आफ्नो गल्ती ढाकछोप गर्दै डिसहोमका डिजीएम भन्छन्, 'गुण्डाहरुले केवल लचाइरहेछन्, कालोधन थुपारीरहेछन्'
Powered by Blogger.
आफ्नो गल्ती ढाकछोप गर्दै डिसहोमका डिजीएम भन्छन्, 'गुण्डाहरुले केवल लचाइरहेछन्, कालोधन थुपारीरहेछन्'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - बैसाख १५ गतेदेखि सरकारले एनालग सिग्नललाई अनिवार्य डिजीटलाइजेसन गरेपछि त्यसलाई 'अव डीसहोमको विकल्पनै छैन' भन्दै भ्रामक प्रचार गरिरहेको डिस होमका डेपुटी जनरल मेनेजर कल्याण अधिकारी अन्तत: अर्थ सरोकारकर्मीसँग कुराकानी गर्न बुधबार राजी भए । निरन्तर ६ पटकसम्मपनि भेट नदिएपछी जसरीपनि समाचार सन्तुलन गर्नुपर्ने वाध्यताका बीच हामी आज उनलाई पूर्व जानकारीनै नदिइ डीस होम पुग्यौं । बिगतका ६ पटक जस्तै आजपनि उहाँ बैठकमा हुनुहुन्छ भन्दै कुरा टार्न खोजियो । 

त्यसपछि हामीले जसरि पनि भेटेरै जाने भन्दै करिव २ घण्टा कुर्यों । करिव आधा दर्जनपटक फोन र एसएमएस गर्यौं । त्यसपछि उनले हामीलाई आफ्नो कार्यकक्षमा बोलाएपछि हामीले डिस-होमकै कार्यालयमा उनलाई भेटेका थियौं । डिसहोमले गरिरहेको भ्रामक प्रचारवाजीबारे उनीसँग हामीले लामो बहस गरेका छौं । 
समाचार डेक्समा बसी उनीसँगको अन्तर्वार्तालाई पठनीय रुपमा उतार्दा झन्डै ५१ प्रश्नहरुमा बहस भएछ। हामी धारावाहिक रुपमा उक्त बहसलाई अन्तर्वार्ताको शैलीमा प्रस्तुत गर्दैछौं । हेरौं उनीसँग हामीले तेर्स्याएका १० प्रश्न र उनको जवाफ :

१. बैसाख १५ पछी त डिसहोमको विकल्पनै छैन, घरमा च्यानलनै आउंदैन भन्नुहुन्थ्यो त ! डिस होम नजोदेका थुप्रै घरहरुमा टिभी च्यानल त आइरहेको छ त ?
अव गैरकानुनी काम गर्नेलाई केनै भन्न सकिन्छ र ! अहिले सेटअप बक्स बिना घर-घरमा आएका च्यानल सबै गैरकानुनी हुन् । सरकारले नियम बनाएपनि नियमन गर्न सकेको छैन । नियमन कसले गर्ने भन्नेमै विवाद छ । गैरकानुनी रुपमा सिग्नल बाँडेर केवल सेवा प्रदायकहरुले अपराध गरिरहेका छन् । तर खै ! जसले जे गरेपनि हुने रहेछ । के भन्ने ! तर यो चुनावले गर्दा मात्र हो, चुनाव सकिएपछि कसैको लाइसेन्स रिन्यू हुँदैन । लाइसेन्सविना कसले कसरी व्यापार गर्दोरहेछ, हामीपनि हेरौंला ।

२. केवल सेवा प्रदायकहरुले त ती सिग्नलपनि डिजिटल नै हुन् भनीरहेका छन् त ! डिजिटल नभए सरकारले किन कारवाही गरेन त ?
भन्न त जसले जे भनेपनि हुन्छ । तर ती सिग्नल डिजिटल होइनन् । डिजिटल हुन अनिवार्य सेटअप बक्स हुनुपर्छ । सिधै टिभीमा तार जोड्ने प्रविधि डिजिटल होइन । तारबाट आएका र सिधै टिभीमा जोडिएका टेलिभिजनका सिग्नलपनि डिजिटल हुन् भनेर भ्रम छरिएको छ  । अव भ्रम छर्ने र भ्रम पत्याउने भएपछि हामीले के भन्नु ! तर अहिले देशभर प्राय सबै केवलहरुले गैरकानुनी काम गरिरहेका छन् ।

 सरकारले कारवाही नगरेको साँचो हो । हामी निरन्तर झकझकाइरहेका छौं । सरकार भनेपछि पार्टी आउँछ । केवलवालाहरुकोपनि आफ्नै महासंघ छ । आफ्नै राजनीति छ । उहाँहरु अलि बढी बलियो हुनुभयो । हामी कमजोर छौं । त्यसमाथि तपाईंहरुको जस्तो जिम्मेवार मिडियाले हामीलाई नै झुटो देख्छ । अनि सरकारले कसरी गरोस् कारवाही ?    

३. तपाईंहरुले पनि त भ्रामक विज्ञापन प्रशारण गरिरहनुभएको छ नि ? बैसाख १५ पछाडी डिस होम बाहेक अन्य केहीको विकल्पनै नभएको त होइन नि ! अरु सेवा प्रदायक पनि छन् नि !
हेर्नुहोस्, यो व्यापार हो । र हामी सेवा बेच्न बसेका हौँ । अरुको गुणगान हामीले गाउने कुरा भएन । 'स्वास्थ्य मुटुका लागि धारा तेल' भने जस्तै हो यो । अरु तेल खाएर मुटु बिग्रने होइन । हामी डीस होम हौँ र हामी हाम्रो विकल्प छैन भन्छौं । हिजो पनि भनेका थियौं, आजपनि भनेका छौं, भोलिपनि भन्छौं । 

तपाईंले भ्रमकै कुरा गर्नुहुन्छ भने कतिले कस्तो भ्रम छरेका छन् हामीलाई पनि थाहा छ । हामीपनि यसअघि थुप्रै कम्पनीहरुमा काम गरेको मान्छे हो । कसले कसरी भ्रम छर्छन्, कसरी भ्याट छल्छन् भन्ने हामीलाई पनि राम्रोसँग थाहा छ । विज्ञापनमा यस्तो कुरा चल्छ । यसअघिपनि त केवलवालाहरु मिलेर जीतु नेपाललाई प्रयोग गरेर हामीविरुद्ध विज्ञापन बनाएका थिए नि !  

४. तर त्यसरी अरु सेवा प्रदायक हुँदा हुँदै र केवलहरुपनि डिजिटल हुँदा हुँदै तपाईंहरुले डीस होमको विकल्प नै छैन भन्न मिल्छ र ?
किन नमिल्नु ? मिल्छ । यो त व्यापार हो । हामी डीसहोम भएपछि अरु कुराको गुनगान गाउने कुरानै भएन नि ! हामी डीस होमको कुरा गर्छौं । सुधीर शर्मा केवलको गुनगान गाउनुहुन्छ । अझ केवलभन्दा सुबिसुको गुनगान गाउनुहोला । यो सामान्य हो नि सर ! किनकि यो त व्यापार हो । सबैलाई आफु विक्नु छ । आफ्नो 'सर्भिस' नै दमदार भन्ने हो नि ! हाम्रो विकल्प छैन भनेर आजपनि भन्छौं हामी । केवलहरु त गैरकानुनी रुपमा चलिरहेका छन् । त्यसमा कुनै शंका छैन । सिधा रुपमा काम गर्ने हो, एक दिन गैरकानुनी काम गर्नेहरु कसो नासक्किएलान् ।

५. भनेपछि अहिले केवलहरु गैर कानुनी रुपमा नै चलिरहेका छन् त ? त्यसो भए त सरकारले किन कारवाही गर्थ्यो नि ! किन नगरेको त ?
त्यसमा कुनै दुइमतनै छैन कि अहिले केवलहरु गैरकानुनी रुपमा चलिरहेका छन् । तर यो नेपाल हो सर । यहाँ जसले जे गरेपनि हुनेरहेछ । केवल च्यानलहरु त गुण्डाहरुले चलाईरहेका छन् । यो टोल मेरो हो र त्यो टोल मेरो हो भन्छन् । एउटा सिग्नल चोरेर थुप्रै ठाउँमा बेच्छन् । अनि सरकारको राजश्व छलेर कालोधन थुपारीरहेका छन् । सरकारको कुरा आउँदा पार्टी जोडिन्छ । त्यहि भएर अहिले कारवाही हुन सकेको छैन ।

६. यदि अहिले चलिरहेका केवलहरुले गैरकानुनी रुपमा सिग्नल फालीरहेका छन् भने तपाईंले सम्बन्धित ठाउँमा किन भन्नुहुन्न ?
हामी हाम्रो हिसावले लागिरहेका छौं । उहाँहरु सह-सचिवकै कार्यकक्षमा दादागिरी देखाउनुहुन्छ । 'कसले गर्दोरहेछ हाम्रो केवल बन्द हेरौं त !' भनेर थर्काउनुहुन्छ । सरकारले केहि गर्न सक्दैन । हामी हाम्रो तर्फबाट कानुनी प्रक्रिया अगाडी बढाईरहेका छौं । हेर्दै जाउँ कहाँसम्म पुगिन्छ । तर कानुनी लडाई जारी छ । हामी हाम्रोबारेमा क्लियर छौं । अहिले केवलका संचालकहरुले खुलेआम रुपमै गैरकानुनी काम गरिरहनुभएको छ, त्यसमा हाम्रो भन्नु केहिपनि छैन । अव खुलेआम अपराध गर्छौं, ट्याक्स छल्छौँ, कालोधन कमाउँछौं, नियम विपरित गर्छौं भन्नेलाई त के भन्न सकिन्छ र ! त्यहि भएर हामी आफ्नो काम गर्छौं ।     

७. डीस होमको विकल्प नै छैन भनेर भ्रामक विज्ञापन बाजाउने अधिकार कसले दियो ?
एड रिलिज भन्ने संस्थाले विज्ञापन बनायो । चलचित्र जांच समितिले सबैतिर बजाउन योग्य छ भन्यो । त्यसपछि बजायौं । हामीले भन्ने हाम्रो विकल्पनै छैन नै हो । हामी त व्यापार गर्न बसेको । डीस होमको विज्ञापनमा सुबीसु जोड्नुहोस है, राम्रो हुन्छ भनेर त कसले भन्छ र ? त्यसैले हामीले कुनै गलत गरेका छैनौं । विज्ञापनको मामलामा अलि बढीचढी अरुले पनि गर्छन् । हामीले सञ्चार मन्त्रालयको स्वीकृतिपनि लिएका छौं । चलचित्र जांच समिति भनेको संचार मन्त्रालय अन्तर्गतकै विभाग हो । त्यसैले हामीले केहिपनि गलत गरेका छैनौँ ।     

८. बैसाख १६ देखि डीस होम नजोड्दापनि टिभी हेरेका दर्शकहरुले के सोच्दै होलान् ?
हामी उहाँहरुलाई सचेत बनाउन अर्को विज्ञापनपनि बनाइरहेका छौं । तपाईं गैरकानुनी सिग्नल बाँढ्ने हरुलाई पैसा दिइरहनुभएको छ भन्ने विज्ञापन बनीरहेको छ । केहिदिनपछी त्यो विज्ञापन प्रशारण हुन्छ । जनताले बुझेकानै छैनन् । त्यसमाथि केवलवालाहरुले हल्ला पिटाएका छन् । तपाईंहरुजस्ता जिम्मेवार मिडियालेसमेत डीसहोमलाइ एउटा विज्ञापनको निहुँ गरेर खेद्न थालेपछि के सोच्नु जनताले ?

९. हामीले राखेको खबर गल्ती हो भने किन खण्डन गर्नुभएन ? हामीलाई पटक-पटक तपाईंको भनाइ लिन आउँदा किन भेट्न दिनुभएन !
यो चाहिं के भयो के भयो ? प्राय: साथीहरुलाई भेटीरहेकोनै हुन्छु । तपाईंचाहिं थुप्रै पटक आउँदा किन भेट्न सकिएन भन्ने मैलेपनि बुझिन । यसमा हाम्रो तर्फबाट केहि कमीकमजोरी भएको होला । त्यसमा हामी सुधार्ने काम गर्छौं । तपाईंले लेख्नु भएको समाचार मैलेपनि निरन्तर पढीरहेको छु । सामाजिक संजालमा आएका जनताको आक्रोशहरु समेटेर तपाईंले राख्नुभएको समाचारपछी हामीले यस विषयमा सल्लाहपनि गरेका छौं । जे होस् तपाईंहरुको समाचारले हाम्रो चित्त त दुखेको छ नै, फाइदापनि अलि-अलि भएको छ । हाम्रो मार्केटिङपनि भइरहेको छ । त्यसमा खण्डन गर्नुपर्ने जस्तो पनि लाग्दैन । 

१०. जे भएपनि तपाईंले डिसहोमको विकल्पनै छैन र डिजिटल सिग्नल भनेको हामी मात्र हो भनेर त गलतनै भन्नु भएको हो नि, होइन ?
अव हाम्रो त्यहि कुरालाई समातेर तपाईं खेदो खनीरहनुहुन्छ भने हाम्रो भन्नु केहिपनि छैन । तर हामी डिस होम हौँ । र हामीले हाम्रो बारेमा बोल्ने हो । हामीनै ठिक भन्ने हो । हाम्रोजस्तो राम्रो सेवा कसैको छैन भन्ने हो । तपाईं यसबारेमा लेखिरहनुहोस्, हामीलाई केहिपनि फरक पर्दैन ।

क्रमश...

यो पनि पढ्नुहोस् :
डिस होमको फलोअप नम्बर ६  :
डिसहोम जोड्दैहुनुहुन्छ ? पानी परेको बेला त टिभी 'डिष्टर्व' हुन्छ नि !

डिस होमको कर्तुत नम्बर ५  :
एउटा 'झुट' लुकाउन 'झुट'माथि 'झुट' ! डिसहोमले मच्चाउँदैछ यस्तो 'लुट' !

डिस होमको कर्तुत नम्बर ४ :
डिस होमसँग सामाजिक सञ्जालमा पोखियो यस्तो आक्रोश ! छातामा समस्यादेखि 'झुर' सपोर्टसम्मको गुनासो !

डिस होमको कर्तुत नम्बर ३ :


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...