त्यो कागज पढेर के थाहा पाउँछे । मलाई यति थाहा थियो, मबाट काँक्रो चोरेको बुढाको याद ,मेरो गितार, आकृति, आस्था, मेरो ब्याण्ड, मनिष, आशिष , सौरव , मेरो गीत सबै छुट्दै थियो । म यति चाहन्छु मेरो लास कसैले नभेटुन् ।


Published Date : Sunday, April 9, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...