×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विलय हुँदै दुईदर्जन बिकास बैंकहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ चैत्र २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

विलय हुँदै दुईदर्जन बिकास बैंकहरु

निकै नाम चलेका सहित २ दर्जन विकास बैंकहरुले आफ्नो नाम मेट्दै छन् । नेपाल राष्ट्र बैंकको पुँजीवृद्धिको नीतिले विकास बैंकहरुको संख्या निकै घट्दै छ । कतिपय बैंकहरु एकअर्कामा गाभिएर मजबुत बन्दैछन् भने कतिपय नामै मेटिने गरी वाणिज्य बैंकमा विलय हुँदैछन् । क्षेत्रीयस्तरको मात्र नभएर राष्ट्रिय स्तरका विकास बैंकहरुमा पनि यो लहर चलेको छ । 
गत पुसको १७ गते मात्रै राष्ट्रिय स्तरको कारोबार गर्दै आएका एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग गाभिएर एकीकृत कारोबार सुरु गरे । त्यस्तै, प्यासिफिक डेभलपमेन्ट बैंकलाई खरिद गरेर ग्लोबल आईएमई बैंकले झन्डै डेढ महिनाअघि एकीकृत कारोबार थालेको थियो । 
यसबाहेक थुप्रै विकास बैंकहरु आफैँ पुँजी पुर्याउने कसरतलाई पन्छाउँदै वाणिज्य बैंकमा विलय हुन राजी भएका छन् । आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिएर हाल ७८ करोड ८५ लाख रुपैयाँ रहेको चुक्तापुँजीलाई एक अर्ब रुपैयाँभन्दा बढी बनाउन लागेको रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सम्झौता गरेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव दशौँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको बैंकले हकप्रद निष्काशन खारेज गरी ग्लोबल आईएमईसँगको एक्विजिसनलाई नै अघि बढाउने निर्णय गरेको हो ।
त्यस्तै, आफैँ अढाई अर्ब चुक्तापुँजी पुर्याएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कायम रहने सक्ने क्षमता भएर पनि सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंकसँग एक्विजिसनमा जाने सम्झौता गरेर सबैलाई चकित पारेको छ । सिद्धार्थ र जनताबीच एक बराबर एकको स्वाप रेसियो तय भएको छ । त्यस्तै, एक बराबर एककै स्वाप रेसियोमा त्रिवेणी विकास बैंक पनि जनता बैंकमा गाभिँदैछ । 
काष्टमण्डप डेभलपमेन्ट बैंकले कुमारी बैंकसँग एक्विजिसन सम्झौता गरेको छ । हालै २५ प्रतिशत हकप्रद सेयर र गत आर्थिक वर्षको मुनाफाबाट २३.३७ प्रतिशत बोनस सेयर वितरण चुक्तापुँजी एक अर्ब नघाएको बैंकले आफैँ कसरत गरेर पुँजी बढाउनुको सट्टा कुमारी बैंकमा विलय हुने निर्णय गरेको छ । काष्टमण्डपसँगै कुमारीमा काँक्रेविहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स पनि गाभिँदैछन् । 
राष्ट्रिय स्तरको सबल विकास बैंकमध्येमा गनिएको एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले एक बराबर ०.४१ को स्वाप रेसियोमा खरिद गर्दैछ । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब रुपैयाँ नाघिसकेको छ । तरपनि बैंकले एस डेभलपमेन्ट बैंकलाई खरिद गरेर थप सबल बन्ने योजना बनाएको छ ।  
त्यसैगरी, पुँजीवृद्धिका लागि राष्ट्र बैंकले निर्धारण गरेको म्याद सकिन छ महिना मात्र बाँकी रहँदा मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले मर्जरमा जाने सहमति गरे । आफैँ अढाई अर्ब पुँजी पुर्याएर राष्ट्रियस्तरको विकास बैंकको रुपमा कायम रहन कसरत गरिरहेको बैंकले गत माघ ६ गते मेगा बैंकसँग एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यी दुई बैंक १००ः९५ को स्वार रेसियोमा गाभिनेछन् । 
त्यस्तै, अल्पाइन डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक सेञ्चुरी कमर्सियल बैंकमा विलय हुँदैछन् । चार वटै बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेपछि एक्विजिसन प्रक्रिया अघि बढाइने बताइएको छ । यसबाहेक, सेञ्चुरीले सगरमाथा फाइनान्सलाई पनि खरिद गर्दैछ । 
अर्को राष्ट्रियस्तरको विकास बैंक एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले खरिद गर्दैछ । सरकारको स्वामित्वमा रहेका दुई संस्थाबिचको एक्विजिसनलाई अर्थमन्त्रालयले स्वीकृति प्रदान गरी मन्त्रिपरिषदले पनि पारित गरिसकेको छ ।
वाणिज्य बैंकहरुमा विकास बैंकहरु गाभिने लहर चलिरहँदा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले भने लुम्बिनी फाइनान्ससँग आफ्नै नामै मेटिने गरी मर्जरमा जाने सम्झौता गरेको छ । गत वर्ष मात्रै भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक मर्ज भएर बनेको भिबोर सोसाईटीले मर्जरपछि लुम्बिनी डेभलपमेन्ट बैंक नाम रहने गरी लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीसँग मर्जर सम्झौता गरेको हो । उक्त मर्जरपछि मुलुककै सबैभन्दा ठूलो विकास बैंक बन्ने बताइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: