×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिलिकन भ्यालीमा चम्किएका शंकर उप्रेती, जो करोड कमाउँछन् !

अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्याली जोसुकैका लागि सपनाको सहर हो । त्यही सहरमा सपना बुनिरहेका छन् ३४ वर्षीय शंकर उप्रेती । त्यहाँको सिमेन्टिक कर्पोरेशनमा दिमाग खियाइरहेका छन् उनी ।
सेक्युरेटी सफ्टवेयर उत्पादन गर्ने प्रख्यात सिमेन्टिक कर्पोरेशनका उच्च तहका जागिरे हुन् शंकर । बाराको सामान्य परिवारमा जन्मिएर पर्साको वीरगन्जमा हुर्के बढेका उनी अहिले अमेरिकामा बसेर दुनियाँभरका नेटिजनहरुको दैनिकीमा सहज प्रभाव पारिरहेका छन् । 
सिलिकन भ्यालीसम्मको उनको यात्रा अथक मेहनेत, परिश्रम र लगनले भरिएको छ ।
त्यसैले त उनी कलिलै उमेरमा प्रविधि साम्राज्यको त्यो मुटुमा छन् । तर, उनको सपना सिमेन्टिक कर्पोरेशनले मात्र पूरा गर्न सक्दैंन, त्यसैले उनी संसारकै अनुपम मानिने अर्को कम्पनी ताकिरहेका छन् । सम्भवतः केही महिनामै उनले त्यो सपना पनि पूरा गर्नेछन् ।  त्यो क्षण शंकर अझै पनि झलझली सम्झन्छन्, जुन वेला उनी कम्प्युटर छुनकै लागि स्कूलले छुट्टयाइएको खाजा नै माया मार्थे ।
तस्वीर- लिलानाथ घिमिरे ।तस्वीर- लिलानाथ घिमिरे ।
स्कूलमा आधा घन्टाको खाजा खाने समय कटाएर कम्प्युटरमा झुम्मिने उनी अहिले सिलिकन भ्यालीमा बसेर विश्वभरका नेटिजनहरुको दैनिकीसँग जाेडिएका छन् ।शंकर अहिले अमेरिकाको नेभेडा राज्यमा बस्छन् । नेभेडाबाट क्यालिफोर्नियामा रहेको उनको अफिस सिमेन्टिक कर्पोरेशनमा पुग्न दुई घन्टा लाग्छ । उप्रेती आफै गाडी हाँकेर सिलिकन भ्याली पुग्छन्, जहाँको सूचना प्रविधिको बगैचामा उनका सपना फक्रिरहेका छन् । 
जुन कुरा उनको दिमागमा पनि थिएन, जतिखेर उनी वीरगन्जको त्रिजुद्ध माविमा अध्ययन गर्थे । तर, लगन र मेहनेतलाई साथमा लिएर त्यो सबै सम्भव गरेर देखाइदिए उनले । गर्नेहरुलाई के सम्भव छैन ? ‘सन १९९५ मा कम्प्युटर देखेको हुँ । त्यसबेला कक्षा ७ मा पढ्थें,’ उनी भन्छन्, ‘वीरगन्जबाट मेरो कल्पनाको दूरीभन्दा पनि टाढा थियो सिलिकन भ्याली ।’ स्कूलमा २ वटा कम्प्युटर थियो, पढ्ने ४० जना । पढाइको बेलामा छुन त के, कम्प्युटरको नजिकसम्म पर्न पाउँदैनथें उनीहरु । तर, त्यसको क्षतिपूर्ति उठाउने टिफिन टाइममा । खाजा खाने समय आधा घन्टाको हुन्थ्यो तर, भोक चाँही कम्प्युटरको । स्कूलको क्यान्टिनमा के पाक्यो र साथीहरुले के खाए उनलाई मतलब हुँदैनथ्यो । ब्रेकमा अरु क्यान्टिन जान्थे उनी कम्प्युटर ल्याब । अहिले कम्प्युप्टर जंजालहरुको त्यो दुनियाँबाट शंकर यसैलाई आफ्नो सफलताको प्रस्थानविन्दु ठान्छन् ।  
स्कूल पढ्दा कहिल्यै दोस्रो भएनन्, उनी । कम्प्युटरमा उनको अनौठो लगाव थियो । त्यसबेला कम्प्युटरका किताब पाइदैनथ्यो । उनलाई कम्प्युटर प्रोग्रामिङमा रुची थियो । स्कूलमा चाहीँ वर्ड र एक्सल मात्रै सिकाइन्थ्यो । ‘प्रोग्रामिङको बारेमा त धेरैलाई थाहा नै थिएन्,’ उनी एकछिनको स्काइप मिटिङमै नोस्टाल्जिक बन्छन्, ‘त्यसबेला वीरगन्ज बजारमा इलेक्ट्रोनिक्स म्यागेजिन पाइन्थ्यो । त्यही ल्याएर हामी प्रोग्रामिङको प्राक्टिस गथ्र्यौ ।’  त्यसबाहेक उनको अर्को सिक्ने पाठशाला थियो–जिटिभी । जसमा ‘छोटा वाइट’ भन्ने कार्यक्रम आउथ्यो । उनले कम्प्युटर प्रोग्रामिङ सिक्ने लालसा यतिमै सिमित पार्नुपथ्र्यो । उनी ठान्थे–भविष्यमा कम्प्युटर क्षेत्रमै केही गर्छु । 
तस्वीर- लिलानाथ घिमिरे तस्वीर- लिलानाथ घिमिरे
१९९८ मा ७९ प्रतिशत अंक ल्याएर प्रवेशिका उतिर्ण गरेका शंकर उच्च शिक्षाको लागि काठमाडौं डोरिए। युनिभर्सल एकेडेमीबाट विज्ञान संकाय उतिर्ण गरेपछि सन् २००० मा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङमा नाम निकाले उप्रेतिले । ‘कम्प्युटर इन्जिनियर बन्ने सानैदेखिको इच्छाले केही आकार लेला जस्तो भयो,’ इन्टिच्युट्स अफ इन्जिनियरिङ (आइओई)मा नाम निकालेपछिको अनुभूति स्काइप मिटिङमा साटे उनले ।  एकसे एक अब्वल विद्यार्थीहरु थिए, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा । शंकरलेजस्तै अनेकन सपनाहरु सजाएका थिए ।  त्यो भीडमा पनि उनले आफूलाई सधैं शीखरमै उभ्याउन सके ।
क्याम्पसमा रोबटिक्स क्लव थियो– उनी त्यसका सदस्य भए ।   सन् २००३ मा थाइल्याण्डको बैंककमा ‘रोवर्ट कन्टेक्स’ आयोजना भयो । त्यसमा सहभागिताका लागि छानिए उनीसहित तीन जना । राष्ट्रको प्रतिनिधित्व गरेर प्रतिस्पर्धामा सामेल भएका थिए, उनीहरु । रोवर्ट कन्टेक्समा भारत र फिलिपिन्सलाई पछि पारेर क्वाटर फाइनलसम्मको यात्रा ग¥यो शंकरको टीमले ।
‘प्रविधिको क्षेत्रमा नेपालभन्दा निकै अगाडि रहेको भारतलाई प्रतिस्पर्धामा पछि पार्न सक्दा निकै गौरव महशुस भएको थियो’ उनी सम्झन्छन्, ‘रातभर पढेर दिनभर रोवर्ट बनाउन गरेको महेनतले सुन्तुष्टी नै दियो ।’ पुल्चोक इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक पुरा गरेपछि उनले डिटु हकाईमा रोजगारीको अवसर पाए ।
अमेरिकामा बसोवास गर्ने नेपाली रुद्र पाण्डेले नेपालमा स्थापना गरेको उक्त कम्पनी त्यसबेला नेपालको निकै चर्चित आईटी कम्पनीमा पर्दथ्यो । अहिले त्यही कम्पनी भर्सिक इन्टरनेशनलको नाममा सञ्चालित छ ।
सन् २००४ मा डिटु हकाई छिरेका उनले चार वर्ष त्यहाँ काम गरे ।  त्यसपछि कम्पनीले नै उनलाई अमेरिकामा कम्प्युटर इन्जिनियरिङमा मास्टर्स अध्ययन गर्ने अवसर जुटाइदियो । यो अवसर उनका लागि सिलिकन भ्याली प्रवेशको द्वारा नै सावित भयो । उनी अमेरिकामा अध्ययन गर्दै गर्दा पनि डिटु हकाईका लागि पार्ट टाइम काम गर्दथे ।
सन् २०१२ पछि उनी त्यसबाट पनि अलग भए । र, सिलिकन भ्यालीमा रहेको सिमेन्टिक कर्पोरेशनमा काम थाले ।  सिलिकन भ्याली आइटी प्रोफेसनलहरुको लागि सपनाको सहर हो । अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने यो शहरमा विश्वमै कहलिएका आईटीका टाइकुन कम्पनीहरु छन् ।
शंकर अहिले यही शहरमा आफ्ना सपना साकार पार्दैछन् । शंकर अमेरिकामा बसे पनि नेपाली नेटिजनहरुको लागि उत्तिकै ध्यान दिएर काम गरिरहेका छन् । यसको उदाहरण हो उनले तयार गरेको केही विशेष नेपाली एप्सहरु । मोवाइलमै नेपाली तिथि मिति बताइने एप्स ‘हाम्रो पात्रो’ अहिले २२ लाख डाउनलोड भएको छ ।
त्यसमध्ये एन्ड्रोइड भर्सनमा १५ लाख मानिसले हाम्रो पात्रो प्रयोग गरिरहेका छन् । यो एप्स बन्नुमा उनी आफै कारक छन् । नेपालबाट अमेरिका गएपछि उप्रेतीलाई नेपाली तिथिमितिबारे जानकारी पाउन निकै मुश्किल पर्दथ्यो । त्यसबेला अहिलेकोजस्तो भाइवर पनि थिएन । अमेरिकामा भेटिएका अरु साथीहरुलाई पनि यही समस्या थियो । यही समस्याले डिजिटल पात्रो बन्यो, ‘हाम्रो पात्रो’को नाममा ।  आइओएसमा २०१० मा र एनड्रोइड सिस्टमका लागि २०१२ मा सार्वजानिक गरेको ‘हाम्रो पात्रो’ अहिले दैनिक ३ लाख मानिसले प्रयोग गर्छन् ।
यसले अमेरिकामा बस्ने नेपालीलाई मात्रै होइन विश्वभर छरिएर रहेका नेपालीलाई नेपाली तिथिमिति बारेमा जानकारी गराउँछ ।  मिति जान्नको लागि मात्रै होइन, सुन चाँदीको मूल्य, विदेशी विनिमयदर, राशिफल, लोडसेडिङको सेड्युल समेत एउटै एप्सबाट जानकारी पाउँन सकिन्छ ।
अर्कोतर्फ, न्यूज पोर्टलमा आएका मूख्य सामाचार पनि यही एप्सले जानकारी दिन्छ । एउटै एप्सले बहुआयामिक विषय समेटेको कारण पनि धेरैको रोजाइमा पर्न सफल भएको छ¬– हाम्रो पात्रो । शंकर भन्छन्, ‘मानिसहरुका दैनिकीसँग जोडिएका विषयमा एप्स बनाउन सकियो भने सफल भइन्छ ।’ 
उनको संलग्नतामा अरु ३ वटा एप्स बनेका छन् । नेपाली टाइप सहज बनाउनको लागि बनाइएको एप्स ‘किबोर्ड’ अहिले १२ लाखले प्रयोग गरिरहेका छन् । नेपाली गहना बजारका बारेमा जानकारी गराउनका लागि बनाइएको अर्को एप्स ‘गहना बजार’ १० हजारले डाउनलोड गरेका छन् । ‘नेपाली डिक्सनरी’ ७ लाख डाउनलोड भएको छ ।  ‘एउटा राम्रो एप्स बनाउँदा ३ देखि ४ लाख रुपैयाँसम्म खर्च लाग्छ । ठिकठिकै रुचाइएको एप्सले यो खर्च एक वर्षमै उठाइदिन्छ’, उप्रेति भन्छन्, ‘निकै रुचाइयो भने ६ महिनामै खर्च उठ्छ । त्यस बाहेक थप आम्दानीको लागि प्रभावकारी मार्केटिङको योजना चाहिन्छ ।’ 
विदेशमा बसेरै नेपालको कम्पनीमा मुख्य भूमिका निर्वाह गर्छन शंकर । काठमाडौको नयाँ बानेश्वरमा रहेको ‘विधि’ नामको आइटी कम्पनीमा उनको संलग्नता छ । पछिल्ला ती एप्स बनाउन यही कम्पनीको महत्वपूर्ण भूमिका छ । त्यसबाहेक, यो कम्पनील वेभ भर्सनका नयाँ प्रडक्ट तयार गरिरहेको छ । 
‘नेपालमा अहिलेसम्म प्रयोग नभएको नयाँ प्रडक्ट तयार गरिरहेका छौं । अहिले परीक्षणको क्रममा रहेको यो प्रडक्ट केही दिनमा सार्वजानिक गर्छौ, सूचना प्रविधिको क्षेत्रमा नेपालमा योगदान गर्नको लागि यही बस्नुपर्छ भन्ने छैन’, शंकर भन्छन्, ‘जहाँ बसेर पनि नेपालको लागि काम गर्न सकिन्छ ।’
उप्रेतीले अहिले यही कुरालाई प्रमाणित पनि गरिरहेका छन् ।’ हुन पनि पछिल्लो समयमा नेपालले सूचना प्रविधिमा निकै फड्को मारिरहेको छ । धेरैको ध्यान यसतर्फ तानिएको छ । मूख्य कारण हो, आकर्षक कमाइ र विदेशमा रोजगारीको अवसर । नेपालमै आइटी पढेकाहरुले पनि अमेरिकामा सूचना प्रविधि क्षेत्रमा सजिलै जागिर पाउन सक्छन् । अर्कोतर्फ, ठूला विदेशी कम्पनीहरुले आउटसोर्सिङको काम नेपालमै गराउँछन् । त्यही कारण नेपालमै पनि आइटीमा ठूलो अवसर छ । तर, नेपाली बजारलाई मात्रै आधार मानेर आईटीको व्यवासाय भने गर्न सकिने अवस्था छैन ।
शंकर भन्छन्, ‘नेपालको बजार निकै सानो छ । नेपालको एक्सपोजर पनि कमजोर छ ।’  नेपालमा आइटीमा स्नातक गरेर अमेरिका पुगेका कम्प्युटर इन्जिनियरले कम्तिमा वार्षिक ७० हजार डलर कमाउँछ । राम्रो कम्पनीमा अवसर पाउनेले वार्षिक १ सय ८० हजार डलर (१ करोड ८० लाख रुपैयाँ) सम्म आम्दानी गर्न सक्छन् । त्यसबाहेक नेपालमै बसेर पनि मासिक २० हजारदेखि ३ लाखसम्म कमाउने कम्प्युटर इन्जिनियर पनि छन् । शंकर अमेरिकामा बस्छन्, त्यहीको कम्पनीमा काम गर्छन र नेपालको कम्पनी हाक्छन् ।
उनको कमाई बार्षिक १ लाख अमेरिकी डलरबढी छ । शंकरको अबको उदेश्य अमेरिकामा रहेका बहुचर्चित कम्पनीमा काम गर्ने र नेपालमा आइटीको क्षेत्रमा योगदान गर्नु हो । जसमा उनी क्रमशः एकपछि अर्को सफलताको सिढी चढिरहेका छन् । शंकरको प्रगतिले सबै नेपालीको प्रतिष्ठा बढाइरहेको छ । र, नेपालको सूचना प्रविधिको विकासको लागि प्रत्यक्ष उपस्थिति खोजिरहेको छ ।   -नेपालीपत्र 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: