×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगाका सञ्चालकले स्थगन भएको सभाको समेत भत्ता पचाए, सीइओ र अध्यक्षलाई ‘गैरकानुनी’ काम गरेको आरोप !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

मेगाका सञ्चालकले स्थगन भएको सभाको समेत भत्ता पचाए, सीइओ र अध्यक्षलाई ‘गैरकानुनी’ काम गरेको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय निकै विवादमा मुछिएको मेगा बैंकको विशेष साधारण सभालाई लिएर अनेकौं बखेडाहरु निस्किन थालेका छन् । आवश्यक ‘कोरम’ नपुगेर बैंकको विशेष साधारणसभा स्थगन भएपछी एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने काम सुरु भएको छ । मेगाका सीइओसहितको समूह एकातर्फ छ भने संचालक दीपेन्द्र अग्रवाल एक्लै अर्कोतर्फ छन् । तर मङ्सिर ४ गते बसेको मेगा बैंकको विशेष साधारणसभामा अग्रवालकै जीत भएपछी संचालक समितिमा विवादले ठुलो रुप लिएको हो । त्यसमाथि पनि प्रोक्सी नपुगेकाले तत्काल मेगाको विशेष साधारणसभा बस्न नसक्ने भएपछि एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने काम बढेको हो । मेगा बैंकको संचालक समितिका सबैजसो संचालकहरु संचालक दीपेन्द्र अग्रवालमाथि खनिएका छन् । उनी यो मर्जरको विपक्षमा छन् । यता संचालक दीपेन्द्र अग्रवालले पनि बैंकका अध्यक्ष र सीइओले नियमविपरित काम गरेको आरोप लगाएका छन् ।
बोर्डमै आरोप प्रत्यारोप, अग्रवालसँग स्पष्टीकरण मागियो !
यता मेगा बैंकको संचालक समितिको बैठकमै आरोप प्रत्यारोप भएको खबर अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै मेगाका एक संचालकले मर्जरको विपक्षमा बोल्ने दीपेन्द्र अग्रवालका नाममा थुप्रै उजुरीहरु परेको जानकारी दिएका छन् । ‘दीपेन्द्र अग्रवालले साधारणसभा भाँड्ने काम गरेका छन् ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती संचालकले भने, ‘अग्रवालका नाममा थुप्रै उजुरी परेका छन् । अध्यक्षज्यूले उहाँलाई आत्मआलोचना गरेर मर्जरमा सहयोग पुर्याउन समेत आग्रह गर्नुभएको हो । तर उहाँले उल्टै अध्यक्षले आत्मआलोचना गर्नुपर्ने भन्दै ठुला कुरा गर्नुभयो । बोर्ड बैठकमा ठुलै चर्का चर्की भयो ।’
यता मर्जरको विपक्षमा रहेका दीपेन्द्र अग्रवालले भने अन्य संचालकले भनेजसरी कोरम नपुगेपछि अन्य संचालकहरु आफुलाई सिध्याउने खेलमा लागि परेको बताएका छन् । ‘म कुनै पनि हालतमा पछी हट्दिन । मेरो विरुद्ध साथीहरु लाग्नु भएको छ । म लगानीकर्ताको पक्षमा छु । आन्तरिक झगडा के भयो, त्यो म मिडियालाई भन्न चाहान्न ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । उनले संचालक समितिमा आफु विरुद्ध उजुरीहरु परेको भने स्वीकारे । ‘सबै संचालक मिलेर गरेको काम हो यो । मलाइ सिध्याएर लगानीकर्ताको पेटमा लात हान्ने प्रयास भइरहेको छ । तर म पछी हट्नेवाला छैन ।’ उनले भने ।

अध्यक्ष र सीइओले नियमावली विपरित काम गरेको आरोप !
यता मेगा बैंकको नियमावलीमा समेत कम्पनी ऐन अनुसार बोलाइएको साधारणसभामा ५० प्रतिशत भन्दा बढी लगानीकर्ताको अनुमति विना साधारणसभा सुरु गर्न नपाइने नियम छ । तर उक्त नियमको बर्खीलाप गर्दै बैंकका अध्यक्ष र सीइओले घन्टौं बोलेर नियम मिचेको आरोप समेत लगानीकर्ताहरुले लगाएका छन् । यता मेगा बैंकका अन्य संचालकले भने अनौपचारिक कार्यक्रम अनुरुप सीइओ र अध्यक्षले बोलेको बताएका छन् । तर मेगाकै लगानीकर्ताले भने सीइओ र अध्यक्षले दादागिरी देखाएर साधारणसभामा आफ्नो कुराहरु लादेको आरोप लगाएका छन् । ‘साधारणसभा नै सुरु नभई सीइओले प्रिजेन्टेसन गर्न मिल्छ ? घन्टौं गफ दिन मिल्छ ? घन्टौ भाषण गर्न मिल्छ ? अन्य संचालकको विरोध गर्न मिल्छ ?’ एक लगानीकर्ताले अर्थ सरोकार डटकमसँग भने, ‘यस गलत काम विरुद्ध सीइओ र अध्यक्षलाई कारवाही गर्न आवश्यक छ ।’ 
स्थगन भएको भत्ता समेत पचाए संचालकले 
मेगा बैंकका संचालकहरुले स्थगन भएको भत्ता समेत पचाएका छन् । स्थगन भएको भत्ता पाउने कागजमा उनीहरुले सहि गरेका छन् । यता मेगा र टुरिजमको मर्जरको विरोधमा उत्रिएका संचालक दीपेन्द्र अग्रवालले भने उक्त कागजमा सहि गरेका छैनन् । सहि नगरेको भन्दै बोर्ड बैठकमा उनलाई अन्य संचालकहरुले समेत स्पष्टीकरण सोधेको बुझिएको छ भने अग्रवालले एउटा संचालकले अर्को संचालकलाई स्पष्टीकरण सोध्ने कुनै पनि नियम नभएको भन्दै स्पष्टीकरण दिन ‘इन्कार’ गरेको बुझिएको छ । बोर्ड बैठकमा समेत उनीहरुको चर्काचर्की परेको बुझिएको छ । बोर्ड बैठक राती ९ बजे मात्र सकिएको थियो ।
यता विशेष साधारणसभा रोकी पाउँ भनी अदालतमा परेको रिटमा विशेष अदालतले हालका लागि साधारणसभा रोक्नु पर्ने कारण नभएको फैसला गरेको छ । तर आवश्यक प्रोक्सी नपुगेसम्म अर्को विशेष साधारणसभा आयोजना नगर्ने आन्तरिक छलफल भएको छ । यता एक समूहले भने बैंकका सीइओ अनिल शाहले दोहोरो भूमिका खेलेकाले समस्या भएको भन्दै उनले बैंक छाडेपछि मात्र विशेष साधारणसभा बोलाउने बारे बोर्डलाई मौखिक रुपमा ध्यानकार्षण गराएको बुझिएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: