आफूमाथि बम हानिएपछि शेरधन राईले दिए यस्तो सनसनीपूर्ण प्रतिक्रिया

एमाले उम्मेदवार शेरधन राईले मंगलबार भएको बम आक्रमण आफूमाथि हत्या गर्ने उद्देश्यका साथ भएको प्रतिक्रिया दिएका छन् ।

बुधबार मिडिया सेन्टर भोजपुरले गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले नियोजित ढंगले आफूमाथि हमला गराइएको बताएका छन् ।

नजिकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन बिथोल्ने किसिमका गतिबिधि भइरहेका बेला भोजपुरमा यस्तो घटना हुनुमा सिंगो गठबन्धनको तर्फबाट घोर निन्दा गरेको राईले बताए ।

‘यो घटना मेरो हत्या गर्ने उद्देश्यका साथ घटाइएको छ, यस घटनाप्रति म सिंगो वाम गठबन्धनको तर्फबाट घोर निन्दा र भत्र्सना गर्न चाहान्छु’, राईले भने ।

राईले घटनामा संलग्न दोषिलाई चाँडो भन्दा चाँडो पत्ता लगाई कडाभन्दा कडा कानुनी कठघरामा उभ्याउन सरकारसमक्ष माग गरेका छन् ।

राईले घटनाको विषयमा कसैले जिम्मेवारी नलिएको र घटनाको प्रकृतिलाई हेर्दा जघन्य सांघातिक हमलाको संज्ञा दिएका छन् । ‘घटना तर्साउनका लागि नभएर ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरिएको हो’, राईले भने, ‘घटना गम्भीर र रहस्यमय छ’, उनले भने ।

उच्चस्तरीय समिति गठन गरेर घटनाको छानबिन गर्नुपर्ने उनले जोड दिए । बाम गठबन्धनको तर्फबाट भोजपुर (क)का उम्मेदवार तथा एमाले नेता राजेन्द्र राईले बताए घटना शंकास्पद र रहस्यमय बनेको भन्दै तत्काल छानबिन गर्नुपर्ने बताए ।

अन्योलताको भुमरी रुमल्लने, निर्वाचन हुन नदिने प्रवृतिले घटना घटाइएको उनले बताए । घटनाको कसैले जिम्मेवारी नलिएपनि कम्पासको काँटाले देखाइरहेको वाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन राईले बताए ।

केही बर्षअघिको चाम्लादाङ घटना, केही महिनाअघिको प्याउली घटना र मंगलबार भएको पूर्वमन्त्रीमाथिको घटना जोडेर हेर्दा भोजपुरमा गिरोह नै सक्रिय भएको उनले बताए ।

मंगलबार चुनावी सभाका लागि पूर्वमन्त्री तथा उम्मेदवार शेरधन राई चढेको जिपमाथि टेम्के मैयुङ गाउँपालिका ५, कोटको गुम्बाटोलस्थित बिहान ९ः ५० बजे करिब ६ जनाको अज्ञात समूहले सकेट बम प्रहार गरेको थियो।

जवाफीमा उम्मेदवार राईका अंगरक्षक डिल्ली देवकोटाले २१ राउण्ड गोली प्रहार गरेका थिए । उम्मेदवार राईलाई सुरक्षा दिने क्रममा देवकोटाको दाँया हातमा चोट लागेर घाइते भएका छन् ।
प्रकाशित : Wednesday, November 15, 2017
,

recent

Popular Posts