×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेन्सबर्गको नक्कली ‘स्टिकर’सँगै दोहोरो धन्दाकोे खुलासा, प्रधानमन्त्री शेरबहादुर देउवा ‘लंगौटिया यार’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ श्रावण २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

टेन्सबर्गको नक्कली ‘स्टिकर’सँगै दोहोरो धन्दाकोे खुलासा, प्रधानमन्त्री शेरबहादुर देउवा ‘लंगौटिया यार’ !

काठमाडौं- आर्थिक राष्ट्रिय दैनिकले गत बुधबारको अंकमा नक्कली ‘स्टिकर’ प्रयोग गरी टेन्सबर्ग बियर बिक्री भन्ने शीर्षकमा प्रथम पृष्ठमा समाचार प्रकाशित गरेसँगै समाचार प्रकाशितपश्चात् पसिना छोडेका टाइगर्स बु्रअरी इण्डस्ट्रिज प्रा.लि. सौ–फर्साटिकर रुपन्देहीका सञ्चालक तेजेन्द्र खड्काले अवैध कारोबार छताछुल्ल हुने डरले बिहीबार राजधानीमा एकाएक पत्रकार सम्मेलन गरे । उक्त पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम अहिलेसम्मकै उच्च खर्चमा सम्पन्न भएको समाचार सूत्रले जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको आँखामा सम्बन्धको छारो हाल्ने योजनामा देशको उच्चपदस्थ व्यक्तित्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लंगौटिया यार’को दर्जा दिँदै उनले भनेका छन्, ‘शेरबहादुरजीसँग म कुरा गर्छु, नेपालमा उत्पादित बियर भारतमा निर्यात गर्नसके नेपाल भारतको व्यापारघाटा कम हुन्छ । उहाँ भारत भ्रमणमा जाँदै हुनुहुन्छ, त्यो समय नेपालमा उत्पादित टेन्सबर्ग बियरको भारतमा पनि बजार विस्तार गर्नुप¥यो, नेपाल र भारत सरकारले करछुट दिनेलगायतका बाधा अड्चनहरु फुकाउनुप-यो भनेर भारत सरकारसँग आग्रह गर्न म भन्छु, जसले नेपालको भारत सँगको व्यापार घाटालाई न्यून गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’
राजधानीको उक्त पत्रकार सम्मेलनपश्चात् खड्काले केही पत्रकारलाई सरकारका सम्बन्धित मन्त्रीसँग भेटघाट गराएर टेन्सबर्ग बियरको भविष्य सुनिश्चित गर्नसके ठूलो धनराशि खर्च गर्न आफू तयार भएको बताएको समाचार सूत्रको दाबी छ । उनले केही पत्रकारसँग भनेका छन्, ‘धेरै तपाईंहरु खानुस् म थोरैमा चित्त बुझाउँला, तर वाणिज्य तथा आपूर्तिमन्त्रीलगायत उच्च सरोकारवाला पक्षसँग भेट गराएर करछुट तथा करछलीको वातावरण मिलाउनुपर्छ, हामी सबैले मिलेर भाग पुग्दो खाऊँ काल पुग्दो मरौँ । सोहीपश्चात् तपाईंहरुलाई के गर्ने भन्ने जिम्मेवारी मेरो भयो । दु.खी पटक्कै पार्दिनँ ।’ उनले आफ्नो पक्षमा वकालत भए सधैँ खुसी र सुखी पारिदिने भन्दै अनगिन्ती सपना देखाएको स्रोतले जनाएको छ ।
बुधबार प्रकाशित समाचारपश्चात् आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेसँगै टाइगर्स बु्रअरी इण्डस्ट्रिज प्रा.लि.ले नक्कली अवैध ‘स्टिकर’सँगै कम्पनीको दोहोरो धन्दा चलाएको उक्त कम्पनीको एक गोप्य समाचार सूत्रले जनाएको छ । गोप्य समाचार सूत्रले जनाएअनुसार आन्तरिक राजस्व विभागको संरक्षणमा टेन्सबर्ग ६५० एमएल स्टिकर प्रयोग गर्नुपर्ने स्थानमा ४० यूपीको ३७५ एमएलको मदिराको ‘स्टिकर’ लगाएर ६५० एमएल बियर बिक्रीवितरण गर्नु एउटा अवैध धन्दा हो भने प्रत्येक बियरको पेटीमा तलमाथि दुईवटा स्टिकर सेण्टरमा पेटीको बीचको कटिङ भागमा टाँस्नुपर्ने कानुनी प्रावधान भए पनि त्यसो नगरेर नीतिनियमको उल्लङ्घन गर्दै अधिकांश पहाडी जिल्लाहरुमा पेटीको माथि अन्तःशुल्कको ‘स्टिकर’ टाँस्नु तल नटाँस्नुले पनि थप धन्दाको पर्दाफास भएको छ । सूत्रले जनाएअनुसार १०० पेटी बियरको कम्तीमा ३० पेटीजतिमा एकापट्टी मात्र अन्तःशुल्कको ‘स्टिकर’ टाँसिएका बियरका पेटीहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पालगायतका पहाडी जिल्लाहरुको पठाउने गरेको समाचार स्रोतले खुलाएको छ ।
हुन त सरकारले अन्तःशुल्क लिएपछि फ्रिमा अन्तःशुल्कको ‘स्टिकर’ दिनुपर्ने हो तर ‘स्टिकर’को लागि मदिरा उद्योगले ०.२५ पैसा सरकारलाई तिर्नुपर्छ । बियरको हकमा प्रतिदुई ‘स्टिकर’ले एक कार्टुन बियर भन्ने बुझाउँछ भने उद्योगले सोही अनुसार थप अन्तःशुल्क तिर्नुपर्छ । एक ‘स्टिकर’ पनि तलमाथि पार्न सकेको अवस्थामा प्रतिकार्टुन आधा अन्तःशुल्कमा करछली गर्न सकिन्छ । उसै त ४० यूपीको ३७५ एमएलको मदिराको ‘स्टिकर’ लगाएर झण्डै आधा करछली गर्न सफल टेन्सबर्गले थप एकापट्टी मात्र अन्तःशुल्कको ‘स्टिकर’ टाँस्दा उक्त आधारमा पनि ३० प्रतिशत कर छल्न सफल भएको छ भने सरोकारवाला निकायका केही उच्चपदस्थ अधिकारीहरु खड्काको गुलाम हुनमै व्यस्त रहेका छन् ।
टाइगर्स ब्रुअरीसँगै अधिकांश मदिरा उद्योगहरुमा अवैध कार्य चल्नाले यतिबेला सर्वसाधारणको विश्लेषणमा मिलेमतोको अवैध धन्दा भएको छ । टेन्सबर्गले अवैध ‘स्टिकर’ प्रयोग गरेसँगै पाल्पाको दोभानमा अवस्थित दोभान आसवित्र प्रा.लि. सोही धन्दाको कारण सिलबन्दीमा परेको छ । विगतमा क्रिष्टल बोटलर्सलगायतका उद्योगहरु अवैध कारोबारको कारण सिलबन्दी हुनुले राजस्व अधिकारीहरु विवादमा मुछिएर प्रत्यक्ष संलग्न रहेको स्पष्ट भएको छ । यता सरकारले माफियाको अगाडि पैसाको लालचमा घुँडा टेकेको पनि स्पष्ट छ । 
राजस्व छल्ने टेन्सबर्गमा कालोधन लगानी !
टिप्पणी
शंकास्पद लगानीमा बुटवलमा खुलेको टाइगर बु्रअरी इन्डस्ट्रिज प्रालिका सञ्चालक तेजेन्द्र सिंह खड्काले गत बिहीबार इमानदार पत्रकारहरुलाई रिपोर्टस क्लबमा भेला गरेर आर्थिक दैनिकमा ११ गते बुधबार प्रकाशित समाचार नपढ्न, नहेर्न र त्यसका पछि नलाग्न निर्देशन दिए । तर छापिएको समाचारको मूल विषयवस्तुको खण्डन गरेनन् । त्यति मात्र होइन, त्यसको उठान समेत गर्न सकेनन् ।
प्रकाशित समाचारबारे चित्त नबुझेमा सम्बन्धित पक्षले सोही अखबारमा खण्डन प्रकाशित गर्न सक्ने भए पनि खड्काले आर्थिक दैनिकमा खण्डन गर्न आवश्यक ठानेनन् । एक जना स्वनामधन्य सञ्चार उद्यमी उनीबाट पालित र पोषित रहेछन् । सोही कारण उनीसँगको सल्लाह र उनकै सुझावमा खड्काले रिपोर्टर्स क्लबमा उनले बोलाउँदा भेला हुने इमानदार एवं निष्ठावान् पत्रकारहरुलाई भेला गरेर आर्थिक दैनिकविरुद्ध विषवमन गरे तर समाचारको खण्डन गर्नसकेनन् ।
आर्थिक दैनिकलाई गाली गर्ने नाममा उनलाई जे जसरी सिंगारिएको थियो, त्यहाँ बक्दै जाँदा उनी आफैँ नाङ्गै भएको उनले पछि मात्रै थाहा पाए । उनको त्यहाँको अभिव्यक्तिले उनी सम्पत्ति शुद्धीकरणको छानबिनको दायराभित्र पनि तानिएका छन् । १२ वर्षको उमेरमा भारतमा रोजगारीका लागि गएको एउटा गरिब एवं अर्धसाक्षर केटोले के कस्ता काम गरेर नेपालमा एक अर्ब रुपैयाँको लगानीमा अहिले टाइगर ब्रुअरी कम्पनी खोल्यो होला ? एकीनसाथ यही गरेर उसले पैसा जम्मा ग¥यो भन्न सकिँदैन । यति भन्न सकिन्छ कि उसले वैध काम गरेर त्यो रकम जम्मा गर्नसकेन । खड्काले थुपारेको रकम कालोधन हुनसक्छ । त्यो कालोधन नक्कली भारतीय मुुद्राको अवैध कारोबारबाट जम्मा भएको हुनसक्छ, अवैध हतियारको कारोबारको कमिसनबाट उक्त रकम जम्मा गरेको पनि हुनसक्छ । त्यो रकम लागुऔषधको अवैध कारोबारबाट जम्मा गरेको पनि हुनसक्छ । वैध कारोबारबाट एक निर्धन तथा अर्धसाक्षर खड्काले निम्नस्तरको काम गरेर यति ठूलो धनराशि कमाउन सम्भव देखिँदैन । त्यही कालोधनको लगानीमा खुलेको टाइगर ब्रुअरीका सञ्चालक तेजेन्द्र सिंह खड्काले नियम कानुुनअनुसार काम नगर्नु कुनै अनौठो कुरा होइन । कालोधन खर्चेर कर्मचारी प्रशासनलाई खरिद गर्नु र आफूअनुकूल निर्णय गराउनु हाम्रोजस्तो भ्रष्टाचारले गाँजेको मुलुकमा कुनै असजिलो कार्य होइन । त्यही कारण खड्काले एउटा पत्रिकामा छापिएको समाचार बुँदागत रुपमा त्यही पत्रिकामा खण्डन नगरेर अवैध बाटो अपनाएको पाइएको छ । त्यही कालोधनको प्रभावका कारण कम्पनी रजिस्ट्रार र उद्योग विभागमा परेका टेन्सबर्ग, लण्डन आइसको विरुद्ध ट्रेडमार्क चोरीको उजुरीमा कुुनै छानबिन नै भएको छैन । भारतको हरियाणामा १७ अर्ब र विहारमा तीन अर्ब राजस्व तिरेको दाबी गर्ने खड्काले उक्त राजस्व तिर्ने व्यवसायको लगानी कसरी र कहाँबाट भएको भन्ने खुुलाउनसकेका छैनन् । उत्पादन भएको दुवै वर्ष ६५० एमएलको टेन्सबर्ग बियरमा आन्तरिक राजस्व विभागका उच्चपदस्थ कर्मचारीहरुसँगको मिलेमतोमा ३७५ एमएलको ‘स्टिकर’ टाँसेर बेच्ने सुविधा पाउँदै आएका खड्काले ‘स्टिकर’ हेराफेरी भई झण्डै आधा राजस्व छलेको यथार्थ कसैबाट छिपेको छैन ।
६५० एमएलको ह्विस्कीको ‘स्टिकर’ लगाउने अनुमति उसले मात्रै किन पटक–पटक पायो भन्ने प्रश्नको जवाफ उनीहरुसँग छैन । किनकि त्यहीँ भएको थियो मिलेमतो र त्यहीँ भएको थियो राजस्व मार्ने निर्णय । त्यसरी मारिएको आधा राजस्वमा आधा आधा भागबण्डा गरिएको छ । मासिक तीन लाख कार्टुन बियर उत्पादन गरेर त्यसमा आधा राजस्व छल्दा मुलुुकलाई कति राजस्व घाटा भयो भन्नेतर्फ आन्तरिक राजस्व विभागले ध्यान दिएको छैन । कालोधनको मालिक दारुवाला खड्काले विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासँगको विशेष मिलोमतोमा निर्बाध रुपमा उक्त धन्दा सञ्चालन गर्दै आएका हुन् । खड्काले जो चोर उसैको ठूलो स्वर भनेजस्तो गरेका छन् । आर्थिक दैनिकमा प्रकाशित समाचारलाई भ्रामक, कपोलकल्पित र पीत पत्रकारिता भने पनि कर्मचारीसँगकोे मिलेमतोमा राजस्व मारेको कुराको खण्डन गर्नसकेका छैनन् । आफूले राजस्व मारेकोे कुराबाट राज्यको ध्यान अन्यत्र मोड्न उनले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा यस्तो र उस्तो गर्नुपर्छ भनेर उपदेश दिएका छन् । स्याल आयो स्याल आयो भनेर सबैको ध्यान अन्यत्र मोडेर चल्ला टिप्ने चिलको कथासँग खड्काको यो कथन ठ्याक्कै मेल खाएको छ ।
आर्थिक दैनिकका प्रतिनिधिले टेन्सबर्ग बियरका महाप्रबन्धक सुुबोध राणासँग यो के भएको हो भनी प्रश्न गर्न पटक—पटक उनको मोबाइल नम्बर ९८०१०९५३५९ मा सम्पर्क गर्दा उनले स्पष्ट जवाफ दिएनन् । उनले पछि फोन गर्छु भनेर फोन काटिदिए तर फोन गरेनन् । सुबोध राणा र कालोधनको मालिक तेजेन्द्रसिंह खड्का ‘स्टिकर’ हेराफेरीबाट राज्यलाई राजस्व उठौतीमा नोक्सान पु¥याएको र राज्यकोषमा जानुपर्ने रकम आपसी भगबण्डा गरी खाएको बारेमा छापिएको समाचारको खण्डन गर्न सामथ्र्य राख्दैनन् र त्यही कारण उनीहरु अन्यत्र त्यसको समाधान खोजिरहेका छन् । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: