टुरिजमको आजदेखि संस्थापक सेयर लिलामी खुल्यो, सर्वसाधारणले पनि भर्न पाउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - टुरिजम डेभलपमेन्ट बैंकले बिहीबारदेखि संस्थापक समूहको ८२ हजार ५२३.८० कित्ता सेयर सर्वसाधारणले पनि भर्न पाउने गरी लिलामी थालेको छ । यसअघि बैंकले असार ७ देखि १५ गतेसम्म संस्थापक समूहको ४ लाख ३८ हजार २००.८० कित्ता र सर्वसाधारण समूहको २ लाख ६६ हजार ५३७.२० कित्ता सेयर लिलामीमा ल्याएको थियो । तर यो समयमा ८२ हजार ५२३.८० कित्तामा संस्थापक सेयरधनीले आवेदन नदिएपछि अब सर्वसाधारणले पनि किन्न पाउने गरी लिलामी खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ भन्दा बढी भाउ तोकी बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाट काठमाडौंमा पुग्नेगरी आवेदन फारम बुझाउनु पर्नेछ ।

बैंकले लिलामी भर्ने अन्तिम म्याद साउन ५ गते तोकेको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसको बोलपत्र साउन ६ गते बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केटको कार्यालयमा खोलिनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा टुरिजमको चुक्ता पुँजी १ अर्ब ११ करोड २० लाख रुपैयाँ छ । बैंकले २० करोड ९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७९ पैसा छ । टुरिजम बैंक हाल मेगा बैंकसँग मिसिने प्रक्रियामा छ ।
प्रकाशित : Thursday, July 13, 2017

recent

Popular Posts