चूडामणि शर्माका ‘साथी’ को अस्वाभाविक दौडधुप !


आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा राखिएको टेकुस्थित प्रहरी परिसरको थुनुवा घर । गत साउन १९ गते बिहान उक्त थुनुवा घरमा शर्मालाई ‘साथी’ नाता उल्लेख गरेका एक व्यक्तिले भेटे । पर्सिपल्ट २१ गते साँझ तिनै व्यक्तिले आफूलाई ‘साथी’ नै उल्लेख गरी शर्मालाई भेटे । यी दुई भेटघाटबीच ती व्यक्तिको दौडधुप रहस्यमय एवं अस्वाभाविक देखिएको छ ।

शर्मालाई भेटेको भोलिपल्ट ती व्यक्तिले केही न्यायाधीशलाई भेट्ने प्रयास गरेको सर्वोच्च अदालतको उच्च स्रोतले कान्तिपुरलाई बतायो । भेटघाटको दौडधुपकै क्रममा ती व्यक्ति एक न्यायाधीशको घरसम्म पुगेर केहीबेरमा बाहिरिएका थिए । ‘चूडामणिलाई भेटिसकेका ती व्यक्तिले केही न्यायाधीशलाई बारम्बार भेट्ने प्रयास गरेका रहेछन्,’ उच्च स्रोतले भन्यो, ‘एक न्यायाधीशले भेट्नै मानेनन् । अर्काको घरमा भने पुगेर फर्किएको थाहा भयो ।’ स्रोतका अनुसार शर्मालाई भेटेपछि दुई दिनको दौडधुपपछि ती व्यक्तिले पर्सिपल्ट साँझ शर्मालाई फेरि भेटेका थिए । गत २१ गते साँझपछि भने दुईबीच भेटघाट भएको खुलेको छैन ।

चूडामणि शर्माका ती ‘साथी’ आफूलाई पत्रकार भनेर चिनाउने नारायण दाहाल हुन् । सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले केही दिनअघि ती व्यक्ति आफ्नो घरमा आएको स्विकारे । ‘उहाँ केही दिनअघि मेरो घरमा आएर जानुभएको हो,’ जोशीले कान्तिपुरसँग टेलिफोनमा भने, ‘उहाँ मेरो छिमेकी, भेट्न आइरहनुहुन्छ ।’ उनले त्यो भेटघाट सामान्य रहेको पनि उल्लेख गरे । हिरासतमा रहेका शर्मासँगको भेटपछि दाहाल सम्बन्धित मुद्दा हेरिरहेका न्यायाधीशकहाँ पुगेका हुन् । दाहालले शर्मालाई भेटेको बारे न्यायाधीश जोशी जानकार रहे–नरहेको भने प्रस्ट हुन सकेन ।

आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै शर्माकी पत्नी कल्पना उप्रेती शर्माले गत असार २७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । मुद्दा एक महिनामा झन्डै १४ दिन पेसीमा चढिसकेको छ । १२ पटकसम्म ‘हेर्दाहेर्दै’ को अवस्थामा रहेको मुद्दा अझै किनारा लाग्न सकेको छैन । बरु अख्तियारको थुनुवा घरबाट प्रहरीको थुनुवा घर पुगेका शर्माले आफ्ना नातेदार र साथीसँगको भेटघाट तीव्र बनाएका हुन् । 

निवेदकले मूलत: तीनवटा विषयवस्तु उठाएकी छन् । पहिलो, आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखेकाले उनको नि:सर्त रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको आदेश जारी होस् । दोस्रो, कर फस्र्योट आयोगले गरेको कामकारबाहीमाथि अख्तियारको क्षेत्राधिकार आकर्षित हुँदैन । अर्कोतर्फ रिट निवेदनमा चूडामणिमाथि अख्तियारले मागदाबी गरेको बिगो निकै बढी र अमानवीय प्रकृतिको रहेको दाबी । तेस्रो बुँदाले शर्माको सन्दर्भमा गरिएका अघिल्ला दुई मागदाबीलाई स्वत: कमजोर बनाए पनि संयुक्त इजलासले त्यसको निरूपण गर्न सकेन र विवादलाई पूर्ण इजलासमा पठाएको थियो । 

संयुक्त इजलासले गत साउन ४ गते शर्माको मुद्दा पूर्ण इजलासमा पठाउँदा केही महत्त्वपूर्ण प्रश्नसमेत उठाएको छ । उक्त इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा ‘गम्भीर कानुनी प्रश्न’ जोडिएको भन्दै मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय गर्‍यो । साथै, कर फस्र्योट आयोग अर्धन्यायिक या प्रशासनिक निकाय के हो भन्नेबारेमा निक्र्योल हुनुपर्नेसमेत ठम्यायो, जबकि यो प्रश्न रिट निवेदनमा समेत समावेश थिएन । अर्को महत्त्वपूर्ण पक्ष त के छ भने सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको विवाद टुंगो नलाग्दासम्म विशेष अदालतमा दायर शर्माविरुद्धको भ्रष्टाचार मुद्दा यथास्थितिमा राख्नसमेत आदेश दियो । 

शर्माको मुद्दा करिब तीन सातादेखि सर्वोच्च अदालतको ५ सदस्यीय पूर्ण इजलासमा विचाराधीन छ । यसबीच शर्मा पक्षले अख्तियारको हिरासत अनुचित भएको भन्दै उनलाई न्यायिक हिरासतमा राख्नुपर्ने विषयलाई महत्त्व दिई बहस गरे । त्यसैअनुसार सर्वोच्चले गत १७ गते शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दियो । त्यस दिनदेखि शर्मा अख्तियार परिसरको थुनुवा घरबाट टेकुस्थित प्रहरी परिसरको थुनुवा कक्षमा छन् । अख्तियारको हिरासतमा रहेका व्यक्तिलाई भेट्न आउनेको क्रियाकलाप र कुराकानीको समेत नजिकबाट निगरानी हुन्छ । आफ्ना नजिकका व्यक्तिलाई भेट्न कठिनाइ भएपछि चूडामणि पक्षले ‘न्यायिक हिरासत’ को पक्षलाई जोडदारका साथ उठाएको थियो । सामान्यतया कारागारलाई न्यायिक हिरासत भनिए पनि सर्वोच्च अदालतको आदेशपछि शर्मा प्रहरी थुनामा छन् । प्रहरी र अख्तियारको थुनुवा घर समान हैसियतको हो ।

अख्तियारले हिरासतमा लिएपछि बारम्बार ‘आफू बिरामी भएको’ भनी शर्मा छटपटाएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर उनले आफूलाई नर्भिक अस्पताल लैजान पटकपटक दबाब दिए र भर्नासमेत भए । ‘जसरी हुन्छ उनी भेटघाट र गोप्य कुराकानी सहज हुने ठाउँमा आफूलाई सार्न प्रयासरत थिए,’ स्रोतले भन्यो, ‘सुरुमा निजी अस्पतालमा लैजान माग गरे, मुद्दा दायर गरेपछि भने अख्तियारको हिरासतबाट मुक्त भएर प्रहरी वा कारागारको थुनुवा कक्षमा जान चाहन्थे ।’ कान्तिपुरमा खबर छ । 
प्रकाशित : Wednesday, August 09, 2017

recent

Popular Posts