×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ शक्ति र फोरमभित्र लफडा, उपेन्द्रलाई अध्यक्ष बनाएर बाबुरामलाई दोस्रो वरीयता दिनुपर्ने तर्क

काठमाडौं । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ । दुवै दलमा एकताको पक्ष र विपक्षमा फरक–फरक विचार देखिएपछि एकता प्रक्रिया जटिल बन्दै जान थालेको छ ।
संघीय समाजवादी फोरमका केही नेता बाबुराम भट्टराईले मधेसलाई धोका दिएकाले उनलाई नेता स्वीकार गर्न नसकिने तर्क गर्दै उपेन्द्र यादवको नेतृत्वमा मात्रै एकता हुनुपर्ने पक्षमा छन् । तर, नयाँ शक्तिका नेताहरू भने बाबुरामको नेतृत्वमा मात्रै एकता सम्भव भएको तर्क गरिरहेका छन् ।
राजनीति नबुझेका व्यक्तिहरूले पार्टी एकता भाँड्न लागिपरेको नयाँ शक्तिका नेता खिमलाल देवकोटाको टिप्पणी छ । एकताबारे निर्णय गर्न नयाँ शक्तिले सोमबार र मंगलबार केन्द्रीय कार्यकारिणी, बुधबार र बिहीबार केन्द्रीय परिषद्को बैठक बोलाएको छ । एकताबारे फोरमबाट राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिबाट देवेन्द्र पौडेलको नेतृत्वको वार्ता टोलीले छलफल जारी राखेको छ ।

छलफलका तीन बुँदा

बाबुरामको वरीयता

बाबुराम भट्टराईलाई एक नम्बरको नेतासहितको भूमिका हुने कि नहुने भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन । वार्ता टोलीबीच छलफल भइरहेको छ । नयाँ शक्तिका नेता खिमलाल देवकोटाको भनाइमा बाबुरामलाई वरीयतामा एक नम्बर, उपेन्द्र यादवलाई दुई र अशोक राईलाई तीन नम्बरमा राख्ने सहमति भएको, तर कुन पदीय नाम राख्ने भन्नेचाहिँ टुंगिएको छैन ।

पार्टीको नाम

एकतापछि पार्टीका नाम के राख्ने भन्नेमा मत मिलेको छैन । अहिलेसम्म पार्टीको नाम समाजवादी पार्टी राख्ने भन्ने छलफल चलिरहेको छ । तर, प्रदेश नम्बर २ मा हुने २ असोजको स्थानीय निर्वाचनमा असर पर्न सक्ने भन्दै फोरम भन्ने शब्द कतै जोड्नुपर्ने तर्क संघीय समाजवादी फोरमका नेताहरूको छ ।

पार्टीको झन्डा

पार्टीको झन्डाबारे अनौपचारिक सहमति जुटेको छ । झन्डामा रातो पृष्ठभूमिमा एउटा तारा हुने वार्ता समितिका सदस्यसमेत रहेका देवकोटाले जानकारी दिए ।

फोरममा तीनथरी मत

राजेन्द्र श्रेष्ठ पक्ष असन्तुष्ट

संघीय समाजवादी फोरमभित्र नयाँ शक्तिसँग एकता गर्नेबारे विवाद देखिएको छ । फोरमभित्रका जनजाति नेताहरू बाबुरामलाई तत्काल स्वीकार गर्ने पक्षमा देखिएका छैनन् । साथै, केही मधेसी नेताहरू पनि बाबुरामलाई पार्टीमा ल्याउन नहुने तर्क गरिरहेका छन् । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बाबुरामलाई फोरममा ल्याउने पक्षमा सकारात्मक छैनन् । तर, उनी एकताका लागि गठन गरिएको वार्ता समितिको सदस्य छन् । बाबुरामले पहिचानको मुद्दा छोडिसकेको उनको तर्क छ । तेस्रो वरीयतामा रहेका श्रेष्ठमा बाबुरामलाई भित्राएपछि पोर्टफोलियो के हुने भन्ने चिन्ता देखिएको फोरम स्रोतको भनाइ छ ।

बाबुरामबाट संविधानमा धोका

अहिले बाबुराम भट्टराईलाई हेर्ने दृष्टिकोणमा पनि फोरमभित्र विवाद छ । ३ असोज ०७२ मा संविधान जारी गर्न प्रमुख भूमिका खेलेका बाबुरामप्रति मधेसमा सकारात्मक धारणा नभएकाले उनलाई स्वीकार गर्न नसकिने तर्क फोरमभित्र जबर्जस्त छ । यो मत राख्नेमा उपेन्द्र यादव पक्षधर मधेसी मूलका नेताहरू छन् । तर, स्वयं उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई भने बाबुरामलाई एकतामा ल्याउन चाहन्छन् ।

बाबुरामलाई दोस्रो वरीयता

फोरमभित्र उपेन्द्र यादवलाई अध्यक्ष र बाबुरामलाई दोस्रो तहको नेताका रूपमा एकता गराउने तर्क पनि छ । केहीले बाबुरामलाई सर्वोच्च नेता बनाएर उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष बनाउने पक्षमा मत राखेका छन् । बाहिर जुन पद दिए पनि वरीयता क्रममा भने पहिलो उपेन्द्र यादव, दोस्रोमा बाबुराम भट्टराई, तेस्रोमा अशोक राईलाई राख्ने विषयमा फोरमभित्र करिब–करिब सहमति छ । दुई पार्टीबीच भएको छलफलमा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई चक्रीय प्रणालीअनुसार अध्यक्ष बनाउने कि भन्ने विकल्पमा पनि छलफल चलिरहेको छ । स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिको कमजोर उपस्थिति देखिएपछि फोरमका अधिकांश नेताहरू बाबुरामलाई पहिलो वरीयताको नेता स्वीकार गर्न नसकिने तर्क गरिरहेका छन् । तर, अहिलेसम्मका वार्तामा पदीय मर्यादा भने मिलिसकेको छैन ।

नयाँ शक्तिभित्र झन् लफडा
केशव दाहालहरू साझातिर

नयाँ शक्तिका केशव दाहाल, डम्बर खतिवडालगायतका नेताहरू फोरमसँग एकता गर्ने पक्षमा छैनन् । उनीहरूले बरु साझा पार्टी र विवेकशील नेपाली दलसँग एकता गर्न सकिने धारणा राखेका छन् । उपेन्द्र यादवको फोरम पुरानै दल भएको भन्दै उनीहरू त्यस्तो दलमा नजाने मनस्थितिमा छन् ।

एनजिओवालाको अर्कै मत

लामो समय आइएनजिओ–एनजिओमा बिताएका केही नेताहरू पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्ने पक्षमा छैनन् । डा। प्रदीपमान तुलाचन, लिली थापा, दुर्गा सोबलगायतका नेताहरू एनजिओ पृष्ठभूमिबाट आएका छन् । उनीहरू पार्टी एकताको विषयमा विभाजित छन् । बाबुराम भट्टराईलाई नेता मानेर आएको, तर उनको नेतृत्वमा एकता नहुँदा एकताको सान्दर्भिकता के हो रु भन्ने उनीहरूको प्रश्न छ ।

पूर्वमाओवादी नेताहरू एकताको विपक्षमा

माओवादी पृष्ठभूमिबाट आएका नेताहरू उपेन्द्र यादवलाई नेता मानेर एकतामा जाने पक्षमा देखिएका छैनन् । यो ठूलो समूह माओवादीमा हुँदाका क्षेत्रीय ब्युरो सदस्य रहेका उपेन्द्र यादवलाई नेता नमान्ने पक्षमा छन् । देवेन्द्र पौडेल, कुमार पौडेल, गंगा श्रेष्ठ, खिमलाल देवकोटा त्यतिवेला उपेन्द्रभन्दा सिनियर थिए । त्यही कारण उनीहरू पुरानै पार्टीमा फर्किनसमेत तयार देखिन थालेका छन् ।

बाबुरामले धोका दिएको आरोप

बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति बनाउने सपनामा आएको, तर अहिले एकताको नाममा पुरानै पार्टीमा जाने हो भने उनले गम्भीर धोका दिएको हुने मत पनि बलियो छ । खासगरी यो मत राख्नेमा अन्य दलका पृष्ठभूमि रहेका र विदेशमा रहेका शुभेच्छुक बढी छन् । तर, राजनीति नबुझेका व्यक्तिहरूले बाबुरामले धोका दिएको तर्क गर्ने अतिवादी धारणा रहेको नयाँ शक्तिका नेता खिमलाल देवकोटाको टिप्पणी छ ।

बाबुरामको नेतृत्व अनिवार्य

एकताका क्रममा बाबुराम भट्टराईलाई प्रमुख नेता बनाउनुपर्ने तर्क नयाँ शक्तिका नेताहरूको छ । बाबुरामलाई नेतृत्व नदिने अवस्थामा एकता आवश्यक नभएको उनीहरूको बुझाइ छ । बाबुरामको नेतृत्वमा बाहेक एकता स्वीकार्य नभएको नयाँ शक्तिका नेता गंगा श्रेष्ठले बताए । नयाँ पत्रिकामा खबर छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: