×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्जिनियरिङको १० करोडभन्दा बढी हिनामिना, करोडौं रुपैयाँ व्यक्तिको खातामा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्जिनियरिङको १० करोडभन्दा बढी हिनामिना, करोडौं रुपैयाँ व्यक्तिको खातामा !

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ । कलेजस्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा व्यक्तिको खातामा गएको देखिन्छ । 
‘कलेजको खाताबाट केही सञ्चालकको खातामा बारम्बार रकम निकासा गरेको देखिन्छ,’ कलेजस्रोतले भन्यो, ‘तलब र अन्य सुविधाबाहेक विभिन्न शीर्षकमा खर्च देखाई रकम निकालिएको छ ।’ सादा कागजमा विवरण लेखेर कतिपय खर्चको औचित्य पुष्टि गर्न खोजिएको स्रोतले बतायो । 
जनसम्पर्क र विद्यार्थी संगठनका नाममा खर्च देखाइएको छ । विद्यार्थी संगठनलाई बाँडेको भनी ८ करोड २५ लाख रुपैयाँ खर्च देखाइएको छ । ‘तर भर्पाइ र रसिद भने लेखाको कागजातमा देखिँदैन,’ स्रोतले भन्यो । कलेज सञ्चालक समितिका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेका नाममा पटक–पटक गरी ८ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको छ । नियमित तलबबाहेक उनले जनसम्पर्क, यातायात र अन्य खर्चका नाममा भुक्तानी लिएका छन् । अर्का सञ्चालक लवराज भट्टराईले २ करोड ३२ लाख रुपैयाँ निकासा लिएको लेखास्रोतले बतायो ।
सञ्चालकहरू उपेन्द्र गौतम र सूर्यबहादुर केसीका नाममा भएको भुक्तानीसमेत २/२ करोड रुपैयाँ नाघेको देखिन्छ । कलेजका सञ्चालकहरूले लिएको भुक्तानीको कागजात कान्तिपुरसँग सुरक्षित छ । 
सामाजिक संस्थाका रूपमा सञ्चालित कलेजका सञ्चालकहरूले आफूहरूलाई डेढ/डेढ करोड रुपैयाँ बाँड्ने विवादास्पद निर्णय गरेका थिए । हरि पाण्डे र दीपक भट्टराईबाहेक सबै सञ्चालकले उक्त रकम बुझिसकेको स्रोतले जनायो । कलेजलाई निजीकरण गरी कम्पनीमा परिणत गर्ने प्रयास भने चौतर्फी विरोधपछि असफल भएको छ । 
कलेजस्रोतबाट प्राप्त कागजातमा खातामा रहेको रकममध्ये विभिन्न शीर्षकमा सञ्चालकहरूलाई सुविधा दिने भनी विवादास्पद निर्णय भएको देखिन्छ । अध्यक्षले वार्षिक डेढ करोड रुपैयाँ विद्यार्थी संगठनका नाममा बाँड्ने निर्णय गराएका छन् । ‘उक्त खर्चको स्रोतसमेत पेस गर्न नपर्ने भनी विवादास्पद निर्णय भएको छ,’ स्रोतले भन्यो । कलेजमा १५ करोड रुपैयाँ उठाउन बाँकी रहेकाले त्यसका लागि १५ प्रतिशत रकम खर्च लाग्ने भन्दै करिब २ करोड २५ लाख रुपैयाँको हिसाब नै देखाउन नपर्ने भनी खर्च गरिएको स्रोतले बतायो ।
कलेजका अध्यक्षका लागि कलेजको विकास र सञ्चालनका नाममा मासिक पारिश्रमिक ५ लाख रुपैयाँ दिने बोर्डले निर्णय गरेको छ । अरू सञ्चालकले मासिक १ लाख २५ हजार रुपैयाँ सुविधा लिइरहेका छन् । त्यसबाहेक अध्यक्षको परिवार अस्ट्रेलियामा रहेको भन्दै वार्षिक रूपमा तीन पटक अस्ट्रेलिया जाने/आउने सुविधा दिने गरेको स्रोतले जनायो । ‘उहाँ मात्रै होइन, श्रीमतीलाई समेत आउनजान सुविधा दिइएको भेटियो,’ स्रोतले भन्यो । 
सञ्चालकमध्येका हरि पाण्डेले विभिन्न नाममा कलेजबाट सञ्चालकहरूले सुविधा लिएको बताए । ‘सुरुमा झुक्किएर मैले पनि सामाजिक संस्थाकै नाममा सुविधा लिएको थिएँ,’ पाण्डेले कान्तिपुरसित भने, ‘यथार्थ थाहा पाएपछि मैले ब्याजसहित रकम फिर्ता गरेको छु । अन्य सञ्चालकले पनि रकम फिर्ता गर्नुपर्छ ।’ उनका अनुसार सबै सञ्चालकलाई रकम फिर्ता गर्न पत्र काटिएको छ । केही अवधिको कागजात हेर्दा सबै सञ्चालकले मासिक सुविधा लिएको कलेज स्रोतले बतायो । 
समाजकल्याण परिषदका प्रवक्ता बोधराज दाहालका अनुसार सामाजिक संस्थाका कर्मचारीबाहेकले पारिश्रमिक र सुविधा लिनु गैरकानुनी मानिन्छ । ‘कुनै व्यक्ति कर्मचारीका रूपमा रहेको छ भने त्यो अवधिमा ऊ सञ्चालक हुन पाउँदैन,’ दाहालले कान्तिपुरसित भने, ‘सामाजिक संस्थाका पदाधिकारीले नियमित पारिश्रमिक वा सुविधा लिनु त सरासर आर्थिक अनियमितता हो ।’ जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको नेपाल इन्जिनियरिङ कलेज हालसम्म पनि सामाजिक संस्थाकै रूपमा सञ्चालित छ । 
गैरनाफामूलक संस्था भएकै कारण कलेजले साबिकको गाविसबाट स्वीकृति लिएर भक्तपुरको चाँगुनारायणमा १ सय ७४ रोपनी सरकारी जग्गामा भौतिक संरचना बनाएको छ । कलेजको आफ्नै भने ३९ रोपनी जग्गा मात्रै छ । कलेजको सञ्चालकमध्येका एक र हाल कार्यवाहक अध्यक्ष बनेका सूर्यबहादुर केसीले कलेजका अध्यक्षलाई पत्र पठाई गैरसरकारी संस्थाका रूपमा स्थापित कलेजलाई निजी कम्पनीमा रूपान्तरण गर्नुपर्ने भनी सोझै प्रस्ताव गरेका थिए । कलेजमा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक र स्नातकोत्तर तहमा विभिन्न कार्यक्रम सञ्चालन गरेको कलेज पुल्चोक इन्जिनियरिङपछि आकर्षक मानिन्छ । -कान्तिपुर 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: