सीताराम थपलियालाई पुन: नेप्सेको महाप्रबन्धक बनाउन हुँदैछ यस्तो लविङ !
Powered by Blogger.
सीताराम थपलियालाई पुन: नेप्सेको महाप्रबन्धक बनाउन हुँदैछ यस्तो लविङ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) को महाप्रवन्धक सीताराम थपलियाको कार्यकाल सकिंदै गर्दा उनलाई पुन: महाप्रवन्धकको पदमा नियुक्त गर्न लाविङ सुरु भएको खुलासा भएको छ । नेप्सेकै एक उच्च स्रोतले दिएको जानकारी अनुसार आउँदो जेठ ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछी शेर बहादुर देउवा प्रधानमन्त्री भएको खण्डमा उनलाई पुन: महाप्रबन्धकको जिम्मेवारी दिन उच्च राजनीतिक संयन्त्रमै लविङ सुरु भएको छ । नेप्सेमा रहंदा केहि राम्रो काम गरेको जस पाएको भएपनि अधिकांस समय विवादमा मुछिने गरेका थपलिया स्वयम् पनि एक अर्को कार्यकाल नेप्सेको महाप्रबन्धकको पदमा रहन चाहेको र सोहिअनुसार लविङ सुरु गरेको स्रोतको दावी छ ।   

यस्तो छ राजनीतिक सेटिङ ! 
महाप्रबन्धकको पद एक कार्यकालका लागि थप्न थपलियाले शेर बहादुर देउवालाई रिझाउने प्रयास गरिरहेको स्रोतको दावी छ । अर्थ सरोकार डटकमलाई नेपाली कांग्रेसको एक उच्च स्रोतले भन्यो, 'शेरबहादुर देउवा प्रधानमन्त्री भएको खण्डमा सीताराम थपलिया पुन: नेप्सेको महाप्रबधक हुनेमा कुनै शंका छैन । स्वयम् थपलियाले यसका लागि ठुलो 'लविङ' गरिरहेको र कांग्रेस सभापति शेरबहादुर देउवालेपनि उनलाई महाप्रबन्धकको पदमा पुन: नियुक्ति दिने बचन दिएका छन् । केहि समयपछी उनको कार्यकाल सकिएपनि महाप्रबन्धकको पदमा उनको विकल्प हालका लागि नभएको तर्क गर्दै उनको कार्यकाल थप्ने तयारी भइरहेको छ ।'

स्रोतका अनुसार स्वयम् सीताराम थपलियाले समेत यसका लागि राजनीतिक 'सेटिङ' मिलाईसकेका छन् । 'आउँदो नेतृत्वलाई नेप्सेले अगाडी बढाईरहेको अनलाइन कारोबार प्रणालीको कार्वानयनबारे खास राम्रो जानकारी नहुँदा नेप्सेका काम कारवाहीलाई समेत असर गर्ने हुनाले पुन: सीताराम थपलियालाईनै नेप्सेको महाप्रबन्धक बनाउनुपर्छ भन्दै राजनीतिक लविङ सुरु भएको छ ।' स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।

कामको समिक्षा मिश्रित
यता विभिन सेयर लगानीकर्ताहरुले भने महाप्रबन्धकको पदमा सीताराम  थपलियालाई दोहोर्याए उक्त कदम दुर्भ्याग्यपूर्ण हुने बताएका छन् । महाप्रबन्धक थपलियालाई अनलाइन कारोबार प्रणाली ल्याउन ढिलाई गरेको, नेप्सेलाई राजनीतिक अखडा बनाएको र सेयर लगानीकर्ताहरुको हितमा काम नगरेको भन्ने आरोप लाग्ने गरेको छ । यसो त केहि समयअघि थपलियाले नेप्सेलाई कमजोर बनाएको, सेयर बजारमा बजार घटाउन लागि परेको, ब्रोकरसँगको साँठगांठमा काम गरेको र अनलाइन कारोबार प्रणाली कार्वनयनमा ढिलाई गरेको भन्दै नेप्सेमा सेयर लगानीकर्ताहरुले धर्ना समेत दिएका थिए ।

यता थपलियालाई राम्रो काम गर्ने महाप्रबन्धक भन्नेहरुपनि छन् । नेप्सेमा रहेर अनलाइन प्रणालीको प्रक्रिया अगाडी बढाएको, सेयर बजारलाई अझ व्यवस्थित बनाएको, सेयर ब्रोकरका पक्षमा काम गरेको र लगानीकर्ताहरुको हक हितका लागि समेत काम गरेको तर्क दिनेहरुपनि छन् । यसो त उनको यो क्षमताको सम्मान भन्दै केहि महिना अगाडी मेनेजमेन्ट एसोसीएसन अफ नेपाल (म्यान) ले उनलाई अवार्डद्वारा सम्मान समेत गरेको थियो ।   

यद्यपी अधिकांस लगानीकर्ताहरु सीताराम थपलियाको विकल्प खोज्नुपर्ने बताउँछन् । सेयर लगानीकर्ता संघका महासचिव नवराज सुवेदी भन्छन्, 'सीताराम थपलियालाई महाप्रबन्धक पदमा दोहोर्याउने कुरा हामीले पनि सुनेका हौँ । अहिले यो चर्चा जताततै रहेछ । यसका लागि राजनीतिक लविङ समेत भएको जानकारी हामीलेपनि पाएका छौं । तर उनको विकल्प खोजिनुपर्छ भन्ने हाम्रो राय हो । उनले समग्र लगानीकर्ताहरुको मागलाई सम्बोधन गर्न नसकेको तथ्य सबैलाई थाहा भएकाले उनलाई दोहोर्याउनु खास उपयुक्त हुँदैन ।'    

प्रतिक्रिया दिन चाहेनन् थपलियाले 
हामीले यसबारे सीताराम थपलियाको राय बुझ्ने प्रयास गरेका थियौं । बिहिबार उनको फोन नउठेपछी हामीले शुक्रबार विहान उनलाई एसएमएस गरी यसबारे आफ्नो राय दिन आग्रह गरेका थियौं । तर हाम्रो पटक-पटकको प्रयासमा पनि उनी यो विषयमा बोल्न चाहेनन् ।   


Published Date : Friday, May 19, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...